scheduleआइतवार चैत्र २३ गते, २०७६

भारतमा मोदी नीतिले ल्याएको विष्फोटक स्थिति

जेफ्री जेन्टलम्यान/मारिया अवि हबिब

गत हप्ता भारतको राजधानी दिल्ली र त्यसका आसपासका क्षेत्रमा फैलिएको साम्प्रदायिक दंगामा न्यूनतम् ४० जनाको मृत्यु भयो । यी दंगाको कारण धार्मिक थियो । दंगामा मारिनेमध्ये अधिकांश मुस्लिम थिए । तर, भारतीय सरकारले यसो भन्न कुनै ढिलो गरेन कि ती हिंसात्मक क्रियाकलापहरु स्वस्फूर्त थिए । त्यसको कुनै प्राजोजित कारण थिएन ।

तर वास्तविकताहरु जसरी बाहिर आएका छन्, त्यसले सरकारी दावी पुष्टि गर्दैनन् । आलोचकहरु भन्छन् कि ती हत्या न त स्वस्फूर्त थिए न त पूर्व चेतावनी दिएर गरिएका थिए बरु ती एउटा यस्तो स्थितिको उपज थिए, जसलाई टार्न सम्भव थिएन ।

आलोचकहरुको भनाईमा प्रधानमन्त्री नरेन्द्र मोदीले जसरी एकपछि अर्को चरणबद्ध कदमहरु चाले, त्यसले दण्डहिनतालाई प्रोत्साहन गर्‍यो । संस्थागत प्रक्रियाहरुमाथि कब्जा जमायो र धार्मिक घृणालाई व्यापक प्रबर्द्धन गर्‍यो । विधिवतरुपमा खतरनाक हिन्दूवादी वातावरण तयार गर्‍यो । त्यसैको परिणम यी घटनाहरु विष्फोट भए ।

Dish_Home

मानव अधिकारका लागि खबरदारी संस्थाकी दक्षिण एशिया निर्देशक मीनाक्षी गांगुली भन्छिन्, ‘सरकारका समर्थकहरु आफूलाई सबै प्रकारका अपराध गर्नका लागि सक्षम र तयार रहेको अनुभूति गर्दछन् किनकी उनीहरु ठान्दछन् कि उनीहरुमाथि राज्यको राजनीतिक संरक्षण छ ।’ उनी थप्छिन्, ‘मोदीको शासन र उनको पार्टीमा घृणा र कट्टरपन्थको भावनालाई हावी हुन दिइयो ।’

राजधानी शहरमा हिन्दू र मुस्लिमहरु युगौंदेखि छिमेकी भएर बसेका थिए । भारतमा हिन्दूहरुको व्यापक जनसंख्या छ । मुख्य धार्मिक अल्पसंख्यक समुदाय मुस्लिमहरु करिब १५ % छन । धार्मिक विभाजनको रेखा यसप्रकारको भए भने छिमेकी भावना प्रगाढ थियो । तर यी हिंसामा दृष्यहरु फरक र टिठ लाग्दा थिए । अधिकांश मुस्लिमहरु आफ्नो जल्दै गरेको बासस्थानबाट नजलेका सीमित सामानहरु टाउकोमा बोकेर उडिरहेको धुँवालाई हेर्दै अन्यत्र कतै पलायन भएका थिए ।

आज भारत राष्ट्रका सामु यो प्रश्न खडा भएको छ कि यी हिंसा र रक्तपातले मोदी सरकारको कार्यदिशामा कुनै नयाँ मोड ल्याउँला जो सन् २०१४ मा पहिलोपटक ‘सबका साथ, सबका विकास’ नाराका साथ निर्वाचनमा होमिएका र जितेका थिए । त्यो निर्वाचन अभियानमा मोदीले आफूलाई एक कट्टर राष्ट्रवादी तथा आर्थिक सुधारकर्ताका रुपमा प्रस्तुत गरेका थिए । उनले आफ्नो पार्टी भारतीय जनता पार्टीको हिन्दू–राष्ट्रवादी र मुस्लिमविरोधी छविलाई सकेसम्म कम गर्ने प्रयत्न गरेका थिए ।

त्यसो त मोदीप्रतिका व्यक्तिगत आशंका अन्त्य भएका थिएनन् । सन् २००२ को गुजरात दंगा र मुस्लिम नरसंहारमा अदालतले उनलाई सफाई दिएको भए पनि मान्छेहरु त्यसमा मोदीको संलग्नताको स्मरण गर्थे । त्यो दंगा भइरहँदा उनी गुजरात राज्यको मुख्यमन्त्री थिए ।

यो शंकास्पद छविका बाबजुद उदारवादी भारतीयहरुले पनि उनलाई मतदान गरे । त्यसो हुनुको मुख्य कारण प्रतिस्पर्धी दल राष्ट्रिय कांग्रेसका शासनकालमा देखिएको असक्षमता र भ्रष्टाचार थियो । कांग्रेसले सृजना गरेका बेथिति र भ्रष्टाचार मोदीले समाप्त गर्लान भन्ने आशा थियो । साथै सार्वजनिक मन्तव्यहरुमा मोदीको अभिव्यक्ति भाजपाको परम्परागत कट्टरवादी उग्रभाषाभन्दा फरक थियो, जसले मोदीप्रति थप आशा बढाउँथ्यो ।

जेफ्री जेन्टलम्यान/मारिया अवि हबिब

तर अब चिजहरु बद्लिन थालेका छन । ती भीडहरु जो आफूलाई गाईको जीवनरक्षक ठान्दछन्, उनीहरु मुस्लिम र दलितहरुको ज्यान सजिलै लिन सक्ने भएका छन् । भाजपाको हिन्दू दर्शनमा गाई एक पवित्र जनावर हो, तर मुस्लिम र दलितहरु कस्ता प्राणी हुन भन्ने कुरा त्यहाँ परिभाषित छैन ।

मोदीले आफ्नो शासनकालमा हिन्दू अतिवादीहरुलाई उच्च पदहरु दिए । त्यसमध्ये एक दृष्टान्त उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथ योगीलाई मान्न सकिन्छ । उत्तर प्रदेश भारतको सबैभन्दा ठूलो राज्य हो । यस्तो प्रदेशका मुख्यमन्त्रीले कुनैबेला मुस्लिमहरुलाई ‘दुई खुट्टाले उभिएका पशुहरु’ भनेका थिए र उनीहरु विरुद्धमा कारबाहीलाई ‘धार्मिक युद्ध’ को संज्ञा दिएका थिए ।

मोदीले अन्य संघसंस्था, विश्वविद्यालय र सांस्कृतिक संस्थाहरुको प्रमुख पदमा हिन्दू अतिवादीहरुलाई नियुक्त गरे । हिन्दू भावनाअनुरुप कतिपय स्थानका नाम परिवर्तन गरिए । जस्तो कि इलाहावाद प्रयागराज भयो । पाठ्यपुस्तकहरुमा भारतको निर्माणका मुस्लिमहरुको भूमिका चर्चा गरिएका अध्यायहरु हटाइयो र हिन्दू भूमिकालाई बढाएर प्रस्तुत गरियो । हिन्दू शिक्षालाई सर्वत्र बढावा दिइयो । संसारकै सबैभन्दा बढी मुस्लिम जनसंख्या भएको देश जहाँ २० करोड मुस्लिमहरु छन्, उनीहरुले यति धेरै किनारीकरण यस अघि कहिल्यै महशुस गरेका थिएनन् ।

अनि दण्डहिनतालाई प्रश्रय दिइयो । दिनदहाडै भीडले मान्छेहरु पिट्न थाल्यो । तर प्रशासन नभएझैं भयो । जब कुनै हत्यारा पक्राउ परे, त्यसलाई छुटाउन पार्टीका नेताहरु नै लागे । अझ भीडले त्यस्ता मान्छेहरुलाई काँधमा बोकेर जयजयकार गर्न थाल्यो । मानौं कि भीडमा सामेल भएर मान्छे मार्नु कुनै गैरकानुनी कार्य हैन । बरु ती नायकझैं प्रस्तुत गरिए ।

यस्ता घटनाले मोदीको मन, मुटु र संवेदनालाई छोएको देखिएन । देशको ८० प्रतिशत हिन्दू समर्थकले उनलाई साथ दिएकै थिए । गत चुनावको मुखमा उनको लोकप्रियतालाई भारत–पाकिस्तान तनावको कारण सृजना भएको लहरले निक्कै माथि उचालेको थियो । मोदीले मानवीय संवेदना र अल्पसंख्यकको अधिकारको बिषयलाई पनि यसरी राजनीतिक फाइदाको आँखाबाट हेरेको पाइयो ।

उनी र उनको पार्टीले त्यही निर्वाचनबाट ठूलो पुनर्विजय हासिल गरे पश्चात हिन्दू राष्ट्रवादी नीतिहरु अझ द्रुत गतिमा अगाडि बढाइए । अगष्टमा मोदी सरकारले मुस्लिम बहुल प्रदेश जम्मु–कश्मिरको प्रादेशिक स्वायत्तता खारेज गर्‍यो । सबै राजनीतिक वर्ग र वृत्तलाई बन्दी बनायो । नोभेम्बरमा उनको पार्टीले बाबरी मस्जिद विवादमा सर्वोच्च अदालतको फैसलाको खुशियाली मनायो । यो फैसलाअनुसार हिन्दू राष्ट्रवादी भावनाअनुरुप दशकौं अगाडि एक भीडले भत्काएको पुरानो मस्जिदको ठाउँमा मन्दिर बनाउने बाटो खुल्यो ।

तर यी कदमले भारतीय समाजलाई झनै ध्रुविकरण गर्‍यो । हिन्दू र मुस्लिम मनोविज्ञानलाई किनारतिर पुर्‍यायो । जब डिसेम्बर आयो मोदी सरकारले नयाँ नागरिकता ऐन ल्यायो । यो ऐनले भारतीय उपमहादीपका इस्लाम बाहेक सबै धार्मिक विश्वासका आप्रवासीका लागि भारतीय नागरिकताको ढोका खोलिएको छ ।

यिनै कारणहरुले गर्दा प्रदर्शनहरु भड्किए तर ती प्रदर्शनमा मुस्लिम मात्र थिएनन्, भारतीय समाजका अरु प्रगतिशील तप्का समेत त्यसमा सामेल थिए । उनीहरुले मोदीका मुस्लिम विरोधी नीतिहरुलाई भारतीय राजनीतिका आधारभूत सोच धर्मनिरपेक्षता र समावेशिताविरुद्ध घातक कदमका रुपमा बुझे ।

मोदीका लागि यी मुद्दाहरु विरासतमा प्राप्त थिएनन् । मोदी भारतलाई हिन्दूमुल भूमि बनाउने दीर्घकालीन सोचबाट प्रभावित थिए । आफ्नो पार्टीको प्रचण्ड बहुमत भएको बेला पार्टीको मौलिक । दीर्घकालीन सोचअनुरुप केही न केही गर्नु थियो । अर्थात् यी समस्याहरु मोदीले जानीबुझीकन आफैले सृजना गरेका थिए । मोदी नीतिविरुद्ध क्रुर प्रदर्शन हुन थाले । साथै ती क्षेत्रहरुमा निर्मम दमन हुन थाल्यो, जहाँ मोदीको पार्टी भापजाको बलियो पकड थियो र उनीहरुले सुरक्षा बललाई समेत प्रभावित गर्न सक्थे । प्रारम्भमा त्यस्ता अधिकांश घटना भाजपा शासित प्रदेश उत्तरप्रदेशमा भएका थिए ।

उत्तर प्रदेशका अधिकांश घटनामा मुस्लिम युवाहरुलाई प्रहरीले निर्घात कुटेको थियो । राजधानी दिल्लीकै मुस्लिम विश्वविद्यालय जामियाका विद्यार्थीहरुलाई उसरी नै कुटियो । यी घटनाका दृष्य भिडियोमा कैद भएर व्यापक रुपमा शेयर भए । तर त्यस्ता घटनामा सामेल हुनेहरुलाई सजय भएको पाइएन । गरिए पनि थोरै र नाम मात्रको सजाय गरियो ।

यसले गर्दा आमरुपमा के सन्देश गयो भने मुस्लिमहरुमाथि अत्याचार गर्दा राज्यले केही गर्दैन, फलतः हिन्दू अतिवादीहरु भीड बनाएर मुस्लिमहरुमाथि जाइलाग्न थाले । भाजपा नेताहरुले नै यस्ता घटनालाई प्रोत्साहित गर्न थाले । उनीहरुले यस्ता घटनालाई पाकिस्तान प्रायोजित देशद्रोहीहरुको हरकतका रुपमा चित्रण गर्न थाले । मोदी सरकारका एकजना मन्त्री अनुराग ठाकुर आफै त्यस्तो र्‍यालीमा सामेल भए जुन र्‍यालीको मुख्य नारा ‘देशद्रोहीलाई गोली हान’ भन्ने थियो ।

दक्षिण एशियाली विदेश मामिला अध्ययन केन्द्रकी बरिष्ठ अधिकारी एलिसा आयर भन्छिन्, ‘सबका साथ सबका विकास नारासँग देशद्रोहीलाई गोली हान भन्ने नारा कसरी मिसिन आयो, सबै भारतीयहरुका लागि विचारणीय भएको छ ।’ फ्रेबुअरी २३ मा उत्तरी दिल्लीमा मोदीको पार्टीकै एक कार्यकर्ताले छिमेकी मुस्लिमको घरमा आगो झोसे । त्यो धार्मिकरुपमा मिश्रित बस्ती भएको मजदुर इलाका थियो ।

त्यही अपरान्ह भर्खरै दिल्ली विधानसभा निर्वाचन हारेपछि आफ्नो पराजयको पीडालाई लुकाएर राजनीतिक जीवनलाई नयाँ मोड दिन खोजिरहेका कपिल मिश्राले मुस्लिम प्रर्दशनकारीहरुलाई सडकबाट हटाउने धम्की दिए । त्यो प्रदर्शनमा मूलत महिलाहरु थिए, उनीहरुको प्रदर्शनले सडक अबरुद्ध भएको थियो । त्यहीँनेरबाट हिन्दू र मुस्लिमले एकअर्कालाई ढुंगा हान्न थाले ।

पुलिस खुफिया विभागले यथाशीघ्र स्थितिलाई नियन्त्रणमा लिन भनेको थियो तर मोदी सरकारले तुरुन्तै कुनै कदम चाल्न चाहेन । कतिपयको आशंका मोदी सरकारले जानाजान ध्यान नदिएको हैन त्यतिखेर दिल्ली पुलिस अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भ्रमण सम्बन्धी सुरक्षा योजनमा व्यस्त भएको हुँदा त्यतातिर कम ध्यान गएको भन्नेछ । तर हिंसाका साक्षीहरुको भनाई भने बिल्कुलै फरक छ । उनीहरुको भनाईमा हिन्दू भीडले मुस्लिमको घर जलाउँदा पुलिस नदेखेजस्तो गर्दथ्यो र मुस्लिमहरु अगाडि बढे पुलिसले उनीहरुमाथि क्रुद्ध भएर प्रहार गर्दथ्यो । एउटा भिडियोमा पुलिसले मरणासन्न हुने गरी पिटेका मुस्लिम पुरुषले नपिट्न याचना गर्दा पुलिसले राष्ट्रिय गान गाउन लगाएको देखिएको थियो ।

नागरिक अधिकारकर्मी साकेत गोखलेका अनुसार यो केही श्याउहरु कुहिएजस्तो मात्र हैन, पुरै संस्थागत क्रिया हो । भारतीय सञ्चारकर्मी र टिभी च्यानलहरु मोदी लाइनमा हिड्न आमरुपमा धम्की दिइरहेका हुन्छन् । मिडिया, भाजपा कार्यकर्ता र प्रहरी प्रशासनबीच कुनै अघोषित साँठगाँठ जस्तो देखिन्छ । तर भाजपाको वैचारिक मातृसंस्था राष्ट्रिय स्वंसेवक संघमा सदस्य तथा कानून व्यवसायी राघब अवस्थी भन्छन्, ‘यस्ता दुश्कर्मका लागि सरकारलाई दोष दिन मिल्दैन । भीड र दंगा गर्नु कुन राम्रो काम हो ।’

दंगाको ४ औं दिनसम्म २० जना भन्दा बढी मारिइसकेका थिए । अनि मात्र मोदीले आफ्नो मौनता तोडे । उनले भने, ‘दाजुभाइ, दिदीबहिनीहरु, दिल्लीमा शान्ति र सुव्यवस्था कायम राख्नु हामी सबैको कर्तव्य हो ।’ अधिकांश पर्यवेक्षकहरु भन्छन् कि पछिल्ला दिनहरुमा मोदी जे गर्दैछन, त्यसले भारतमा शान्ति सुव्यवस्था बनाइरहन गाह्रो बनाएको छ । तर मोदीले आफ्ना नीतिहरुमा कुनै उल्लेखनीय परिवर्तन ल्याउलान् भन्ने आशा देशभित्र र बाहिर दुवैतिर देखिँदैन । उदारवादी भारतीयहरुको समर्थन गुमाउँदै जाँदा कट्टरवादी आधारलाई अझ बलियो बनाउन मोदीले जानाजान यसो गरेका हुन सक्दछन् ।

मोदी हिजोआज विकास र अर्थतन्त्रको सुधारको कुरा खासै गर्दैनन् । भारतको अर्थतन्त्रमा बेरोजगारीको अनुपात ४५ वर्ष यताकै सबैभन्दा बढी भएको छ भने आर्थिक बृद्धिदर दशककै सबैभन्दा न्यूनविन्दूमा पुगेको छ । केही उच्च पदस्थ अधिकारी व्यक्तिगत भेटघाटमा अनौपचारिक तबरले भन्दछन् कि मोदी सरकार हिन्दुत्वको दर्शनमा अझ कट्टर हुँदै जानु आर्थिक सुधारको सम्भावनाबारे आत्मविश्वास गुमाउनु हो । आर्थिक विसंगति गहिरो हुँदै जाँदा मोदी र उनका सहयोगीहरुले हिन्दुत्वको भावनालाई पुनश्चः उराल्ने रणनीति बनाएका हुन सक्दछन् ।

पूर्व सुरक्षा सल्लाहकार शिवशंकर मेनन भन्छन्, ‘उनीहरुलाई आफ्ना असफलताहरुबाट मानिसहरुको ध्यान अन्यत्र मोड्न यस्तै हिंसा चाहिएको छ । तर यो तुरुन्तै रोकिएला भन्न सकिन्न ।’

(द न्यूओर्क टाइम्सबाट भावानुवाद । जेफ्री टाइम्सका दिल्ली संवाददाता हुन् भने मारिया दक्षिण एशियाली संवाददाता हुन्)

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय