scheduleआइतवार चैत्र २३ गते, २०७६

चिनियाँ मित्रहरु ! अमेरिकामा नश्लीय भेदभाव भो भनेर चित्त नदुखाऊँ

माइकल चुगानी

जातीय भेदभावको समस्या सर्वत्र छ । यसको सामना गर्ने दुईवटा मात्र उपाय छन् । कि त जातिवादको भावनाबाट स्वयम् मुक्त हुन सक्नु पर्दछ कि त जातिवादले तपाईलाई लक्षित गरेका ठाउँहरुबाट बाहिरिन पर्दछ । चाहने हो भने जातिवादसँग लड्न नसकिने हैन तर यसबारे विलाप गरी बसेर भने कुनै फाइदा हुँदैन । चीनको बुहान शहरबाट कोरोना भाइरसको महामारी विश्वव्यापीरुपमा फैलिएपछि अमेरिका र युरोपमा चिनियाँ नागरिकमाथि नश्लीय भेदभाव हुन थालेको गुनासो बढ्दै गइरहेको छ ।

जबजब मान्छेहरु मलाई जातीय भेदभावका अनुभवहरु सुनाउँछन्, त्यतिखेर मैले सोध्ने गरेको छु– तिमी आफैंले कतै नश्लवादी व्यवहारलाई उधिन्ने ठाउँ त थिएका थिएनौं ? मलाई थाहा छ, मसंग पनि केही न केही मात्रामा नश्लवाद छ । हामी सबै कुनै न कुनै रुपमा नश्लवादी छौं । मात्र मात्राको भिन्नता हो । कसैले भन्छ कि उसको शरीरमा नश्लवादी हड्डीको सानो टुक्रा पनि छैन, उसको इमान्दारितामा विश्वास गर्न सकिन्नँ ।

माइकल चुगानी

मलाई राम्ररी थाहा छ कि चिनियाँहरु अहिले कस्तो स्थितिबाट गुज्रिरहेका छन् । त्यसप्रति म सहानुभूति व्यक्त गर्न सक्दछु । तर यस्ता स्थिति चिनियाँहरुलाई मात्र आइपरेको हैन । सेप्टेम्बर ११ को हमलापछि मेरो हालत पनि यस्तै थियो । त्यतिबेला म अमेरिकामा काम गरिरहेको थिएँ ।

Dish_Home

हमलाको भोलिपल्ट मेरो सँगै लन्च गर्ने अनुबन्ध थियो । मान्छेहरुले हो, चिनियाँहरुले समेत मलाई खराब नजरले हेरेका थिए, जबकि नश्लीय हिसाबले म भारतीय थिएँ र मेरा आमाबुवा हिन्दू थिए । तर त्यहाँ अरबी र भारतीय, हिन्दू र मुस्लिमबीचको भिन्नता कस्ले बताई देओस् ? जस्तो कि आज चिनियाँ, ताइवानी, हङकङबासी र सिंगापुरीबीचको भिन्नता गर्न कस्ले जानेको छ र ?

त्यो बेला मैले लन्च गरिरहेको बाटो हुँदै गएका एक हुल गोरा नवकिशोरकिशोरीहरुले मलाई आतंकवादी भनेका थिए । एक चिनियाँ किनारा पसलेले मलाई शंकास्पद ढंगको व्यवहार गरेका थिए र केही बेर मलाई पछ्याएका थिए । खैरो रंगका मान्छेहरु जो आफूलाई तथाकथित मध्यपूर्वी भन्न रुचाउँछन्, म जहाज चढ्दै गर्दा प्रश्नवाचक आँखाले हेरिरहेका हुन्थे । जो मलाई आँखा तरेर हेर्थे, म उनीहरुलाई पनि आँखा तर्दिन्थेँ । आफूले अपनाएको देशको मूल्यप्रति समर्पित एक अमेरिकनको रुपमा म ती अप्ठ्याराहरु बीच ठिङ्ग उभिन्थेँ । सोच्थेँ– यी अँध्यारा दिनहरु हुन्, बितेर जानेछन् । नभन्दै ती दिन बितेर गए ।

आज चिनियाँ आप्रवासीहरु अमेरिकामा कोरोना भाइरसबाट उत्पन्न नश्लीय भेदभावसँग लड्दछन् । हो, नश्लीय भेदभावले अमेरिकी समाजमा गहिरो जरा गाडेको छ । तर हामीले यो ठान्नु हुन्न कि यो अमेरिकी गोराहरुको मात्र प्रवृति हो । चीन, हङकङ, जापान, इन्डिया र अन्यत्र पनि आखिर त्यही त छ । कम्तीमा अमेरिकाले यो त स्वीकार गर्दछ कि जातीय भेदभाव समस्या हो, यस्ता गल्ती कमजोरीहरु सुधार गर्नु पर्दछ । अमेरिकामा नश्लवादी व्यवहारविरुद्ध कानुनी सहारा लिन सकिने प्रावधान छ । के यस्तो प्रावधान म जन्मिएको हङकङ र चीनमा छ त ?

म जहाँ जन्मिएँ, हुर्किएँ, त्यहाँ मलाई बच्चैदेखि ‘मोलोचा’ भनिन्थ्यो । त्यो स्थानीय हङकङबासीले भारतीय मूलकालाई हेप्न प्रयोग गर्ने संज्ञा थियो । अझै पनि धेरैजसो हङकङका घरजग्गा मालिकहरु दक्षिण एशियालीलाई सम्पति भाडामा दिन रुचाउँदैनन् । हालसम्म पनि चीनको ग्वाङजाओ शहरमा एउटा यस्तो क्षेत्र छ जहाँ अफ्रिकी मूलका मान्छेहरुको बसोबास बाक्लो छ भन्ने बुझाउन ‘चकलेट नगर’ भन्ने गरिन्छ ।

फरक कति हो भने अमेरिका एक लोकतान्त्रिक मुलुक हो । त्यहाँ चिनियाँ र अरु रंगका मान्छेहरुले पनि नश्लभेदविरुद्ध कानुनी उपचार खोज्न सक्दछन् । यदि कुनै उइगुरले चीनमा त्यसो गर्न सकेमा मलाई आश्चर्य हुनेछ । चीनले जातिवादको उपस्थितिलाई समेत स्वीकार गर्दैन, त्यसको कानुनी उपचारको कुरा परै छोडौं । हङकङको नश्लवाद विरोधी कानूनमा अरु सबै कुरा छ तर दाँत छैन ।

मलाई एउटा घटना याद आउँछ । केही दिन अघि वाल स्ट्रिट जर्नलले कोरोना भाइरस विरुद्धको चिनियाँ व्यवहारलाई इंगित गर्दै दृष्टिकोण पेजमा एउटा यस्ता शीर्षक लेखेको थियो, ‘चीन एसियाको बिमार मान्छे हो’ । के यो शीर्षक जातिवादी थियो ? हुन सक्दछ । तर यसबापत चीनले क्षमायचना गर्न आग्रह गर्‍यो । नभन्दै पत्रिकाले आफ्ना तीनजना संवाददातालाई जागिरबाट निकालिदियो ।

त्योभन्दा धेरै ठूलो नश्लवाद चीनको चन्द्रमास नयाँ वर्षको टेलिभिजन कार्यक्रमहरुमा देख्न सकिन्छ । सन् २०१६ को एक धुलाई पाउडरको चिनियाँ विज्ञापनमा एउटा कालो अनुहार भएको मान्छेलाई सुन्दरी चिनियाँ युवतीले तानेर वासिङ मेसिनमा हाल्छे, निस्कदा ऊ चिनियाँ रंगको फुर्तिलो युवा बन्दछ । सन् २०१८ को नयाँ बर्षमा सरकारी टिभी सीसीटिभीमा देखाइएको एक कार्यक्रममा एक नक्कली ठूला हिपवाली चिनियाँ सुन्दरीको पछिपछि कालो अनुहारको मान्छे बाँदर जस्तो गरी हिंडेको देखाइएको थियो । के यी कुराहरु भन्दा उपरोक्त जर्नलको शीर्षक बढी जातिवादी थियो ?

अमेरिकामा रहेका चिनियाँहरु । तस्बिरः ब्लूबर्ग

चिनियाँहरुले भन्लान् कि हो, जर्नलको शीर्षक नै बढी जातिवादी हो । तर अफ्रिकनहरुको आँखाबाट हेर्‍यो भने ती चिनियाँ विज्ञापनहरु कता हो कता बढी नश्लवादी देखिनेछन । मेरा लागि ‘एशियाको बिमार मान्छे’ भन्दा बढी नश्लवादी कुरा त ‘मो लो चा’ नै हो । जातिवादको मापन गर्ने त्यस्तो कुनै मिटर छैन जसले सबैका लागि समान मापदण्डमा त्यसलाई नापोस् ।

चिनियाँ मित्रहरु सीसीटिभीले देखाउने धुलाई पाउडरजस्ता विज्ञापनहरु सामान्य ठानिरहेका हुन्छन् । तर जब कुनै पश्चिमा विज्ञापनमा कुनै चिनियाँ महिलाले पिज्जा खान चोपेस्टिक प्रयोग गरेको देखाइन्छ, उनीहरु तीव्र प्रतिक्रिया दिन चुक्दैनन् ।

चिनियाँ मित्रहरु धेरै चित्त नदुखाउनु होस् । यी त्यस्तै अँध्यारा दिनहरु हुन्, जो मैले सेक्टेम्बर ११ पछि भोगेको थिएँ । त्यतिखेरको अँध्यारो अहिले नभएजस्तै अहिलेको अँध्यारो पनि सधैं हुनेछैन । कोरोना महामारीअघि पनि संसारमा धेरै भाइरस र महामारी आए, गए । तर न मान्छे सकियो न सकिने छ ।

(द साउथ चाइना मोर्निङ पोष्टमा प्रकाशित आलेखलाई साझापोस्टले गरेको अनुवाद) 

लेखक हङकङमा कार्यरत पत्रकार तथा टिभी होस्ट हुन् ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय