scheduleआइतवार चैत्र २३ गते, २०७६

बाँझा जग्गामा गाँजा खेती बहसको अन्तरकुन्तर

नरेन्द्र बसेल

फागुनको १९ र २० मा केवल एकदिनको फरकमा विगत ४३ बर्षदेखि कानुनतः अवैधानिक भनिएको गाँजालाई वैधानिकता दिनुपर्छ भन्दै प्रतिनिधिसभामा पूर्वमन्त्री शेरबहादुर तामाङ र वागमती प्रदेशसभामा प्रदेश सांसद केशव स्थापितले ‘गाँजा खेती (व्यवस्थापन) ऐन, २०७६’ को नाममा संसद सचिवालयमा गैरसरकारी विधेयक दर्ता गराएका छन् । यससँगै लागू औषधकै सरह संयुक्त राष्ट्र संघ र नेपालले पनि प्रतिबन्ध गरेको गाँजालाई पुनः खुल्ला गर्ने विषयमा बहु-आयामिक छलफलहरु हुनुपर्ने हो । तर दुर्भाग्य, केही सीमित पात्रहरु मात्र बहसमा उत्रिरहेका छन् भने अरुले यस सम्बन्धमा मुख नै खोल्न चाहिँ रहेका छैनन् ।

प्रतिबन्ध फुकुवासम्बन्धि बहस गर्नुअघि थोरै ईतिहासलाई पनि केलाऊँ ! सन् १९६१ मार्च (२०१८ चैत्र)मा संयुक्त राष्ट्रसंघीय मुख्यालयमा सम्पन्न सम्मेलनले अन्तर्राष्ट्रिय सन्धि ‘दि सिङ्गल कन्भेन्सन अन नार्कोटिक ड्रग्स-१९६१’ पारित गर्‍यो जसले गाँजालाई अफिम सरह मान्दै प्रतिबन्ध घोषणा गर्‍यो ।

त्यस्तै ६० को दशकमा नेपालको काठमाडौंमा हिप्पीहरु आएका थिए । उनीहरु गाँजामा झुम्ने रमाउने अनि हिप्पी संस्कार फैलाउँदै थिए । त्यसैबखत नेपाल आउनेमा ब्राजिलियन चर्चित लेखक पाउलो कोएलो पनि एक हुन् । तर नेपालले पनि वि.सं. २०३३ सालमा ‘लागूऔषध (नियन्त्रण) ऐन- २०३३’ पास गर्‍यो, जसको दफा ३ मा गाँजालाई पनि लागूऔषधको रुपमा परिभाषित गर्दै प्रतिबन्ध गर्ने घोषणा गरेको थियो ।

Dish_Home

गाँजा अवैधानिक भए लगतै हिप्पीहरु पनि बिस्तारै काठमाडौं छाड्दै गए भने नेपालको मौलिक संस्कारहरुमा प्रत्यक्ष जोडिएको हुँदा अवैधानिक भएका बावजुद् पनि धेरै ठाँउहरुमा यसको उत्पादन र प्रयोग भने केही मात्रामा भइनै रहेको छ ।

नरेन्द्र बसेल

विश्वभर प्रतिबन्ध घोषणापछि पनि गाँजा उत्पादन र प्रयोग भने धेरै देशहरुमा भइ नै रह्यो । सिएनएनले प्रस्तुत गरेको संयुक्त राष्ट्रसंघले गरेको सर्वेक्षणअनुसार प्रतिबन्धको बावजुद पनि अफ्रिकन मुलुकहरुले वर्षको १० हजार टन गाँजा उत्पादन गरेको पाईएको छ भने प्रतिबन्ध फुकुवाको निम्ति दिनानुदिन चाप बढ्दो रहेको छ ।यसको एउटा उदाहरण हो- सन १०९५ मा अमेरिकामा गरिएको सर्वेक्षणमा २५ प्रतिशत मात्र यसको पक्षमा थिए भने सन २०१७ मा आउँदा सोही सर्वेक्षणले ६४% मानिसहरु यसको पक्षमा भएको देखाएको छ । यति धेरै फुकुवाको निम्ति आवाजहरु उठे पनि सन २०१३ मा आएर मात्र उरुग्वे गाँजालाई कानुनतः वैधानिकता दिने पहिलो राष्ट्र बनेको छ भने क्यानडा पहिलो औद्योगिक राष्ट्र बनेको छ । क्यानडा विश्वमै दोस्रो राष्ट्रको रुपमा चिनिन्छ जसले सन २०१८ मा आएर मात्र फुकुवा गरेको थियो ।

त्यस्तै औषधिजन्य प्रयोजनको लागि मात्र भनेर हाल सम्म ३० देशले मात्र मान्यता दिएको छ । त्यस्तै अमेरिकी ११ राज्यले पूर्णरुपमा वैधानिकता दिएको छ भने ३३ राज्यहरुमा औषधिजन्य प्रयोजनको निम्ति मात्र फुकुवा गरेको छ । यसमध्ये भर्मन्ट (Vermont) राज्य गाँजालाई फुकुवा गर्ने पहिलो राज्य हो, जहाँबाट अहिलेसम्म सिनेटमा प्रतिनिधित्व गरिरहेका बर्नी स्यान्डर्स आगामी नोभेम्बरमा हुने अमेरिकी राष्ट्रपतीय चुनावमा समेत गाँजा फुकुवाको विषय आफ्नो चुनावी घोषणापत्रमा नै लिएर हिंडेका छन् ।

यस अघिसम्म उत्पादन तथा प्रशोधन गरेमा १२ वर्षको जेल सजाय हुने जिम्बाबेले समेत गत मे महिनामा वैज्ञानिक अनुसन्धान र औषधिजन्य प्रयोगको निम्ति भन्दै वैधानिक गर्‍यो ।

गत वर्ष लेसोथे भन्ने मुलुकले समेत औषधिजन्य प्रयोजनको निम्ति लाईसन्स दिने व्यावस्था स्वीकृत गरेको छ । विश्वका अन्य मुलुकहरु भन्दा युरोपेली मुलुकहरु यो विषयमा अलि बढी नेतृत्वदायी देखिए पनि युरोपकै फ्रान्स, स्पेन, स्लोभेनिया जस्ता मुलुकहरुमा भने गाँजा अझै प्रतिबन्धित नै छ । यो विषय आज पश्चिमा मुलुकहरु मात्र नभएर दक्षिण तथा दक्षिण पूर्वी एसिया मै आईपुगेको छ। हालसालै श्रीलंकाली संसदले औषधिय प्रयोगमा वैधानिकता दिने भन्ने कुरा पारित गरेको छ ।

अब केही समय गाँजाको वास्तविक वनस्पतीय गुण तथा चरित्रका बारेमा विश्लेषण गरौं । यो एक फूल फुल्ने बिरुवाअन्तर्गत क्यानावेसिय (Cannabaceae) परिवारको क्यानाविस (Cannabis) वंश (Genus)मा पर्छ । Cannanis Genus मध्ये पनि मुख्य तीन प्रजातिहरु (species), Cannabis sativa, Cannabis indica र Cannabis ruderalis छन् । अघिल्ला दुईमा औसत तौलको ३१ प्रतिशत रसायन (Tetra-hydro cannabinol, THC) पाईन्छ भने तेस्रो प्रजातिमा THC को मात्र निकै न्युनरुपमा पाईन्छ ।

प्रस्तुत विधेयकको परिच्छेद-२, २ उपदफा १(ख) ले कपडा बनाउन वा त्यस्तै अन्य औद्योगिक प्रयोजनको निम्ति Delta-9 THC ०.२ प्रतिशत भन्दा कम भए अनुमति पत्र लिन नपर्ने भनी सायद यसै (तेस्रो?)लाई भनिएको होला । गाँजा खेतिको निम्ति करिब १५° देखि ३५° सम्मको तापक्रम निकै उत्तम मानिन्छ ।

अझै भनौं नेपाल, मेक्सिको, उत्तरी भारत र अफ्गानिस्थान जस्ता मुलुकहरु यसको निम्ति निकै राम्रो मानिन्छ । अन्य क्षेत्रमा समेत पाईने भए पनि TMC को मात्र तापक्रम तथा अन्य वातावरणीय प्रभावले गर्दा यो क्षेत्रमा पाईने गाँजामा भन्दा निकै कम भएको पाईएको छ । गाँजामा विशेष रसायनको रुपमा THC संगै अन्य ४८३ प्रकारका यौगिक रसायन तत्वहरु पाईन्छ जस मध्ये ६५ Cannabinods हरु छन् ।

गाँजालाई धुँवाको रुपमा, बाफको रुपमा या खानाको अन्य परिकारमा समेत मिसायर लिन सकिन्छ, जसमध्ये धुँवाबाट लिएको फोक्सो हुँदै रक्त सञ्चारको माध्यमबाट मस्तिष्कसम्म छिटो पुग्नेगर्दछ । तर अन्य खानाको परिकारसंगै लिएमा अलि ढिला पाचन हुने हुँदा मस्तिष्कसम्म पुग्न र यसको असर देखिन केही समय लाग्दछ ।

गाँजामा पाईने विशेष रसायनहरुले मस्तिष्कको स्नायुको नियमित कामहरुलाई केही हलचल गरिदिने हुनाले यसको असर प्रयोगकर्ताले महसुस गर्दछन् । मस्तिष्कको Movement, Judgement, Sensation र Co-ordination cells को भागहरुमा केही हलचल ल्याए पनि Memory Cell हरुमा त्यस्तो असर पारेको देखिँदैन । तर Duke University का अनुसन्धानकर्ताले न्युजिल्यान्डमा गरेको एक अनुसन्धानले सानै उमेरदेखि जसले हेभी मात्रमा गाँजा निरन्तर लिएको छ, उसको १३ देखि ३८ बर्ष सम्ममा गुणात्मक रुपमा IQ level घटेको पाईएको छ जुन प्रयोग गर्न वयस्कमा छाडे पनि बढेको देखिदैन । तर जसले वयस्कमा मात्र प्रयोग गर्न सुरु गरेको छ, उसको IQ level मा कत्ति पनि असर गरेको देखिएको छैन । यस अर्थमा प्रस्तुत विधेयकमा राखिएको १८ बर्ष उमेर केही हदसम्म वैज्ञानिक मानिएको छ ।

धेरैजनाको चिन्ता दुर्व्यसन बढ्ने तथा स्वास्थ्यमा असर पर्छ कि भन्ने समेत रहेको छ । तर स्वास्थ्यको हिसाबले चुरोट र रक्सीले जस्तै क्यान्सर जस्ता दिर्घकालीन प्राणघातक रोगहरु लाग्ने यसको सम्भावना निकै कम हुन्छ र गाँजा प्रयोग गर्नेहरु त्यो छाडेर कडा लागूऔषध चरेस, अफिम तथा ईन्जेक्सनमा फस्ने सम्भावना समेत कम हुन्छ । साथै सामाजिक आपराधिक क्रियाकलापहरु समेत कम हुने देखिन्छ ।

विश्वभर प्रतिबन्धले यसको वैज्ञानिक तथा औषधिजन्य अनुसन्धानहरु त्यति खुलेर हुन पाईरहेका छैनन तर केही अनुसन्धानले भनेको छ- गाँजाले ल्युकोमिया निको हुने, क्यान्सर सेलहरुलाई फैलिन नदिने, हेपाटाईटिस “सि” को साईड ईफेक्ट रोक्ने, पाचन शक्ति बढाउने, मोटोपन घटाउने, Brain hemorrhage रोक्ने, मानसिक उपचार गर्ने जस्ता कुराहरु गर्दछ ।

आयुर्वेदिक दृष्टिकोणबाट यसलाई गाँजा, भाङकै रुपमा चिनिन्छ भने विभिन्न औषधिजन्य मिश्रणमा यसको प्रयोग गरिएको पाईन्छ । रोगहरु जस्तै कलेरा, क्लोलाईटिजको, मानसिक रोग, रुघाखोकी, ज्वरो, क्यान्सर तथा दुखाई मुक्ति दिने खालको औषधिको रुपमा प्रयोग गरिदै आएको छ । केही नाम नै लिगौं, जस्तै- “रातोबरी” जसमा केही भाग गाँजा हुन्छ, जुन कलेराको रामवाणकै रुपमा चिनिन्छ । “दुग्धबुटी” कोलाईटिजको औषधि, “लक्ष्मी विलास रस” स्वासप्रश्वास, फ्लू, नाकबाट सिंगान बग्ने जस्तो समस्या भएमा प्रयोग गरिन्छ । “त्रिभुवन टेटिरस” तथा “भोक सुन्दरी कुटिका” ज्वरो आउँदा प्रयोग गरिन्छ । साथै “विजया” भनिने औषधि अनिद्रा, नाकबाट पानी बग्ने, शिघ्र स्खलन, झाडापखाला, मानसिक रोग जस्ता समस्यामा प्रयोग गरिन्छ ।

नेपालको अधिकांश पहाडी भेगका आदिवासी तथा रैथाने समुदायको जीवनसंगै गाँजा प्रत्यक्ष जोडिएको छ । यसको जरा, पात, डाँठ, चोप (रस) यी सबै कुनै न कुनै रुपमा प्रयोग गरिएको पाईएको छ। जन्म संस्कारदेखि मृत्यु संस्कारसम्म कहिँ न कहिँ प्रयोगमा छ । बच्चा जन्मिने बितिक्कै भाङ्गको तेल घसिदिनेज भाङ्गको तेलमा परिकारहरु बनाई खाने समेत गरिंदो रहेछ । यसको लोकता (रेसाहरु) बाट नाम्लो, दाम्लो, डोरी बनाउने प्रचलन रहेछ भने डोचा (हिँऊमा हिड्दा लगाउने जुत्ता) बनाई लगाउने, विभिन्न कपडाहरु बनाउने तथा केही समुदायहरुमा मृत्यु हुदा समेत भाङ्गकै तेल घसेर, भाङ्गबाट बुनिएको कपडाले बेरी घाटसम्म पुर्‍याउने संस्कार रहेकोसम्म पाईएको छ । सन् १९३०-१९७० को दशकमा रोल्पा र रुकुम लगायतका जिल्लामा गरिएको केही सर्वेक्षणले यो क्षेत्रकै मुख्य आम्दानीको स्रोत नै गाँजा भएको देखाएको थियो ।

अब पुनः प्रतिनिधिसभामा पेस भएकै विधेयकको कुरा गरौं । विधेयक दर्ता गराउँदै केही सांसदहरु अर्बौ आम्दानी हुने भनिरहेका छन् । यसमा मेरा केहि अनुत्तरित प्रश्नहरु छन् । के हामी गाँजा खेती गरेर नै अहिलेको अवस्थामा अर्बौ भित्र्याउन सक्छौं त ? अर्थशास्त्रीय हिसाबले र हाम्रा धेरै छिमेकी राष्ट्रहरुमा अझै खुल्न नसकिरहेको अवस्थामा बजार विस्तार तथा व्यवस्थापन कसरी सम्भव छ ? यी प्रश्नहरुमा घोत्लिन र अध्ययन गरिनु जरुरी छ । नत्र टनका टन उत्पादित अदुवाले भारतीय बजारमा प्रवेश नपाएर बर्सेनि हाम्रा नेपाली किसानहरु मारमा परे जस्तै हुन सक्छ ।

प्रस्तुत विधेयक अध्ययन गर्दा, यो सामान्य किसानको जीवन स्तर उकास्ने भन्दा पनि अनुमति तथा स्वीकृतिसँग सम्बन्धित विविध प्रक्रिया तथा झमेलामा सामान्य किसानहरु मात्र पर्ने र सीमित दलाल र माफियाकै हातमा साँचो पुग्न संकेत देखिएको छ । यसमा बहस जरुर गरिनुपर्ने देखिन्छ ।

केहीको अझै प्रश्न हुन सक्छ- नेपाल यस्ता हजारौं जडिबुटीमा धनी छ, अनि किन गाँजामा नै ध्यान दिइएको भनेर । यसमा म यत्ति भन्न सक्छु कि गाँजा खेती सजिलो छ, कम लगानीमा गर्न सकिन्छ, हाम्रा पूर्वदेखि पश्चिममा गाँजा खेती गर्न पर्वावरणीय दृष्टिले अधिक राम्रा जिल्लाका जमिन बाँझा छन् र हाम्रा युवाहरु विदेश छन् ।

अन्त्यमा, गाँजा नेपालको आर्थिकरुपमा मात्र नभई सामाजिक, सांस्कृतिक, पर्यावरणीय मूल्य मान्यताहरुमा समेत प्रत्यक्ष जोडिएको छ । अब यसलाई कानुनतः वैधानिकता दिन बहुआयमिक छलफल अघि बढाई, संसदबाट पास गर्नुको विकल्प छैन ।

(बसेल हाल आन्हुई चीनमा रहेको हफेई युनिभर्सिटीमा अध्ययनरत छन्)

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय