scheduleबिहिवारबैशाख ९ गते, २०७८

विप्लव साँच्चै क्रान्तिकारी हौ भने घरमा हैन, ओली–प्रचण्डको स्कुलिङमा बम हान

साझापोष्ट टिप्पणी/काठमाडौं, २९ फागुन । राजनीतिक परिदृष्यमा ओझेल पर्दै र आमस्मृतिमा बिर्संदै गएको नेकपा (विप्लव) फेरि एकपटक चर्चामा आएको छ । कारण बनेको छ– भ्रष्टाचारको आरोपमा राजीनामा दिएका सञ्चारमन्त्री गोकुल बाँस्कोटाको घरमा बम विष्फोट ।

बुधबार विहान बाँस्कोटाको भक्तपुर लोकन्थलीस्थित निजी घरमा भएको बम बिष्फोटको जिम्मेवारी विद्रोही कम्युनिष्ट समूह नेकपा ( विप्लव ) ले लिएको छ । उक्त समूहले बाँस्कोटामाथि पर्चा छरेरै १० बुँदे अरोप लगाएको छ । त्यसको एक नम्बरमा सेक्युरिटी प्रेस खरिदमा उनले गरेको डिलकोे उल्लेख छ जुन कारणले गर्दा बाँस्कोटाले राजीनामा दिन बाध्य हुनु परेको थियो ।

केही हप्ता अघिसम्म बाँस्कोटा वर्तमान ओली सरकारका सर्वाधिक शक्तिशाली मन्त्री मानिन्थे । त्यही अनुसारको चुरीफुरी, अहंकार र दम्भ उनका सार्वजनिक अभिव्यक्तिमा सुनिन्थ्यो । उनी कसैले केही गर्न वा बिगार्न नसक्ने सर्वशक्तिमान व्यक्तिका रुपमा अभिव्यक्त भइरहेको हुन्थे । करिब दुई तिहाईको कम्युनिष्ट सरकारको शक्तिाशाली सञ्चारमन्त्री, प्रवक्ता र प्रधानमन्त्रीको नजरमा ‘महान प्रतिभा’ दरिएका बाँस्कोटाका सार्वजनिक अभिव्यक्ति यथार्थमा खासै रुचिकर थिएनन् ।

उनी अनावश्यक रुपमा विपक्षी जनमतलाई चिढ्याउने, कम आँक्ने र हुर्मत लिने मनोविज्ञानबाट प्रेरित थिए । सभ्य लोकतान्त्रिक समाजमा जिम्मेवार ठाउँमा बसेको व्यक्तिहरुले अपनाउनु पर्ने न्यूनतम् सालिनता र मर्यादासमेत उनमा देखिँदैनथ्यो । व्यक्तिले आफूलाई धेरै जान्ने, ठूलो र चोखो दावी गरेर मात्र हुने हैन । त्यही अनुरुपको जीवनशैली, व्यवहार र अभिव्यक्ति पनि हुनु पर्दछ । बाँस्कोटाका रुखा बचनले नै धेरैलाई चिढ्याउँदै लगेको थियो ।

वचन जे जस्तो होस्, उनी व्यवहारका पक्का हुन्थे भने सायद आजको नौवत आउने थिएन । कमिसन डिलमा उनको संलग्नता कुनै पनि हालतमा सैह्य हुन सक्दैनथ्यो । अन्ततः रातारात उनी प्रतिरक्षात्मक बन्न पुगे । धर्मपिता समानका प्रधामन्त्री ओलीले समेत उनको बचाऊ गर्न नसक्ने स्थिति आयो । यही परिप्रक्ष्यमा सबैतिरबाट खेदिएका बाँस्कोटालाई अझ खेदेर विद्रोही कम्युनिष्ट समूहले राजनीतिक फाइदा लिन बाँस्कोटाको घरमा बम पड्काएको छ ।

विद्रोही शक्तिले व्यक्तिको घरमा बम पड्काउनु, चाहे त्यो भ्रष्टाचारी व्यक्ति नै किन नहोस, सर्वथा अनुचित हो । जनताको भावनात्मक दोहन गर्न मात्र राजनीतिक क्रियाकलाप तय गर्नु जिम्मेवार राजनीतिक शक्तिलाई सुहाउने कुरा हैन । यदि नेकपा ( विप्लव) युद्धरत समूह हो भने उसले युद्ध गर्ने हो, व्यक्तिको घरमा बम पडकाउने हैन ।

युद्ध भनेको सशस्त्र शक्तिसँग गरिन्छ, निशस्त्रसँग हैन । भ्रष्टाचारका आरोपी नै किन नहुन बाँस्कोटा अब निशस्त्र नागरिक हुन् । उनलाई कार्वाही गर्ने अख्तियार र अदालतले हो, विप्लव समूहले घरमा बम पड्काएर हैन ।

त्यसो त बाँस्कोटा प्रकरणमा अहिलेसम्म अख्तियार दुरुपयोग अनुसन्धान अयोगले कुनै रुचि देखाएको संकेत छैन । लोकतान्त्रिक राज्यका अधिकार प्राप्त निकायले भ्रष्टाचारलाई कार्वाही गर्दैनन् भने जनताले ‘जनकार्वाही’ किन नगर्ने भन्ने तर्क यहाँनेर आउन सक्दछ । बाँस्कोटाको जुन स्तरको प्रमाण सार्वजनिक भएको छ– अख्तियारले उनलाई तुरुन्तै हिरासतमा लिनु पर्ने हो ।

अख्तियारको हिरासातमा आज पनि सयौं मानिस होलान् । त्यसमा अधिकांश खर्दार, सुब्बा र नासु होलान । राजनीतिक शक्तिको आड पाएकालाई हिरासतमा लिई अनुसान्धान र कार्वाही गर्न अख्तियार त्यसैत्यसै डराउँछ । त्यसको दुईवटा कारण होलान्– एक त नियुक्ति गर्नेहरुप्रतिको भक्ति, दोस्रो लोकमान सिंह कार्कीलाई जस्तो महाअभियोग लाग्ला र बेइज्जतीपूर्ण बहिर्गमन हुनु पर्ला भन्ने भय ।

जे अर्थमा होस्, नेपालको अख्तियार एक निष्पक्ष, तटस्थ र विश्वसनीय संवैधानिक अंग अब रहेन । देशमा जुनस्तरमा भ्रष्टाचार मौलाउँदैछ, त्यसको तुलनामा अख्तियारले एक छेउ पनि अनुसन्धान गर्न सकेको छैन । गरिएका अनुसन्धानहरु पनि पक्षपातपूर्ण र अव्यवहारिक लाग्दछन् । भ्रष्टाचारजन्य क्रियालापको परिभाषा, जरिवाना वा विगो दावी गर्ने अख्तियारको तरिकाले अनेक आशंका उब्जाउँछ ।

नेपालको संविधान र कानुन नै त्यस्तै छ कि आयोगमा विशेषज्ञता र क्षमताको अभावको भन्ने प्रश्न गर्नु पर्नेबेला भएको छ । तर अख्तियारले कार्वाही गरेन भन्दैमा बम पडकाउनु चाहिँ राम्रो हैन । त्यसका लागि जनस्तरबाट शान्तिपूर्ण दबाब दिनु पर्दछ । नागरिक आन्दोलनहरु चलाउनु पर्दछ । कुनै न कुनै दिन सबै भ्रष्टाचारीलाई कार्वाही गर्ने कानुन र राज्य बनाउन सकिएला भन्ने विश्वासमा चल्नु पर्दछ ।

विप्लव समूहलाई गत बर्ष आजैका दिन कम्युनिष्ट सरकारले आतंकवादी घोषणा गरेको थियो । कम्युनिष्ट सरकारले कम्युनिष्ट विद्रोहीमाथि गरेको राजनीतिक दमनको श्रृंखला बाँकी दुनियाँका लागि रोचक थियो । यो एक वर्षभित्र विप्लव समूहका सयौं कार्यकर्ताहरु पक्राउ परेका छन । हेमन्त प्रकाश ओली, उमा भुजेललगायत कयौं शीर्षस्थ नेताहरु जेलजीवन बिताइरहेका छन् ।

यिनै व्यक्तिहरु हिजो सत्तारुढ नेकपाका अध्यक्ष प्रचण्डका निकटस्थ सहयोगी थिए । आज प्रचण्डका लागि उनीहरु क्रान्तिकारी हैन, आतंकवादी भएका छन् । प्रचण्डले बाँस्कोटाको घरमा भएको बम काण्डको निन्दा गर्दै विप्लब नेकपालाई आतंकवादी समूह करार गरेका छन् ।

नेपालको कम्युनिष्ट आन्दोलनभित्र यो कुनै नयाँ कुरा हैन । ओली कुनै समय झापाली क्रान्तिकारी थिए । झापाका सामन्तहरुको टाउको काट्दै हिंड्थे । तर पुराना कम्युनिष्ट नेताहरु पुष्पलाल, मनमोहन लगायतले ओली र ओलीहरुलाई आतंककारी नै भन्थे । अन्ततः २०४६ पछि उनीहरु बीच नै एकाता भयो । माले र मार्क्सवादी मिलेर एमाले बन्यो ।

कम्युनिष्ट प्रेम-घृणाको चाकाचुलीमा यो पहिलो अध्याय थियो । दोस्रो अध्याय २०५१ सालपछि शुरुवात भयो । अब प्रचण्ड क्रान्तिकारी भए । आतंकवादीको आरोप लगाउने ठाउँमा ओली पुगे । आज ओली र प्रचण्ड फेरि मिलेका छन् ।

यो नाटकको तेस्रो अनुच्छेद अहिले मञ्चन भइरहेको छ । अब विप्लव क्रान्तिकारी बनेका छन् । उनीहरुलाई आतंककारीको आरोप लगाउने र दमन गर्ने गर्ने ठाउँमा ओली त छँदैछन् । प्रचण्ड पनि थपिएका छन् । कुनै दिन विप्लव ओली र प्रचण्डसंग अंगालो मार्न आउँनेछन् । त्यसपछि नाटकको चौथो अध्याय शुरुवात हुनेछ । अर्को कोही क्रान्तिकारी निस्कनेछ । विप्लवले उसलाई आतंकवादी भन्न र दमन गर्न थाल्नेछन् ।

यथार्थमा ओली, प्रचण्ड र विप्लवको राजनीतिक कुलवंश एउटै हो । वैचारिक सालनाल एउटै हो । उही बल प्रयोगको सिद्धान्त, उही नयाँ जनवाद, उही सांस्कृतिक क्रान्ति र उही साम्यवाद । फरक धारबाट यी आफूलाई सच्चा दावी जुन गर्दैछन, प्रकारान्तले एउटै नियतिका भारुन्डे चरा हुन् । जिब्रोको लोभले मात्र उनीहरु मिठो कुरा फरकफरक टाउकोले खान खोज्दछन्, जाने एउटै पेटमा हो, जसरी आज हिजोको मार्क्सवादी, माले र माओवादी एउटै धोक्री भएका छन, कुनै दिन विप्लव पनि ‘कमरेड लालसलाम’ भन्दै त्यही धोक्रीमा पस्ने छन् ।

कुरा कति मात्र हो, भने त्यसका लागि विप्लवको एउटा निश्चित साइज बनाउनु पर्‍यो । जस्तो कि प्रचण्डले एउटा साइज बनाए, ओली बराबरको । बाँकी सबै थोक सकियो । नयाँ जनवाद सकियो । प्रचण्डपथ सकियो । सांस्कृतिक क्रान्ति सकियो । सर्वहारा राज्य सकियो । पहिचानसहितको संघीयता सकियो । ओलीको समकक्ष जब उनले कुर्सी पाए, बाँकी केही रहेन । कुनै क्रान्ति बाँकी हरेन ।

विप्लव पनि प्रचण्ड स्कूलका उत्पादन नै हुन् । कुनै दिन प्रचण्डले कम्ब्याट ड्रेस लगाएर चडेको घोडाको लगाम समाएर हिंड्न सबैभन्दा ठूलो गौरवको अनुभूति गर्ने विप्लवको मनमा ओली र प्रचण्डप्रति प्रेम सकियो र घृणैघृणा मात्र बाँकी छ भन्न सकिन्न ।

बाँकी बचेको कम्युनिष्ट क्रान्ति र एजेण्डाप्रति उनको हृदयमा साँच्चै समर्पण र निष्ठा छ भने आफ्नो जीवनबाट उनले त्यो सिद्ध गर्नु पर्दछ । अन्यथा बाँस्कोटाको घरमा बम हानेर केही हुन्न । ओली र प्रचण्डको घरमा बम हानेर पनि केही हुन्न । विप्लव साँच्चैका विप्लव हुन भने उनले ओली र प्रचण्डको स्कुलिङमा बम हान्न सक्नु पर्दछ । विप्लव समूहका आजसम्मका क्रियाकलापले त्यो पुष्टि भएको छैन ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay