कोरोनालाई जित्दै चीनः संक्रमितको संख्या ह्वात्तै घट्यो, मानिसहरू काममा फर्किन थाले
एजेन्सी, ३० फागुन । सुरुमा कोरोना भाइरस देखा परेको चीनको वुहानमा संक्रमितको संख्या घटेर एकोहोरो अंकमा पुगेको छ ।
वुहानमा कोभिड-१९ पनि भनिने कोरोना भाइरसबाट दैनिक रुपमा संक्रमित हुनेको संख्या घटेर एकोहोरो अंकमा पुगेको हो । उक्त सहरमा लगातार दोस्रो दिन संक्रमित हुनेको संख्या १० भन्दा तल झरेको छ ।
समाचार अनुसार शुक्रबार वुहानमा ५ जना मात्रै भाइरसबाट संक्रमित भएका छन् । बिहीबार पनि संक्रमित हुनेको संख्या घटेर एकोहोरो अंकमा पुगेको थियो । हिजो ८ जनामा नयाँ संक्रमण देखिएको वुहानका अधिकारीहरूले बताएका छन् ।
त्यस्तै हुबेइ प्रान्तका अन्य शहरमा पछिल्लो ८ दिनयता कोरोनाका नयाँ विरामी फेला परेका छैनन् । पछिल्लो विवरण अनुसार चीनमा नयाँ भाइरस स्थानीय रुपमा फैलिन बन्द गरेको छ । विदेशबाट आएका व्यक्तिमा मात्रै नयाँ संक्रमण देखिन थालेको छ ।
हालसम्म चीनमा मात्रै कोभिड-१९ बाट ८० हजार ८ १३ जना संक्रमित भएका छन् भने ज्यान गुमाउनेको संख्या ३ हजार १ सय ७६ पुगेको छ ।
कोरोना भाइरसबाट चीनको अर्थतन्त्र ठप्प हुन पुगेको छ । विश्वको दोस्रो ठूलो अर्थतन्त्रमा जनवरीदेखि संकट देखिन थालेको हो । त्यहाँको सरकारले भाइरस नियन्त्रणका लागि यात्रा प्रतिबन्ध लगाएको छ भने मानिसहरूलाई घरभित्रै बस्न आग्रह गरिएको छ ।
तर अर्थतन्त्रमा नकरात्मक प्रभाव देखिन थालेपछि स्थानीय सरकारलाई आफ्ना आर्थिक क्रियाकलाप गर्न निर्देशन दिइएको छ । विशेष गरी भाइरसबाट कम प्रभावित क्षेत्रमा आर्थिक गतिविधि पुनः सञ्चालन गरिने भएको छ ।
हुबेइभन्दा बाहिरका प्रान्तमा रहेका ६० प्रतिशत साना तथा मझौला कम्पनीहरू पुनः सञ्चालनमा आउन थालेका छन् । त्यस्तै ९५ प्रतिशत ठूलो कम्पनीहरूले आफ्नो काम सुरु गर्न थालेका छन् ।
साना, मझौता तथा ठूला कम्पनीहरू सञ्चालन हुन थालेपछि मानिसहरू काममा फर्किन थालेका छन् ।