scheduleआइतवार चैत्र २३ गते, २०७६

‘मैले कांग्रेस सकिनुपर्छ भनेर लेखेको थिएँ’

योगेन्द्र यादव

मध्यप्रदेश राजनीति घमासानको मुख्य प्रश्न यो हैन कि एक वंशवादको ध्वजावाहकले एक सामन्ती परिवारसँग कस्तो व्यवहार गर्‍यो । सिन्धियाले कांग्रेसलाई धोका दिए कि कांग्रेसले नै सिन्धियाको यथोचित मानसम्मान गरेन, यो गौण प्रश्न हो । यस्ता प्रश्न धेरै उठाउनेहरुले ठूला खान्दानको आन्तरिक मनोदशालाई बढी ध्यान दिएका छन् तर यी भन्दा जटिल र गहिरा प्रश्नहरुलाई अनदेखा गरिरहेका छन् ।

युवा महाराजले किन काँग्रेस छोडे ? किन भाजपामा प्रवेश गरे ? यसो गर्नुको उद्देश्य के हो ? यस्ता प्रश्नभित्र बहस गर्ने धेरै ठाउँ नै छैन । राजनीतिक अवसरवादको आफ्नै तर्कशास्त्र हुन्छ । सिन्धियाले आफूलाई ठीक र कांग्रेस वा नेहरु–गान्धी परिवारलाई बेठीक देखाउन अनेक तर्क गर्न सक्दछन् । तर ती तर्कको पनि कुनै अर्थ छैन । बरु सोच्नु पर्ने कुरा के हो भने– यस पार्टीभित्र केही त्यस्तो कमजोरी वा गडबडी पक्का छ जसले गर्दा अझ उपलब्धि हासिल गर्नुपर्ने बेला कांग्रेस भएको पनि गुमाउँदैछ ।

राजनीतिको यो फोहोरी खेलमा भाजपाको के भूमिका रह्यो ? यो पाटोबाट पनि धेरै सोच्न जरुरी छैन । भापजा यो कुरामा प्रष्ट छ कि चाहे जेसुकै मूल्य चुकाउन किन नपरोस् सकेसम्म विपक्षीहरुलाई सिध्याउन छोड्नु हुँदैन । विपक्षीहरुलाई कमजोर पार्ने र सिध्याउने मामलामा भाजपाले नत कुनै नैतिक संकोच नै मान्छ न त कुनै वैधानिक मूल्यको नै रक्षा गर्दछ ।

Dish_Home

कुरा प्रष्ट छ– कांग्रेसको केन्द्रगृह नै लडखडाउँदैछ । तर कांग्रेसका भित्रियाहरु रमिते बनेका छन् । पार्टीको यो हालत छ तर कांग्रेसका शुभेच्छुकहरु पार्टीभित्र केही भन्न सक्ने अवस्थामा छैनन् बरु सम्पादकीय लेखेर नेतृत्वलाई सुझाब दिदैछन् । कांग्रेसको यो हालतले उसको चौतर्फी क्षयलाई संकेत गर्छ नै तर मुख्य प्रश्न कहाँनेर हो भने के यो कुनै चिन्ताको विषय हो र ? कांग्रेस रहोस वा नरहोस हामी बाहिरका मान्छेले यसको चिन्ता किन लिइरहनु पर्‍यो ? यदि चिन्ता नै गर्ने हो भने गर्नुपर्ने काम चाहिँ के हो ?

लोकसभा निर्वाचन लगत्तै मैले लेखेको थिएँ– कांग्रेस सकिनु पर्दछ । मेरा तर्कहरु बहुतै सरल थिए । मोदीराजले हाम्रो देशको आत्मालाई समाप्त गर्दैछ तर देशको प्राण रक्षा गर्न कांग्रेस असमर्थ भएको छ । यदि कोही देशको आत्मरक्षा गर्ने प्रयास गर्दैछ भने त्यो बाटो कांग्रेस रोडा बनेर उभिएको छ ।

मेरो लेखमाथि प्रोफेसर सुहास पाल्सीकरको एक गम्भीर र मननीय लेख प्रतिक्रिया प्रकाशित भएको थियो । उनले प्रतिक्रियामा भनेका थिए– आवेशमा आएर कांग्रेस खत्म होस भन्ने कामना नगरौं, त्यो झनै जोखिमपूर्ण हुन सक्दछ । आज हामी जुन परिस्थितिको सामना गरिरहेका छौं, त्यसमाथि विचारविमर्श गर्न मलाई लाग्दछ कि मेरो त्यो पुरानो तर्क अझै सहयोगी छ ।

मेरो विचारमा कांग्रेसका ३ अलगअलग अर्थ छन् । कांग्रेस एक पार्टी हो । कांग्रेस एक राजनीतिक स्पेश हो र कांग्रेस एक अवधारणा हो ।

कांग्रेसको पहिलो अर्थ भारतीय राष्ट्रिय कांग्रेस नामको संगठन हुन सक्दछ जसलाई निर्वाचन आयोगमा दर्ता गरिएको छ । यस अर्थमा मात्र कांग्रेसलाई लिने हो भने देशमा अधिकांश राजनीतिक दलजस्तै कांग्रेस एक पारिवारिक उद्यम हो । यस उद्यममा काम गर्ने कार्यकर्ताहरुको आ-आफ्नो व्यक्तिगत आकांक्षा त हुने नै भयो ।

स्वर्गीय जयपाल रेड्डीले मलाई एकपटक गान्धी परिवारबारे भनेका थिए– उनीहरु आफ्नो सोचमा साँच्चै उदार छन तर व्यवहारले सामन्ती छन् । गान्धी परिवारको लागि मात्र हैन, यो कुरा कांग्रेसका अरु धेरै नेताहरुको हकमा पनि भन्न सकिन्छ । यदि तपाई साँचो लोकतन्त्रवादी हो भने तपाईले गान्धी परिवारको व्यक्तिगत उद्यमको भविष्यबारे धेरै चिन्तित किन हुन पर्‍यो ?

जसरी बजारमा अनेक कम्पनी आउँछन हराउँछन्, त्यस्तै राजनीतिको बजारमा पनि राष्ट्रिय कांग्रेस नामको कम्पनी हराउँदा के फरक पर्छ ? यदि हामी रचनात्मक ध्वंशमा विश्वास गर्दछौं भने यस्तो अवस्थाको त हामीले स्वागत पो गर्नु पर्दछ । व्यवसाय जगतमा त त्यही हुन्छ । कुनै कम्पनी बन्द भयो भनेर मान्छेहरु शोक मनाएर रुँदै बस्दैनन् ।

यदि कांग्रेस एक राजनीतिक स्पेश पनि हो भने त्यो स्पेशको रक्षा आजको मूल धर्म हो । त्यो भनेको भाजपाको बर्चश्व तोड्न एक बृहत्त राष्ट्रिय महामञ्च खडा गर्नु हो । पछिल्लो लोकसभा निर्वाचन पछि देशको राजनीतिमा भाजपाको पकड अझ मजबुत भएको छ । निसन्देश विभिन्न क्षेत्रीय दलहरुले आआफ्नो प्रदेशमा भाजपालाई बलियो प्रतिरोध गरेका छन र उसलाई हराउँने सफलता पनि पाएका छन । तर भाजपा हाम्रो गणराज्यको जगलाई एकएक इटा गरेर उक्काउँदैछ, त्यसलाई रोक्न क्षेत्रीय दलहरुको ताकत मात्र पर्याप्त हुँदैन ।

हामीलाई अहिले एउटा यस्तो राष्ट्रियस्तरको राजनीतिक शक्ति आवश्यक परेको छ, जसले भजपालाई चुनावमा पनि हाराहारीको टक्कर देओस र हाम्रो गणरज्यका आधारभूत मूल्यमान्यताको रक्षा गरोस् । इतिहासको यो जटिल कालखण्डमा यस्तो गर्ने ताकत कांग्रेस बाहेक अरुसंग देखिँदैन । यही कारण हो कि कांग्रेस बाहिरका मान्छेहरु पनि यो पार्टीको चिन्ता गर्दछन जसको यसको पार्टी संगठनसंग कुनै लेनादेना छैन ।

र अन्तिम कुरा– कांग्रेस एक अवधारणाको नाम पनि हो । विचारको आधारमा हेर्दा कांग्रेस भारतीय समाजका विभिन्न सामाजिक समूह, वर्ग र क्षेत्रहरुको एक केन्द्रीय गठबन्धन हो । कांग्रेस एक बृहत्त राजनीतिक सञ्जाल हो जसले भारतमा फैलिन खोज्ने हरेक अतिवादी चिन्तनहरुलाई किनारामा पुग्नु अघि आफूमा समेट्ने ताकत राख्दछ । अहिले नै यो अवधाराणाको कुनै विकल्प छैन । भाजपाको सामना गर्न अहिले पनि यही एक मात्र बाटो बाँकी छ । यही अवधारणाले भारतलाई जोगाइराखेको छ । यदि यो अवधारणाको अन्त्य कांग्रेससंगसंगै हुने हो भने कांग्रेसको अवसानको शोक रहेक भारतीयलाई हुनेछ ।

आजको प्रश्न यो हैन कि सिन्धियाले कांग्रेसलाई धोका दिए वा कांग्रेसले सिन्धियालाई उचित ठाउँ दियो कि दिएन । बरु मुख्य कुरा कांग्रेसले कांंग्रेसको अवधारणालाई नै धोका दिइरहेको छ । जे कारणले भारतामा कांग्रेस जन्मिएको र टिकेको हो, कांग्रेसको नेतृत्वले त्यसलाई न्याय गर्न सकिरहेको छैन । कुनै एक इलाकामा स्थानीय पकड भएको नेतासंगको नाता टुट्यो वा कुनै प्रदेशमा सरकार गुम्ने भो भन्ने पिर कांग्रेसले किन गर्नु पर्यो यदि कांग्रेसको देशलाई एकजुट राख्ने गुरुत्वाकार्षण नहराउँने हो भने ?

हिजोआज यस्ता लाग्दछ कि कांग्रेससंग मान्छेसँग बाँड्ने न कुनै सपना छ, न कुनै रणनीत छ न कुनै सन्देश छ । कांग्रेसको संकट यस प्रकारको संकट हो कि जसले भारतीय लोकनतन्त्रको संकटलाई अझ ज्यादा गहन, गम्भीर बनाउन सक्दछ । तर मान्छेहरु सिन्धिया भागे भन्ने पीरमा छन् । चिन्ता गर्नु पर्ने विषय ठूलो छ, तर सानो कुरामा कांग्रेस अल्झेको छ ।

कांग्रेसमा अहिले पनि सबैथोकको खडेरी परेको हैन । यहाँ प्रतिभावान चिन्तक, सिद्धहस्त व्यवस्थापक, चतुर वक्ता, जनाधारवाला नेता वा धनकुबेरहरु सबै छन् । तर ती एक्लाएक्लै छन् । उनीहरुको राजनीतिक उद्यम आआफ्नो तरिकाले चलेको छ । यस्तो कुनै प्रक्रिया वा व्यक्तित्व त्यहाँ देखा परेको छैन, जसले यो सबैलाई जोडेर एक सामूहिक शक्ति पैदा गरोस र देशको आत्मालाई बचाउँन सकोस् ।

कांग्रेसले उल्लेखित विषयको ढिलोचाँडो सामना गर्नै पर्दछ । पार्टीको रुपमा कांग्रेस रहोस् वा सकियोस् तर अवधारणाको रुपमा कांग्रेस रहनु पर्दछ भन्ने दृष्टिकोणबाट बाहिरका मान्छेले पनि उसलाई सहयोग गर्न सक्दछन् । कुनै समय थियो सबै गैरकांग्रेसी दल एक हुन्थे र कांग्रेसलाई गलाउँथे अब यो धारलाई उल्टो मोड्न जरुरी छ । बसै गैरभाजपा विपक्षीहरुको एक महामञ्चका लागि कांग्रेसले पहलकदमी गर्नु पर्ने हुन सक्दछ ।

जुन सपनाले कांग्रेस बनेको थियो, त्यो आज कांग्रेस पार्टीभित्र छैन, तर कांग्रेस बाहिर गएर जिउँदोजाग्दो भएर उभिएको छ । आज कांग्रेसको संगठन वा कार्यकर्ताको क्षमताले यो कुरा जनतालाई बताउँन सक्दैन तर कांग्रेस बाहिरका अनेक व्यक्ति र आन्दोलनहरु निर्भिक भएर बताउँदैछन् । तसर्थ, कांग्रेससँग अब एक मात्र विकल्प बाँकी छ अहिलेको कांग्रेसलाई समाप्त गर्नु र कांग्रेसलाई देशको आत्मा रक्षाका लागि भजपा विरोधी महामञ्चमा रुपान्तरण गर्नु ।

(यादव भारतीय स्वराज अभियानका संयोजक हुन् । यो लेख द प्रिन्टबाट भावानुवाद गरिएका हो)

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय