scheduleआइतवार चैत्र २३ गते, २०७६

कमरेडहरु ! हिजोको त्याग आज भ्रष्टाचारको लाइसेन्स हुन सक्दैन

डम्बर खतिवडा

विगत २ वर्षमा अनेक प्रकरण भए । यति होल्डिङ्स र बाँस्कोटा प्रकरणपछि भने त्यो एउटा पराकाष्ठामा आइपुग्यो । बिमार प्रधानमन्त्रीलाई उपचार र सुस्वास्थ्यको शुभकामना मानवीय पक्ष हो । प्रमको स्वास्थ्यमा द्रूत सुधार होस्, हृदयभरिको कामना !

तर, स्वास्थ्यकै कारणले मात्र प्रधानमन्त्री ओली सधै नैतिक प्रश्नको घेराबाट उम्किने सम्भावना रहँदैन । व्यक्ति बिमार हुँदैमा राष्ट्रको जीवन र सार्वजनिक बहस बिमार बस्न सक्दैन ।

प्रधानमन्त्री ओलीसँग एकवचन नसोधी गोकुल बाँस्कोटाले त्यो स्तरको र त्यत्रो रकमको डिल गरेका थिए भनेर पत्याउनु छातीबाट सधैका लागि ‘कमरेड’ को लकेट फाल्नु र ‘हिप्पोक्रेट’ को बिल्ला झुण्ड्याउनु हो । अंग्रजीमा एउटा शब्द हुन्छ– हाइपोक्रेसी । जसको अर्थ हुन्छ– आफ्नै मूल्यमान्यता, विश्वास र जीवनदर्शन विरुद्धमा व्यवहार गर्नु वा त्यस्तो व्यवहारलाई साथ दिनु । जसको जीवनमा हाइपोक्रेसी हुन्छ– ती हिप्पोक्रेट हुन, कमरेड हैनन् ।

Dish_Home

कम्युनिष्टहरुको सिद्धान्त के थियो ? मार्क्सले कुन विश्वासले कम्युनिष्ट घोषणापत्र लेखेका थिए ? त्यो सिद्धान्तको मौलिकता कहाँनेर थियो ? किन उनले वर्गमुक्ति, सर्वहारा राज्य, कम्युन प्रणाली र अतिरिक्त मूल्यविहीन अर्थतन्त्रको कल्पना गरे ? आज त्यो कहाँ पुग्यो वा पुग्दैछ ? यी प्रश्नसँग डराएर कोही कमरेड बाँकी रहन्छ कतै ?

मार्क्सले कुनैबेला भनेका थिए, ‘साम्यवाद भनेको एक शब्दमा निजी सम्पतिको उन्मुलन हो ।’ उनको दार्शनिक भविष्यवाणी विश्वमा कति पुष्टि भयो वा भएन भिन्नै कुरा । आज नेपालमा मार्क्स भए सायद भन्थे, ‘कम्युनिज्म भनेको एक शब्दमा ‘करप्सन’ हो ।’ विश्व यतिखेर कोरोना भाइरसको प्रकोपमा छ । धन्य, नेपालमा छिरेको छैन । ‘करप्सन भाइरस’ ले आक्रान्त देशमा छिर्न सायद कोरोना समेत लजाएको छ ।

बरु यो पत्याउन सकिन्छ कि ज्ञानेन्द्र शाहको इच्छा विपरित पारस शाहले थुप्रै काम गरे होलान् । कम्तीमा ज्ञानेन्द्रले पारसलाई विदेशका रेड लाइट एरिया चहार्दै हिंड्न, गाँजा, भाङ, धतुरो खान, थाइ प्रहरीको फन्दामा पर्न वा श्रीमती, छोराछोरीप्रति लापरवाही हुन अवश्य भनेनन् होला ।

बरु यो विश्वास गर्न सकिन्छ कि प्रचण्डको इच्छाविपरित प्रकाश दाहालले धेरै काम गरे होलान् । कम्तिमा प्रचण्डले प्रकाशलाई तीनचोटि बिहे गर्न वा ‘हृदयघात हुने गरी पियक्कड बन्न’ सल्लाह अवश्यक दिएका थिएनन् होला ।

तर यो पत्याउन गाह्रो छ कि बालकोट दरबारका ‘राजकुमार’ गोकुल बाँस्कोटाले ओलीको इच्छा, जानकारी वा सल्लाह विपरित करोडौंको डिल गरे वा गर्थे । त्यो वा त्यस्तो ‘कलेक्सन’ बाँस्कोटाले कहाँ राख्थे ? पक्कै निजी बैंक खातामा राख्दैनथे । पक्कै पार्टीको कोषमा जम्मा गर्दैनथे । पक्कै पशुपतिका भिखारीलाई बाँड्दै हिड्दैनथे । त्यस्तो जम्मा हुने भनेको त बालकोटको सेफमा नै थियो होला । सायद त्यही रुङ्न बाँस्कोटा मन्त्री हुँदा पनि सरकारी क्वार्टरमा नबसेर बालकोटमै बस्थे । क्याबिनेट स्तरको मन्त्रीलाई सरकारी निवासको जोहो नपुगेको यस अघि कहिल्यै सुनिएको थिएन ।

पारस र प्रकाश ‘जैविक पुत्र’ थिए, बाँस्कोटा ‘मानष पुत्र’ । यी दुई प्रकारका पुत्रमा अनेक समानता र असमानता हुन्छन् । जैविक पुत्रहरु धन र शक्तिको रापले पुल्पुलिएका हुन्छन् । उनीहरुमा प्रयोजित दिमाग र जिम्मेवारीबोधको भावना कम हुन्छ । मानष पुत्रहरु आफैंमा एक खेलाडी हुन्, जसका हरेक कर्महरु प्रायोजित हुन्छन् । पारस र प्रकाशको कर्म पिताश्रीहरुलाई दङ्ग्याउनु थियो । निजी मोजमस्तीका लागि शक्ति संरचनाको दुरुपयोग गर्नु थियो । दङ्याउने कर्मले सीमा नाघेपछि कति नाङ्गिइन्छ भन्ने हेक्का उनीहरुमा थिएन ।

बाँस्कोटाको काम न दङ्याउनु थियो र नङ्ग्याउनु । बरु जोहो गर्नु, जोगाउनु र जोगिनु थियो । त्यसै ओलीले बाँस्कोटालाई ‘महान प्रतिभा’ भनेका थिएनन् । बाँस्कोटा कति महान, कति शालिन, कति सभ्य थिए, त्यो त उनले गर्ने सार्वजनिक अभिव्यक्तिका शब्दशब्दले बताइरहेकै थियो ।

कमरेडहरु नठान्नु होला कि यो आलेख कुनै रिस वा पूर्वाग्रहको अभिव्यक्ति हो । मेरो जीवनका राजनीतिक हस्तरेखाहरु कहिँनेर पनि कमरेड ओलीसंग जोडिदैनन् । न क्रस हुन्छन न खप्टिन्छन् ।

कसैप्रति पूर्वाग्रह साँधेर कुनै व्यक्तिगत लाभ न कहिल्यै भयो न सायद हुनेछ । प्रश्न पूर्वाग्रहको हैन, इस्युको हो । प्रश्न घृणाको हैन, प्रवृतिको हो । प्रश्न प्रतिशोधको हैन, जीवन दर्शनको हो । यसमा कुनै सम्झौता गर्न सकिँदैन, चाहे व्यक्ति जोसुकै होस् ।

औपचारिक/अनौपचारिक कमरेडहरुको कुरा सुन्छु– ताज्जुब लाग्दछ । सुनिन्छ– ‘भैगो, छोडिदिनुस्, त्यत्रो त्याग र तपस्या गरेको मान्छे । त्यत्रो जेलनेल खाएको मान्छे । त्यति गरिब परिवारबाट आएको रोगी मान्छे । विचरालाई कति खेदो खन्न सकेको ?’

प्रश्न व्यक्तिगत खेदो खन्ने नखन्ने पनि हैन । प्रश्न कस्तो राज्य, शासनशैली र संस्कृति बनाउने भन्ने हो ।

ती तर्कहरु सुनेर एसफको एउटा कथा याद आउँछ । एकपटक आजाद जंगली घोडा र झाँट (भाले हरिण) को झगडा परेछ । रिसले घोडा शिकारीलाई गुहार्न गयो । शिकारीले भनेछ, ‘ठीक छ, म झाँटलाई मार्न राजी छु । तर त्यसबापत् तिम्रो मुखमा फलामको सानो टुक्रा राख्नु पर्ने हुन्छ । ताकी तिम्रो मुखबाट खुस्कने आवाज सुनेर झाँट नभागोस् । तिम्रो ढाडमा काँठी बाँध्नुपर्ने हुन्छ ताकी वाण चलाउँदा म नहल्लिउँ र निशान ठीक ठाउँमा लागोस् ।’

घोडाले शिकारीको शर्त मञ्जुर गर्‍यो । जब झाँट मारियो घोडाले भन्यो, ‘अब तिमी मेरो ढाडबाट उत्र, मेरो मुखबाट लगाम झिक’ तब शिकारीले भन्यो, ‘अरे, यार बेकुफ कुरा नगर, अब त मैले तिम्रो शरीरमा कोर्रा हान्ने अधिकार पाइसकेका छु ।’

नेपाली जनता ठीक त्यस्तै घोडा हैनन्, नेताहरु शिकारी हैनन् भने लोकतन्त्रको लागि गरेको योगदानबापत् कसैलाई भ्रष्टाचार गर्ने, गराउने र त्यसलाई संस्थागत गर्ने अधिकार दिन सकिँदैन । हिजोको त्याग आज भ्रष्टाचार गर्ने, गराउने लाइसेन्स बन्न सक्दैन ।

निश्चय नै नेपालको लोकतान्त्रिक राजनीतिमा ओली एक्ला पात्र हैनन् यो संस्कृतिका । मलाई यसो भन्न पनि कुनै हिचकिचाहट छैन कि नेपालको लोकतान्त्रिक युगमा शक्ति सम्भ्रान्तहरुले भित्रभित्रै ठूलो रकमको जोहो वा चलखेल गर्ने प्रचलन गिरिजाप्रसाद कोइरालाले शुरुवात गरेका हुन् । यो स्कुलको संस्थापक हुन्– कोइराला । ओली त त्यसको पछिल्लो उत्पादन मात्र हुन ।

यसोभन्दा कांग्रेसका साथीहरुलाई रिस उठ्ला । स्वर्गबास भइसकेका त्यत्रो ठूलो नेतालाई अहिले आएर किन यसरी चिहान उद्धिन्नु ?

स्वर्गेबास त वीपी, पुष्पलाल, गणेशमान, मनमोहन, किशुनजी र मदन भण्डारी पनि भए । पूर्वाग्रह वंश नै चिहान उद्धिन्नु थियो भने उनीहरुको नाम काढ्न सकिन्थ्यो । यी नेताहरुको राजनीतिक आस्था, विचार र एजेण्डा फरक थियो होला, कसैलाई मन पर्‍यो, कसैलाई मन परेन होला, तर यी नेताहरुले भ्रष्टाचार गरेनन्, राजनीतिलाई पैसासँग जोखेनन् भन्ने कुरामा म ढुक्क छु । सायद नेपाली समाज पनि ढुक्क छ ।

तर गिरिजाप्रसादसंग लाउडा, धमिजा, सुडानजस्ता अनेक काण्डहरु जोडिएका थिए । खुमबहादुर खड्का भ्रष्टाचारी हुने, गिरिजाप्रसाद चोखो रहने, त्यो असम्भव कुरा हो । गोविन्दराज जोशी भ्रष्टाचारी हुने, गिरिजाप्रसाद चोखो रहने, त्यो असम्भव कुरा हो । रुवेल चौधरी सुडान काण्डसँग जोडिने र गिरिजाप्रसाद चोखो रहने, त्यो असम्भव कुरा हो । ठीक त्यसै गरी गोकुल बाँस्कोटा भ्रष्टाचारी हुने र केपी ओली चोखो रहने– असम्भव कुुरा हो ।

एउटै व्यक्तिका फरकफरक कालखण्डमा भूमिका फरकफरक हुनसक्दछन् । २०४६ अघिको पंचायत विरुद्ध लागेका गिरिजाप्रसादलाई सम्मान गर्न सकिन्छ । २०५९ पछि शान्ति प्रक्रिया र गणतन्त्रका लागि पहलकदमी लिने गिजिाप्रसादलाई सम्मान गर्नुपर्दछ । तर २०४७ देखि २०५७ सम्मका गिरिजा, गणेशमानलाई किरानीकरण गर्ने गिरिजा, किशुनजीलाई अन्तर्घात गर्ने गिरिजा, अनावश्यक देशलाई मध्यावधि, अस्थिरता र संसदीय विकृतको युगमा धकेल्ने गिरिजाप्रसादलाई सम्मान गर्न सकिँदैन ।

ओलीको बारेमा पनि ठीक यही कुरा हो । २०५१ सालसम्मको ओली, पञ्चायत विरुद्ध लड्ने ओली, १४ बर्ष जेल बस्ने ओली, मनमोहन अधिकारीको जस्तो लोकप्रिय सरकार चलाउँन सहयोग गर्ने ओलीलाई सम्मान गर्नै पर्छ ।

तर महाकाली सन्धिपछिका ओली, गणतन्त्र, संविधानसभा र पछिल्ला क्रान्तिकारी जनआन्दोलनहरुलाई उल्लाउँदै हिड्ने ओली, देशमा शासकीय स्वरुप र संघीयताको सही मोडालिटी स्थापना हुन नदिने ओली, देशका आदिवासी, जनजाति महिला, मधेसी, मुस्लिम दलितलगायत सीमान्तकृत समुदायको पराजय र निरासामा आफ्नो राजनीतिक भविष्य देख्ने ओलीलाई त्यहीस्तरको सम्मान गर्न सकिँदैन । तर आजको प्रश्न भने यी राजनीतिक मुद्दा पनि हैनन् । यी सबैभन्दा बढी अहिले ओलीमाथि यति होल्डिङ्स र बाँस्कोटा प्रकरण छन् । यसको नैतिक घेराबाट ओली कसरी उम्किन सक्दछन् ?

हिजो ती काण्डहरु जो गिरिजाप्रसादको शासनकालमा भए, ओली आफै नैतिकताको आधारमा कोइरालाको राजीनामा माग्थे । रत्नपार्कको जुलुसमा रेलिङ भाँच्न आफैं पुग्थे । संसद महिनौंमहिना चल्न दिइदैनथ्यो । त्यस्तै आन्दोलनमा अनिश शाक्यजस्ता कयौंको मृत्यु भयो । आज ठीक त्यस्तै मुद्दामा, त्यस्तै परिस्थितिमा हामीले ओलीको राजीनामा माग्नु कुनै पूर्वाग्रह हो ? प्रतिशोध हो ? राजनीतिक नैतिकताका मानकहरु कुनै व्यक्तिलाई हेरेर बनेका हुँदैनन् ।

अझै भन्छु– हिजो गिरिजाप्रसाद जुन परिबन्दमा परे, आज ओली जुन परिबन्दमा छन, त्यो व्यक्तिको मात्र दोष हैन । हाम्रो सामाजिक, आर्थिक, राजनीतिक र प्रशासनिक संचरनामा केही दोषहरु छन । यदि यी न सच्चयाउने होे भने त्यहाँ अर्को कोही पुग्दैमा केही हुँदैन ।

राणा, पञ्च र शाह गए– कांग्रेस, कम्युनिष्ट आए, केही फरक परेन । कुनै दिन कांग्रेस, कम्युनिष्ट पनि जालान– हामी समाजवादी, राजपा, साझा, विवेकशील वा अरु कोही आउँला, केही फरक पर्दैन ।

त्यो दोष के भने देशको संविधान र कानुनले बहुदलीय लोकतन्त्र चिन्यो । लोकतन्त्रमा दलहरु हुन्छन भनेर बुझ््यो । तर दलहरुको आर्थिक जीवन कसरी चल्छ वा चल्नुपर्छ भन्ने सोचेन । त्यसको कुनै कानून बनाएन । प्रावधानहरु सिर्जना गरेन ।

पार्टीभित्र गुट नबनाई टिक्न, शक्तिका रुपमा उदय हुन सकिँदैन । हिजो गिरिजाको उदय गुटबाटै भएको थियो । ओलीको उदय पनि गुटबाटै भयो । गुट चलाउन पैसा चाहिन्छ । संसदीय दलमा बहुमत हासिल गर्न, आफ्ना मान्छेलाई टिकट दिन र जिताउने चुनाव खर्च दिन सक्नुपर्दछ । अनि मात्र त्यो शक्तिशाली नेता हुन्छ ।

हिजो गिरिजाप्रसाद यही मुध्धुमले शक्तिशाली भए । निरासा र अपमानबोध बीच गणेशमान र किशुनजी कांग्रेस छोडेर रुँदै मरे । आज ओली त्यही मुध्धुमले शक्तिशाली भएका छन । अरु हरेको हेर्‍यौ भएका छन् । न मन परेको छ, न बोल्न मिलेको छ । शक्तिशाली पार्टीको शक्तिशाली गुट हुन, शक्तिशाली गुटको शक्तिशाली नेता हुन जुन पैसा चाहिन्छ, त्यो कहाँबाट आउँछ ? जुन दिन कमरेड ओलीले यो कुरा सार्वजनिक रुपमा बताउँलान, त्यो दिन म ओलीको बिरुद्धमा एक शब्द बोल्ने, लेख्ने छैन र घरमा फोटो राखेर पूजा गर्न थाल्ने छु ।

दुनियाँलाई थाहा छ– त्यसका ३ वटा स्रोत हुन्छन् । कि त त्यो ठूला व्यापारीबाट उठाइने हो कित सरकारी कोषमा हिनामिना गरेर जुटाइने हो कित सरोकार राख्ने वैदेशिक शक्तिकेन्द्रको नाजायज शर्त मानेर लिने हो । विद्यमान संसदीय लोकतन्त्र जसरी चलिरहेको छ, यसलाई धान्न सक्ने बैध अर्थतन्त्र नै देशमा छैन ।

नेपालका धनी मानिसको प्रवृति आज ‘सुवर्ण शमशेर’ को जस्तो हैन, ‘विनोद चौधरी’ को जस्तो हो । आजका कर्पोरेट हाउस वा धनी भनिएकाहरुबाट निस्वार्थ आर्थिक सहयोगको आशा गर्न सकिन्नँ । अन्यथा यति होल्डिङसले कमरेड ओलीलाई लगाएका गुनहरु वापत त्यति ठूलो प्रतिफलको आशा राख्थेन । देशकै लागि गरेको, क्रान्तियोद्धा कै लागि गरेको लगानी वा योगदान हो भने राज्य नलुट्दा पनि के फरक पर्थ्यो ?

आज यस्तो आशा नै बेकार हो । देशका तथाकथित धनीहरु कुनै सृजनात्मक आन्दोलनमा कन्चो लगानी गर्न दाँतबाट पसिना निकाल्छन् तर शक्तिशाली र सत्तासिनहरुलाई जति पनि भेटी चढाउन राजी हुन्छन् । अरु अधिकांशले कसै न कसैलाई बोकेकै छन्, मैले यति होल्डिसलाई बोक्दा के बिग्रियो भन्ने होला ओलीको मनमा । तर त्यस्तो बोधले देशलाई कुनै नयाँ दिशानिर्देश गर्ने छैन ।

अब लोकतन्त्र, दलहरुको उपस्थिति, दलहरुको कोष, नेताहरुको आर्थिक जीवन, निर्वाचन प्रणाली र निर्वाचन खर्चबारे वृहत्त कानुनी पुनरावलोकन गर्ने बेला भइसकेको छ । त्यतातिर कसैको ध्यान छैन । ध्यान छ– चलखेलबाट शक्तिशाली हुने तिर । हिजो गिरिजाप्रसाद शक्तिशाली, आज ओली शक्तिशाली, भोलि यही तरिकाले कोही शक्तिशाली हुन्छ ।

देश र जनताले के पाउँछ ? त्यही तथाकथित शक्तिशालीहरुको भजनर्कितन ? र्कितनको भेटीले देश समृद्ध हुन्छ ? देश र जनताको हालत उही हो । उही अल्पविकास, उही पिछडापन, उही भ्रष्टाचार, उही बेरोजगारी, उही विदेश पलायन, उही आर्थिक दुर्दशा, यसरी कसरी कमरेड भइन्छ ? यो त सरासर हिप्पोक्रेट हुने तरिका हो । यसरी कसरी चल्छ देश कमरेड ? कतिन्जेल चल्छ ?

प्रश्न उठ्ला, त्यसो भए के गर्ने त ? मन परेर कहाँ गरेको हो यो सबै ? बाध्यताले पो गरेको भन्न सकिएला । गर्न सकिने धेरै कुरा छन । तर पहिलो कुरा– केही गर्ने एजेण्डमा प्रवेश गर्न राजी त हुन पर्यो ? संवैधानिक तथा कानुनी सुधारको बिषयमा बहस गर्न राजी त हुनु पर्र्यो । संस्कार र संस्कृतिजन्य परिवर्तनको पहलकदमी लिन राजी त हुनु पर्‍यो ?

सस्कृतिकै कुरा गरौं– ओलीको पुुर्खेउली गाउँमा जन्मदिन मनाउँने तयारी भइरहँदा म फिदिमबाट फर्किदै थिए । अघिल्लो दिनदेखि सरकारी गाडीका ताँती थिए जताततै । साँघुरा पहाडी सडकमा साइरन बजाएर हिड्ने सरकारी गाडीको ताँती १०० बढी थियो होला । भोलिपल्ट ५ वटा हेलिकप्टर पुगेछन त्यहाँ ।

गाउँलेले पाएको भने विद्यार्थीले ओलीको फोटो छापिएको डायरी अनि बृद्धबृद्धालाई मुश्किलले २ सय पर्ने फाटा कम्पनीका खासाका ज्याकेट । ओलीले गाउँ पुगेर जे बाँडे, त्यसको मूल्य मुश्किलले १० लाख थियो, थिएन, तर तामझामका लागि सरकारी खर्च ५० करोड बढी थियो । यही हो– सर्वहारा संस्कृति ?
ल ! गर्ने होे भने निम्न काम गरौं ।

एक– संवैधानिक परिवर्तन गरौं । प्रत्यक्ष निर्वाचित कार्यकारी र पूर्ण समानुपतिक संसद बनाउँ । न प्रधानमन्त्री हुन पार्टीभित्र गुट बनाउन पर्छ, न आफ्ना मान्छेलाई टिकट दिन मरिहत्ते गर्नु पर्छ न निजी चुनाव खर्च गर्नु पर्ने बाध्यतामा कोही हुन्छ ।

दुई– पार्टीहरुलाई स्टेट फन्डिङ गरौं । नचन्दा माग्दै हिड्नु पर्छ । बरु पार्टी कोषको लेखा राख्ने र महालेखा परिक्षण हुने, भ्रष्टाचार भए राज्यकोष सरह अख्तियार लाग्ने बनाउँ ।

तीन– जीवनभरि पूर्णकालीन राजनीति गर्ने कार्यकर्ता नबनाउँ । पद पूर्णकालीन हुने र पदमा रहेको अबधिमा ती व्यक्तिले पार्टी कोषबाट न्यूनतम् दैनिक भ्रमण भत्ता र यातायात खर्च लिन पाउँने व्यवस्था गरौं ।

चार– समाजवादी राज्यको अवधारणा अनुरुप शिक्षा र स्वास्थ्य निशुल्क गरौं । एकबारको जिन्दगीमा महंगो शिक्षा र स्वास्थ्यको तनाबबाट समाजलाई मुक्त गरौं । सन्तानको भविष्यकै लागि नाजायज तरिकाबाट छिटो कमाउँनु पर्ने नत्र समाजमा नामर्द दरिने स्थितिबाट मान्छेहरुलाई मुक्त गरौं ।

पाँच–अख्तियारमा पूर्वकर्मचारीबाट आयुक्तहरुको राजनीतिक नियुक्त गर्ने प्रचलन अन्त्य गरौं । भिन्नै अख्तियार सेवा गठन गरौं । त्यहीभित्रको बरिष्ठताबाट अख्तियारको नेतृत्व आउँने प्रचलन स्थापित गरौं । अख्तियारलाई जनलोकपालको अवधारणा अनुरुप पुनर्गठन गरी राष्ट्रपति, प्रधानमन्त्री र पार्टी नेता समेतलाई छानविन र कार्वाहीको दायरामा ल्याउँन पाउँने अधिकार दियौं ।

कमरेडहरु राजी हो ? यसो गर्न कस्ले रोकेको छ ? दुइतिहाई जो छ, त्यो केका लागि हो ? यस्तै गर्न हैन ? निरन्तरताको हाबेजाबे सरकार चलाउन दुईतिहाई चाहिन्छ ? त्यसका लागि त सामान्य बहुमत वा गठबन्धन नै काफी हुन्छ ।

कुनै समय कम्युनिष्टहरु भन्थे– अध्ययन, विचार, बहस नै समस्या चिन्ने र समाधान गर्ने बाटो हो । आज कामरेडहरु अध्ययन कति गर्दछन, थाहा भएन । तर देखिन्छ– उनीहरु आज विचारसँग डराउँछन । बहसदेखि भाग्छन । कसैले कुनै कुरा नउठाइ दिए हुने जस्तो सुतुरमुर्गी चरित्र देखाउँछन् । यही हो माक्र्सवादले दिने आलोचनात्मक चेत ? तर भाग्दैमा मुक्ति मिल्ने वाला छैन कमरेडहरु !

यो देशमा अझै केही मान्छे छन, प्रश्न गर्ने इमान जोगाएर बाँचेका । हामी तान्न छोड्ने छैनौ– नैतिक प्रश्नहरुको अखडामा । बरु जोखिम उठाएर ललकार्न राजी छौं । सोधिरहेन छौं बारम्बार, तिम्रो साम्यवाद यही हो ? यही हो तिम्रो सर्वहारा राज्य ? यही हो तिम्रो कम्युन प्रणाली ? यही थियो हिजो तिम्रो आदर्श ? यही हो तिम्रो माक्र्सवाद–लेनिनवादको हविगत ? यही हो वर्गमुक्ति ? यही हो सुशासन र समृद्धि ?

अरे यार कामरेड ! एकपटक आफ्नो अनुहार त राम्ररी धोउँ, ऐनाको धुलो कति पुछ्छौं ?

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय