scheduleशुक्रवार चैत्र २१ गते, २०७६

बिरामी प्रधानमन्त्रीलाई घिसार्दै सचिवालय, दौडधुपमा बिरामी मान्छे

काठमाडौं, ३ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रोपटक मृगौला प्रत्यारोपण गरेर अस्पतालको बेडमा स्वास्थ्य लाभ गरिरहँदा प्रधानमन्त्रीका सचिवालयका अधिकारीहरु अर्कै दौडधुपमा देखिन्थे ।

अस्पतालअगाडि भिड थुपारेर स्वास्थ्यलाभको कामना गर्नेदेखि लिएर वर्षौंअघि मृगौला प्रत्यारोपण गरेका सफल मानिसहरुलाई भेटघाट गर्ने र उनीहरुको सफलतालाई सामाजिक सञ्जालबाट सार्वजनिक गर्ने । यो अभियानको नेतृत्व प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले गरिरहेका छन् । त्यसो त प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले पनि प्रधानमन्त्री ठिक हुन्छन्, सबै ठिक ठाक छ, प्रम बिरामी भएर मुलुकलाई केही फरक परेको छैन आशयका सन्देश प्रवाह गर्ने प्रयास गरिरहेका देखिन्थे ।

केही घटनाक्रमहरु हेरौं-

Dish_Home

आइतबार प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले सुपरिचित प्रशिक्षक ध्रुवविक्रम मल्लको अनुभवहरु तस्बिरसहित शेयर गरे ।

कराँतेका अन्तराष्ट्रिष स्पेशल प्रशिक्षक ध्रुवविक्रम मल्लले मृगाैला प्रत्याराेपण गराउनुभएकाे २१ वर्ष भयाे । ५३ वर्षीय उहाँकाे सक्रियता र नियमित खेल अभ्यास तथा प्रशिक्षण लाेभलाग्दाे रहेकाे छ । उहाँ प्रत्याराेपणपछि अन्तर्राष्ट्रिय स्पेशल काेच बन्नुभएकाे हाे ।
बालाजुस्थित उहाँकाे खेलाडी हाेस्टेलमा शनिबार भेट हुँदा भन्नुभयाे, ‘मलाई प्रत्याराेपणले नियमित काममा सहयाेग पुगेकाे छ, खासमा कुनै समस्या अनुभव गरेकाे छैन ।’

Kp_Oli_Secretariat

जब प्रधानमन्त्री ओली अस्पतालबाट डिस्चार्ज भएर घर फर्किँदै थिए, उनलाई ह्वीलचेयरमा होइन, हिंडाएर ल्याइयो । सुरक्षाकर्मीको सहारामा हिंडेका उनले सिंढी ओर्लँदा अस्वभाविक देखियो । बिरामी ओलीले ओठमा मुस्काउन ल्याउने प्रयत्न गर्दै शुभचिन्तकहरुलाई हात हल्लाएर अभिभावदन गरे ।

आइतबार कोरोनाविरुद्ध सार्क राष्ट्रप्रमुखहरुको भिडियो संवादमा प्रधानमन्त्री ओली आफैं सहभागी भए । उनको स्वर खुलेको थिएन र उनी थकित सुनिन्थे । यतिसम्म कि उनी आफ्नो लिखित मन्तव्य सक्किएको हो कि होइन भनेर छुट्याउन सक्ने अवस्थामा थिएनन् वा तयारी थिएन । पाकिस्तानबाट बैठकमा स्वास्थ्य राज्यमन्त्री सहभागी हुँदा नेपालबाट प्रधानमन्त्री ओली नै सहभागी हुनुपर्नै बाध्यता थिएन ।

स्वास्थ्यकर्मीहरुले उनलाई अनावश्यक हेलचेक्र्याईं नगर्न सचेत गराइरहेकै छन् । संक्रमणको उच्च जोखिमको अवस्थामा रहेका ओलीलाई हिंडाइँदै प्रधानमन्त्री कार्यालय सिंहदरबार लगियो प्रधानमन्त्रीलाई । यस्तो कार्यबाट उपचारमा संलग्न चिकित्सकहरु असन्तुष्ट देखिन्छन् । तर, सचिवालय भने निरन्तर चिकित्सकको सल्लाहविरुद्ध काम गरिरहेका छन् ।

कतिपयले यसलाई सचिवालयको लापरवाही वा नियत भन्दा प्रधानमन्त्रीको चाहना र इच्छाशक्तिका कारण भइरहेको तर्क गर्छन् । ओलीले सचिवालयको सुझाव नमान्ने र आफूलाई लागेको कुरा गर्ने उनीहरुको तर्क रहने गरेको छ ।

ओलीको उपचारमा संलग्न चिकित्सकले स्पष्टरुपमा भनेका थिए, ‘अबको ३ महिना संक्रमणको उच्च जोखिम हुन्छ, भेटघाट र कार्यक्रममा सहभागी हुन पूर्णरुपमा बन्देज लगाउनुपर्छ ।’ डिस्चार्ज भएको एक घण्टा नबित्दै प्रधानमन्त्री भेटघाटमा जुटे र त्यहाँ भेला भएका थिए सचिवालयकै पदाधिकारीहरु । उनीहरुले रुचिपूर्वक तस्बिर पनि सामाजिक सञ्जालमा शेयर गरेका थिए ।

उपचारमा संलग्न चिकित्सकहरुले प्रश्न गर्दा सचिवालयका सदस्यहरुले पूर्ण तयारीका साथ सिंहदरबार लगेको जवाफ दिने गरेको बताइन्छ ।

कतिपयले प्रधानमन्त्री बिरामी भएकोले उनले आराम गर्नुपर्ने र सरकार चलाउन अरुलाई मार्गप्रशस्त गर्नुपर्ने आवाज उठाउन थालिरहेका छन् । यो सन्दर्भमा प्रधानमन्त्रीको सचिवालयले प्रधानमन्त्रीलाई स्वास्थ्य सम्बन्धि कुनै समस्या छैन र उनी राम्रैसँग काम गर्न सक्छन् भन्ने सन्देश दिन बिरामी प्रधानमन्त्रीलाई घिसारिरहेको विश्लेषण गर्न थालिएको छ । यो सन्देश दिने सचिवालयको स्वार्थमा प्रधानमन्त्रीको पनि स्वार्थ मिलिरहेको छ ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय