scheduleआइतवार चैत्र २३ गते, २०७६

महामारीको वास्तविक औषधि विभाजन होइन अझ बढी सहकार्य हो

युवल नोवा हरारी

धेरै मान्छे यसो भन्दैछन्– विश्वमा यति छिटो कोरोना भाइरस महाव्याधीको संक्रमण फैलिनुको मुख्य कारण भूमण्डलीकरण हो । यो प्रकोपलाई अझ धेरै फैलिन नदिने हो भने वि-भूमण्डलीकरण गर्नुपर्दछ । पर्खालहरु निर्माण गरौं, भ्रमणहरु रद्द गरौं, वैदेशिक व्यापार कम गरौं । यस्ता अनेक व्यवधानहरु सिर्जना गरौं भन्ने धारणा आइरहेका छन् ।

यद्यपि अल्पकालका लागि क्यारेन्टाइन जरुरी छ तर दीर्घकालसम्म विश्वलाई अगलावमा राख्ने हो भने त्यसले रोग विरुद्धको सुरक्षा पनि प्रत्याभूत गर्ने छैन साथै थाहै नपाई आर्थिक महापतन निम्याउने छ । यसको ठीक विपरित महामारीको वास्तविक औधषी विभाजन हैन, अझ बढी सहकार्य हो ।

अहिलको भुमण्डलीकरणभन्दा धेरै अगाडि लाखौं मानिस महामारीले मरेका थिए । १४ औं शताब्दिमा न अहिलेको जस्तो हवाईजहाज थियो न यात्रुवाहक पानीजहाज नै थिए तर ‘ब्लाक डेथ’ एक दशकभन्दा कम समयमा पूर्वी एसियादेखि पश्चिम युरोपसम्म फैलिएको थियो । यसले ७५ मिलियन भन्दा बढी मानिस मरेका थिए, जो युरेसियाको कुल जनसंख्याको एक चौथाई बराबर थियो । बेलायमा मात्र प्रति १० जना जनसंख्यामा ४ जना मरेका थिए । फ्लोरेन्सका १ लाख बासिन्दामध्ये ५० हजा मरेका थिए ।

Dish_Home
युवल नोवा हरारी

सन् १५२० को मार्चमा एक बिफर बिमारी फ्रान्सिस्को डे इगुवा मेक्सिको पुगेका थिए । त्यो समय मध्य अमेरिकामा न रेल थियो, न बस थिए र गधाको सवारी नै चल्थ्यो । डिसेम्बर लाग्दा नलाग्दै सम्पूर्णमध्ये एसियाभरि बिफर फैलिएको थियो । कुल जनसंख्याको करिब एकतिहाई मानिस मरेका थिए ।

सन् १९१८ मा एक विशेष प्रकारको फ्लु विश्वका कुनाकुनासम्म फैलियो । त्यसले करिब आधा अरब मानिसलाई प्रभावित गर्‍यो, त्यो त्यतिखेरको कुल जनसंख्याको आधा जति थियो । त्यसले भारतमा मात्र ५ प्रतिशत मान्छे मारेको थियो । टहिटीको टापुमा १४ प्रतिशत मानिस मरेका थिए भने सोमायोमा २० प्रतिशतसम्म । अर्को एक महामारीमा करिब १ करोड मानिस एक वर्षभित्र मरेका थिए । अर्थात् ४ वर्षको भीषण पहिलो विश्वयुद्धमा मारिए भन्दा पनि बढी ।

सन् १९१८ यता विश्व महामारी फैलिनका लागि झनै सजिलो मैदान बन्यो । यसको कारण भने बढ्दो जनघनत्व र यातायातको राम्रो प्रबन्धन नै हो । टोकियो वा मेक्सिको सिटीजस्ता आधुनिक महानगरले मध्ययुगको फ्लोरेन्सले भन्दा बढी महामारीको शिकार हुन सक्ने सम्भावना प्रदान गर्दछ । सन् १९१८ यता विश्वको यातायात प्रणाली कता हो कता छिटो भइसकेको छ । कुनै भाइरसले पेरिसदेखि टोकियो हुँदै मेक्सिको सिटीसम्मको यात्रा २४ घण्टाभन्दा कम समयमा गर्न सक्दछ । तसर्थ, हामी अहिले एकपछि अर्को घातक महामारीको नर्कमा बाँच्न राजी हुनु परेको छ ।

तर हामीले यो भुल्नु हुँदैन कि दुर्घटना र महामारीको प्रभाव दुवै पहिलेको तुलनामा नाटकीय तबरले कमी आएको छ । एडस र इवोलाजस्ता भयानक भाइरसका बाबजुद एक्काइशौं शताब्दिमा महामारीबाट मारिनेको संख्या ढुंगे युगदेखि यताका कुनै पनि शताब्दिको तुलनामा निक्कै कम छ । यो सामूहिक प्रतिरक्षाको कारण सम्भव भएको हो, अगलावको कारणले हैन । त्यसको मुख्य पक्ष हो– सूचना ।

मानव जातिले महामारी विरुद्धका लडाईहरु जितिरहेको छ किनकी रोगहरु अन्ध दौडमा छन् भने डाक्टरहरु सूचनाको वैज्ञानिक विश्लेषण गरिरहेका छन् । सन् १९१८ सम्म इन्फुन्जा शिविरहरुमा बिमारीलाई ताजा हावाले उपचार गरिन्थ्यो ।

जब १४ औं शताब्दिमा ब्लाक डेथ फैलियो । यो कसरी भयो, कहाँबाट आयो र के गर्ने ? मान्छेलाई केही त थाहा थिएन । आधुनिक युगसम्म पनि रोगका लागि मान्छेले देवताको रिस, दानवको दुष्कर्म र खराब हावाको बहावलाई दोष दिन्थे । ब्याक्टेरिया र भाइरसको अस्तित्वबारे पनि मान्छे जानकार थिएन । मान्छेहरु देवदूत र परीको अस्तित्वमा विश्वास गर्थे तर यो कल्पनासम्म गर्दैनथे कि एक थोपा विषाक्त पानी शिकारीको प्रहारभन्दा बढी प्राण घातक हुन सक्दछ ।

जब ब्लाक डेथ र बिफर देखा परेका थिए, अधिकारीहरुसँग देवता र सन्तहरुको सामूहिक प्रार्थना आयोजन गर्नु बाहेक अरु उपाय हुन्थेन । महामारीविरुद्ध लड्न यसले कुनै मद्दत गर्थेन । बरु उल्टै जब मान्छे प्रार्थनाका लागि भेला हुन्थे, सामूहिक संक्रमणको शिकार बन्दथे ।

विगत शताब्दि यता वैज्ञानिक, डाक्टर र नर्सहरुले महामारीका कारण र त्यसलाई प्रतिकार गर्ने साधनबारे सूचना र ज्ञान आदान प्रदान गर्न थाले । रोगहरु कसरी उत्पति हुन्छन् र कस्ता रोगहरु बढी बिषाक्त हुन्छन भन्ने विश्लेषण गर्ने सिद्धान्तहरु बने । वंशाणु विज्ञान वैज्ञानिकहरुलाई रोगहरुको निर्देशन पुस्तिकाको जासुसी गर्न सजिलो बनायो । मध्ययुगको ब्लाक डेथ के कारणले भएको थियो, कहिल्यै पत्ता लागेन तर कोरोना भाइरसको वास्तविकता वैज्ञानिकहरुले २ हप्ता नबित्दै पत्ता लगाए । दुई हप्ताभित्रै संक्रमित मानिसलाई भरपर्दो परीक्षण गर्न सकिने विधि फेला पारे ।

वैज्ञानिकहरुले जब महामारीको कारण पत्ता लगाउँछन्, महामारीविरुद्ध लड्न धेरै सजिलो हुन्छ । सोपहरु, एन्टिबायोटिकहरु, अन्य सुधारिएका स्वास्थ्य साधनहरुले महामारी विरुद्धको मानवताको संघर्षलाई नयाँ उच्चाईमा पुर्‍याउँदछ । सन् १९६७ मा १५ मिलियन मान्छेहरु बिफरबाट प्रभावित भए र त्यसमध्ये २ मिलियन मरे । तर तुरुन्तै बिफर विरुद्धको खोप पत्ता लाग्यो । सन् १९७९ मा विश्व स्वास्थ्य संगठनले बिफरमाथि मान्छेले विजय हासिल गरेको घोषणा गर्‍यो  । सन् २०१९ को तथ्यांकमा विश्वमा एकजना पनि मान्छे बिफरबाट मरेन ।

यो इतिहासले हामीलाई अहिलेको कोरोना भाइरस महामारीको बारे के सिकाउँछ त ?

पहिलो– बोर्डर बन्द गरेर मात्र आफुलाई स्थायीरुपमा जोगाउन सकिँदैन । हामीले यो बिर्सनु हुँदैन कि भूमण्डलीरकण नभएको मध्ययुगमा पनि महामारी द्रुत गतिमा फैलिएको थियो । यदि कसैलाई आफ्नो वैश्विक सम्पर्कलाई सन् १३४८ को इंगलैण्डको तहमा झार्‍यो  भने पनि त्यो पर्याप्त हुँदैन । यदि हामी अगलावबाट यो समस्या हल गर्न चाहन्छौं भने मध्ययुगमा फर्किएर पनि हुँदैन, ढुंगे युगमा नै पुग्नु पर्ने हुन्छ । के त्यो गर्न सकिन्छ ?

दोस्रो– इतिहासले यो बताउँछ कि वास्तविक प्रतिरोध र सुरक्षा उपयुक्त वैज्ञानिक सूचनाहरुको आदानप्रदान र विश्वव्यापी ऐक्यबद्धताबाट मात्र सम्भव छ । जब कुनै देश कुनै महामारीमा पर्दछ, उसले बिना कुनै आर्थिक षडयन्त्रको सोच अरु देशलाई सही सूचना दिनु पर्दछ र अरु देशले पनि त्यसलाई पत्याउनु पर्दछ । सबैले एकअर्काप्रति सहयोगको हात फैलाउनु पर्दछ । आज चीनले बाँकी विश्वलाई कोरोना भाइरसबारेका महत्वपूर्ण सुचना र अनुभवहरु बाँकी विश्वलाई बाँड्न जरुरी छ । तर यसका लागि उच्चस्तरको अन्तर्राष्ट्रिय विश्वास र सहकार्य आवश्यक छ ।

प्रभावकारी क्वारेन्टाइन मापकहरु निर्माण गर्न पनि अन्तर्राष्ट्रिय सहकार्य चाहिन्छ । यो आधारभूत बिषय हो । तर देशहरुले एकअर्कालाई विश्वास गरेनन् भने त्यो पनि सम्भव हुने छैन । यदि कुनै देशमा १०० जनामा कोरोना संक्रमण देखियो भने के त्यो देशलाई तुरुन्तै बन्द गर्नु राम्रो हुन्छ ? निश्चय नै त्यो कुरा अरु देशको व्यवहारमा निर्भर गर्दछ । कुनै शहरलाई बन्द मात्र गर्दा आर्थिक संकट आइलाग्ने हुन्छ । अरु देश तपाईलाई सहयोग गर्न आउँछन् भने उनीहरुका मानक पनि मान्नु पर्ने हुन्छ । तर कसैलाई लाग्दछ कि अरु देशले तपाईलाई पुरै वेवास्ता गरेका छन्, तपाईलाई अरुको मापकहरु लागू गर्न हिचकिचाहट हुनेछ ।

कुनै पनि देशमा महामारी फैलिनु भनेको पुरै मानवजाति जोखिममा पर्नु हो । किनकी भाइरस विकसित हुँदै जान्छन् । कोरोनाजस्ता भाइरसको उत्पति थलो चमेराजस्ता पशु हुन् । जब ती पशुबाट मान्छेमा हामफाल्छन्, शुरुवातमा पर्याप्त अनुकुलन भएका हुँदैनन् । प्रारम्भिक अवस्था कम जोखिमपूर्ण हुन्छ । तर जति धेरै समय ती मान्छेमा रहन्छन्, उति नै मान्छेभित्र बलिया हुँदै जान्छन् । तिनी मान्छेको प्रतिरोध प्रणालीसँग लड्न सक्ने हुँदै जान्छन् । त्यसो भयो भने ती मानव जनसंख्यामा झनै छिटो फैलिन सक्दछन् ।

यो कुनै अनुमान नभएर एक तथ्य हो । सन् २०१४ मा इबोला फैलिहरेको बेला रिचार्ड पिटर्सनले प्रकोपहरुको श्रृंखलावद्ध वर्णन गरेका थिए । इबोला चमेरोबाट मान्छेमा हामफालेको थियो । तर त्यो मानव शरीरमा भन्दा चमेरोमा आश्रय लिन बढी उपयुक्त थिए । शुरुवातमा मान्छेको शरीर त्यसलाई अनुकूल भइरहेको थिएन । जब इबोलाको मोकाना संस्करण तयार भयो, त्यो शुरुवातको इवोलाभन्दा मानव शरीरमा ४ गुणाले बढी संक्रामक थियो ।

ठीक यही कुरा कोरोनाको बुहान, मिलान र तेहरान संस्करणमा हुन सक्दछ । तर त्यो चिनियाँ, इटालियन र इरानीहरुलाई मात्र नभएर तपाई हामी सबैका लागि जोखिम हो । तसर्थ हामीले प्रत्येक देशको प्रत्येक मानिसलाई जोगाउने तरिकाबाट सोच्नु पर्दछ । सन् १९७० मा बिफरको भाइरस विरुद्धको खोपले विश्वभरि नै त्यो हरायो तर एउटा मात्र मान्छे बाँकी रहेको भए सबैका लागि खतरा रहिरहन्थ्यो ।

पछिल्लो शताब्दिमा जति मानव जातिले बोर्डरलाई बलियो कहिल्यै बनाएको थिएन । तर स्वास्थ्य सेवा प्रणालीका बोर्डरहरु भनेका डाक्टर, नर्स र वैज्ञानिकहरु नै हुन जसले महामारीलाई भौतिक सीमानाले भन्दा बढी प्रभावकारी रुपले रोक्न सक्दछन । हामी धेरैजसो स्वास्थ्य सेवाको कुरा गर्दा राष्ट्रिय स्वास्थ्य प्रणाली बारे सोच्दछौं तर स्वास्थ्य राष्ट्रिय भन्दा बढी अन्तर्राष्ट्रिय प्रणाली हो ।

आज मान्छेले जेजस्ता गम्भीर संकट समाना गरिरहेको छ, त्यो कोरोनाको कारणले मात्र नभएर मानवबीचमा विश्वासको कमीले सिर्जना भइरहेको छ । महामारीलाई पराजित गर्न मान्छेले वैज्ञानिक विशेषज्ञहरुलाई, नागरिकले सार्वजनिक प्रशासनलाई र एउटा देशले अर्को देशलाई विश्वास गर्न जरुरी छ । बितेका केही वर्षहरुमा गैरजिम्मेवार राजनीतिज्ञहरुले जानाजान यस्तो विश्वासलाई कमजोर बनाएका छन् । परिणामस्वरुप हामी एउटा त्यस्तो विश्व नेताको अभावमा छौैं जसले कोरोना विरुद्धको लडाईलाई उत्प्रेरित गर्न, संगठित गर्न र वित्तिय जिम्मेवारी बीच समन्वय गर्न सकोस् ।

सन् २०१४ को इवोला महामारीको बेला अमेरिकाले त्यसप्रकारको नेतृत्व गरेको थियो । सन् २००८ को आर्थिक मन्दीको बेला समेत अमेरिकाले त्यो भूमिका खेलेको थियो । तर पछिल्ला वर्षहरुमा अमेरिकाले आफ्नो विश्व नेताको भूमिकाबाट आफै राजीनामा दिएको छ । अमेरिकाले विश्व स्वास्थ्य संगठनलाई दिँदै आएको अनुदान कटौती मात्र गरेको छैन, उसले यस्ता विषयमा आफ्नो विश्वस्तरको रुचि नभएको सन्देश दिने गरेको छ ।

जब कोरोना शुरु भयो, अमेरिका किनारमा बस्यो । र, अहिले प्रमुख भूमिका खेल्नबाट आफैं बञ्चित भयो । अब अमेरिकालाई अरुले विश्वानीय ढंगले पछ्याउन सक्ने अवस्था रहेन । त्यस्तो नेतालाई कसले पछ्याउँछ जसलाई आफ्नो मात्र चिन्ता हुन्छ ।

अमेरिकाले विश्व नेताको ठाउँ त खाली छोड्यो तर त्यो खाली कसैले भर्न सकेको छैन । बरु ठीक उल्टो जातिवादको भय, अगलाव र व्यवधानहरु अन्तर्राष्ट्रिय प्रणालीका बिशेषता बन्न पुगे । अन्तर्राष्ट्रियस्तरको विश्वास र ऐक्यबद्धता विना कोरोनालाई रोक्न सकिँदैन । भविष्यमा पनि हामीले यस्ता महामारीहरु सामना गर्नु पर्नेछ । प्रत्येक संकट एक अवसर पनि हो । आशा गरौं कि वर्तमान महामारीले मानवजातिलाई विश्वको जोखिमपूर्ण विखण्डनको अनुभूति दिनेछ ।

उदाहरणका लागि यो महामारीले युरोपियन युनियनलाई एक अवसर दिएको छ । यदि युरोपियन युनियनले कोरोना प्रभावित देशहरुमा पैसा, साधन र स्वास्थ्यकर्मीहरु पठाउन सक्ने हो भने युनियनको कमजोर हुँदै गएको भूमिका फेरि महत्वमा आउने छ । त्यसले के पुष्टि गर्ने छ भने युरोपियन युनियनको व्यवहारिक उपदेयता हज्जारौं भाषणको भन्दा बढी छ । यदि हरेक देशलाई आआफ्नो संकटको सामना गर्न एक्लाएक्लै छोडियो भने त्यो युनियनको लागि मृत्युको अँध्यारो सुरुङ बराबर हुनेछ ।

संकटको यस घडीमा एक जटिल लडाईं स्वयम् मानवताभित्र हुनेछ । यदि यो महामारीको परिणाम मान्छे-मान्छेबीच अविश्वास र विभाजन बन्न पुग्यो भने भाइरसले महान विजय हासिल गर्नेछ । जब मानिस एक आपसमा भिड्ने छन् भाइरस बढेर दोब्बर हुनेछ । ठीक विपरित यदि मान्छे मिले भने यो कोरोना विरुद्धको जीत मात्र हुने छैन, भविष्यमा आउने सबै जिवाणु विरुद्धको जित हुनेछ ।

(हरारी विश्व प्रसिद्ध लेखक, दार्शनिक तथा विश्लेषक हुन् । टाइम्समा प्रकाशित उनको एक लामो आलेखको संक्षेपीकृत भावानुवाद हामीले शीर्षक परिवर्तनसहित प्रकाशन गरेका छौं- सं.)

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय