scheduleबिहिवार चैत्र २० गते, २०७६

रवीन्द्र मिश्रलाई खुलापत्रः राप्रपा छ त, हिङ बाँधेको टालो किन चाहियो ?

आदरणीय रवीन्द्र मिश्र ज्यु,
नमस्कार !
आराम छु, अनि तपाई पनि आराम भएको चाहन्छु । तपाईले बीबीसी नेपाली सेवाको कार्यक्रम चलाउँदा तपाईको एक नियमित श्रोता नै थिएँ । राजाको शाही शासनको बेलामा एफएमलगाएत सबै सञ्चारका साधनहरुले सहि समाचार दिन नसक्दा बीबीसी रातीसम्म कुरेर भए पनि सुनिन्थ्यो । तपाईको प्रश्नले अल्मलमा परेको तत्कालीन राजनीतिक नेताहरु पनि उत्तर ओकल्न बाध्य हुन्थे, तर तपाईंले कान्तिपुर लगायतका पत्रिकामार्फत तत्कालीन माओवादी आन्दोलन र बाबुराम भट्टराईलाई लेखेको पत्र पढ्दा भने तपाईं तत्कालीन शासन व्यवस्था परिवर्तनको विरुद्धमा हुनुहुन्छ कि भने महसुस भने हुन्थ्यो ।

तर पनि देश विदेश अध्ययन गरी केही थप अनुभव समेत बटुल्नु भएको हुँदा परिवर्तनकै विरुद्धमा नहुनुहोला भन्ने निकै लाग्दथ्यो र एक क्षमतावान व्यक्तिहरु मध्यकै रुपमा ग्रहण गर्दै आएको थिएँ ।

नेत्र चापागाईं

जब बाबुराम भट्टराईले संविधान घोषणापश्चात् माओवादी पाटी छोडेर नयाँ शक्ति निर्माण अभियानमा लाग्नुभयो, म पनि त्यो अभियानमै लागेको र तपाईं पनि वैकल्पिक शक्ति निर्माण गर्नुपर्छ भनेर नेपाल आउँदै गर्दा नेपाली राजनीतिमा रवीन्द्र मिश्र पनि नयाँ शक्तिमा लाग्ने भन्ने बजार हल्लाले मनमा केहि उत्साह थपेको थियो । त्यो बेला तपाईंलाई व्यक्तिगतरुपमा भेट्न खोजेको थिएँ । तर, तपाईं पूर्व-माओवादी कार्तकर्ताप्रति अति अनुदार अभिव्यक्ति दिएको हुनाले भेट गर्ने मन मर्‍यो, अनि भेट भएन ।

Dish_Home

पछि तपाईंलगायत केही साथीहरूले साझा पार्टी निर्माण गर्नुभयो । त्यसले नेपालमा रहेको वैकल्पिक पार्टीको खाँचोलाई केही हदसम्म बल पुग्ला भनेर समर्थन नै गरियो कार्यक्रम सुनियो साथीहरूलाई नि सहयोग गर्ने सुझाव दिइयो । जब साझा पार्टी र विवेकशील दल एक भए, त्यसले नेपाली राजनीतिमा एउटा नयाँ आयाम थप्छ भन्ने नयाँ पुस्तामा ह्वात्तै आस बढाएको थियो र गत निर्वाचनको परिणामले पनि त्यो देखाउन खोजेको थियो ।

विवेकशील र साझाको फुट
जब केही नयाँ विषयले नयाँ उचाई लिन्छ त्यतिबेला मात्रै नेतृत्वको परीक्षा पनि सुरु हुन्छ । विवेकशील-साझा पार्टीले उचाई लिँदै गर्दा तपाईंको पनि राजनीतिक यात्राको पहिलो परीक्षा सुरु भइरहेको थियो । एउटा पार्टीमा मत बाझिनु त ठूलो कुरा भएन तर मतहरुको व्यवस्थापन नेतृत्वले गर्न सक्छ कि सक्दैन भन्ने नेतृत्वको परीक्षणको मुख्य विषय हो ।

विवेकशीलका साथीहरूसँग कुरा गर्दा डकुमेन्ट हेर्दा खास विचार राजनीतिमा फरक छैन । त्यसो भए किन फुट्नु भयो त भन्दा रवीन्द्रजीको घमण्ड नै फुटको मुख्य कारण देखाउनु हुन्छ । तपाईंको अभिव्यक्तिले पनि प्रमाणित गर्दछ । त्यसैले नेतृत्व भनेको समस्या हैन समाधान हो भन्ने तपाईंले बुझ्नु भएन । सायद राजनीति भनेको एजेन्डाभन्दा नि व्यक्ति हो भन्ने गलत बुझाई तपाईंमा रह्यो । त्यसैले तपाईंको राजनीतिमा आगमनले वैकल्पिक राजनीति गर्ने शक्ति जुट्दै जाने भन्दा फुट्दै जाने क्रम बढ्यो ।

सायद तपाईं राजनीतिमा आउनुहुँदैनथ्यो भने तत्कालीन नयाँ शक्तिमा लाग्नु भएका मुमाराम खनाल, केशव दाहाल लगायतकाहरुले तत्कालीन नयाँ शक्ति छोड्नुहुँदैन्थ्यो र काठमाडौं केन्द्रित विवेकशील पार्टी पनि नयाँ शक्तिमा आएर एकता गरी वैकल्पिक राजनीतिको तेस्रो ध्रुव सजिलै बन्न सक्थ्यो । हामीलाई आशा थियो, तपाईंको आगमनले त्यो पूरा हुनेछ तर त्यसको ठिक उल्टो भईदियो । जुटेका वैकल्पिक राजनीति शक्तिहरु पनि फुटाउन लाग्नु भयो । नयाँ एजेन्डा निर्माण गर्नेभन्दा पनि पुराना एजेन्डा, प्रतिगामी एजेन्डाप्रतिको तपाईंको मोहले साझा पार्टी थप नफुट्ला भन्न सकिन्न ।

लुम्बिनी गएर प्रतिगामी एजेन्डाको उद्घाटन !
उप-निर्वाचनमा पोखरामा आफैं कसिएर पनि राप्रपाको मत जति कटाउन सक्नु भएन । त्यसपछि तपाईं राजनीतिमा आत्तिनु भएको पक्कै हो । निर्वाचनको परिणाम लगत्तै जनतालाई गाली गर्दै तपाईंले दिएको तपाईंको अभिव्यक्तिले त्यो कुरा प्रष्ट गर्दथ्यो । तर पनि केही झिनो आशा बाँकी नै थियो। केही समय अघि साझाले लुम्बिनी भेलाको आयोजना गर्‍यो ।

उक्त भेलामा जानुअघि पोखराका केही साथीहरुले मलाई सुझाव माग्नु भएको थियो । सुझावस्वरुप मैले भनेको थिए कि विवेकशीललगायतका केही वैकल्पिक शक्तिहरुलाई पुनः जुटाउनु र देश विकासको खाका निर्माण गरेर जनताको माझमा जानुहोस् । तर बैठकको परिणाम त्यस्तो रहेन, नेपाली जनताको लामो संघर्ष र बलिदानबाट स्थापित धर्मनिरपेक्षेता र जग बस्दै गरेको संघीयताको बारेमा जनमत संग्रहको माग राख्ने निष्कर्षमा पुगेछ। यसले मिश्र र साझा पार्टीलाई अब बुझ्न सजिलो र प्रष्ट भएको छ ।

लोकतन्त्रमा जनमतसंग्रह माग्नु त नराम्रो होइन तर, साझा पार्टी पार्टी अरु पुरातन पार्टीहरुले विकास, समृद्धि र सुशासन दिएनन्, हामी दिन्छौं भनेर निर्माण भएको हो कि धार्मिक राज्यको मा गर्न ? यदि धर्मकै नाममा राजनीति गर्ने हो भने तपाईको पार्टी राप्रपाभन्दा कसरी फरक हुन गयो ? तपाईले राजनीति लोकतन्त्रलाई बलियो बनाउन गर्नु भएको हो कि लोकतन्त्र कमजोर बनाउन ? हिजोसम्म तपाईंप्रति भ्रम रहेछ अब प्रष्ट भयो कि तपाईंसँग बुबाको पालादेखिको पञ्चायतको ह्याङ अन्त्य भएको रहेनछ । र, अझ त्यसैलाई मलजल गर्ने पक्षमा हुनुहुन्छ ।

तपाईले यी एजेन्डाहरु पारित गर्दै गर्दा के यी प्रश्नहरुको उत्तर सोच्नु भएको छ..

तपाईं जनयुद्ध त मान्नु हुँदैन, तर १९ दिनको जनआन्दोलन जनताको जनमत होइन ? दुईदुई पटक भएको संविधानसभाको चुनावमा यी एजेन्डाहरु प्रष्टसंग सबै पार्टीले राखेर जनता माझ गएर मत मागेका थिए त्यो जनमत होइन ?

बाँकी रह्यो संघीयताले देश गरिब भयो भन्ने तपाईंहरुको निष्कर्ष हो भने नेपाल झन्डै २०० वर्ष एकात्मक शासन चल्यो । किन विश्वको गरिब, असमानता र रुढीवादको जाँतोमा जनता पिल्सिनु पर्‍यो ?

अझ तपाईले मागेको हिन्दू राज्य सबैको कुराको साँचो थियो, किन देश बनेन ? तपाईले अब फेरि फर्कि जाउँ भनेको कालमा हेर्दा यदि त्यो समय नै देश विकसित थियो, समानता र अधिकारको प्रत्याभूति थियो भने यत्रो ठूलो आन्दोलन र परिवर्तनको आँधीवेहरी चल्ने नै थिएन । तपाईंकै शब्दमा भन्दा के यो सबै आन्दोलनहरु निरर्थक नै हुन त ?

कदापि हैन !
त्यसैले तपाईंले भनेका यी एजेन्डा त कुनै नयाँ वैकल्पिक होइन । बरु वर्षौदेखि राजावादी र पुरातनवादीहरुले बोकेका हुन् जसलाई नेपाली जनताले आर्यघाट पुर्‍याईसकेका हुन् । यी र यस्ता एजेण्डा जनताका माग होइनन् कि बरु तपाईंको मनभित्रको पञ्चायती ह्याङ लुम्बिनीमा गई उत्रिएको मात्र हो अझ भन्ने हो भने खास्टोले छोपी राखेको बिरालोले म्याऊँ गरेको मात्र हो ।

त्यही उखानमा भने जस्तै तपाईंको गणतन्त्र, संघीयता र आन्दोलनबाट भएको परिवर्तन विरोधी तपाईंको आवेग मात्रै निस्किएको मात्र हो । यसले वैकल्पिक पार्टी हैन । वर्तमान कांग्रेस कम्युनिस्टजस्ता पार्टी जत्तिको पनि महत्व राख्दैन, बन्दैन । कुरा धर्मको मात्र होइन, कुरा एकात्मक राज्यको मात्र होइन, कुरा यी व्यवस्थाले भरथेग गर्ने राजतन्त्रको पनि हो । दक्षिणपन्थी एजेन्डा बोकेर राजतन्त्रको प्रेत जगाउन हिङको रुपमा राप्रपा नै छ भने अब साझा पार्टीको नाममा हिङ हालेको टालो किन चाहियो ?

अझै पनि समय छ । तपाईं छिटो सच्चिनुहोस् । अन्यथा समयले तपाईंलाई छिट्टै सक्काउने छ । यहि पत्रमार्फत् खनाल, सूर्यराज आचार्य, केशव दाहाल लगायत केही साझाका नेतागणहरु पनि मुख खोली म म भन्नुस् र उचित विकल्प लिनुहोस् । नत्र तपाईंहरुको राजनीतिक इतिसास पनि रवीन्द्र मिश्रसँगै भग्नावशेषमा परिणत हुन सक्छ ।

तपाईंकै स्नेही शुभचिन्तक
नेत्र चापागाईं
अन्नपूर्ण गाउँपालिका-६

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय