scheduleशुक्रवार चैत्र २१ गते, २०७६

अर्थतन्त्रमा कोरोनाको प्रभावः संसदमा अर्थमन्त्रीको बिशेष सम्बोधन जरुरी

साझापोष्ट टिप्पणी/काठमाडौं, ५ चैत । कोरानो इवोला भइरसपछि एक्काइशौं शताब्दिको अर्को ठूलो महामारी बन्न पुगेको छ । इवोला भाइरस सन् २०१३ मा पहिलोपटक देखिएको थियो । सन् २०१४ मा सबैभन्दा बढी फैलियो । सन् २०१६ मात्र इवोला पूर्ण नियन्त्रणा आएको थियो । विश्वस्वास्थ्य संगठनको प्रतिवेदन अनुसार इबोला भाइरसबाट २८, ६८६ मानिस संक्रमित भएका थिए, त्यसमध्ये ११, ३२३ को मृत्यु भएको थियो ।

इवोलाको प्रकोप मूलतः अफ्रिकी मुलुकमा थियो । लाईवेरिया, सेरालियन र गुएना मुख्य प्रभावित देश थिए । इबोलासंग तुलना गरेर हेर्दा कोरानाको प्रभाव १० गुणा बढी हुने देखिएको छ । यसबाट संक्रमितको संख्या अहिले नै १, ५०, बढी भइसकेको छ भने मृत्यु हुनेको संख्या ८, ००० बढी भईसकेको छ । कोरोना देखिएको र फैलिन थालेको सन् २०१९ को डिसेम्बर यता ४ महिना मात्र भएको छ । यदि इवोलाझैं करिब ३ बर्ष रहने हो भने त यसको क्षति कल्पना गरिएभन्दा धेरै ठूलो हुने अनुमान गरिदैछ ।

कोरना प्रभावित देशहरुको संख्या १२५ बढी भइसकेको छ । त्यसमध्ये चीन, इटाली र इरान सबैभन्दा बढी प्रभावित छन् । तर युरोपका अरु देश र अमेरिकामा जुन स्तरमा कोरोना फैलिदैछ, त्यसले विश्व मानवताकै चिन्ता गर्नु पर्ने अवस्था आएको छ । इवोलाको निश्चित क्षेत्रीय प्रभावजस्तो थियो । कोरोनाको कुनै क्षेत्र छैन । यो एकाएक विश्वव्यापी रुपमा फैलिएको छ । कोराना कहाँ कति खेर कुन देशमा देखा पर्दछ, कसैले भन्न सकिरहेको छैन ।

Dish_Home

इवोलाको वेला विश्व स्वास्थ्य संकठन र अमेरिकाको प्रतिरोधात्मक क्षमता र शक्तिबारे विश्व समुदायमा ठूलो विश्वास थियो । तर यसपटक भने त्यसको नेतृत्व चीनले लिएजस्तो देखिन्छ । अहिलेसम्मको जानकारीमा कोरना चीनको हुवेई प्रदेशको राजधानी शहर वुहानबाट फैलिएको हो ।

तर अमेरिका र चीनको व्यापार युद्धको प्रभाव कोरोनाको केसमा पनि देखिएको छ, त्यो दूर्भाग्यपूर्ण हो । मानवीय संकटका समयमा शक्तिराष्ट्रहरु बीचको खिचातानी र भनाभन कसैको पनि हितमा हुँदैन । चीनले आर्मी एथलेटिक्समा भाग लिन आएका अमेरिकी सेनाले वुहानमा कोरोना छोडेको आरोप लगाएको छ भने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरानालाई चिनियाँ भाइरस नामाकरण गरेर राजनीतिक रंग दिएका छन् ।

त्यसो त कोरोना अमेरिकाले चीनको अर्थतन्त्र प्रभावित पार्न योजनाबद्ध रुपमा छोडेको जैविक हतियार हो भन्ने महापण्डितहरु पनि नभेटिएका हैनन् । राजनीतिमा यस्तै नकारात्मक काम मात्र गरिन्छ भन्ने षडयन्त्र सिद्धान्तमा विश्वास गर्नेहरुले गैरजिम्मेवार अभिव्यक्ति दिनु आफ्नो ठाउँमा छ । अन्यथा कोरोनाको संक्रमण र खतरालाई एक वृहत्त मानवीय संकटका रुपमा लिनु पर्दैछ र सबै मिलेर सामना गर्नु पर्दैछ ।

विश्वको शक्तिराष्ट्र भनिएको अमेरिका आफै कोराना प्रताडित देश बन्न पुगेको छ । यो टिप्पणी लेखुन्जेलसम्म अमेरिकामा कोरानाबाट १०० बढी मानिस मारिइसेका छन् । त्यो चीन, इटली र इरानपछिको ठूलो संख्या हो । चीनले दोस्रो प्रभावित मुलुक इटालीमा स्वास्थ्य टोली पठाएर कोराना प्रतिरोधको ज्ञान र अनुभव बाँड्न थालेको छ, त्यो सकारात्मक हो । त्यसो त चीनले कोरोना प्रतिरोधमा युरोपियन युनियनसंग पनि मिलेर काम गर्ने बताइसकेको छ ।

खुशीको कुरा– चीनमा कोरोना नियन्त्रणमा आउन थालेको छ । चीनले हुवेई प्रदेशलाई करिब २ महिना लक डाउन गरेको थियो । चीनले कोरोना अरु प्रदेशमा फैलिन त दिएन तर ३००० बढी मानिस त्यहाँ मारिए । वैज्ञानिक तथा स्वास्थ्यकर्मीहरुका अनुसार कोरानो भाइरस ३० डिग्री सेल्सियस बढी तापक्रममा जिवित रहँन सक्दैन । नेपाल र दक्षिण एशियाका लागि यो एक सुखद बिषय हो कि यहाँ गर्मी महिनाहरु तुरुन्तै शुरुवात हुँदैछन् । यसै सातादेखि सम्पूर्ण सार्क राष्ट्रहरुको तापक्रम ३० डिग्रीभन्दा माथि जाने सम्भावना रहन्छ ।

अहिलेसम्म दक्षिण एशियामा कोराना खासै देखिएको छैन । भारतमा २ बिमारीको मृत्यु भएको समाचार आएको छ तर नेपाल सबैभन्दा सुरक्षित देशको सुचीमा परेको छ । चीन जस्तो जोडिएको छिमेकी देशबाट शुरुवात भएको भाइरस विश्वभरि फैलिइसक्दा नेपालमा प्रवेश नगर्नु आफैंमा ठूलो सौभाग्य हो ।

तर कोरोना भाइरस नदेखिए भने त्यसका प्रभाव र संकटहरु भने देखिइसेका छन् । प्रभावको सबैभन्दा भयानक पाटो आर्थिक संकट बन्ने देखिन्छ । यसका सुक्ष्मत्तर पक्षहरु विश्लेषण गर्न र नकारात्मक पक्षहरु रोकथाम गर्न जरुरी छ । यसबारे नेपाल सरकार के गर्दैछ भन्ने अझै प्रष्ट छैन । कोराना भाइरस फैलिन नदिने उपायका बारेमा सरकारले एक १९ बुँदे निर्णय सार्वसनिक गरेको छ तर अर्थतन्त्रमा पर्न थालेको प्रभाव बारे सरकार मौन छ । बिमार प्रधानमन्त्रीलाई मोहलत दिन हो भने पनि अर्थमन्त्रीले संसदमा विशेष सम्वोधन गरी जनतालाई आश्वस्त पार्न जरुरी भइसकेको छ । सरकारले त्यसो गर्न किन ढिला गरेको होला ।

बजारमा अत्यावशकीय सामानको अभाव देखिन थालेको छ । यसका दुई वटा पाटा होलान् । एउटा– कृत्रिम अभाव सृजना गर्ने काला व्यापारीहरुको कुनियत । दोस्रो– बढी संग्रह गर्ने उपभोक्ताको मनोवृत्ति । यी दुबै पक्षलाई नियन्त्रण गर्न आवश्यक छ ।

विगत २० दिन यता अत्यावश्यकीय उपभोक्ताका वस्तुहरु बाहेक बाँकी क्षेत्रमा आर्थिक मन्दी देखिन थालेको छ । ग्राहक संख्या र किनबेच ह्वात्तै घटेपछि व्यापारीहरु चिन्तित हुन थालेका छन् । यस्तो संकटको वेला मुनाफा नहुनु एउटा कुरा हो । तर ब्याज, किस्ता र घरभाँडा कसरी तिर्ने, त्यो साना तथा मझौला व्यापारीहरुको ठूलो चिन्ता हो । औपचारिक ऋणहरुको केही महिनाको ब्याज मिन्हा तथा व्यावसायिक प्रयोजनका लागि प्रयोग हुने घरभाँडामा व्यापारीहरुलाई सरकारले मद्दत गर्न जरुरी देखिँदैछ ।

पर्यटन व्यवसायका सबै क्षेत्र र विशेषतः होटल व्यवसायमा यसको ठूलो प्रभाव देखिएको छ । यस क्षेत्रमा रोजगार कटौती हुने संभावना बढे पछि विपन्न आय वर्गका परिवारहरुको दैनिक जीवन नै नचल्ने स्थिति उत्पन्न हुँदैछ । यस्ता विभिन्न पक्ष र पाटाहरु केलाएर राज्यले संकटमा मान्छेहरुलाई जीवन चलाउँन परेको धौधौं र टाटपल्टिने संभावनाबाट जोगाउन आवश्यक छ । सन् २००८ को मन्दीमा अमेरिकी सरकारले त्यहाँको निजी क्षेत्रलाई कसरी जोगाएको थियो, त्यसबाट नेपाल सरकारले शिक्षा लिन सक्दछ ।

पहिलो कुरा त विश्वका विभिन्न देशमा नेपालीहरुको मानवीय स्थिति के छ, सरकारले त्यसको भरपर्दो जानकारी लिन र सोही बमोजिम परामर्श पुर्‍याउन  सक्नु पर्दछ । संगसंगै विश्वका धेरै देशहरु स्वअलगाव र लकडाउनमा जाँदा विप्रेषण र आयातमा पर्ने प्रभावबारे पनि सरकार बेलैमा सचेत हुन जरुरी छ । स्थिति लामो गए नियमित जीवनकै लागि सामनको अभाव हुन सक्दछ । यी सबै पक्षमा सरकारले यथाशिघ्र सोचोस् सार्वजनिक हित र विश्वासका लागि अबिलम्ब त्यसलाई जनसमक्ष ल्याओस् ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय