scheduleआइतवार चैत्र २३ गते, २०७६

पाँच प्रधानमन्त्रीको कार्यशैली नजिकबाट नियाल्न पाएँ

परशुराम खापुङ

वि.सं. २०३० को दशक प्रारम्भतिर । एकातिर पञ्चायतको रापताप चर्को थियो । अर्कोतिर भर्खरै झापा विद्रोह भएको थियो । कांग्रेसको स्थिति राम्रो थिएन । वीपी निर्वासनमा थिए । हाम्रो गाउँघरका हुनेखाने, गन्नेमान्ने पञ्चायततिर लागेका थिए । गाउँ फर्क अभियान जोडतोडले चलिरहेको थियो । घरघरमा राजा महेन्द्रलाई किंवदन्ती बनाएर कथाहरु हालिन्थे ।

युवा तथा विद्यार्थीमा भने कम्युनिष्ट पार्टी बिशेषतः झापा विद्रोहको ठूलो प्रभाव पर्‍यो । चीनमा जस्तै कम्युनिष्ट क्रान्ति गर्ने, नयाँ जनवाद स्थापना गर्ने र गरिबको शासन ल्याउने कुरा हुन्थ्यो । लोकतन्त्र हुन दलीय व्यवस्था चाहिन्छ, दलमध्ये पनि कम्युनिष्ट पार्टी भए अझ राम्रो, गरिबहरुको मुक्ति हुन्छ भन्ने धारणा थियो ।

Dish_Home

त्यतिबेला म धरानमा थिएँ । विद्यार्थी थिएँ । मेरा अधिकांश हिमचिमका साथीहरु झापाली धारलाई समर्थन गर्थेँ । म भने त्यो आन्दोलनबाट न टाढा थिएँ न नजिक थिएँ । आन्दोलन र पार्टीमा लागिनँ । तर तिनै आन्दोलन र पार्टीमा लागेका साथीहरुको बीचमा थिएँ । रातो झण्डा र पूर्वकोशी प्रान्तीय कमिटीका साथीहरु पनि आइरहन्थे ।

झापाली धारपछि कोके हुँदै माले भयो । त्यसका नेता रत्नकुमार बान्तावा भेट्न आउँथे । म उनीहरुप्रति झुकाव राख्थेँ । सहयोग गर्थेँ । तर पार्टीको सदस्यता भने कहिल्यै लिइनँ ।

म जेलमै हुँदा बुबा बित्नु भो

हाम्रो पुर्खेउली घर तेह्रथुमको मोराहाङ । बुबाले सुनसरीको सालवनीमा केही जग्गा किन्नु भएको थियो । खेती हेर्न, वाली उठाउन म त्यहाँ जान्थेँ । धरानबाट चक्रघट्टी हुँदै सालवनी जान नजिक पर्थ्यो । सालवनी पुग्दा स्थानीय बासिन्दाहरुको समस्याबाट परिचित भएँ । त्यहाँ ‘वान पश्चिम’ को समस्या थियो । मृगकुन्ज र सट्टाभर्ना जग्गाको समस्या थियो ।

‘वान पश्चिम’ भनेको कोशी बाँधदेखि पश्चिम भागमा परेका जग्गाको लालपूर्जा थिएन । त्यहाँ ठूल्ठूला गाउँहरु थिए । कोशीको बहाव पश्चिम लालभित्तीतिर पुगेको थियो । पूर्वी किनारमा कोशीले छोडेको क्षेत्रमा नयाँ गाउँहरु बनेका थिए । उनीहरुले जमिनको स्वामित्व पाएका थिएनन् । त्यहाँ मेरो भक्तबहादुर शाहीसँग परिचय भयो । उनी पाको उमेरका थिए, म युवा थिएँ । खै, कसरी रसायन मिल्यो, दोस्ती भयो । उनी हक्की र झोक्की स्वभावका इमान्दार मान्छे थिए । गरिब किसान परिवारका थिए । पछि उनी त्यहाँको प्रधानपञ्च भए ।

उनीसंग मिलेर किसान आन्दोलन उठाउने भयौं । राजबासबाट ठूलो जुलुस लिएर चक्रघट्टी बजार पुग्यौैं । किसान सभा भयो । सभामा मैले पनि भाषण गरेँ । तर भोलिपल्टै पक्राउ परेँ । प्रशासनलाई यो कार्यक्रम झापा विद्रोहको फैलाव हो भन्ने परेछ । वास्तवमा हामीले कोशी पीडित किसानको स्थानीय समस्या उठाउने प्रयास गरेका थियौैं ।

पुलिसले पक्रेर इनरुवा थानामा २ दिन राख्यो । त्यसपछि विराटनगर जेल लग्यो । ५ महिना विराटनगरको जेलमा परेँ । म पहाडको मान्छे । विराटनगरको गर्मी, साँघुरो कोठामा ५ जना एकअर्कामा खप्टिएर सुत्नु पर्ने । त्यहीभित्र चर्पी थियो, २४ सै घण्टा गन्हाउँथ्यो । त्यहाँ मेरो स्वास्थ्य बिग्रियो । पेट खराब हुन्थ्यो । दुब्लाएर हैटु भए ।

मनमा अनेक आशंका आइरहन्थे । घरमा कुनै अनिष्ठ भयो होला भन्ने भान परिहन्थ्यो । टेलिफोन थिएन । सम्पर्कको अरु कुनै माध्यम थिएन । ३ महिना जति भएको हुँदो हो । घरमा बुबा बित्नु भएछ । भाइ भेट्न आयो खबर लिएर । १४ वर्षको माहिलो भाइले एकसारो सेतो लुगा लगाएको थियो । मैले कुरा बुझी हालेँ । मेरी आमा धेरै अगाडि बितिसक्नु भएको थियो ।

तर पनि प्रशासनले छोडेन । बलराम प्याकुरेल नामका अञ्चल्याधीश थिए । उनले बुबा बित्दा पनि घर जान दिएनन् । काजीमान कन्दङवा पञ्चायती राजनीतिको चल्तापुर्जा थिए । उनीसंग हाम्रो पारिवारिक नाता पर्थ्यो । माहिला काकाले उनलाई हारगुहार गर्नु भएछ । बुबा बितेको करिब २ महिनापछि जेलबाट छुटे ।

गाउँमा शिक्षक

पढाई सकेर तेह्रथुमको पोखरी भन्ने ठाउँमा शिक्षक भएर गए । त्यो आठराई क्षेत्रमा पर्छ । त्यो क्षेत्रमा पहिलेदेखि नै शैक्षिक जागरण थियो । चुहान डाँडामा क्याम्पस थियो । तल्लो, माथ्लो गाउँमा हाइस्कुल थिए । करिब डेढ बर्ष बसे त्यहाँ । पछि आफ्नै गाउँमा आउँन गाउँलेले अनुरोध गर्न थाले । मोराहाङको गौखुरी मावीमा आएर हेडसर भए ।

मलाई गाउँघर डुलिरहनु पर्थ्यो । तेह्रथुमका सबै गाउँहरुतिर पुग्थेँ । ३२ पञ्चायत थिए । सबैमा पुगेको थिए । सबै गाउँका मान्छे चिन्थेँ । मोराहाङको हेडसर भनेर जिल्लाभरि प्रचार थियो । मान्छेहरुलाई भरअभरमा सहयोग गर्थेँ । प्रशासनिक सेवा लिन जान मान्छेले साथ माग्थे । गाउँलेका काम र निहुँमा थानेदार र सिडिओसंग झगडा गरिरहन्थेँ । शिक्षक संगठन र आन्दोलनमा लागेवापत लोकप्रियता बढेको थियो ।

मैले मनमनै आकालन गरेँ । तेह्रथुमे जनताले मलाई एकपटक पक्का साथ दिन्छन् । तसर्थ, २०४३ सालको माननीयको चुनाव लड्ने निर्णय गरेँ । शिक्षकबाट राजीनामा गरेँ । चुनाव लड्छु भन्ने थाहा पाए राजीनामा स्वीकृत नगर्दिने डर थियो । चैत्रतिर नामांकन थियो, मंसिरतिरै राजीनामा गरेँ ।

जनपक्षीय थिएँ, माले थिइन
त्यो निर्वाचनमा तत्कालीन भूमिगत माले पार्टीले पनि देशव्यापी रुपमा उम्मेद्वार दिने निर्णय गर्‍यो । त्यस्ता उम्मेद्वारलाई जनपक्षीय उम्मेद्वार भनिन्थ्यो । मैले चुनाव लड्ने एकल निर्णय गरिसकेको थिएँ । गाउँगाउँमा चुनाव प्रचार गर्न थालिसेको थिएँ ।

एक साँझ आठराई क्षेत्रमै हुँदा तत्कालीन मालेका एक कार्यकर्ता पिएच सुब्बा आए । उनीसंग मैले चिनेका साथी तेजप्रसाद र सूर्य कन्दङवाको थिए । उनले मलाई १० बुँदाको एउटा कागज देखाए । माले उम्मेद्वारको रुपमा आफूलाई स्वीकार गर्न र त्यसमा हस्ताक्षर गर्न भने । मैले मानिनँ ।

नमान्नुको धेरै कारण थिए ।

पहिलो कुरा– म पार्टीको संगठित सदस्य थिइनँ, सामान्य समर्थक थिए ।

दोस्रो- चुनाव लड्ने निर्णय मैले आफैंले गरेको थिएँ, पार्टीले हेडसरबाट राजीनामा गर भनेको थिएन ।

तेस्रो कुरा–मालेको घोषित उम्मेद्वारका रुपमा चुनाव जित्ने स्थिति तेह्रथुममा थिएन । आफ्ना सामाजिक क्रियाकलाप मार्फत् भिन्नै खालको छवि बनाएको थिएँ । चुनाव जित्ने ती सबैको साथ सहयोग जरुरी थियो ।

२–३ दिनपछि फेरि भेट्न आए । भनेँ- तपाईले पार्टीको शर्तमा सही नगरे पनि पार्टीले तपाईलाई नै सहयोग गर्ने निर्णय गर्‍यो । मैले धन्यवाद भनेँ । यसरी मालेले मलाई एकतर्फी समर्थन गर्‍यो । काठमाण्डौमा पद्मरत्न तुलाधरलाई सहयोग गर्नेहरुले पोष्टर बनाएर पठाइ दिए । ती मैले चिनेका साथी थिए । किर्तिपुरमा विश्वविद्यालयमा पढाउँथे । त्यसमा तेह्रथुमका जनपक्षीय उम्मेदवार भनेर लेखिएको थियो ।

मतगणना सकियो । तर २ दिनसम्म नतिजा घोषणा गरेन । २ दिन जनताले मतगणना स्थल घेरे । अन्ततः मैले जितेको घोषणा गर्न प्रशासन बाध्य भयो । जीवनमा पहिलो पटक लडेको चुनाव जिते । देशभरि यो पद्मरत्नहरु जस्तै हो माले समर्थक माननीय हो भन्ने पर्‍यो ।

पद्मरत्नको बैठक

जितेर काठमाण्डौं आएपछि एकपटक पद्मरत्नले त्यस्तो छवी बनेका रापसहरुको बैठक गरे । काठमाण्डौंका पद्मरत्न, चितवनका जागृतप्रसाद भेटवाल, कास्कीका सोमनाथ प्यासी, इलामका नोवल केमी राई, झापाका द्रोर्णाचार्य क्षेत्री र म थियौं । साथीहरु आफूलाई माले निकट माननीयहरुको समूह मानेर चलौं भन्थे । मैले आफ्नो स्थिति प्रष्ट पारेँ । म पार्टीमा छैन । मेरो स्थिति र जिल्लाको अवस्था अलिक फरक छ भने । अरु साथीहरु कर गर्दै थिए । पद्मरत्नले भने, ‘भो खापुङजीलाई कर नगरौं’ भने पछि त्यो अध्याय सकियो । म स्वतन्त्र रापसका रुपमा काम गर्न थाले । पञ्चायतका नराम्रा कामको विरुद्धमा राष्ट्रिय पञ्चायतमै खुलेर बोल्थेँ ।

मन्त्री बन्ने अफर
निर्दलीय व्यवस्थाको विधायकी भए पनि राष्ट्रिय पञ्चायत एकप्रकारको पार्लियामेन्टजस्तो थियो । प्रधानमन्त्री हुन बहुमत रापसको समर्थन चाहिन्थ्यो । तर रापसहरु दरबारको लाइन पर्खेर बस्थे । त्यस्तै एक दिन हाउस भवन छेउमा बसिरहेको थिए । सुशिला थापा पञ्चायत समर्थक रापस थिइन् । पछि उनी स्वास्थ्यमन्त्री भइन् । उनले ‘लाइन आयो लाइन आयो’ भनिन् ।

सोधेँ–‘कस्लाई आयो ?’

उनले ‘मरिचमान मरिचमान’ भनिन । अरु मरिचमान सिंहलाई समर्थन दिन सही गर्न तिर लागे । म त्यहाँबाट निस्केर डेरातिर लागे ।

राती ११ बजे टिकाराज जोशी मेरो डेरामा आए । जोशी तेह्रथुम सदरमुकाम म्याङलुङ हाइस्कुलका हेडसर हुँदा चिनेको थिए । त्यतिखेर धरानमा शिक्षाको क्षेत्रीय डाइरेक्टर थिए । जोशी टुप्लुक्क मेरा डेरामा आइपुग्दा छक्क परे । उनले भने, ‘मरिचमानले जसरी हुन्छ, लिएर आउनु भन्या छ, नत्र मेरो जागिर जान्छ ।’

टिकाराज जोशी र म मरिचमान श्रेष्ठकोे डेरामा गयौं ।

त्यहाँ पुग्दा छक्क परे । पञ्चायतका महान हस्ती भनिएका कयौं नेताहरु मरिचमानको डेराको भूइँमा सुतिरहेका थिए । मरिचमानले भने, ‘हेर्नुस, तपाई पनि हेडसर, म पनि हेडसरबाट राजनीतिमा आएको । हामी शिक्षक पेशाका मान्छे इमान्दार हुन्छौं । मेरो समर्थनमा हस्ताक्षर गर्नु भएन केही छैन, मन्त्री हुने हो ?’

तर मैले तत्काल उत्तर दिन सकिनँ । मेरो पञ्चायत विरोधी आफ्नै प्रकारको छवि थियो । मन्त्री खाँदा कस्तो असर पर्ने हो तत्काल निर्णय लिन गाह्रो परो । सोचेर उत्तर दिन्छु भनेर त्यहाँबाट उम्किएँ । तर कुनै उत्तर दिइनँ । फोन नै गरिनँ । पछि हाउसको कुनामा भेट हुँदा भने, ‘ खै, केही उत्तर दिएनौ त ।’ मैले भनेँ, ‘माफ गर्नु होला प्रधानमन्त्री ज्यू ।’ मैले हाँसेर टारेँ  ।

राजा अगाडि एक घन्टा भाषण
करिब २ बर्षपछि अर्को संयोग पर्‍यो । राजाको विकास क्षेत्रीय भ्रमण हुन्थ्यो । रापसहरु करिब १ महिना त्यहाँ बस्नु पर्दथ्यो । राजा बीरेन्द्र धनकुटा जाने भए । क्याम्पमा साँझ पालो गरीगरी जिल्लाका समस्याबारे ब्रिफिङ हुन्थ्योे । मेरो पालोमा मैले करिब एक घण्टा भाषण गरे । राजा सुनिरहे । पछि उनका एडिसीले भने, ‘राम्रो भन्यौ ।’ त्यतिखेर अरु केके भनेँ बिर्सिएँ । तर मैले ‘पञ्चायतको मण्डलेकरण हुँदै गएको, त्यसको असर राजतन्त्रलाई पनि पर्ने र मण्डले हुन नचाहनेहरुलाई पञ्चइतर भनेर दुःख दिइएको’ कुरामा मुख्य जोड दिएको थिएँ ।

त्यही साल भदौमा भूकम्प गयो । गाउँ गएँ । दशैसम्म फर्किनँ । दशैंको टिकाको भोलिपल्ट साँझ रेडियोमा आफ्नो नाउँ सुनेँ । मरिचमानले मलाई भौतिक तथा आवास सहायक मन्त्रीमा लिएछन् । सपथ ग्रहण गर्न र कार्यभार सम्हाल्न छिटो आउनु भन्ने सूचना सिडियो कार्यालयमार्फत् गयो । तर मेरो जिल्लामा केही निर्धारित कार्यक्रम थिए । मन्त्री घोषणा भएको १ महिनापछि मात्र सपथ गरेँ ।

२०४६ साल आइहाल्यो
मन्त्री त भइयो तर २०४६ आइहाल्यो । मरिचमान सिंहको मन्त्रीमण्डलभित्रै हामी केही मन्त्री थियौं पञ्चायत इतरजस्ता । जस्तै– केशबकुमार बुढाथोकी, बेनुपराज प्रसाई, परशुराम चौधरी, शैलेन्द्रकमार उपाध्याय र म । मेरो माइतीघर डेरामा हाम्रो बैठक हुन्थ्यो । के गर्ने ? कुमार बुढाथोकी राजीनामा दिऔं भन्थे तर उनी आफैले दिएनन् ।

बरु शैलेन्द्रकुमार उपाध्यायले राजीनामा दिए । तर, अरु भने एकप्रकारको नैतिक संकटको अवस्थामा थियौं । तुरुन्तै राजीनामा पनि दिएनौं । जनआन्दोलनको विरोध पनि गरेनौं ।

पाँच प्रधानमन्त्रीसँग काम गर्ने मौका
मैले आफ्नो राजनीतिक जीवनमा नेपालको प्रधानमन्त्री भएका ५ जनालाई नजिकबाट नियाल्न पाएँ । नगेन्द्रप्रसाद रिजाल सोझा र कुनै निर्णय क्षमता नभएका थिए । हरेक बिषयमा दरबारको निर्णय पर्खेर बस्थे । जे आउँथ्यो, त्यही गर्थे । आफ्नो विवेकले कहि पनि गर्दैनथे ।

मरिचमानको भने फरक कार्यशैली थियो । उनी मूलमूल विषयमा बाहेक केही कुरा पनि दरबारमा सोध्दैनथे । उनी ग्रासरुटबाट आएका मान्छे थिए, हरेक समस्यालाई सामान्य जनताको नजरबाट हेर्थे र के गर्दा राम्रो हुन्छ, त्यही निर्णय गर्थे ।

राप्रपा पार्टी बनाउँदा सूर्यबहादुर र लोकेन्द्रबहादुरसँग संगत भयो । लोकेन्द्रबहादुर चन्द भने कुनै मौलिक स्वभाव र क्षमता नभएका व्यक्ति थिए । बाहिरबाट हेर्दा ठूलो विद्धान र भद्र मान्छेजस्तो । भित्रभित्र भने आफ्नो पोजिसनबाहेक केही कुरामा पनि कुनै चिन्ता नभएको, कुनै धारणा र सोच नभएको ।

सूर्यबहादुर थापामा भने एक चतुर राजनीतिज्ञको दूरदृष्टि थियो । उनी पर सोचेर निर्णय लिन्थे । आफ्नो पोजिसन त हेर्थे संगसंगै राजनीति भविष्यमा कसरी जान्छ र केके समस्या वा अनुकुलता आउन सक्छ भनेर विश्लेषण गर्थे ।
डा. बाबुराम भट्टराईको क्याबिनेटमा केही समय रहेँ । नयाँ शक्ति पार्टी बन्दादेखि उनको व्यक्तित्व नियाल्छु । फरक प्रकारको बौद्धिक व्यक्तित्व र देशका लागि केही गरौं भन्ने सोच उनमा प्रवल छ । ग्रासरुट शैली र सरलता मरिचमान र भट्टराईको मिल्छ । तर विचार र एजेण्डाले उनीहरु विपरित धारका भए ।

मदन भण्डारीको आग्रह
पञ्चायत गयो । अबको राजनीति के हुने भन्ने धारणा बनाउन घोत्लिन थालेँ । मदन भण्डारी बारम्बार भन्थे, ‘पञ्चायतमा केही दिन मन्त्री हुँदैमा सबै कुरा बिग्रेको छैन । केही दिन चुपचाप बस्नुस् । तपाईले तेह्रथुममा गरेको दुःख हामीलाई थाहा छ । तपाईले बनाएको जनमतकै जगमा हाम्रो पार्टी टिकेको छ त्यहाँ । विस्तारै सबै सहज हुन्छ । फर्किनु पर्छ ।’

मदन बिते पछि माधव नेपालले एउटा ग्रुप नै पठाए भेट्न । उनको सन्देश थियो, ‘तपाई राष्ट्रिय सभामा स्वतन्त्र उम्म्द्वार भएर उठ्नुस, हामी जिताइदिन्छौं । पछि विस्तारै सहज भएपछि पार्टी प्रवेश गर्नु होला ।’ तर मैले मानिनँ । त्यो एकप्रकारको अनैतिक राजनीति हो जस्तो लाग्यो ।

राप्रपा बनाउँदाको मनस्थिति
कांग्रेससंग मलाई कहिल्यै कुनै मोह र आकर्षण भएन । कम्यनिष्ट पार्टी मैले युवाकालमा सोचेजस्तो देखिनँ । कम्युनिष्ट पार्टीबारे नेपालमा भनिएका कुरा विश्व अनुभवले पुष्टि गर्दैनथे । सक्कली कम्युनिष्ट हुुन विश्व वातावरण देखिनँ, नक्कली कम्युनिष्ट हुन मन लागेन ।

त्यसो भए देशमा एक वैकल्पिक प्रजातान्त्रिक शक्ति चाहिन्छ भन्ने लाग्यो । यस्तो मनस्थितिमा राप्रपामा लागेँ । त्यो एक हदसम्म ठीकै जाँदै थियो । तर दुईटा समस्या आए– जनताले त्यसलाई प्रजातान्त्रिक विकल्प नभएर पुर्वपञ्चहरुको पार्टी भनेर बुझे । अर्को कुरा त्यो पार्टीको व्यवहार पनि त्यतै गयो ।

२०५१ को मध्यावधिमा त्यो एक बलियो शक्तिका रुपमा देखा परिसकेको थियो । त्यसपछि कांग्रेसले सूर्यबहादुरलाई बोक्यो, एमालेले लोकेन्द्र बहादुरलाई । यो खिचडी खेलले राप्रपाको विश्वासनीयता गुम्यो ।निर्दलीय चिन्तन र सामन्ती सोचमा हुर्किएका मान्छेहरुले प्रजातान्त्रिक विकल्प बनाउने कुरा व्यवहारिक रुपमा नहुने रहेछ । राप्रपाको किस्सा नै समाप्त भएझैं भयो । आज त्यो पार्टी प्रजातान्त्रिक विकल्प हैन, राजतन्त्र पुनर्स्थापनाको एजेण्डा लिएर हिंडेको छ ।

उपेन्द्र यादवको प्रमुख अतिथि सूर्यबहादुर थापा
ठ्याक्कै मिति याद छैन । तर एउटा रोचक संयोग छ । म राप्रपाको केन्द्रीय सदस्य थिए । उपेन्द्र यादव विराटनगरमा पढाउँथे । मधेशी जनाधिकार फोरम भर्खरै बनेको थियो सायद । त्यसमार्फत् उनी नेपालमा समावेशिता र सीमान्तकृत समुदायको मुलप्रवाहीकरणबारे गोष्ठी गर्न चाहन्थे । उनलाई कोही नाम चलेको प्रमुख अतिथि चाहिएको थियो ।

म कोशी गेष्ट हाउसमा बसेको थिए । बिहान मोर्निङ वाकमा निस्केको बेला उपेन्द्रजीका साथीहरुसंग भेट भयो । उपेन्द्रलाई चिन्दिनथेँ म, अरुलाई चिन्थे । उनीहरुले उपेन्द्रको कार्यक्रमको प्रस्ताव गरे । सूर्यबहादुर थापालाई बोलाई दिन आग्रह गरे । मैले हुन्छ भने ।

हुन्छ त भने त्यसपछि मनमा अप्ठ्यारो लाग्यो । पूर्व प्रधानमन्त्रीलाई बोलाउने, कार्यक्रम कस्तो, कत्रो हुने हो थाहा छैन । सूर्यबहादुरको अर्कै प्रकारको छवी, उपेन्द्रजीको अर्कै प्रकारको उद्देश्य । कतिको तालमेल मिल्ने हो भन्ने पीर लाग्यो । नभन्दै सुर्यबहादुर आए । कार्यक्रम भव्य भयो । पछि उपेन्द्र यादवले लेखेको किताबमा पनि यो गोष्ठी र थापाको भाषण छापियो । अहिले पनि उपेन्द्रलाई त्यो घटना सम्झाउँछु र दुवै हाँस्छौं । कहिले काही संयोगले पनि राम्रो काम हुन्छ ।

यसर्थ लागे नयाँ शक्तिमा

छोटो समय मन्त्रीमण्डलमा संगै रहँदा बाबुराम भट्टराईसँग चिनजान भयोे । कांग्रेस, कम्युनिष्ट र राप्रपा ती ३ वटै पुराना धारका दलबाट मैले आशा गुमाई सकेको थिएँ । एक वलियो लोकतान्त्रिक विकल्प निर्माण नगरीकन नेपालमा विकास, सुशासन र समृद्धि संभव छैन भन्ने मेरो जे धारणा थियो, त्यो कहिल्यै मरेन । अहिले पनि उत्तिकै सत्य लाग्दछ तर के बुझे भने राप्रपा त्यस्तो विकल्प हुन सक्दैन ।

त्यसो भए के गर्ने त ? त्यसको उचित बाटो नयाँ शक्ति निर्माण गर्नु नै हो भन्ने ठहरमा पुगेँ । डा. भट्टराईको लेख ‘नयाँ शक्तिको औचित्य’ पढेको थिए । त्यो लेख मेरा सोचहरुसंग धेरै हदसम्म मिल्यो । त्यसपछि नयाँ शक्तिमा लागेँ । नयाँ शक्तिमा लागेर हामीले सकेको सबै मेहनत गर्‍यौं । छोटो समयमा नै के बुभ्यौं भने भने एक्लाएक्लै दौडिएर कहिँ पुगिदैन । विचार र एजेण्डा मिल्नेहरु मिल्नै पर्छ ।

समाजवादी नै अबको विकल्प
अन्ततः समाजवादी पार्टी बनेको छ । यसको सम्भावना पर्याप्त छ । तर चुनौति पनि छ । सम्भावना भनेको एजेण्डा ठीक छ । विचार ठीक छ । नेतृत्वको एउटा टिम पनि बन्यो । हिजोका आन्दोलनहरुको लिगेसी पनि छ । पार्टी संगठनको आकार पनि राम्रै छ । तर यतिले मात्रै अझै पुग्दैन ।

मुख्य चुनौति मतदाताको मनोविज्ञान नै हो । कांग्रेससंग रिसाए कम्युनिष्टलाई भोट दिने, कम्युनिष्टसंग रिसाए कांग्रेसलाई भोट दिने नेपाली मतदाताको चलन छ । त्यहाँभन्दा पर, नयाँ विकल्प सोच्न, छान्न मतदाताले सकेको देखिन्न । यो चुनौतिको सामना गर्नुको विकल्प छैन । तर जे होस, एक प्रगतिशील-लोकतान्त्रिक विकल्पको जग बसेको छ । यसको आधारलाई अझ ठोस, मूर्त र जिवन्त बनाउँदै लैजान आफ्नो बाँकी राजनीतिक जीवन लगाउन चाहन्छु ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय