scheduleसोमवार चैत्र २४ गते, २०७६

मदन भण्डारीको घाटे बाहुनको कथा र नेपाली लोकतन्त्र

वीरेन्द्र कटुवाल

भनिन्छ ‘सत्यम् मेव जयते’ । अथवा ‘सत्यको जीत हुन्छ’ । सिद्धान्ततः यसलाई नकार्न मिल्दैन । इतिहास, समाजशास्त्र र पुराणहरूले पनि सत्यकै जीत हुन्छ भनेका छन् । तर, व्यवहारले चाहिँ खासखास समयमा कुनै अमुक व्यक्तिहरूलाई सत्ता र शक्तिमा पुर्‍याउने बहाना हो कि जस्तो लाग्छ, सत्य । विश्व साहित्यमा पनि थुप्रै सत्यहरू शक्तिको राप र तापको कोलमा पेलिएर पीना भएका उदाहरणहरू भेटिन्छन् । नेपाली समाजकै आलोकमा हेर्दाखेरी पनि सत्यको प्रत्याभूति गर्ने शासन व्यावस्था फिक्सन र दस्तावेजहरूका दफा र उपदफाहरूको जन्जिरबाट मुक्त भएजस्तो लाग्दैन ।

सत्य के होला भने, सत्य कहिल्यै मौन बस्दैन । हार होस् या जीत । अल्पमतमा होस वा बहुमतमा । बरु शहीद बन्न स्वीकार गर्छ । तर, असत्य र अत्याचार सामु झुक्दैन । बगावत गर्ने नैतिक र बौद्धिक तागत हुन्छ, सत्यसित । सत्यलाई परिवर्तनको निम्ति अत्यावश्यक चैतन्य–स्टामिना पनि भन्न सकिएला । त्यसो भएको हुनाले न्यायिक बहसहरू, समानताका प्रवचनहरू, अधिकारका जार्गनहरू आन्दोलन र क्रान्तिका सशक्त औजार बनेका दृष्टान्तहरू प्रशस्त भेटाइन्छन् । किनभने यी सत्यकै अङ्गहरू हुन् ।

सबै न्यायका कुरा गर्छन् । सबै अधिकारका भाषण छाँट्छन् । सबै समानतामा प्रवचन दिन्छन् । तर, आजसम्मका व्यवहारिक अनुभवहरूले के भन्छ भने, सत्य र त्यसका पक्षपातीहरूलाई खोपीको देउता बनाएर पुज्ने भन्दा अरु केही गर्न सकिएको छैन । त्यसो भए के त सत्य र ईश्वर एउटै हो ? होइन । विलकुलै फरक कुरा हो । र, एउटै बनाउनु हुँदैन पनि । सम्भवतः यहीँनेर ठूलो ऐतिहासिक भूल भएको छ ।

Dish_Home

ईश्वरवादीहरूले सत्य र ईश्वरलाई पर्याय बनाउने कोशिश गरे । कोशिश मात्रै पनि गरेनन्, सत्ता र शक्तिको प्रयोग गरेर बलजफ्ती सत्य र सिद्धान्तलाई पूजा गर्ने साधन बनाए । आज पनि, ईश्वर बन्ने र पुजा गराइने प्रथा रोकिएको छैन ।

विरेन्द्र कटुवाल

समाजशास्त्री डोरबहादुर विष्टले काम नपाएर बिनसित्तिमा नेपालको विकास र समृद्धिको मुख्य अड्चन फेइटलिज्म अथवा भाग्यवाद हो भनेका होइनन् । ब्राम्हणवादीहरूले राज्यशक्तिको आडमा चाकरीवादको फर्मुला प्रयोग गरेर एकल जातीय हैकमवाद लादे । त्यसैको कारण मुलुकले विकास र समृद्धिको गति समाउन नसकेको भन्नेमा डोरबहादुर विष्ट प्रष्ट थिए । समयक्रमले यसलाई घाम जस्तै छर्लङ्ग पार्दै लगेको छ । तर, यो सत्यलाई एकछत्ररूपमा एकल जातीय वर्चस्वको आधारमा राज्य, पार्टी, आन्दोलन, क्रान्ति चलाइराखेकाहरूलाई स्वीकार्य हुने कुरै थिएन । र, छैन ।

सम्भवतः समाजशास्त्री डोरबहादुर विष्टको भौतिक शरीर अनायास गायव हुनमा एकलजातीय वर्चस्ववादीहरूको हात छैन भन्न सकिंदैन । आजसम्म पनि उनी मरेबाँचेको ठेगान छैन । उनी गायब हुनु एउटा दृष्टान्त मात्रै हो । सत्य र सिद्धान्तलाई खोपीको देउता बनाएर कसरी सत्यका अभियन्ताहरू गायब बनाइन्छन् भन्ने उदाहरणहरू हरेक व्यवस्थामा बग्रेल्ती भेटाइन्छन् ।

पञ्चायती व्यवस्थाले जति चार शहीदहरूको पूजा अरू कसले गर्‍यो होला ? समाजवादको सन्जे नजप्ने नेता को होलान् नेपालमा ? पञ्चायतले समाजवादसित तालमेल खाने धेरै काम गरेको थियो । आधारभूतरूपमा विकासको निम्ति अत्यावश्यक धेरै उद्योगहरू पञ्चायतले सरकारी स्वामित्वमा सञ्चालन गरेको थियो । तर, ती उद्योगहरू समाजवाद स्थापनाको निम्ति ठूलाठूला आन्दोलन र क्रान्ति गर्नेहरू मध्येबाटै कसैले कार्यकर्ताको कमाइखाने भाँडो बनाए । कसैले निजीकरण गरेर सिध्याए ।

त्यसो भए के पञ्चायत नै सच्चा समाजवादी व्यावस्था थियो त ? त्यो पनि होइन । ऊ समाजवाद र प्रजातन्त्रको बास आउने केही केही काम गर्न विवश थियो । किनभने उसलाई उत्तरबाट वहने समाजवादी र दक्षिणबाट बहने प्रजातन्त्रको हावाको प्रभावबाट नेपाली युवालाई जोगाउनु थियो । प्रजातन्त्र र समाजवादको लागि नयाँ क्रान्ति गरेर समय र शक्ति खेर फाल्न जरुरी छैन । राजाकै नेतृत्वमापनि त्यो कामगर्न सकिन्छ भनेर बाहिर देखाउनु थियो ।

हो, समाजवादीहरूले पञ्चायले गरेजत्ति पनि गर्न सकेनन्, किन ? यही हो आजको केन्द्रीय प्रश्न । जुन वैकल्पिक राजनीतिक गर्नेहरूले यसको उत्तरको उत्खनन गर्न जरुरी छ । सायद अहिलेसम्म परिवर्तनपछिका हरेक व्यवस्थाले सत्य र सिद्धान्तलाई खोपीको देउता बनाएर पुज्यो । यसलाई साध्यको रूपमा प्रयोग नै गरेन । यो पञ्चायती व्यवस्थाको मात्रै कुरा होइन ।

२०४६–४७ को पहिलो जनआन्दोलन पछि पनि यस्तै प्रवृत्तिले निरन्तरता पाएको छ । गिरिजाप्रसाद कोइरालाले पार्टीमा शक्ति नहत्याउन्जेल नेपाली कांग्रेसले समाजवाद, श्रद्धेय नेताद्वय गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईको खुब अनुसरण गरौँला जस्तो गरे । त्यसैकारण जनताले धेरैपटक मौका पनि दिए । तर, शक्ति हत्याइसकेपछि, तिनै नेताद्वय ‘काम छउन्लेज भोडो, सकिएपछि ठाँडो’ भने जस्तो पुज्यबाट रातारात त्याज्य बनाइए । र, गिजिजा बाबु बने युगपुरुष । आज त्यसैको परिणाम नेपाली कङ्ग्रेस भोगिरहेको छ । तर, ऊ चेत्ने पक्षमा छैन । कारण समाजवाद उनीहरूको लक्ष्य नै होइन । त्यो केवल भ्रम हो । अमूर्त देवता हो, विशेष औसरमा पूज्ने गरिन्छ ।

नेकपा माओवादीलाई हेरौं । नेपालको ऐतिहासिक दश वर्षे जनयुद्धको नेतृत्व गरेको त्यत्रो शक्ति आज अस्तित्वमा नै छैन । त्यत्रो बलिदानीपूर्ण क्रान्ति र संघर्ष कामरेड खड्गप्रसाद ओलीका जोक्सका मुहाबरा बनेका छन् । क्रान्तिका कमाण्डर कामरेड प्रचण्ड दर्शकदीर्घामा बसेर मुसुमुसु हाँस्दै जोक्स सुन्छन् । मानौं हिजो कामरेड प्रचण्डले गरेको क्रान्ति, क्रान्ति नै थिएन, केवल एउटा बचकना र उरन्ठेउलो खेल थियो ।

स्मरणीय छ, हिजो कामरेड खड्गप्रसाद ओली दरबारको जस्केलामा बसेर क्रान्ति र आन्दोलनको खिल्ली उढाउँदै त्यसैमाथि जोक्स भन्थे । आज सिंहदरबारको उच्च ओहोदामा बसेर १० वर्षे जनयुद्ध र ६२/६३ सालको जनआन्दोलनको उपलब्धीमाथि नै जोक्स गर्दैछन् । आजमात्रै होइन, चाहे त्यो २००७ पछि होस्, या २०४६–४७ सालपछि, पटकपटक हामीले भन्ने गरेको सत्य र सिद्धान्त अथवा लोकतन्त्र, सामाजिक न्याय, जनअधिकार, सुशासन, समानुपातिक प्रतिनिधित्व, समाजवाद सुरुसुरुमा शक्ति आर्जन गर्ने वुहान र शक्ति प्राप्त भइसकेपछि जोक्सको मुहाबरा बन्ने गरेको छ ।

भोगाईहरूले के भन्छन् भने, जितुवाहरू आफ्नो जीतलाई नै ‘सत्यको जीत’ भनेर गीत गाउँछन् । र, भक्तहरू सुजनबुझ डम्फू बजाउँदै नाच्छन् । अनि सत्ता र शक्तिको आडमा त्यही मिथलाई सत्यरूपी जामा लगाइदिन्छन् र, जनताको मनोविज्ञानमा इन्द्रजाल रचिदिन्छन् । र, त्यही मनोविज्ञान मिथक बनेर जनमानसमा बसिदिन्छ– सत्यको जीत बनेर । सायद यही हुँदै आएको छ आजसम्म । धोबीको गधाजस्तो बनाइएको छ सत्य र सिद्धान्त । त्यसैले त हरेक पुस्ताले सत्य र सिद्धान्तको जीतको खातिर क्रान्ति गर्नु परेको छ ।

यतिबेलापनि मुलुकको मूलधार अथवा डोमिनेइटिङ्ग पावर पञ्चायभाँती सत्ता र शक्तिको अश्वयानमा सवार भएर मिथहरूलाई नयाँनयाँ मिथक बनाउने ऐतिहासिक काममा लागिपरेको प्रतीत हुन्छ । किनभने व्यवहारतः आज पनि शासन गर्ने ठाउँमा सुन थुपार्नेहरूकै भीड छ । फेरिएको छ, त केवल अनुहारहरू । मन्त्र उही छ, ‘हातको मैला सुनको थैला के गर्नु धनले, साग र सिस्नो खाएको बेस आनन्दी मनले ।’

विगतका सरकार र व्यवस्थालाई जस्तै, यो सरकारलाईपनि जे गरेपनि ‘क्रान्तिको खातिर गरेको’ भन्दिएपछि त्यसले जनअनुमोदन पाउँछ भन्ने ठूलो विश्वास छ । नहोस् पनि कसरी, मुनामदनको मदन कै भाँती हातमुख जोड्न विदेशी भूमिमा रगत पसिना बगाउन जानुपर्ने जनताको वाध्यता फेरिएको छैन । केवल देशहरू फेरिएका होलान्, श्रम बेच्ने ठाउँहरू फेरिएका होलान् । तर, ती गरिब जनताको कमाई लुटेर आलिशान महलको सुनैसुनको बारदलीमा गोडा हल्लाएर ‘मुनामदन’ पढ्ने चलनमा कुनै परिवर्तन भएको छैन । ‘साग र सिस्नो खाएर बस आनन्द मनले’ जनतालाई दिने सन्देशपनि फेरिएको छैन ।

कामरेड मदन भण्डारी एउटा घाटे बाहुनको कथा हाल्नु हुन्थ्यो । उक्त कथामा एउटा घाटे बाहुन हुन्थ्यो । अत्यन्त परपीडक । आफन्त गुमाएका शोकसन्तप्त परिजनलाई यति दुःख दिने की उसले तोकेको घाटे दस्तुर नबुझाएसम्म लासलाई घाटमा बिसाउनपनि नदिने । दस्तुर निर्धारण गर्ने सम्पूर्ण अधिकार उसैको निगाहामा निहीत हुन्थ्यो ।

मान्छे उक्त घाटे बाहुनसित यति आजीत भएका थिए कि सबका सब उसको मृत्युको कामना गर्थे । किनभने मान्छेलाई लाग्थ्यो कि यिनका छोराहरू त्यत्ति साह्रो परपीडक नहोलान् । एकदिन जनताको प्रार्थना सुनुवाइ भयो । र, घाटेबाहुन मरे । मान्छेमा कतैनभाको खुसीयाली छायो ।

तर, त्यो खुसीयाली धेरैदिन टिकेन । जब, घाटको सम्पूर्ण बागडोर उनका छोराहरूले समाल्न थाले । तब मान्छेलाई त्यही मरेको घाटेबाहुन बाँचेर आइदिए पनि हुन्थ्यो जस्तो लाग्न थाल्यो । किनभने छोराहरूले घाटको दस्तुरमात्रै बढाएनन्, मान्छे बिरामी छ भनेको सुन्ने बित्तिकै रसिद बोकेर घरघरमा पुग्न थाले । मान्छे मरेकै हुँदैन थियो, घाटे दस्तुर बुझाइहाल्नु पर्ने भयो । मान्छेहरूलाई घाटेबाहुनका छोराहरू यमराज जस्तै लाग्न थाले ।

यो, कामरेड मदन भण्डारीले पञ्चायती शासकलाई घाटे बाहुन र २०४७ को परिवर्तनपछि बनेको नेपाली काँग्रेसको निर्वाचित सरकारलाई घाटे बाहुनका छोराहरूको ठाउँमा राखेर भनिएको कथा थियो । आज समय, परिस्थिति, राज्यको संरचना र पात्रहरू फेरिएका छन् । अथवा कामरेड मदन भण्डारीकै उत्तराधिकारीहरूको एकछत्र शासन छ देशमा ।

तर, आज उनका उत्ताराधिकारीको व्यवहार हेर्दाखेरी यस्तो लाग्छ, मानौं उनले प्रतिपादन गरेको सिद्धान्त जनताको बहुदलीय जनवादको भन्दा यो दन्त्यकथाको प्रभाव बढ्ता छ । मानौं उनका उत्तराधिकारीहरू विरासतमा प्राप्त मदन भण्डारीको व्यक्तित्व र कृतित्वको पसल थापेर राजनीतिको व्यापार गरिहेका छन् ।

यो किन भैरहेको छ त भन्दा सिद्धान्तलाई खोपीको देउता बनाएको छ । सत्य र सिद्धान्तलाई साध्य बनाइएन । केवल पुज्ने साधन बनाइयो । विगतका सरकारका अनुभवहरूबाट शिक्षा लिएर आफूलाई नसच्याउने हो भने वैकल्पिक राजनीतिका अभियन्ताहरू पनि बीचबाटोमा अल्मलिने सम्भावना देखिन्छ । त्यसैले वैकल्पिक शक्तिहरू गम्भीर हुन आवश्यक छ नै । थप, समाजका हरेक क्षेत्रका प्रश्नहरूको सही उत्तरको उत्खनन जरुरी छ । चाहे त्यो नेकपा विप्लप होस्, अथवा समाजवादी या अरु कोही …।

हालः साउदी अरब, जेद्धा

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय