scheduleआइतवार आषाढ़ २१ गते, २०७७

‘कोरोना भाइरससँग होइन, मानिसको प्रवृत्तिलाई देखेर डर लागेको छ’

युवराज सङ्ग्रौला

जोहन पोलिनी, जेम्स कारोके-वेब्सटर, डर्क रोहमेन तथा क्याथरीन निक्सेले प्राचीन रोमको बारेमा लेखेका विवरणहरु नेपालमा मानिसको अहिलेको मानसिकतासँग मिल्दोजुल्दो छ । कोरोना भाइरसका सन्दर्भमा मानिसको प्रवृत्तिलाई देखेर डर लागेको छ, कोरना भाइरससँग होइन । कथा सुनौं ।

१. यी किताबमा लेखिएको छ- दोस्रो र तेस्रो शताब्दीको कुरा हो । रोम र अलेसजेन्ड्रीया क्रिश्चियन रिलिजन (धर्म र रिलिजन एउटै होइन) धमाधम बढिरहेको थियो । रोममा शास्त्रीय पूजापाठ र बलिदिने चलन थियो । जेयस, अप्फ्रोडाइट, ओलम्पसजस्ता देउताहरुको पूजा हुन्थ्यो । क्रिश्चियनहरु मूर्तिपूजाको विरोध गर्थे । उनीहरुले भन्ने गर्थे, ‘देवतामा सैतान बसेका छन् । जताततै सैतानहरु छन् । सैतानले मासुको गन्ध मन पराउँछन् । यी पुजारीको दिमागमा सैतान बसेका छन् ।’ क्रिश्चियन धर्मगुरुले भन्ने गर्थे, ‘भगवानले भन्नु भएको छ, यी अधर्मीहरुलाई समाप्त गर्न मैले तरबारमा धार लगाएको छु । मेरा बाणले यिनीहरुका रगतमा पौडी खेल्ने छन् ।’

२. रोमन शास्त्रीय दार्शनिक गलान, सेल्सस र प्रोफ्रेरीले भनेका थिए, ‘यी मानिसलाई तथ्य र तर्कको अर्थ छैन । यिनीहरु के हो सत्य के हो तथ्य खोज्दैनन् । यिनीहरुलाई आज बाँच र खुसी होऊ होइन आज मर र स्वर्गलाई सुरक्षित पार भन्न सिकाएको छ । उनीहरु रिलिजनका लागि मर्नु भगवानको सेवा गर्नु हो भन्ने ठान्छन् । यो पागलपन हो ।

युवराज सङ्ग्रौला

३. यसै समयमा सम्राट कन्सटेस्टाइनले आफ्नो रिलिजन परिवर्तन गरे । तब के चाहियो । सैतानको उन्मुलनका नाममा यिनले सबै मुर्तिहरु तोडे । सेल्सस र प्रोफ्रेरीले पिटाइ खाए । यी नयाँ रिलिजन बोकेका मानिसका दिमागमा कुनै विचार थिएन । यी जत्था बनाएर बस्थे । यिनीहरु हल्ला सुन्थे र त्यसकै भरमा गर्नु-नगर्नु सबैथोक गर्थे । जति दुःख दियो शरीरलाई त्यतिनै भगवान खुसी हुन्छन् भन्दै आफैंलाई पीडा दिन्थे ।

४. साइरोस्ट्रोम र अगस्टाइन नामका गुरुले आदेश दिए । कविता लेख्ने, दर्शन लेख्ने, पढ्ने सबै सैतानका शिकार भएका छन् । उनीहरुको उद्धार गर्न भगवानले तिमीहरुलाई पठाएको हो । सबै नष्ट गर । तब के चाहियो । रोम समाप्त भयो ।

५. उता पाँचौ शताब्दीमा अलेजेन्ड्रीया एउटा सुन्दर शहर थियो । इजिप्टका राका टोलोमी दोस्रोले एउटा पुस्तकालय बनाए । यो भव्य भवन अनुपम थियो । संसारभरीबाट दार्शनिक, लेखक, गणितशास्त्री बोलाएर सबै देशका ज्ञानका किताब लेख्न लगाए । ल्याटिन भाषामा अनुवाद गर्न लगाए । विश्वका दार्शनिकहरु त्यहाँ आए । त्यो पुस्तकालयमा सात लाख पुस्तक थिए ।

६. पराबलियन नामको नयाँ रिलिजनको फौज थियो । ‘यो पुस्तकालय सैतान/डिमोन बस्ने घर हो । यसले भगवानलाई चुनौती दिन्छ । सूर्यलाई पृथ्वीले परिक्रमा गर्छ भनेर सिकाउँछ। त्यसलाई मास ।’ जब गुरुको यो आदेश पाए, ८०० पराबलियन वा भगवानका भक्त पुस्तकालयमा बञ्चरा र खुँडा जस्ता हतियार लिएर पसे । एथेनाको मुर्ति लडाए । पुस्तक जलाए । भगवानका नाममा जयजयकार गरे । सैतानको नाश भएकोमा उनीहरु खुसी भए ।

७. हकिपोसिया नाम गरेकी एक महिला दार्शनिक थिइन् । उनको ज्ञानबाट दुनियाँ प्रभावित थियो । ‘सैतान अहिले पनि जिउँदै छ, त्यसलाई खतम गर’, गुरुले आदेश दिए । तब उनलाई समातेर ल्याइयो । कपडा खोलेर नाङ्गै बनाइयो। मार्बलका टुक्राले छाल काढियो । औंला हालेर आँखा निकालियो । तब जययकार गरियो । भगवानको आदेशमा सैतानको बध गरियो, उनीहरु खुसीले उफ्रिए ।

उनीहरुलाई के हो दर्शन थाहा थिएन । के हो ज्ञान थाहा थिएन । बस, उनीहरुको दिमागमा एउटा कुरा थियो हामीले जे गरेका छौँ त्यही सत्य हो । उनीहरुका दिमागमा जे थियो त्यही ठिक हो । अरु सबै गलत । उनीहरुले गरेभन्दा फरक अर्को सत्य पनि हुन सक्छ, त्यो मान्न उनीहरु तयार थिएनन् । त्यसैले मानिसका अनुभव र अनुसन्धानले बनाएको ज्ञान उनीहरुले समाप्त पारिदिए । केही दार्शनिक थिए । डामिसियस सबैभन्दा महत्वपूर्ण थिए । उनी प्लेटोको सिद्धान्त पढाउँथे । अरिस्टोटलको सिलिजिजम पढाउँथे । डामिसियसको दिमागमा डिमोन घुसेको ठहर गरियो । अगस्टाइनले भने, ‘प्लेटो शैतान हो । सत्य प्रभु मात्र हुन् ।’ डामुसियस र उनका साथीहरु भागेर पर्सिया गए । सबै पुस्तकहरु खोजी खोजी जलाइयो । युरोपमा अन्धकारको युग शुरु भयो ।

जब विवेक, तथ्य, अनुभव र परीक्षणबाट सत्यको खोजी हुन छोड्छ, समाज बस्न लायकको हुँदैन । आत्मावादी चेतनाले मानिसको सर्वनाश गर्छ । जब मानिसले धर्ती नहेरेर अकाशमा हेर्छ सत्य खोज्न, जब मानिसले घटनामा होइन दिमागमा सत्य खोच्छ, दुनियाँ बर्बाद हुन्छ ।

अहिले नेपाली समाज यस्तै छ । फेसबुकमा कोरोना भाइरसका कुरा गरौं, मानिसका छलफलका कुरा गरौं । भागाभाग र दौडधुपका गतिविधि हेरौं, आतंक हेरौं । गर्नुपर्ने के हो मानिसलाई चिन्ता छैन । कसरी जोगिने हो सोच छैन । मात्र छ अल्पज्ञान । मानिस हावामा बतासिएको छ । नजान्ने कोहि छैन । कोही गाईको गहुँतको कुरा गर्छ कोही अदुवाको ।

अनलाइनमा समाचार आउँछ, ‘चीनमा दबाई बन्यो’, ‘ट्रम्पले गरे खतर्नाक घोषणा’, ‘ओलि र प्रचण्डको दूरी बढ्यो’आदिआदि । हामी कुन युगमा छौँ ? हाम्रो जनमत कसले बनाउँछ ? सरकार जनमतको जानकारी कसरी लिन्छ ? हामी सत्यको खोजी कसरी गर्छौं ? हामी भावनावादी, अर्काको नाश गर्ने, हल्लामा कुद्ने पराबलियन नै रहेछौं । हाम्रो दुर्भाग्य यहि छ ।

सरकार आफू मात्र ठिक छु भन्ने ठान्छ । प्रतिपक्ष आफू मात्र ठिक छु भन्छ । बौद्धिक फेसबुकका सूचनालाई आधार बनाएर तर्क गर्छ । हरेक मानिस जानकारी जति मलाई मात्र थाह छ भन्ने ठान्छ । तर सत्य र तथ्य के हो कोही खोज्दैन ।

मेरो भनाई ठिक छ किनभने मेरा आफ्नै मामाले भनेको हो, किनभने मेरा पार्टीका पत्रकारले लेखेको हो, किनभने मेरा नेताले भनेको, किनभने मेरा जातका, धर्मका, ठाउँका, गुटका मानिसले भनेको, किनभने मलाई चित्त बुझ्यो ।

यिनै होइनन् हाम्रा सत्यका आधार ? त्यसैले हामीसँग डिग्री र मोबाइल भए पनि हामी ज्ञानी हुन सकेका रहेनछौं । यस्तो समाज ध्वस्त हुन समय लाग्दैन, त्यसैले यथार्थ खोज्न सिकौं । विज्ञान बिनाको ज्ञान खतरनाक हुन्छ ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय