scheduleबिहिवार जेष्ठ १५ गते, २०७७

सायद एकपटक मार्क्स ‘रंग फेर्ने छेपारो’ हुन जरुरी छ

राफेल खचातुरिन

सन् १८४९ मा कार्ल मार्क्स लण्डन आए । उनीसँग पत्नी जेनी र उनका ३ बालबच्चा थिए । लण्डनमा उनी ३१ वर्षीय शरणार्थी थिए । उनलाई पेरिस, ब्रसेल्स र कोलोग्नेबाट निकाला गरिएको थियो । त्यतिखेर मार्क्स धेरै हदसम्म एक अस्पष्ट व्यक्तित्व थिए ।

मार्क्सको परिवारले लण्डनमा छोटो समय मात्र बस्ने योजना बनाएको थियो । उनीहरुको अपेक्षा थियो– युरोपेली महादेशलाई छिट्टै क्रान्तिकारी लहरले लपेट्ने छ । उनीहरुले आफ्नो देश फर्किन पाउने छन् । तर त्यसको सट्टा क्रान्तिहरु दमन भए । आन्दोलनहरु तुहिए । युरोपमा क्रान्तिको लहर आएन बरु आएका लहरहरु पनि शिथिल भए । इङ्गल्याण्ड मार्क्सको बाँकी जीवनको बासस्थल बन्यो ।

मार्क्सको लण्डन आगमनले उनलाई विश्वकै सबैभन्दा ठूलो वित्तिय पुँजीको राजधानीमा ल्यायो र विश्वकै सबैभन्दा ठूलो औद्योगिक पुँजीको राजधानी म्यानचेष्टरको नजिक बनायो । यसरी मार्क्सको जीवनका बाँकी वर्षहरु त्यही प्रणालीका केन्द्रभागमा बित्दै गए जसलाई उनी सैद्धान्तिकरण गर्न र उखेलेर फ्याँक्न चाहन्थे ।

Dish_Home

राम्रो होस कि नराम्रो, पुँजीवादप्रतिको बुझाईलाई मार्क्सको परिपक्क चिन्तनको कब्जाभित्र पार्न उनी आएको देशको इतिहास र संस्कृतिको साक्षी हुन जरुरी थियो । तसर्थ, यो भन्न सकिन्छ कि मार्क्सको मूल ग्रन्थ ‘पुँजी’भरी अंग्रेजी विषयवस्तु, स्रोत, सन्दर्भ र राजनीतिक अर्थव्यवस्थाको परम्परा पूर्णरुपमा हावी छन्, उनको मौलिक मातृभाषाको हैन ।

राफेल खचातुरिन

ज्यसन बारकरको किताब ‘मार्क्सको पुनरागमन’ ले मार्क्सका लण्डन वर्षहरुको जीवन्त पुनर्परिकल्पना गर्दछ । मार्क्स परिवारले सन् १८५० को अवधिमा भोगेका व्यक्तिगत, राजनीतिक र आर्थिक उद्धिग्न अनुभवहरु चित्रण गर्दछ, जुन उनीहरुको जीवनको सबैभन्दा अप्ठ्यारो दशक थियो । यद्यपि बारकरले मार्क्सको जीवनलाई दृष्टिविन्दू बनाएका छन् तर, यो मार्क्सको बायोग्राफी हैन । मार्क्सका बायोग्राफीहरुको भीडमा यसलाई एउटा अर्को स्थान ओगट्ने किताब मान्न सकिन्न । जस्तो कि मेरी ग्याब्रियलको ‘प्रेम र पुँजी’, जोनाथन स्परवरको ‘कार्ल मार्क्स र उन्नाइसौं शताब्दिको जीवन’, स्टेडम्यान जोन्सको ‘कार्ल मार्क्सको महानता र भ्रम’ वा स्भेन इरिक लिडम्यानको ‘कार्ल मार्क्सः जित्नका लागि सिङ्गो संसार’ ।

त्यसको साटो बारकर यो प्रष्ट गर्दछन् कि ‘मार्क्सको पुनरागमन’ एक ऐतिहासिक आख्यान हो । किताबले मार्क्सको दृष्टिकोणबाट वास्तविक ऐतिहासिक घटनाहरुलाई बुन्दछ । पुँजी, गणित र तत्वशास्त्रबारे गहिरो ध्यान केन्द्रित गर्दै उन्नाइसौं शताब्दिमा निर्वासित जीवन बाँच्ने मान्छेहरुको पारिवारिक नाटकका रुपमा प्रस्तुत हुन्छ । बरु ती सबै तत्वहरुलाई जोडेर मार्क्सबारे अगाडि जानकार भएकाहरुको लागि एक विस्मयकारी किताब तयार गर्दछ भने मार्क्सबारे भर्खरै जानकारी लिन थालेकाहरुलाई सबै कुरा शुत्रबद्ध बताउँदै जान्छ ।

वारकरको ‘मार्क्सको पुनरागमन’ सन् १९८९ पछिको स्थितिमा आएको थियो जुन मार्क्स र साम्यवादप्रति प्रतिशोधको शिखर समय थियो । तर यसको लेखन बारकरले १० बर्ष अगाडि नै शुरुवात गरेका थिए जब उनी आफैं चर्को आर्थिक संकटमा थिए । बारकर सन् २०११ को ‘मार्क्स रिलोडेड’ वृत्तचित्रका लेखक, निर्देशक र सहनिर्माता पनि हुन् । त्यति हुँदाहुँदै पनि बारकारले मार्क्सबारे प्रकाशित भइसकेका बायोग्राफीको ज्ञानलाई आधार लिएका छैनन् बरु आफैं हिगेल, बाकुनिन र पेरिस कम्युनको अध्ययनसम्म पुगेका छन् ।

क्रान्तिकारी राजनीतिप्रतिको अनन्त अनुराग एक उच्च स्पर्शिक विन्दूमा पुग्दछ जहाँ लिङ्ग र मानव अस्तित्वको साझेदारी प्रश्नहरुको घेराभन्दा माथि हुन्छ ।

त्यसो त राउल पेकको ‘युवा कार्ल मार्क्स’ पढ्दै गर्दा ‘मार्क्सको पुनरागमन’ जस्तो किताब आउने कल्पना मनमा सजिलै आउँछ । यी दुवै किताबमा कालक्रमको सामञ्जस्यता छ । तर राउलको ‘युवा कार्ल मार्क्स’ यथार्थपरक अभिलाषाबाट लेखिएको छ भने बारकरको ‘मार्क्सको फिर्ती’ लाई जेनीभन्दा पनि स्वयम् मार्क्सको वस्तुगत मानसिक उग्रताको पूर्ण चित्र मान्न सकिन्छ । केन्द्रदेखि परिधिसम्मका यसका प्रत्येक पात्रहरु व्यक्तिगत जीवनभन्दा फराकिलो परिप्रेक्ष्यमा ऐतिहासिक व्यक्तित्वका रुपमा आख्यानित भएका छन् । उनीहरुको अतिशयोक्तिकृत व्यक्तित्वले स्वयं उनीहरुलाई कतिपय अवस्थामा हास्यास्पद बनाइदिन्छ ।

एंगेल्सको व्यक्तित्व एक वफादार पारिवारिक मित्र तर व्यवसायिक र यदाकदा अनुपस्थिति दिमाग भएको व्यक्तिका रुपमा गरिन्छ । बाकुनिन एकाध स्मरणयोग्य उपस्थिति निर्माण गर्दछन् । उनी २० जना सिपाही भएको युक्रेनी किसान फौज जसको उद्देश्य सम्पूर्ण रुसी साम्राज्यलाई मुक्त गर्नु हुन्छ, त्यसमा मार्क्सलाई भर्ती गर्ने सोचभन्दा माथि गएका छैनन् । र लेन्चेन, जो मार्क्स परिवारकी आधारभूत सदस्य, सनकी र सबैभन्दा शक्तिशाली गृहसेविका हेलेन डिमुथको पारिवारिक नाम हो– परिवारलाई आवश्यक वस्तु तथा सेवाहरु आपूर्ति गर्न नसकेकोमा सधै मार्क्सलाई टोकसिरहेकी हुन्छिन् ।

यति हुँदाहुँदै पनि यी पात्र र यिनका सोचहरु मार्क्सको मष्तिष्कभित्र रहेका केन्द्रीय द्वन्द्व र संकथनका मूल प्रवृतिहरु बन्दैनन् । बारकरका लागि मार्क्स आफैं एक पागल वैज्ञानिक हुन् । इतिहास र राजनीतिक अर्थशास्त्रका अनेक पहलुहरुको अनुरागी हुनुको अतिरिक्त मार्क्स एक उन्मक्त, क्रुद्ध, रिसाहा, बारम्बार अपशब्द बोल्ने, फर्निचर बजार्ने, बच्चाका खेलौना वा वरिपरिका लतापकडा फाल्ने चरित्रमा उद्यत हुन्छन् ।

उनी यो विश्वको एउटा अर्को चरित्रलाई सामुन्ने ल्याउन चाहन्छन् । जस्तो कि उनी भन्छन्, ‘यस्तो एक व्यवस्थित रचना जसले बुर्जुवा समाजको केन्द्रीय प्रणालीलाई अगाडि ल्याउँछ, जसले सामाजिक शक्तिहरुको वास्तविक गतिलाई समात्दछ र उत्पादन सम्बन्धका परिभाषित साधनहरुको वैश्विक परियोजनालाई निर्धारित गर्दछ ।’ यी चीजहरु अन्तत्वगत्वा ‘पुँजी’ को पहिलो खण्डमा मूर्त हुन्छन् । मार्क्सको यावत उद्धिग्नताको केन्द्रमा यो छ । तर उनको परिवार, साथीभाइहरु र यावत परिवेश यो वास्तविक संकथन वा केन्द्र–द्वन्द्वको निपटाराका लागि पर्याप्त धर्यवान छैनन् ।

यो कुनै आश्चर्यको कुरा भएन कि यसको पृष्ठभागमा लण्डन शहरको यावत परिवेश छ । लण्डन– एक जीवन्त र गतिशील शहर जहाँ मार्क्स सडकपेटीका मगन्तेहरु, दुकानदार र व्यापारीहरु, मजदुर र मालिकहरुसँग दैनिक जम्काभेट गर्दछन् । मार्क्सको निरन्तर मानसिक उद्धिग्नताका वास्तविक कारणहरु यद्यपि संज्ञाहीन नै रहन्छन् ।
‘पुँजी’ त्यहाँ एक सर्वव्यापी गतिशीलताको बिम्बका रुपमा देखा पर्दछ । एक रचनात्मक विध्वंशको अभियन्ताका रुपमा देखा पर्दछ । राजनीतिदेखि पारिवारिक प्रेमसम्मको सामाजिक रेशालाई जोड्ने प्रभावशाली क्रान्तिकारी तत्वका रुपमा देखापर्दछ ।

बारकरले मार्क्सका केही प्रख्यात उद्धहरणहरुलाई ठाउँठाउँमा बिल्कुल नयाँ अर्थ दिने गरी प्रयोग गर्दछन् । रोचक र नयाँ सन्दर्भहरुसँग जोडेर । लण्डनको डाउनट्रोडलमा वाष्प इन्जिन घिस्रिरहेको देखेपछि– ‘सबै ठोसहरु प्रकारान्तले हावामा पग्लिन्छन्’ निस्कन्छ । ‘बिहान शिकार गर्ने, दिउँसो माछा मार्ने अनि चेस खेलेर रमाउने’ दिव्यवाणी जेनीको मुखबाट निस्कन्छ । ‘धर्म जनताका लागि अफिम सरह हो’ भन्ने वाक्य एक पादरीको मुखबाट बोलाइन्छ ।

जो होस्, कथाले यस्ता अनेक सपनाजस्ता पात्रहरुलाई डोर्‍याउँदछ, जो एक अत्यन्तिक जादुगरी यथार्थवादको नजिक पुग्दछन् । यी चरित्रहरु निरन्तर द्वन्द्व र तनावमा छन् जसले बद्लिएको विश्वलाई स्वयं आफूभित्र सञ्चार गर्दछन् । तीमध्ये अधिकांश असफल छन् । आफ्नो असफलताको बोझले कथालाई राम्रो मोड दिन योगदान दिन्छन् । त्यसले कुनै प्रष्ट संकथनको सट्टा बरु प्रभावशाली रेखाचित्रहरु निर्माण गर्दछ ।

अझ रोचक कुरा के हो भने– यी यावत योगदानका लागि आफ्नो नायकलाई जस दिनुको साटो ‘मार्क्सको पुनरागमन’ ले उसलाई एक त्रुटिपूर्ण चरित्रका रुपमा चित्रण गर्दछ । बारकरको मार्क्स घाँटीघाँटीसम्म ऋणले डुबेको हुन्छ । मानसिकरुपमा सधै थकित हुन्छ । आफ्ना कमरेडहरुसंग सधै अधैर्य व्यवहार गर्दछ । पत्नीप्रति विश्वासघात गर्दछ । आफ्नै बालबच्चाप्रति लापरवाह हुन्छ । आफ्नै जोशको सास्ती आफैं भोगिरहेको हुन्छ ।

बारकरले मार्क्सको क्रान्तिकारी क्षितिजको मागसँग जेनी र लेन्चेनको असीमित घरेलु श्रमबीच एक असहज सम्बन्धको संकेत गरेका छन् । ‘प्रेमको साझेदारी र परस्पर आवश्यकता अगणनीय छ । मार्क्स हेलेनको ज्याला कसरी गणना गर्दा हुन्छ ?’ कुनै विन्दूमा बारकर मार्क्ससंग यो आश्चर्यजनक प्रश्न सोचिरहेका हुन्छन् । यद्यपि बारकर यो विरोधाभाषलाई कुनै निष्कर्षमा पुर्‍याउँदैनन् । क्रान्तिकारी राजनीतिप्रतिको अनन्त अनुराग एक उच्च स्पर्शिक विन्दूमा पुग्दछ जहाँ लिङ्ग र मानव अस्तित्वको साझेदारी प्रश्नहरुको घेराभन्दा माथि हुन्छ ।

दुःखको कुरा– यी सबै चारित्रिक गुणहरुभन्दा मार्क्स माथि छैनन् । उनी कुनै आदर्श पात्रभन्दा हाम्रा समकालीन मान्छेहरुजस्तै त्रुटीपूर्ण पात्रको रुपमा प्रस्तुत हुन विवश छन् । उनी तिनै चिन्ता, तनाव र मानसिक रोगहरुबाट ग्रसित छन्, जुन आजको समाजका मान्छेहरु हुन्छन् जबकी पुँजीवादले वस्तुहरुको असीमित छनौट र मनोरन्जनका कयौं सुविधाहरु उपलब्ध गराएको छ ।

जस्तोे कि हामी कहिलेकाहिँ भन्छौं– पुँजीवाद मानव सभ्यताको बुर्जुवा आकांक्षाको प्रतिरुप हो । यो वाक्य सायद उन्नाइशौं शताब्दिमा भन्दा आजको एक्काइशौं शताब्दिमा बढी मुखर छ । कार्ल मार्क्स र जेनी आफै उन्नाइशौं शताब्दिको बुर्जुवा समाजबाट किनारीकरण भएका थिए । उनीहरुले त्यसबेलाको शिक्षा, अनुभव र संस्कृतिलाई गतिशीलताको गिर्दो अवस्थाका रुपमा लिएका थिए । उनीहरुले भोगेको सामाज सोचेको समाजमा आँखा अगाडि उत्परिर्वतित भइरहेको थियो ।

‘मार्क्सको पुनरागमन’ एक उल्लेखनीय मोडमा पुगेर सकिन्छ जब मार्क्सले पेरिस कम्युनबारेको समाचार सुन्छन् । त्यतिखेर लण्डनमा मार्क्स बुढा, प्रतिष्ठित र ख्याति प्राप्त हुँदै हुन्छन् । मान्छेले उनीप्रति ध्यान दिन र इज्जत गर्न थालेका हुन्छन् । पुस्तकको अन्त्य गर्न त्यो विन्दूलाई छनौट गरिएको छ- जतिखेर पेरिस कम्युनका करिब ३० हजार कमरेडहरु राष्ट्रिय सुरक्षा आर्मीद्वारा मारिएको भनिँदै हुन्छ । र, मार्क्स उनीहरुलाई आफ्नो प्रतिरक्षा गर्न आव्हान गरिरहेका हुन्छन् ।

युरोपको पहिलो कामदार वर्गको सरकारमाथिको निर्मम दमन बीसौं शताब्दिको विनाश र भयावहताको पूर्वानुमान थियो । पेरिस कम्युनलाई आख्यानमा एक ऐतिहासिक घटनाका रुपमा बोलाएर बारकरले मार्क्सको क्रान्तिकारी राजनीतिको अपूर्ण परियोजनाको संकेत गरेका छन् । त्यसपछि विश्वमा सशस्त्र श्रमिक आन्दोलनहरु उठ्न कसरी बाध्य भए, त्यो एक अध्यायको वार्तालाप मार्क्स स्वयं फिर्ता भएर हामीसँग गर्न चाहन्छन् ।

एक विन्दूमा पुगेर मार्क्स यस्तो सोच्छन्, ‘आज र अहिलेको एक सिद्धान्तकार हुनु भन्दा छेपारोजस्तो रंग फेर्ने चिन्तक हुनु विगतलाई चिहानमा गाड्नु र भावी पुस्ताका लागि विगतको भन्दा भविष्यको अवलोकन गर्न लामो समय दिनु’ उचित हो । मार्क्सलाई अब एउटा पुरातन चिन्तकको रुपमा मान्छेले फेला पार्न र पढ्न नपाउन । त्यसको साटो बरु पुँजीवाद र यसका संकटहरुलाई विश्लेषण गर्ने नयाँ पुस्ताका बौद्धिक, अभियन्ता र नागरिकको दृष्टिविन्दूबाट मार्क्स दृष्टिगोचर हुन् ।

सन् १९९० र २००० बीचका घटनाले यो बतायो कि साम्यवादको विशालतम् र अपरिहार्य आवश्यकताको आश्वासन हामी पत्याउन सक्दैनौं । यसको ठीक विपरित– वर्तमान दशकको पुँजीवाद र यसले उत्पन्न गरेका प्रभुत्व र संकटको सुझावले भन्छ कि मानवमानव सम्बन्ध र हाम्रो पृथ्वीसँगको सम्बन्ध रक्षाका लागि यो उपयुक्त दीर्घकालीन समाधान हैन । सायद पुलको किनारातिर बेतहास दौडिरहेको पुँजीको रेललाई रोक्ने उपयुक्त समय यही हो । यसका लागि सायद एकपटक मार्क्स ‘रंग फेर्ने छेपारो’ हुन जरुरी छ ।

(यो आलेख द वायरबाट दिइएको हो । संक्षेपीकरणसहित भावानुवाद गरिएको आलेखको शीर्षक परिवर्तन गरिएको छ- सं.)

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय