scheduleसोमवार चैत्र २४ गते, २०७६

‘लकडाउन’को स्वागत सँगै कांग्रेस प्रवक्ताको ७ आग्रह

काठमाडौं, १० चैत । सरकारले कोभिड-१९ नियन्त्रण तथा रोकथामका लागि एक साताको लागि ‘लकडाउन’ गर्ने निर्णयलाई कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले स्वागत गरेका छन् ।

‘सरकारले घोषणा गरेको ‘लकडाउन’ को निर्णय सहि छ,’ प्रवक्ता शर्माले सोमबार राति ट्वीट सन्देशमा भनेका छन्, ‘ठूलो जोखिमबाट बच्न सानो कष्टलाई सहजतापूर्वक लिऔं । यो हाम्रै लागि हो ।’

Dish_Home

उनले सरकार र समुदायका नाममा ७ बुँदे आग्रह पनि गरेका छन् ।

हेर्नुहोस् प्रवक्ता शर्माको ७ बुँदे आग्रह-

१. ‘लकडाउन’को अवधि ७ दिनबाट लम्बिनपनि सक्छ । त्यस्तो स्थितिमा ‘दिनभरि काम गरेर माम जुटाउने वर्ग’ को चुल्हो यो लकडाउनले पूरै ‘लक’ गर्न सक्छ ।
अत सरकारले यथासिघ्र राहतको प्याकेज निर्माण गरेर कार्यान्वयनको प्रक्रिया सुनिश्चित गर्नु दुरदर्शिता हुनेछ ।

२. जोखिमसंग जुध्न दैनिकरूपमा सहि सूचना र तथ्यहरु सम्प्रेषण गर्ने कार्यमा सरकारले एकद्वार प्रणाली तत्काल निश्चित गर्नुपर्दछ । जसले नागरिक पंक्तिमा निरन्तर ढाडससंगै उच्च मनोबलको साथ रहनेछ । समुदायले सतर्कता राख्दै साथ दिएर यो संघर्षलाई सफल बनाउनु छ ।

३. खाद्यान्न अभाव र असहजता हुनसक्ने स्थिति आउन नदिन संघीय सरकारले तीनै तहको सरकारबीच उचित समन्वय साथ सुलभ स्थिति बनाउन र नागरिकलाई निरन्तर आश्वस्त बनाउन जरुरी छ ।

४. ‘सेल्फ क्वारेन्टाइन’मा बस्ने जो कसैलाई पनि कोरोना सम्बन्धि निश्चित लक्षण देखिए सम्पर्क कहाँ गर्ने,तिनलाई अस्पताल कसरी कहाँ पुर्‍याइने र उपचार प्रक्रियाको सहजता के हुने जस्ता अन्यौल सरकारले यथाशीघ्र चिर्न जरुरी छ ।

५. यो ‘तेस्रो विश्वयुद्ध’ संसारले स्वास्थकर्मीहरुको नेतृत्वमा लड्नुपरेको छ । अत स्वास्थकर्मीहरुको उच्च मनोबल राख्न, पर्याप्त पिपिई प्रबन्ध गर्न र प्रयोगशाला कम्तीमा ७ प्रदेशमै प्रबन्ध गरेर परीक्षण सहज बनाउन सरकारले तीब्र कार्य गर्नुपर्दछ ।

६. ‘लकडाउन’ले सबैथरी व्यवसायलाई गम्भीर असर पुग्ने स्थिति दृष्टिगत गरेर सरकारले व्यवसायीको बैंकिङ ब्याज घटाउने र किस्ता तिर्ने समयावधि लम्ब्याउन समन्वयको भूमिका यथाशीघ्र निर्वाह गर्नुपर्दछ ।

७. एकातर्फ हामी पूरै देश ‘लकडाउन’मा गएका छौं भने अर्कातर्फ लाखौं नेपाली विदेशी भूमिमा ‘लक्ड’ स्थितिमा छन् । तिनको अभिभावक मुलतः मातृभूमि नेपाल नै हो । सरकारले विविध माध्यमबाट प्रवासी नेपालीको सहजताका लागि भूमिका निर्वाह गर्न जरुरी छ ।

अन्त्यमा, सरकारलाई यी सबै आग्रह ‘लकडाउन’ पूर्वनै हामीले आन्तरिक संवादमार्फत् गरिसकेका छौं । यस्तो बेला सरकारलाई सघाउनु हामी सबैको कर्तव्य हो । तर सरकारलाई घच्घच्याउने दायित्व पनि हामी सबैको हो । यो दायित्व हामी निरन्तर निभाउनेछौं ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय