scheduleशनिवार आश्विन १० गते, २०७७

कस्तो होला कोरोना प्रकोपपछिको विश्व ?

युवल नोवा हरारी

मानवताले यतिखेर विश्वसंकट सामना गरिरहेको छ । यो हाम्रो पुस्ताको सबैभन्दा ठूलो संकट हो । केही हप्ता यता विश्वका नागरिक र सरकारले लिएका निर्णयहरुले सम्भवत आउने वर्षहरुलाई आकारित गर्नेछ । भोलिको विश्व कस्तो हुने हो भन्ने कुरा आज लिइएका निर्णयमा निर्भर गर्नेछ । त्यो नयाँ आकार केवल स्वास्थ्य प्रणालीमा मात्र हुने छैन, बरु हाम्रो अर्थतन्त्र, राजनीति र संस्कृति समेत प्रभावित हुनेछ ।

अहिले हामीले छिटो-छिटो र निर्णायक कदमहरु चाल्नुपर्दैछ । यस्तो बेला हामीले हाम्रा कार्यहरुले पार्ने दीर्घकालीन प्रभाव र परिणाममा ध्यान दिन सक्नु पर्दछ । जब निर्णय गर्दा भएका विकल्पमध्ये कुनै विकल्प छनौट गरिरहेका हुन्छौं– कसरी तत्कालको खतराबाट बच्ने भन्ने मात्र सोचेर हुँदैन, आँधीबेहरी बितिसक्दा हामी कुन प्रकारको संसारमा हुनेछौं भन्ने पनि सोच्नु पर्दछ ।

हो, कोरोनाको कहर जतिसुकै भयावह किन नहोस्, यो आँधी कुनै दिन रोकिने छ । मानवजाति जीवितै रहने छ । हामीमध्ये धेरै बाँच्ने छौं । तर हामी ठीक आजको जस्तो हैन, एक फरक प्रकारको संसारमा बाँँचिरहका हुनेछौं । हामीले थाहै नपाईकन जीवनशैलीगत परिवर्तन भएको र एक नयाँ सामाजिक, भौतिक परिस्थिति हामीले सामना गर्नुपर्ने छ ।

आपतकालका अधिकांश अल्पकालीन मापन जीवनको दीर्घकालीन निर्धारक बन्नेछन् । यो आपतकालको विशेषता नै हो कि तिनीले इतिहासको प्रक्रियालाई छिटोछिटो अगाडि बढाई दिन्छन् । सामान्य अवस्थामा प्रभाव देखाउन वर्षौवर्ष लाग्ने निर्णयहरु यस्तो बेला केही घण्टा मै काम गर्न थाल्छन् । अपरिपक्क र खतरनाक प्रविधिहरु प्रयोगमा आउन सक्दछन् किनकी केही नगर्नु भन्दा ठूलो जोखिम अरु हुँदैन ।

युवल नोवा हरारी

एक बृहत्त सामाजिक सम्परीक्षणको समयमा देशहरुको प्रयास र भूमिका गिनीपिकको जस्तो हुन्छ । एकक्षणलाई सोचौं त– सबै मानिसले घरबाटै काम गर्न थाल्ने हो, निश्चित दुरीबाट मात्र सञ्चार गर्न थाल्ने हो भने संसार कस्तो होला ? सम्पूर्ण स्कुल र विश्वविद्यालयहरु अनलाईन भए भने के होला ? सामान्य अवस्थामा सरकार, व्यवसायिक संगठन र शैक्षिक बोर्डहरु यस्ता प्रयोग गर्न सायदै राजी हुन्थे ।

तर यो सामान्य समय हैन । यस्ता विशेष समयमा हामी दुई महत्वपूर्ण छनौटको सामना गर्दै हुन्छौं । एक– अधिनायकवादी निगरानी र नागरिक सशक्तिकरण बीचको छनौट । दोस्रो– राष्ट्रवादी अगलाव र वैश्विक ऐक्यबद्धता बीचको छनौट ।

निगरानी विधिबाट महामारी रोक्न सबै नागरिकले केही समान मार्गनिर्देशको पालना गर्नुपर्दछ । यसलाई प्राप्त गर्ने पनि दुईवटा तरिका हुन्छन् । एउटा भनेको सरकारले जनताको निगरानी गर्ने र पालना नगर्नेलाई दण्ड दिने हो । आज मानव इतिहासमा पहिलोपल्ट सबै मान्छेलाई सदैव निगरानी गर्न प्रविधिले सम्भव तुल्याइदिएको छ ।

पचास वर्ष अघि केजिबीले सोभियत संघमा प्रति नागरिक २४ घण्टाको २४० मिनेट मात्र निगरानी गर्न सक्थ्यो । सबै नागरिकका २४ घण्टाका क्रियाकलापको सूचना संकलन गर्न केजिबीले चाहेर सम्भव थिएन । त्यतिखेर केजिबीले प्रत्येक नागरिकलाई मानव कर्मचारीबाटै पछ्याउनु पर्दथ्यो । तर अब सरकारले रगत–मासुको मान्छेभन्दा बढी शक्तिशाली सेन्सर र अल्गोरिदममा विश्वास गर्न सक्दछन् ।

ग्राजियानो पानफिली एक कोराना भाइरस निगरानी संयन्त्र इटालीमा प्रयोगमा आइसकेको छ । त्यो प्रणाली अरु सरकारले पनि अपनाउन सक्दछन् । अझ ध्यान दिन योग्य कुरा चीनमा भएको छ । मान्छेले बोकेका स्मार्टफोनमार्फत् नै उनीहरुको शरीरको तापक्रमको सूचना कुनै केन्द्रमा संग्रह हुने, त्यसको क्यामेराबाटै मान्छेको अनुहार चिन्न सकिने र उनीहरुले सम्पर्क गरेका व्यक्तिहरुको जानकारी पाउन सकिने प्रणाली त्यहाँ अपनाइदैछ । मोबाइल एप्सले नै संक्रमित व्यक्तिसँगको दूरीलाई चेतावनी दिन सक्दछ ।

प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले भर्खरै इजराइली सुरक्षा निकायमा नुहाइरहेको आतंकवादीदेखि कोरोनाको बिमारीसम्मलाई निगरानी गर्न सकिने गरी निगरानी प्रविधिको आधिकारिक उपयोग प्रारम्भ गरे । जबकी सम्बन्धित संसदीय उपसमितिले त्यसका मापनतत्वको आधिकारिकता अस्वीकार गरेको थियो । तर नेतान्याहुले आपतकालीन अधिकारको प्रयोग गरी त्यो लागू गरिछाडे ।

तपाई यो तर्क गर्न सक्नु हुन्छ कि यस्ता कुरामा के नयाँ छ र ? भर्खरैका वर्षहरुमा सरकार र कर्पोरेसनहरुले मानिसको ट्रयाक, मोनिटरिङ र मेनुपुलेसनमा असाध्यै परिष्कृत प्रविधि उपयोग गर्दै आएका छन् । यदि हामी होसियार भएनौं भने यो निगरानी प्रणालीमा महामारीले इतिहासकै सबैभन्दा नमेटिने चिनो लगाउन सक्दछ । यहाँसम्म की तपाईले आफ्नो स्मार्टफोनमा औलाले छुने बित्तिकै तपाईले के चाहेको हो भन्ने कुरा सरकारले थाहा पाउन सक्दछ ।

कोराना भाइरसले स्वार्थको केन्द्र परिवर्तन गर्दिएको छ । स्मार्टफोनमा तपाईको औंलाको स्पर्शमार्फत् अब सरकारले तपाईको शरीरको तापक्रम र रक्तचाप जान्न सक्दछ । हामी यसरी अनेक आपतकालीन निगरानीहरुको अधिनमा हुनेछौं । हामीलाई नै थाहा हुने छैन कस कसले हामीमाथि निगरानी गरिरहेको छ । आउने बर्षहरुमा यो क्रम अझै कति गहिरो हुने हो कसैले भन्न सक्दैन । निगरानी प्रविधि यो स्तरमा विकास हुँदैछ कि १० बर्ष अघि त्यो ‘साइन्स फिक्सन’ जस्तो लाग्यो तर आज पुरानो समाचारजस्तो लाग्दछ ।

सन् २०३० को उत्तर कोरिया कल्पना गर्नुहोस्– जब प्रत्येक नागरिकले बायोमेट्रिक ब्रासलेट लगाउनेछन् । यो एउटा यस्तो प्रविधि हुनेछ कि हरेक नागरिकको शारीरिक अवस्था र मनोदशा राज्यलाई थाहा हुनेछ । यदि तपाई कोरियाली महान नेताको भाषण सुन्दै हुनुहुन्छ र बायोमेट्रिकले कुनै संकेत गर्‍यो भने त्यो तपाईप्रतिको रिस हुन सक्दछ । राज्यले कुनै आपतकालीन स्थितिका लागि बनाएका निगरानी नियमहरु आपतकालको अन्त्य पछि पनि आदतजस्तो कायम रहन सक्दछन् ।

उदाहरणका लागि, मेरो गृहदेश इजरायलले सन् १९४८ को स्वतन्त्रता युद्धको क्रममा प्रेस सेन्सरसीप सम्बन्धी केही मानक बनाएको थियो । इजरायलले स्वतन्त्रता युद्ध जितेको लामो भइसकेको थियो तर आपतकालीन नियमहरु अन्त्यको घोषणा गर्न भने बिर्सियो । सन् २०११ मा मात्र ती नियमहरु खारेज भए ।

कोरोना भाइरसका कारण आज लगाइएका कतिपय नियमहरु सूचना नियन्त्रणको भोकले ग्रस्त सरकारहरुले खारेज नगर्न सक्दछन । उनीहरुले कोरोनाको दोस्रो लहर आउन सक्ने वा नयाँ इवोला आउन सक्ने जस्ता तर्क दिनेछन् । कोरोना भाइरस एउटा त्यस्तो विन्दु हुन सक्दछ जहाँबाट मान्छेले गोप्यनीयता र स्वास्थ्यमध्ये स्वास्थ्यको छनौट गर्नेछन ।

तर यसप्रकारको छनौट गर्नु पर्ने अवस्था राम्रो भने हैन । किनकी यो गलत छनौट होे । हामीले स्वास्थ्य र गोप्यनीयताको अधिकार दुवै एकसाथ उपयोग गर्न सक्दछौं भने एक मात्र किन छान्नु ?

हामीले सर्वसत्तावादी सरकारहरुको निगरानी बिनै पनि कोरोना महामारी भगाउन सक्दछौं, त्यो भनेको नागरिक सशक्तिकरणको बाटो हो । भर्खरैका हप्तामा कोरोना महामारी विरुद्ध एकदमै सफल तरिका दक्षिण कोरिया, सिंगापुर र ताइवानले अपनाएका छन् । यी देशले केही ट्रयाकिङ एप्लिकेसनहरु बनाएका छन्, जसले नागरिकको सहकार्यमा भरपर्दा सूचना उपलब्ध गराउँदछन् ।

केन्द्रीकृत अनुगमन र कठोर सजायँ मात्र मानिसलाई सही मार्गर्निेदेश गर्ने तरिका हैन । जब वैज्ञानिक विधि र तरिकाहरु मान्छेलाई बताइन्छ, त्यसप्रति मान्छेमा विश्वास जाग्छ, कुनै ठूल्दाईको धाप मराई विनै मान्छेले सही सूचना अधिकारीहरुलाई दिनेछन् । स्वप्रेरित र सुसूचित मान्छेहरु जहिल्यै पुलिसले निगरानी गरेका वा असुचित मान्छेहरु भन्दा सभ्य र शक्तिशाली हुन्छन् ।

उदाहरणको लागि साबुन पानीले हात धुने कुरा गरौं । यो तरिका मानव स्वास्थ्यका लागि अहिलेसम्मकै राम्रो उपाय मानिदै आएको छ । यो साधारण कार्यले हरेक वर्ष लाखौंको जीवन बचाउन सक्दछ । अहिले यसलाई हामी सामान्य रुपमा लिन्छौं । तर १९ औं शताब्दिमा यो वैज्ञानिकहरुका लागि ठूलो खोज थियो । मान्छेलाई हात धुने बानी बसाल्न धेरै मेहनत गर्नु परेको थियो । यहाँसम्म कि डाक्टर र नर्सहरु नै एउटा अप्रेसन सकेर हात नै नधोई अर्को अप्रेसन गर्नतिर लाग्दथे ।

आज अरबौं मान्छेहरु दैनिक आफ्नो हात साबुन पानीले धुन्छन् त्यसका लागि राज्यले कुनै पुलिसको व्यवस्था गर्नु परेको छैन । यो किन सम्भव भयो भने मान्छेले यससँग जोडिएका तथ्यहरु बुझे । म मेरो हात सधैं साबुन पानीले धुन्छु किनकी मैले बुझे की हातमा टाँसिएका हुन सक्ने भाइरस र ब्याक्टेरियाजस्ता जिवाणुहरुलाई त्यसले फाल्न सक्दछ ।

जनताले विज्ञान, सार्वजनिक प्राधिकार र मिडियालाई विश्वास गर्न जरुरी छ । बितेका केही वर्षहरुमा केही गैरजिम्मेवार राजनीतिज्ञहरुले नागरिकलाई विज्ञान, प्रशासन र मिडियामा विश्वास नगर्न प्रेरित गरेका छन् । यस्तै राजनीतिज्ञहरुले समाजलाई सर्वसत्तावादतिर लाने हुन् किनकी उनीहरुको विचारमा जनतासँग राम्रो, नराम्रो काम छुट्याउन सक्ने क्षमता नै हुँदैन ।

सामान्य अवस्थामा विश्वास भनेको वर्षौवर्षको प्रतिफल हो रातारात बन्ने कुरा हैन । तर अहिले सामान्य समय छैन । संकटका बेलामा मान्छेको मष्तिष्कले छिटो परिवर्तन हुन स्वीकार गर्दछ । तसर्थ, मैले भन्ने गरेको छु, यतिखेर हामीले निगरानी बढाउनुको साटो विज्ञानमा मान्छेको विश्वास बढाउनतिर लाग्नु पर्दछ । साथै प्रशासन र मिडियाको पनि विश्वास गर्न जरुरी छ ।

संकटको यो क्षण हामी त्यस्ता केही नयाँ प्रविधि प्रयोगमा ल्याउन सक्दछौं जसले मान्छेलाई सशक्तिकरण गर्दछन् । म आफैं आफ्नो शरीरको तापक्रम, रक्तचापबारे जान्ने हुन सक्दछु र आवश्यकता अनुरुप मात्र चाहिएको पक्षलाई दिन सक्दछु । यसो गर्न सक्ने क्षमता मान्छेमा भएमा सरकारले उनीहरुको निगरानी नै गर्नु पर्दैन । यो हात धुनुजस्तै विस्तारै आदत बन्न सक्दछ । कोरोना भाइरसको महामारीको यो समय यसरी हामीले आफ्नो नागरिक स्वतत्व जोगाउन सक्दछौं ।

दोस्रो महत्वपूर्ण पक्ष राष्ट्रवादी अलगाव र वैश्विक ऐक्यबद्धताको हो । मेरो विचारमा कोरोनासँग लड्न एक वैश्विक योजना चाहिन्छ । राष्ट्रहरुले एकअर्काबाट अलगथलग भएर एक्लाएक्लै यो भाइरसविरुद्ध जित हासिल गर्न सक्दैनन् । भइरसको महामारी र यसको परिणामस्वरुप देखा पर्ने आर्थिक संकट दुवै वैश्विक हुन् । यी समस्यालाई वैश्विक सहकार्यबाट मात्र हल गर्न सकिन्छ ।

यो भाइरसमाथि मानव फाइदाको कुरा हो । चीन र अमेरिकाका भाइरसहरु एकअर्कासंग सम्पर्क गरेर कसरी मान्छेलाई डस्ने भन्ने सल्लाह गर्न सक्दैनन् । तर चीनले अमेरिकालाई कोरोना विरुद्ध कसरी लड्ने भन्ने अनुभव बाँड्न सक्दछ । इटालीको मिलानमा बिहान कुनै डाक्टरले फेला पारेको जुक्ति त्यही दिनको बेलुुका तेहरानको डाक्टरले उपयोग गर्न सक्दछ ।

यदि युके सरकारलाई कुनै द्विविधा भयो भने कोरिया सरकारले सुझाव दिन सक्दछ । तर यसका लागि हामी बीच वैश्विक सहकार्य र विश्वासको वातावरण हुनु पर्दछ । सूचनालाई नपत्याउनुु भनेको षडयन्त्र सिद्धान्तमा विश्वास गर्नु हो, यस्तो सिद्धान्त केही निहित उद्देश्य भएका राजनीतिज्ञहरुको लागि मात्र हितकर हुन्छ, आम मानवताका लागि हैन ।

औधषी र अन्य मेडिकल औजार, उपकरणको उत्पादन र वितरणमा पनि वैश्विक प्रयास जरुरी छ । यो कुनै देशको राष्ट्रवादी युद्ध हैन । यो त कोरोना विरुद्ध मान्छेको युद्ध हो । यो युद्धमा राष्ट्रवादी भावनाको कुनै अर्थ छैन ।

कतिपय शक्तिशाली देशलाई लाग्ला कि पहिले आफू जोगिऊँ । त्यसो भएर पनि के हुन्छ ? कुनै गरिब देशको कुनै गरिब मान्छेमा रहेकोे कोरोना कुनै पनि बेला शक्तिशाली देशको धनीमा संक्रमित हुन सक्दछ । त्यसैले कमजोर र गरिब मुलुकमा पनि यथाशिघ्र औजार र औषधी पुग्न जरुरी छ । स्वास्थ्य कर्मचारीहरुको बारेमा पनि यसरी नै सोचिनु पर्दछ । कम प्रभावित देशको सञ्चित जनशक्तिलाई बढी प्रभावित देशमा पठाउन सकिन्छ ।

यो पनि-
महामारीको वास्तविक औषधि विभाजन होइन अझ बढी सहकार्य हो

आर्थिक मोर्चामा वैश्विक सहकार्य उत्तिकै जरुरी छ । अर्थतन्त्रको विश्वव्यापी प्रकृति र आपूर्ति श्रृंखलाबीच कुनै देशले आफूमा मात्र सीमित प्रयास गर्दा झनै अराजकता र गहिरो संकट आउन सक्दछ । हामीलाई आर्थिक संकट विमोचनको वैश्विक योजना अझ छिटो चाहिएको छ ।

वैश्विक भ्रमणको नियम पनि एक्लाएक्लै बनाएर हुँदैन । केही महिनाका लागि सम्पूर्ण अन्तर्राष्ट्रिय भ्रमणहरु स्थगन गर्नु निक्कै कठोर निर्णय र कोरोना विरुद्धको लडाईमा प्रतिकूल विषय हो । त्यसको साटो देशहरुले भ्रमण र यात्रु सम्बन्धी केही आधारभूत नियम बनाउने, बोर्डर नियमन गर्ने र आवतजावतलाई कायम राख्ने गर्नु राम्रो हुन्छ ।

वैज्ञानिक, डाक्टर, नर्स, पत्रकार, राजनीतिज्ञ र व्यावसायीहरु यो संकटको बीचमा पनि एकअर्को देश नगईकन हुँदैहुँदैन । उनीहरुले यात्रुहरुलाई कसरी उनीहरुको गृहदेशमा सुरक्षित पुर्‍याउन सकिन्छ भनेर एक सम्झौतामा पुग्नै पर्दछ । यात्रुहरुलाई अर्काको देशमा अलपत्र पार्नुभन्दा आवश्यक सावधानी अपनाएर आफ्नै देश पुग्न दिनु कता हो कता राम्रो हो । दुर्भाग्यको कुरा कुुनै पनि देशले यस तर्फ मुश्किलले सोचेका होलान् ।

यतिखेर विश्व समुदायलाई एक प्रकारको सामुहिक पक्षघात भएजस्तो देखिन्छ । यतिखेरसम्म वैश्विक नेताहरु कुुनै सामुहिक योजना र सम्झौताका लागि कहिँ भेला भइसक्नु पर्ने हो । तर कसैले त्यतातर्फ सोचेको देखिएन । योे हप्ता जी-७ का नेताहरुले एक भिडियो सम्मेलन त गरे तर त्यस्तो कुनै योजना बनाउन सकेनन् । जस्तो कि सन् २००८ को आर्थिक मन्दी र सन् २०१४ को इबोला महामारीका बेला अमेरिकाले जुन वैश्विक नेतृत्व गरेको थियो, त्यस्तो कुनै नेता यसपटक देखिएन ।

यहाँनेर एक नयाँ छनौट हाम्रा सामुु छ– कि यो महामारी विरुद्धको लडाई हामी एक्लाएक्लै लड्छौं वा सहकार्य गर्छौं ? विश्व मानवताका सामु अहिले यो छनौटको अवसर छ । हामी अनेकतातिर जाने छौं वा वैश्विक ऐक्यबद्धतातिर ? यदि हामीले एक्लाएक्लै लड्ने बाटो रोज्यौं भने सायद महामारी अझै फैलिने छ । संकट झनै गहिरो हुनेछ । यदि हामीले ऐक्यबद्धता र सहकार्यको बाटो रोज्यौं भने यो प्रवृति नै कोरानापछिको विश्वलाई आकारित गर्ने आधार हुन सक्दछ ।

(द फाइनान्ससियल टाइम्समा प्रकाशित हरारेको आलेखलाई साझापोस्टले गरेको भावानुवाद)

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय