scheduleबुधवार आश्विन ७ गते, २०७७

मरिन खोला, माझी र माओवादी

गंगा श्रेष्ठ

साविकको महादेवस्थान र कपिलाकोट गाविस, हालको मरिन गाउँपालिका जनयुद्धको बेला सिन्धुली जिल्लाको तूफानी केन्द्र थियो । महादेवस्थान गाविसमा मात्रै २४ जनाले शहादत प्राप्त गरेका थिए । जनयुद्धबेला देशभरिमा एउटै गाविसबाट सबैभन्दा बढी शहादत प्राप्त गर्ने गाविसमध्ये यो दोस्रो गाविस हो ।

शहीद शेरमान कँवर (विशाल) जस्ता साहसी र लोकप्रिय नेता यही गाविसको हुनुहुन्थ्यो । अनि जनमुक्ति सेनाको सफल डिभिजन भाइस कमान्डर हरिबहादुर श्रेष्ठ (प्रमोद) पनि यही महादेवस्थान गाविसकै हुन् । त्यस्तै बुद्धिमान माझी (वसन्त), तुलबहादुर माझी (जीतबहादुर) जस्ता नेताहरू पनि यही गाविसका हुन् । उता कपिलाकोट गाविसमा पनि एकबहादुर राना मगर (प्रशान्त), २०५२ साल फागुन १ गते ऐतिहासिक सिन्धुलीगढी प्रहरी चौकी कब्जा गर्दा भाग लिएका ३३ जना सहभागीहरू मध्ये एकमात्र महिला योद्धा शुभ गुर्मछान(सीमा) पनि यही कपिलाकोटकै हुन् । विस्थापित र अङ्गभङ्ग भएका घाइतेहरूको सूची तयार पार्ने हो भने सयौं सय पुग्छ । स्थानीय स्तरका नेता, कार्यकर्ता, सिपाही र कमान्डरको त कुरै नगरौं । साँच्चै जनयुद्धको एक तूफानी केन्द्र थियो, महादेवस्थान र कपिलाकोट गाविस ।

२०६४ को पहिलो संविधानसभा निर्वाचनमा शहीद शेरमान कँवरकी जीवनसंगिनी नीरकुमारी दर्लामी (शीला) लाई पार्टीको आधिकारिक उम्मेदवार लीलामणि पोखरेलको विरूद्ध अत्यधिक मतले जिताएर पठाएको पनि यहीँका जनताले हो । त्यसपछि २०७० को दोश्रो संविधानसभाको निर्वाचनमा माओवादीका नेता हरिबोल गजुरेललाई जिताएर पठाए । गजुरेल मन्त्री पनि भए । २०७४ को प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा अत्यधिक मतले पूर्व माओवादीकै नेताहरू हरिबोल र बुद्धिमान माझीलाई जिताएर पठाए । अनि गाउँपालिकामा प्रमुख, उपप्रमुखदेखि सेट नै पूर्व माओवादी पार्टीकै नेताहरूलाई चुनाव जिताएर पठाए । अर्थात् आजसम्म पनि यहाँ पूर्व माओवादीकै रजगज छ ।

हिजो जनयुद्धकालमा विशेषगरी यहाँका माझी, मगर र तामाङ बस्तीमा माओवादीको सेल्टर हुन्थ्यो । आजको माओवादी जिताउने मतदाताहरू पनि खासमा यिनै समुदायका हुन् । हिजो म पनि माओवादी नै थिएँ । माओवादी पार्टी निर्माण, जनयुद्धको तयारी, युद्धको थालनी, झन्डै डेढ दशकको पार्टीभित्र र बाहिरको उथलपुथलपूर्ण संघर्ष र आरोहअवरोहमा जिल्लादेखि केन्द्रसम्मको विभिन्न तहमा रही प्रत्यक्ष भाग लिने एकजना कार्यकर्ता हूँ । सिन्धुलीगढी प्रहरी चौकी कब्जा गर्ने एकजना कमान्डर हूँ ।

यहाँका यी माझी, मगर र तामाङ बस्तीको घरघरमा पुगेको छु । खाना खाएको छु । सुतेको छु । सेल्टर लिएको छु । अर्थात् यहाँका मानिसहरूलाई माओवादी बनाउन धेरै ठूलो मिहिनेत गरेको छु । त्यसैले आज पनि यहाँका मेरा दु:खसुखका साथीहरूले, मलाई असाध्यै माया गर्ने प्रिय मान्छेहरूले मलाई माओवादी नै भनेर चिन्छ्न । आदर, सम्मान र माया गर्छन् ।

पार्टीको संगठन बिस्तार तथा सुदृढीकरण अभियानको सिलसिलामा म, पार्टी केन्द्रीय सदस्य हरिबहादुर श्रेष्ठ (प्रमोद), जिल्ला अध्यक्ष मोदनाथ तिमल्सिना (विमल) लगायत साथीहरू पहिलोपटक माओवादीभन्दा अलग परिचय बोकेर यी बस्तीहरूमा यही चैतको पहिलो हप्ता पुग्यौं । हाम्रो नयाँ परिचय स्वीकार्न उनीहरूलाई गाह्रो परिरहेको थियो । हामीलाई समाजवादी पार्टीको भन्दा माओवादी पार्टीकै नेताको रूपमा हिजोका ती सहयोद्धा र हितैषीहरूले व्यवहार गरिरहेका थिए । अधिकांशले मलाई गंगा नभनेर प्रभात कमरेड शब्दले सम्बोधन गरिरहेका थिए । सम्बोधनमा उत्तिकै आत्मीयता र प्रेम थियो ।

भुताहामा एकबहादुर राना मगर (प्रशान्त) को घर पुग्यौं हामी । घरसँगै जोडिएको हेटौंडा-चतरा मदन भण्डारी मार्ग कालोपत्रे भैसकेको रहेछ । तर १० बर्ष अघिदेखि बनाउन सुरु गरेको प्रशान्तको एउटा सानो काठेघर अझै बनिसकेको रहेनछ । प्रशान्तकी श्रीमती नीरा आँगनमा थुपारेको बालुवाको थुप्रो देखाएर भन्दै थिइन्- “दाइ ! यो बालुवा म एक्लैले बोकेको । ह्याँ भुइँमा ढलान गरौं भनेको । काम गर्ने मान्छे पनि कोई पाइँदैन ।” दुईवटा कालो सुंगुर, चारवटा लौकाटको चल्ला, ८-१० वटा लोकल कुखुरा, ४-५ वटा बाख्रा आँगनमा यताउता घुम्दै थिए । हामीलाई नीराले आँगनमै भात पकाएर खुवाइन । प्रशान्त दुईवटा छोरा पढाउन काठमाडौंमै बसेर सानोतिनो ठेक्कापट्टा गर्छन् । उनी समाजवादी पार्टीको केन्द्रीय सदस्य पनि हुन् । उनले नयाँ शक्ति हुँदा यस मरिन गापामा गापा प्रमुखमा चुनाव लडेका थिए । राम्रो भोट ल्याएका थिए ।

जनयुद्धमा एउटा आँखा गुमाएका घाइते, जनमुक्ति सेनाका बटालियन कमान्डर प्रवीण तामाङ, अर्की कम्पनी कमान्डर मन्जिला, २४ बर्षको सानै उमेरमा गाविस अध्यक्ष बनेका तेजु मगरलगायतका साथीहरू हामीलाई भेट्न प्रशान्तको घरमा आए । “पढ्नेबेलामा बन्दुक बोकेर हिँडियो, दर्जनौं लडाइँ लडियो, घाइते भइयो । काम गरिखानु शरीरले दिँदैन, बसिखानु सम्पत्ति छैन । राज्यले एकपैसा सहयोग गरेन । पार्टीको त कुरै छाडौं । पार्टी सबै नवमण्डलेहरूले कब्जा गर्‍यो ।” कमान्डर प्रवीणको आँखा रसायो ।

मन्जिलाले बीचमै आक्रोश पोखिन्- “यस्तो घर न घाटको बिल्लिबाठ हुने थाहा पाएको भए मरिगए पार्टीमा लाग्दैनथे ।” उनको श्रीमान वीरबहादुर मगर बटालियन सहकमान्डर थिए । हरिजीले वीरबहादुरको हालखबर सोध्नुभयो । मन्जिलाले झर्किंदै भनिन्- “उमेर छउन्जेल लडाइँ लडाउनुभो । अहिले खानेबस्ने ठेगान छैन । बिहानै उठेर ज्यामी काम गर्न जानुभा छ ।” हरिजी निकै भावुक हुनुभयो ।

तेजु मगर स्थानीय चुनावमा प्रशान्तलाई सहयोग गर्न नसकेकोमा दु:खमनाउ गर्दै थिए । स्थानीय चुनावबेला भित्तामा टाँसिएको घुर्मैलो पोस्टर देखाउँदै भन्दै थिए- “माओवादीको उपहार, गाउँगाउँमा सिंहदरबार ! त्यतिबेला यो नारा देख्दा कतिधेरै गर्व लाग्थ्यो । तर अहिले लाज लाग्छ ।” एकछिन गम खाएर फेरि भने तेजुले- “स्थानीय जनप्रतिनिधिहरूको व्यवहार र कमाइ हेर्दा माओवादीको उपहार, गाउँगाउँमा भ्रष्टाचार भन्न मन लाग्छ आजकाल । म पनि २४ बर्षको उमेरमै गाविस अध्यक्ष भएको मान्छे हूँ । अध्यक्षको पदावधि सकिँदा ऋण लागेको थियो मलाई । तर अहिले त दुई बर्ष नहुँदै साथीहरूले चारतले पक्की बिल्डिङ ठड्याउन थाले । माओवादी भनेर मुख देखाउनै लाजमर्दो भो ।”

“कसले ठड्यायो र चारतले बिल्डिङ ?” मैले जिज्ञासा राखें । सबै मुखामुख गर्न थाले । एकजना सामान्य मतदाताले बोले- “थाहा नपाएझैं के सबै मुखामुख गर्छौ ? पार्टीले कारबाही गर्छ भनेर बोल्न डर लाग्यो ? तिमीहरू जस्तो माओवादी पार्टीको सदस्य नभए पनि मैले भोट पानीराजलाई हालेकै हो । तर मेरो भोटलाई गाउँपालिका प्रमुखले भ्रष्टाचारको लाइसेन्स बनाएछ । नत्र पानीराजले त्यत्रो चारतले बिल्डिङ कहाँबाट पैसा ल्याएर बनाए ?”

गंगा श्रेष्ठ

बिहान आउँदै गर्दा छाप बजार कट्ने बित्तिकै देखिएको जंगल नजिक बाटोमाथिको चारतले बिल्डिङको मालिक बल्ल पो पत्ता लाग्यो । पानीराजजीले भ्रष्टाचार गरेर बनाउनुभयो ? आफ्नै कमाइले बनाउनुभयो ?? वा, पैत्रिक सम्पत्तिले बनाउनुभयो ??? त्यो मलाई थाहा छैन । तर जनप्रतिनिधिको बारेमा जनताले कुरा उठाएपछि जनतालाई जवाफ दिनुपर्छ । श्रोत देखाउनुपर्छ ।

दिउँसो हामी विवेक माझीको टोल महेश्वतामा आयौं । बाबुराम पन्त, जयबहादुर माझीलगायतका गाउँका साथीहरू जम्मा भए । जनयुद्धकालमा सेना, प्रहरीको कुटाइ सम्झदै विवेककी श्रीमतीले मन अमिलो पार्दै भनिन्- “अब पार्टीसार्टीको कुरा नगर्नुस् । घरमा राजनीति बन्द ! पार्टी समाउने भए मलाई र घरलाई छाड्नुस ।” सँगै बसेको श्रीमानको नाकको टुप्पोमा चोरी औंला लगेर चुनौती दिइन् ।

श्रीमतीसँगसँगै विवेक पनि कस्सिए -“तिमी नेताहरूले हामी सोझा माझीहरूलाई ढाँट्या रैछौ । तिमरू हामी सोझासिधालाई धोखा दिने गद्दार हौ । काम गर्ने कालु, मकै खाने भालु ? दस बर्ष जनयुद्ध लड्ने हामी, अनि अहिले पद जति अरूलाई ?? खोइ हामी माझीलाई दिन्छु भनेको स्वायत्त क्षेत्र ? हामी हरिबोलका हली हौं ? नेताहरूको खेतला हौं ? अब नेताहरूको विरूद्धमा अर्को बिद्रोह हुन्छ ।” वाफरे ! विवेक माझीको बिद्रोही रूप साँच्चै डरलाग्दो थियो ।

तुलसी माझीलाई खाँबोले च्यापेर प्यारालाइसिस भएको रहेछ । उनी लौरो टेक्दै भित्र पसे । उनले माओवादी पार्टीका नेताहरूले आफू गम्भीर बिरामी भएर जीवन-मृत्युको दोसाँधमा भएको बेला पनि केही सहयोग नगरेको भन्दै गुनासो गरे । हिजो माओवादी पार्टीको स्थानीय जनसरकारमा बसेर काम गरेको, सेनापुलिसको कुटाइ खाएको, ज्यान हत्केलामा राखेर पार्टीको निम्ति काम गरेको तर आफू मर्नलाग्दा पार्टीले सहयोग नगरेको झोंकमा गएको स्थानीय चुनावमा माओवादी पार्टी छाडेर कांग्रेसबाट स्थानीय चुनाव लडेको कुरा पनि सुनाए ।

बेलुका बास बस्न हामी पूर्व सभासद तुलबहादुर माझी र हालका नेकपाबाट जितेका प्रदेश सांसद बुद्धिमान माझीको गाउँ बेतिनी पुग्यौं । जनयुद्धकालको ठूलो सेल्टर थियो यो गाउँ । यस गाउँमा माझी समुदायका मानिसहरू मात्रै बस्छन् । कुनैबेला यस्तो थियो, यस गाउँमा युवायुवती एकजना पनि भेटिँदैन थिए, बालबालिका, वृद्धवृद्धा र रोगीहरू मात्रै भेटिन्थे । घर रूँघेर बसेका ती वृद्धवृद्धा र रोगीहरूलाई पनि बिहानैबेलुकै आएर सेनापुलिसले पिट्थे । बालबालिकाहरू स्कुलमै पिटिन्थे । साँच्चै आतंकको छायामुनी बाँचेको थियो यो माझी बस्ती । त्यति गर्दा पनि यहाँका माझीहरूले कहिल्यै हरेस खाएनन् । खुनी शासकहरूका विरूद्ध सधैं लडिरहे ।

यस गाउँमा पुग्दा मेरो मन निक्कै रोमान्चित भैरहेको थियो । जनयुद्धको गौरवशाली इतिहास बोकेको यस गाउँको भौतिक पूर्वाधार र यहाँका जनताको संस्कारमा निक्कै प्रगति भएको होला भन्ने मेरो अनुमान थियो । किनकि, दुई-दुईजना सांसद यही गाउँले पाएको थियो र छ । तर मेरो अनुमान सत्य निस्केन । बाटो, स्कुललगायतका भौतिक पूर्वाधारहरू खासै बनेको देखिएन । संस्कारमा पनि खासै परिवर्तन देखिएन । हामी पुग्दा गाउँमा सुंगुर जनयुद्धकालमा जस्तै बाहिरै चरिरहेका थिए । नानीहरू नाङ्गै धुलोहिलोमा खेलिरहेको थिए । घरगाउँको सरसफाइमा कसैको ध्यान पुगिरहेको थिएन । जाँडरक्सी पिउने परम्परामा खासै परिवर्तन देखिएन । आर्थिक जीवनमा त झन केही नै फरक देखिनँ । डेढ बर्षअघि जनयुद्धकै तूफानी केन्द्र रोल्पाको थवाङ्ग पुग्दा जसरी मेरो अनुमान असत्य निस्केको थियो र म निराश भएको थिएँ; बेतेनी गाउँ पुग्दा त्यस्तै भएँ म ।

तुलबहादुरजीसँग विगतदेखि वर्तमानसम्मका धेरै बिषयमा अन्तरंग छलफल गर्‍यौं । हामीले माओवादी पार्टी छाडेर नयाँ शक्ति हुँदै समाजवादी पार्टी बनाएकोमा तुलबहादुरले असहमति मात्रै होइन, आपत्ति नै जनाए । पार्टीभित्रै बसेर अन्तर्संघर्ष चलाउनु पर्थ्यो भनेर जिकिर गरे । एमालेसँग पार्टी एकता गरेपछि माओवादी पार्टीको अस्तित्व समाप्त भएको गुनासो पनि पोखे । आफूले पार्टीभित्र अन्तरसंघर्ष गरिरहेको ठोकुवा पनि गरे । मुद्दाविहीन पार्टीमा बस्नु मृत्यु पर्खनु बाहेक अरू केही नहुने कुरा बतायौं हामीले । तुलबहादुरले हाम्रो कुरा सुनिमात्रै रहे । पार्टीको बचाउ गरेनन् ।

एमालेसँग पार्टी एकतासँगै हिजो माओवादीले बोकेको पहिचानसहितको संघीयता, प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति, पूर्ण समानुपातिक निर्वाचन प्रणालीलगायतका अग्रगामी मुद्दाहरू त्यागेको र प्रतिगामी मुद्दा लिएर आजको नेकपा हिँडेको भन्ने हाम्रो तर्कलाई उनले खण्डन गर्न सकेनन् । अहिलेकै नेकपामा टाँसिएर बसिरहने हो भने प्रचण्डले कि त जनयुद्ध गर्नु अपराध थियो भनेर कबुल गर्नुपर्छ या त नेकपा छाडेर मुद्दा मिल्नेहरूसँग एकता गर्ने आँट गर्नुपर्छ । हाम्रो यस तर्कबिरूद्ध तुलबहादुरले प्रतितर्क राखेनन् । उल्टै मौन सहमतिमा उनको टाउको हल्लियो ।

भोलिपल्ट बिहान अर्को माझी बस्ती घाटामा पुग्यौं हामी । बेतिनीको जनयुद्धमा जति योगदान छ, यस घाटाको पनि उत्तिकै योगदान छ । निमराज माझी जिउँदो शहीद हुन् । २०५७ सालमा जरायोटारको मझुवा दोभान प्रहरी चौकी कब्जा गर्दा गम्भीर घाइते भएका थिए उनी । उपचारको क्रममा अस्पतालमै गिरफ्तार भए । एक बर्ष ११ दिन अस्पतालको शैय्यामा बिताए । यातना भोगे । तैपनि कहिल्यै विचलित भएनन् । घाटाका अर्का हस्ती हुन्- केदार माझी । उनलाई अहिले पनि सबैले सम्मानपूर्वक केदार बा भनेर बोलाउँछन् । उमेरले सत्तरी पुग्नै लागेका केदार बा अहिले पनि फ़ुर्तिला छन् ।

बडिमुहान बजार यताको स-सानो जक्सन नै हो । केदार बालाई लिएर हामी बडिमुहान बजारतिर लाग्यौं । निमराज र बडलाका वीरबहादुर विकलाई पनि उतै बोलायौं । सबै साथीहरू बडिमुहानमै जम्मा भए । निमराजले हिजो विवेक माझीले गरेकै तर्क गरे । नेताहरूसँग असाध्यै मन दुखाए । प्रतिगामी मुद्दा बोकेको पार्टीमा बस्नुको औचित्य नरहेको निश्कर्ष निकाले । आफ्नो गौरवपूर्ण विगत र विचलनमा बाँचिरहेको वर्तमानलाई सम्झेर निमराज भक्कानिए । मलाई ग्वाम्लाङ्ग अङ्गालो हाले । केदार बाको आँखाको कोश पनि ओसिलो भयो ।

वीरबहादुर विक पनि खाली खुट्टा आइपुगे । मैले हात मिलाउन खोजें । उनी तयार भएनन् । मैले तानेरै हात मिलाउन खोजें । उनले असहज महसूस गरे । कारण रहेछ हातमा जमेको अँगारको फोहर । किनकि, उनी आरनमा काम गर्दागर्दै हामीलाई भेट्न आएका थिए । आरनमा फलाम पिट्दै गरेको श्रमशील उनको हातप्रति मभित्र असाध्यै आदर पैदा भयो । त्यसपछि उनको हात तानेर हात मिलाएँ । “जनयुद्धमा जस्तो अझै पनि हाम्रा यस्ता फोहर हातको माया लाग्छ र नेताहरूलाई ?” उनको व्यंग्यबाण मेरो मुटुमै घोपियो । तर म मुसुक्क हाँसे । अनि उनको हातलाई अझ झन् दह्रोसँग समाएँ ।

मभित्र झनै आत्माविश्वास भरिएर आयो । समाजवादी पार्टी निर्माण ऐतिहासिक आवश्यकता भएको अनुभूति भयो । आफैंप्रति गौरव गरें । सेताम्मै कपाल पाकेका भोजराज सरले डाँडीको चम्राइमा भनेको कुरा सम्झिएँ- “राजनीतिक पार्टीको गुणवत्ता संख्याले होइन वैज्ञानिक मुद्दाले पुष्टि गर्छ । मुद्दा सही भए आजको सानो पार्टी भोलि ठूलो हुन्छ, गलत भए आजको ठूलो पार्टी भोलि समाप्त हुन्छ । हिजो तपाईंहरूले जनयुद्ध सुरू गर्दा माओवादी सानै थियो । १० बर्षमा माओवादी कसरी ठूलो भयो ? कहिलेकाहीँ मान्छेले आफैंले गरेको काम आफैंले भुल्छ । त्यसैले मान्छे विचलित हुन्छ । हिजो आफैंले गरेको काम नभुल्नुस । बाँकी कुरा सबै ठीक हुन्छ । समाजवादीको भविष्य छ । आउने समय तपाईंहरूकै हो ।”

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय