scheduleशुक्रवार चैत्र २१ गते, २०७६

पश्चिमाको गल्ती दोहोर्‍याउँदै नेपालीः हामीलाई घरभित्र बस्न कर्फ्यू नै चाहिने हो ?


साझापोस्ट टिप्पणी/काठमाडौं, ११ चैत । संसारभरमा कोरोना संक्रमितको संख्या ४ लाख नजिक पुग्न लागेको छ । यो त परीक्षण गरेका मानिसहरुमध्येबाट देखिएको परिणाम हो । परीक्षण नै नभएका यीभन्दा धेरै संक्रमित हुनसक्छन् ।

अहिलेसम्म साढे १६ हजारभन्दा बढी मानिसको मृत्यू कोरोनाको कारण भइसकेको छ । सबैभन्दा डरलाग्दो त यसको फैलने दर छ । ज्यामितीयरुपमा कोरोना संक्रमितहरु बढिरहेका छन् ।

युरोप र अमेरिकातिर नागरिकले चीनबाट सिकेनन् । अहिले त्रासदीपूर्ण जीवन बाँचिरहेका छन् । अहिले दक्षिण एसियाली मुलुकका जनताले यूरोप र अमेरिकाबाट सिक्न कुनै रुचि देखाइरहेका छैनन् ।

Dish_Home
भारतमा लकडाउनको बेला नागरिकहरु

भारत र नेपालमा जनस्तरबाट भएको लापरवाही गम्भीर देखिन्छ । लकडाउनले काम नगरेपछि भारतका कतिपय राज्यले कर्फ्यू नै घोषणा गरेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले धेरै मानिसहरुले लकडाउनलाई गम्भीररुपमा नलिएको भन्दै कानूनी उपायहरु अपनाउन राज्य सरकारहरुलाई निर्देशन दिइसकेका छन् ।

नेपालमा अवस्था त्यस्तै छ । काठमाडौंमा सडकमा निस्किन मानिसहरुले अप्ठेरो र डर मानिरहेका छैनन् । राजधानी बाहिरको अवस्था पनि त्यस्तै छ । चितवनमा त प्रशासनले पक्राउ गर्नेसम्मको कदम उठाउनु परेको छ ।

यस्तो दृश्य पश्चिमा राष्ट्रतिर पनि देखिएको थियो जसको परिणाम अहिले उनीहरुले भोगिरहेका छन् । कोरोनाको उद्गम स्थल चीनमा ७० करोडभन्दा बढी मानिसलाई घरभित्रै थुनेर चीनले बहादुरीपूर्वक स्थितिलाई आफ्नो नियन्त्रणमा लिन सक्यो । चीनको सफलता र पश्चिमा राष्ट्रहरुको असफलताबाट दुवैबाट एसियाली राष्ट्रहरुले सिक्न नसकेको देखिन्छ ।

हो, पश्चिमा राष्ट्रतिर यस्तै दृश्य देखिन्थ्यो जुन अहिले हाम्रोतिर देखिएको छ । पश्चिमाहरुले चीनमा कोरोना उत्कर्षमा पुग्दा यस्तै गरिरहेका थिए, जुन अहिले हामी गरिरहेका छौं ।

लकडाउनको बेला जर्मनीको बर्लिनमा पार्कमा रमाउँदै मानिसहरु

जर्मनीमा युवाहरु कयौं स्थानमा कोरोना पार्टी गरिरहेका भेटिन्थे । वृद्धवृद्धा मजाक गरिरहेका भेटिन्थे । त्यसैको नतिजा हो कोरोना भाइरसबाट त्यहाँ अहिलेसम्म १७२० जनाको मृत्यू भइसकेको छ भने २८,५७२ जना संक्रमित भेटिएका छन् ।

केही दिन पहिलाको तस्बिर हो यो जहाँ जर्मनीकी चान्सलर एक सुपर मार्केटमा किनमेल गर्न पुगेकी थिइन् ।

केही दिनअघि सपिङ गर्दै एन्जेला । अहिले उनी आइसोलेसना छिन् ।

जर्मनीमा जब कोरोना भाइरस सुरु भयो त्यतिबेला धेरै खेलवाड भयो । जर्मनीको दक्षिणी प्रान्त बावेरियाका प्रेसिडेन्ट मार्कस जोएडर भन्छन्, ‘यहाँ अझै पनि कोरोना पार्टी चलिरहेको छ । कयौं युवाहरु मजाक बनाइरहेका छन्, कोरोना कोरोना भन्दै कराइरहेका छन् ।

अहिले जर्मनकी चान्सलर एन्जेला मर्केलले दुईभन्दा बढी मानिस भेला हुनबाट प्रतिबन्ध लगाएकी छिन्, चाहे उनीहरु एकै परिवारका किन नहुन् । चान्सलर मर्केलले आफू स्वयम्लाई आइसोलेसनमा राखेकी छिन् ।

मर्केल एक कोरोनाबाट संक्रमित डाक्टरको सम्पर्कमा पुगेकी थिइन् । उनी केही दिन अघिसम्म मात्रै खुलम्खुल्ला सुपरमार्केटमा सामान किन्न गएकी थिइन् । उनको ट्रलीमा केही वाइन र ट्वाइलेटपेपर देखिएको थियो ।

जर्मनीको बर्लिन शहर जहाँ लकडाउन उल्लंघन गर्दै मानिसहरु पार्कमा घुमिरहेका भेटिन्थे ।

उता, फ्रान्समा लकडाउन तोड्ने मानिस धेरै भएपछि प्रहरीले जरिवाना नै लगाउन थालेको छ । बीचमा त कर्फ्यू पनि लगायो ।

लकडाउनको बेला पेरिस बजारमा नागरिकहरु

यति गर्दागर्दै पनि त्यहाँ कोरोना भाइरसको १६,०१८ जना संक्रमित भेटिएका छन् जसमध्ये ६७४ जनाको मृत्यू भइसकेको छ ।
पेरिसमा पनि लकडाउनको बावजुद पनि तरकारी किन्न मानिसहरु बजारमा ओइरिएका थिए । उनीहरुलाई रोक्न प्रहरी परिचालन गर्नुपरेको थियो ।

फ्रान्समा अहिले पनि लकडाउन छ । तर पनि मानिसहरु काइट सर्फर गरिरहेका भेटिन्छन् भने विद्यार्थीहरु रमाइलोका लागि समुद्री किनारतिर निस्किएका भेटिन्छन् ।
न उनीहरुले चिकित्सकको सल्लाह मानिरहेका छन् न लकडाउन । सरकारले उनीहरुलाई रोक्न प्रशासन नै लगाउनु पर्‍यो ।

फ्रान्सका गृहमन्त्री क्रिस्टोफ कैस्टानेरले भने, ‘केही मानिसहरु नियम तोडेर आफूलाई हिरो सम्झिरहेका छन् । जबकि परिस्थिति यस्तो छैन । उनीहरु मुर्ख हुन् । उनीहरु आफ्नै लागि र आफन्तका लागि मृत्यूको कारण बनिरहेका छन् ।’

धेरै मानिसहरु पार्टी र क्लबमा जान छाडेका थिएनन् । सरकारले शहरी क्षेत्रका यी मुर्ख मानिसहरुको कारण गाउँमा पनि कोरोना फैलिन सक्ने चेतावनी दिएको थियो ।
गाउँमा कोरोना पुगे झन विकराल अवस्था आउने सरकारको निष्कर्ष थियो किनकी गाउँमा आवश्यक स्वास्थ्य सुविधाको प्रबन्ध छैन ।

पेरिसमा सीन नदीको किनारामा घुम्न रोक लगाउनु पर्‍‍यो । राति पनि कर्फ्यू लगाउनुपर्ने अवस्था आयो । अहिले फ्रान्सका सडकहरुमा प्रहरी परिचालन गरिएका छन् र नियम मिच्नेलाई जरिवाना तिराउन थालिएको छ । अहिले त्यहाँ १७ हजार प्रहरी परिचालन गरिएको छ । राष्ट्रपति इम्यानुअल म्याक्रोनले लकडाउन थप १५ दिन बढाउने घोषणा गरिसकेका छन् ।

अमेरिकाको कथा उस्तै छ । फ्लोरिडामा युवाहरु प्रतिबन्धका बावजुद बीचमा पार्टी गरिरहेका थिए । गभर्नरले भनिरहेका थिए, ‘तिमीहरु सुपरम्यान वा सुपरवुमन होइनौ ।’ हेलचेक्र्याईंका कारण त्यहाँ ३३,०१८ जनामा अहिलेसम्म कोरोनाको संक्रमण भेटिएको छ भने ४२८ जनाको मृत्यू भइसकेको छ ।

नर्थ क्यारिलोनाको इस्ले पाममा प्रतिबन्ध थियो । तैपनि मानिसहरु पार्टी गरिरहेका भेटिन्थे ।

फ्लोरिडाको गभर्नरले सबै बीचहरु बन्द गरिदिए । केही दिनअघि विद्यार्थीहरुले नाँचगानसहित पार्टी गरिरहेका थिए ।

गभर्नरले राज्यमा देखिएका कोरोना संक्रमितमध्ये आधाभन्दा बढी १८ देखि ४९ वर्ष उमेर समूहका रहेको बताए । उनले युवाहरुलाई चेतावनी दिँदै युवाहरु सुपरम्यान वा सुपरवुम्यान नभएको पनि बताउनु परेको थियो ।

न्यूयोर्क शहरको पार्कहरुमा एकअर्काबीच दूरी कायम गर्नुपर्ने नियमको उल्लंघन भइरहेको थियो । मानिसहरुलाई नियन्त्रण गर्न गाह्रो भएपछि आइतबार रातिदेखि लागू हुने गरेर मानिसहरुलाई भेटघाट र जम्मा हुन पनि रोक नै लगाउनु पर्‍यो ।

कोरोनाको कारण संसारमै सबैभन्दा बढी मानिस गुमाउने देश इटली हो । त्यहाँको कथा पनि त्यस्तै थियो । हेलचेक्र्याईंको कारण त्यहाँ झण्डै ६० हजार मानिस संक्रमित भइसकेका छन् भने साढे ५ हजार आसपास मानिसको मृत्यू भइसकेको छ ।

इटलीको मिलानमा लकडाउनको बावजुद मानिस सुपरमार्केट पुगिरहेका थिए । अहिले मानिसलाई रोक्न सेना नै परिचालन गरिएको छ । कोरोना भाइरसलाई हल्का रुपमा लिने कामको मूल्य अहिले इटलीले चुकाइरहेको छ ।

इटलीको मिलानमा लकडाउनको बेला नागरिकहरु

 

इटलीमा सरकारले १० मार्चदेखि नै लकडाउन घोषणा गरेको थियो । तर मानिसहरुले यसको पालना गरेनन् । मानिसहरु शपिङमा निस्किरहे । रेस्टुरेन्टमा खाइरहे र क्लबमा मध्यरातसम्म नाँचिरहे । बजारमा घुम्न पनि छाडेनन् ।

लकडाउनलाई यो हदसम्म पालना नगरेपछि सरकारले बाध्य भएर सेना परिचालन गर्नुपरेको हो ।

स्पेनमा त लकडाउन तोड्ने मानिसलाई हेलिकप्टरको सहयोगमा पक्राउ गर्दै जरीवाना तिराउँदै गर्नुपर्‍यो । त्यहाँ अहिलेसम्म साढे २८ हजार मानिसलाई संक्रमण भइसकेको छ भने १७२० मानिस मरिसकेका छन् ।

आर्मी परिचालनले मात्र नपुगेर त्यहाँ त हेलिकप्टर गस्ती नै गर्नुपर्‍यो । क्याटलोनियामा एक महिलालाई त्यतिबेला प्रहरीले पक्राउ गर्‍यो जतिबेला उनी डेटिङमा थिइन् ।

यी सबै काम अहिले नेपाल र भारतमा भइरहेका छन् । मानिसहरु सडकमा निस्कने क्रम जारी नै छ । मानिसहरुले समस्याको गहिराईलाई बुझेकै छैनन् ।

यही अवस्थालाई दृष्टिगत गर्दे कतिपय जिल्लाहरुले कर्फ्यूकै घोषणा गरिसकेका छन् । कैलालीमा एक साताका लागि कर्फ्यू लगाइएको छ ।

कतिपयले सामाजिक सञ्जालमा लेख्न थालेका छन्, ‘के हामी चीनको सफलता र युरोपकको असफलताबाट सिक्न सक्दैनौं ? के हामीलाई लकडाउनले पुग्दैन र कर्फ्यू नै लगाउनुपर्ने हो ?’

यो पनि-
७० करोड मानिसलाई घरमै थुनेर चीनले पायो सफलता, नेपालको ढिलासुस्ती गम्भीर गल्ती बन्नसक्छ

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय