scheduleमगलवार चैत्र २५ गते, २०७६

कोरोनाबाट मैले के सिकेँ ?

केही यथार्थ जो अहिले सिकिदैंछ । अब यी यथार्थका बारेमा सोच्नुपर्ने बेला आएको जस्तो लाग्छ । पुरातन विश्वव्यवस्थाले अब मानिसको संरक्षण गर्न सक्दैन भन्ने लाग्यो । हरारीको ‘होमो सेपियन्स’ पुस्तक पढेपछि, हामीले इतिहासलाई कुरुप बनाएका रहेछौं भन्ने लागेको छ । केही कुरा यहाँहरुसँग साझेदारी गरौं ।

१. मैले स्कूल पढ्दा जब शिशु कक्षा शुरु भयो, एउटा लामो तख्तामा रातो माटो ढक्ढकाएर छेस्कोले लेख्ने शिकाइबाट पढाइ शुरु गरेँ । गुरुआमाले दिनभरीसँगै बसेर सिकाउनुहुथ्यो । म अगाडिका कक्षामा बढ्दै गएँ । नेपालको इतिहास, भूगोल, ज्यामिती, अल्जेब्रा, नेपाली साहित्य, अंग्रेजी, नीतिशास्त्र, कानुनी ज्ञान सिकाउने श्रेस्ता, सबै कक्षामा थपिदैं गए । म नेपाल र विश्वका बारेमा थोरबहुत जान्ने मानिस भएँ । तर २०२८ सालमा त्यो शिक्षा अचानक नयाँ शिक्षाका नाममा आएको भाइरसले सिध्यायो । त्यसपछि, नेपालको शिक्षा निरन्तर विदेशी योजनामा चल्यो । अहिलेसम्म नेपाललाई दातृसंस्थाले २६८ अरब रुपैयाँ सहयोग गरेछन् र त्यसको २२ प्रतिशत शिक्षामा गएछ । तर हाम्रो शिक्षाको स्तर कहाँ छ ?

२. निरन्तर परिवर्तन प्रकृतिको नियम हो र हामीले पनि परिवर्तनलाई स्वीकार्दै जानुपर्छ । तर फरक कुरा नै परिवर्तन भने हुँदैन । मैले सिकेको शिक्षामा नैतिकता थियो, विज्ञान पूरा थिएन होला । नैतिक शिक्षालाई कायम गर्दै, विज्ञान थप गर्नुपर्थ्यो होला । नैतिकताका नाममा रहेका अन्धविश्वासलाई हटाउँदै, समाजलाई प्रगतिशील बनाउनुपर्थ्यो होला । तर हामीले देशको इतिहास, भूगोल, अर्थशास्त्र, गणित, नैतिक शिक्षा र साहित्यलाई सफाया गरिदियौं ।

Dish_Home
प्रो.डा. युवराज सङ्ग्रौला

आज हामीसँग आफ्नो पहिचान छैन । हामी घोर स्वार्थी, उपभोक्तवादी, व्यक्तिवादी, अवसरवादी र अराजक भीडमा परिणत भएका छौँ । मानिसका प्रवृत्ति हेर्दा हामी पढेका मानिस भएछौं, तर अशिक्षित र अज्ञानी पनि भएछौं । हाम्रो शिक्षा गलत रहेछ । यो विदेशी पैसा र योजनाको शिक्षाले हाम्रो सर्वनाश गर्नेछ । शासकको विचारधारा जेसुकै होस् । यस्तो महामारी रोगलाई नियन्त्रण गर्न घरमा बस्नुहोस् भन्दा नमान्ने नागरिकको यो मति वर्तमान शिक्षाको उत्पादन वा परिणाम हो भन्न नसक्नु पर्ने कारण छैन ।

३. म गाउँमा पढ्थें । गाउँको स्कूल गाउँकै मानिस मिली बनाएको राम्रो भवन थियो । खेलकूदका लागि मैदान थियो । खेलकूदका प्रतिस्पर्धा हुन्थे । स्कूल जबसम्म समुदायले चलाए, शिक्षामा भ्रष्टाचार थिएन । तर जब शिक्षा निजीकरण मात्रै होइन व्यापारीकरण भयो, त्यसको परिणाम हाम्रो आँखा अगाडि छ । विगत तीन वर्षदेखि प्रत्येक साल ४५ हजार विद्यार्थी विदेश गएका छन् पढ्न । प्रत्येक साल करिब ८० अरब रुपैयाँ कम्तिमा नेपाली आम्दानी विदेश गएको छ । हामीले टेक्सासमा बसेर टेकु अस्पतालमा कोरोनाले मानिस मेरेको हल्ला फिंजाउने युवा उत्पादन गरेछौं । हातमा ६० हजारको मोबाइल आमाबाबुको आम्दानीबाट किनेर बिहान नौ बजे उठेर देशमा अवसर छैन भन्ने युवाको जमात सानो छैन । वर्तमान शिक्षाले देशप्रतिको जिम्मेवारी समाप्त पारेको रहेछ । जब मानिसलाई आफ्नो परिवार, समाज र देशप्रति गौरव नगर्ने ठाउँमा पुर्‍याइन्छ, त्यो समाजमा अराजकताको डरलाग्दो भाइरस लागेको हुन्छ, अनि त्यो कोरोनाबाट के तर्सिन्छ? हाम्रो शिक्षाले गुन होइन वैगुन सिकाएको रहेछ ।

४. हाम्रा घरहरु अलि वरपर हुन्थे । गाईवस्तुका गोठ अलि पर हुन्थे । पानीका धारा मुहानबाट आउँथे । रैथाने गाई, भैंसी, बाख्रा, भेडा आदि थिए । नेपालमा पनि बिफर र दादुराको प्रकोप आयो । संसारमा अधिक मानिस त्यस व्याधीबाट मरे । तर नेपालमा सीमित मानिस मात्र मरे । चीन र भारतमा पनि प्लेग आयो । तर नेपालमा त्यस व्याधीले मानिस मरेका थिएनन् । त्यसका पछाडि कारणहरु रहेछन् । हाम्रो बसोबास प्रणालीले सरुवा भाइरस रोक्दो रहेछ । बेलायती उपनिवेशले नेपालको जनसंख्यालाई उपनिवेश बनाएको थियो । सन् १९१४ देखि १९४५ सम्म हाम्रा आठ लाख मानिस युद्धमा प्रयोग गर्‍यो । दश जनामा एकजना मात्र देश फर्किए । दुई विश्वयुद्धमा दुई लाख त मारिए नै । तर पनि हाम्रो जनसंख्या रोगले कहिल्यै घटेन । नेपालले विनाशक व्याधी सामना गर्नुपरेन ।

५. के कारण थिए ? पहिलो त हाम्रो वातावरण हो, जो अहिले डोजर आतंकको सामना गरिरहेको छ । हाम्रा बस्तीहरु, जहाँ घरहरु अलि वरपर थिए । हाम्रो अन्नबाली, तरकारी, सागपात र जडिबुटी हाम्रो शरीरलाई मिल्ने खालका थिए । जतिसुकै गरिबले पनि मकै, कोदो, स्थानीय धान, मस्याम, गहत, दाल र सागपात उत्पादन गरी खाने चलन थियो । २०२५ सालतिरबाट विदेशी विकासे बोका आए रैथाने बाख्रा सकिए । विकासे आएपछि रैथाने गाई, भैंसी, भेडा सबै सकिए । किन र कसरी सकिए ? आज गाउँहरु उजाड भए । हाम्रो विकासका योजना कसले बनाए ?

६. युभल नोह हरारी भन्छन्- कृषि क्रान्तिभन्दा पहिलाका होमो सेपिएन्सले समाज निर्माण गरे । मिथकहरु निर्माण गरी मानिसलाई समूहमा राख्ने आधार निर्माण गरे, भाषा र सञ्चारका प्रणाली निर्माण गरे । चिन्तन र मन्थनको क्रान्तिद्वारा आजको आधुनिक विश्वको जग निर्माण गरे । उनीहरु दिनमा छ सात घण्टा खाना खोज्दथे । हरेक दिन फरक खाना खान्थे । उनीहरु समूहमा बसेर मनोरञ्जन गर्थे । उनीहरु खुसीसँग बाँच्थे, भलै कतिबेला सिंहले मार्थ्यो थाहा थिएन । तर, हामीसँग कति समय छ, आराम गर्ने ? हाम्रो खाना त कुर्कुरे भैसक्यो । ती आदिम मानिस अहिलेका मानिसभन्दा बलिया, अग्ला र तन्दुरुस्त थिए । उनीहरुले गाईवस्तु पालेका थिएनन्, त्यसैले ब्याधीहरुका शिकार भएनन् । जब मानिसले कृषि क्रान्ति गर्‍यो, उसले खाने कुरा सीमित भए । मानिसले गाईवस्तु पाले । व्याधीले मानिस मर्न लागे । तर पनि उनीहरुसँग व्याधीसँग मुकाबिला गर्ने क्षमता थियो र मानव जातिलाई मासिन दिएनन् । आजको कथित विकास औद्योगिक क्रान्ति पछाडिको पुँजीवादको देन हो । यस्ले विज्ञान त निर्माण गर्‍यो, तर मानिसले ७०,००० हजार वर्षदेखि विकास गरेको मानव सभ्यता ध्वस्त पार्दै छैन ?


७. मेरा हजुरबुवा र बाबुको जति बल र ज्ञान मसँग छैन । मेरा हजुरबुबालाई गाउँको मात्र होइन जिल्लाभरीका मानिसका बारेमा थाहा थियो, जनावरका बारेमा थाहा थियो, बिरुवाका बारेमा थाहा थियो, पुर्खाका नाम थाहा थियो, कुनकुन ठाउँमा बसाई सर्दै यहाँ आइपुगेको हो भन्ने इतिहास थाहा थियो । नेपालको ईतिहास थाहा थियो, कुलो खन्ने प्रविधि थाहा थियो । अहिले हामीलाई के थाहा छ ? मेरा मेरा हजुरबुबाले औषधि नखाई बाँचे । हामी औषधिमा बाँचिरहेका छौं । हामीसँग ठूलो बाटो छ, मोटर छ, अस्पताल छ । तर आज म अस्पताल गएँ भने डाक्टर डराउँछन् । विज्ञानले खोई त युरोप र अमेरिका बचाको ? मलाई मेरो विज्ञानप्रति आज भरोसा छैन ।

८. के विज्ञानको दोष हो ? होइन, विज्ञानको दुरुपयोग समस्याका रुपमा आएको हो । युरोपले मानिसलाई जातका आधारमा विभाजित गरेर, पुँजीवादी वर्गीयताको निर्माण गर्ने उपनिवेशको माध्यमले दुई सय वर्षको अधिनायकवाद नचलाएको भए, आजको दुनियाँ फरक हुने थियो । यो मेरो भनाई होइन, पश्चिमलाई स्वर्ग देख्नेहरुलाई चित्त दुख्ला । यो इड्वार्ड सैडको भनाइ हो, उनी अमेरिकी हुन् । पश्चिमको अहंकार हो, भनी चोम्स्की भन्छन् । हरारी पनि त्यसै भन्छन् । आज मानिस सभ्यताका नाममा असभ्य देखियो । युरोपको उपनिवेशी अधिनायकवाद नआएको हुँदो हो त कथित राष्ट्रियताको आन्दोलनले जन्म लिनुनै पर्ने थिएन । आज दुनियाँ राष्ट्रियताले ओतप्रोत छ । युरोपलाई चीनको प्रभावको डर छ । युरोपलाई एसियाको डर छ । किन, एसियामा आज राष्ट्रियता मौलाएको छ ? कारण, हिजो युरोपले दबायो । असभ्य ठान्यो । एसियाको औद्योगिकरण ध्वस्त पार्‍यो ।

९. ठिकै छ, हिजो जे जे भयो । तर खोई युरोपमा मानिस जोगाउने सामाजिक र आर्थिक व्यवस्था आज ? धन जति मुठीभर मानिसमा रहेछ । त्यो धन गरिबलाई काम लाग्दो रहेनछ । देश धनी छ । तर सरकार गरीब छ । उद्योग धनी छ, तर उसको सामान विदेश जान्छ, देशलाई काम लाग्दैन । अमेरिकामा भेन्टिलेटर छैन । सबै उद्योगले अस्ति नै बेचिसकेछन् । यिनै देशप्रति गैरजिम्मेवार पुँजीपतिसँग देशको अर्थतन्त्र छ ।

१०. हामीले यही ढाँचा हो सिक्ने अब ? यस त्रासदीबाट सिकौं ।

क. हामीले ठूला शहर बनाउन नहुने रहेछ । ससाना थुप्रै शहर बनाऊँ । शहरहरुलाई स्वावलम्बी बनाऊँ ।
ख. हामीले पहाड ध्वस्त पार्न नहुने रहेछ । पहाडमै/गाउँमै बसोबास ठिक रहेछ । हामीले प्रकृतिसँग तालमेल गरेर बस्नुपर्ने रहेछ । हाम्रो विकासको ढाँचा आधुनिकता र प्रकृतिसँगको तालमेल रहेछ । अब देशको विकासको नयाँ ढाँचाका बारेमा सोच्न थालौं ।
ग. हिजो हाम्रो प्राङ्गारिकता कसले तोडिदियो ? अब त्यसबाटोमा हिडौं । अब विदेश जान छोडौं । व्याधी र दुःख त त्यहीँ रहेछ । आखिर देश नै चाहिने रहेछ । सबै युवाहरु, अब उत्पादनमा लागौं ।
घ. नवउदारवादले ल्याएको उपभोक्तावादले सकेको रहेछ हामीलाई । अब यसबाट बाहिर आऔं ।

यो ब्याधीपछाडि कसरी दुनियाँ आगाडि जाने होला ? किशोर माभुवानीले र लि कवान युले भने जस्तै पश्चिम आफ्नो अहंकार र एकाधिकारवादको नीतिलाई पुनरावलोकन गर्न तयार भयो भने, दुनियाँ राम्रो हुनेछ । अन्यथा हामीले अब फरक तरिकाले बाँच्न र समृद्ध हुन सिक्नुपर्छ ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय