scheduleमगलवार चैत्र २५ गते, २०७६

खाद्यान्न आपूर्ति गर्न सुपरमार्केटहरुलाई मन्त्रालयको निर्देशन


काठमाडौ, १२ चैत । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले ठूला सुपरमार्केट भाटभटेनी, बिगमार्ट, सेलबेज, सेल्सबेरी लगायतलाई उपभोक्तालाई चाहिने अतिआवश्यक खाद्यान्नको ढुवानीको व्यवस्था मिलाउन निर्देशन गरेको छ ।

११ देखि १८ चैतसम्म मुलुक लकडाउन गरेकाले ठूला खाद्यान्न विक्रेता समेत रहेका सुपरमार्केटहरूलाई उपभोक्ताको मागअनुसार घरसम्मै खाद्यान्न ढुवानी गरी कोरोना भाइरस नियन्त्रणको प्रयासमा सघाउन आग्रह गरेको मन्त्रालयका प्रवक्ता प्रकाश दाहालले जानकारी दिए ।

लकडाउन अवधिभर विभिन्न उत्पादक, विक्रेता र उपभोक्ताका सरोकारलाई सम्बोधन गर्न मन्त्रालयमा बसेको बैठकपछि भएका निर्णय सार्वजनिक गर्दै दाहालले भने, ‘उपभोक्तालाई यसवेला घरसम्मै सेवा दिन सुपरमार्केट सफल भए भने खाद्यान्न खरिदमा भिडभाड हुँदैन भन्ने हाम्रो बुझाइ हो ।’

Dish_Home

मन्त्रालय बैठकको निर्णय नम्बर ८ मा भनिएको छ, ‘खाद्यान्न बिक्रीका लागि एकभन्दा बढी स्थानमा बिक्रीकक्ष राखी बिक्री–वितरण गर्ने ठूला विक्रेता भाटभटेनी सुपरमार्केट, बिग मार्केट, सलेबेज, सेल्सबेरीजस्ताहरूले आफ्नो बिक्रीकक्षबाट नियमित बिक्री गर्नुका साथै आफ्ना ग्राहकलाई उनीहरूकै ठेगानासम्म डेलिभरी गर्ने व्यवस्थासमेत गर्ने ।’

मन्त्रालयले तरकारी, फलफूल, दूध, पानी, औषधि पसलहरूलाई नियमित रूपमा खुला गर्न आग्रह गरेको छ । ‘कुनै निश्चित समय तोकेर अत्यावश्यक वस्तुको कारोबार गर्ने पसलहरू खुला राख्न निर्देशन दिँदा भिडभाड होला कि भन्ने लागेर आवश्यकताअनुसार नियमित रूपमा खुला राख्न निर्देशन दिइएके हो,’ दाहालले भने ।

त्यसैगरी, सरकार स्वामित्वका साल्ट ट्रेडिङ कर्पोरेसन र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका बिक्री केन्द्रलाई सुचारु राख्न पनि निर्देशन दिइएको छ । पेट्रोलपम्पहरू सीमित संख्यामा खुला राख्ने र त्यसका लागि प्रमुख जिल्ला अधिकारीसँग समन्वय गर्न निर्देशन दिइएको छ । लकडाउनका कारण मंगलबार सबै ग्यास डिपो बन्द भएपछि सरकारले बुधबारबाट खुला राख्न पनि निर्देशन दिएको दाहालले बताए ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय