scheduleमगलवार जेष्ठ २० गते, २०७७

नयाँ वर्ष २०७७ सालको राशिफलः थाहा पाउनुहोस् तपाईंलाई ग्रहगोचरको कस्तो फल प्राप्त हुन्छ ?

काठमाडौं, १२ चैत । आजदेखि नयाँ वर्षारम्भ भएको छ । चन्द्र गोचरका अनुसार आजदेखि नयाँ वर्ष सुरु भएको हो । २०७७ सालको सम्बत्सरको नाम प्रमादी हो । बुधबार नयाँ वर्षारम्भ भएकोले यो वर्षको राजा बुध ग्रह हो । चैत्र शुक्ल प्रतिपदाको दिनदेखि सम्बत्सर परिवर्तन हुन्छ । बुध ग्रह सञ्चार, बुद्धि, वाककला, व्यापार, हरियो बस्तुहरु, वनस्पति, औषधीको कारक ग्रह मानिन्छ । त्यसैले यस क्षेत्रमा यस वर्ष शुभ परिणाम प्राप्त हुन्छ । यी क्षेत्रमा लागेका व्यक्तिहरुलाई यो वर्ष शुभफल प्राप्त हुन्छ । यसबाहेक शिक्षा, लेखन, चिकित्सा, कला क्षेत्रमा लागेका व्यक्तिहरुलाई पनि यो वर्ष अनुकुल समय हुन सक्छ ।

मेषादि राशिका लागि २०७७ कस्तो रहला त् ?

Dish_Home

१. मेष राशिः मेष राशिका लागि यो वर्ष फाइदाजनक रहन्छ । यो वर्ष तपाईंको जमीनसँग सम्बन्धित समस्याको समाधान हुनेछ । घरजग्गा खरिद विक्रिमा तपाईंलाई यो वर्ष फाइदा हुनेछ । सामाजिक जीवनमा सुधार आउनुका साथै पेशागत क्षेत्रमा पनि पदोन्नतिको अवसर प्राप्त हुनेछ । व्यापार व्यवसायमा लाग्नेहरुका लागि विशेष लाभप्रद हुनेछ । मानसम्मान र यशमा वृद्धि हुनेछ ।

२. वृष राशिः वृष राशिका लागि यो वर्ष खुशी दिलाउने वर्ष हुनेछ । विदेशमा काम गर्नेहरुका लागि पनि यो वर्ष शुभ रहन्छ । अहिले तपाईंको चन्द्रराशिका मालिक शुक्र द्वादश भावमा भएकोले तपाईंको प्रयास सही दिशामा काम गर्नेछ । तपाईंलाई मान सम्मान पनि प्राप्त हुनेछ । तपाईंलाई कुनै धार्मिक यात्रामा जाने अवसर पनि प्राप्त हुन सक्नेछ । आफ्नो स्वास्थ्यमा भने ख्याल पुर्‍याउनुहोला ।

३. मिथुन राशिः मिथुन राशिवालालाई यो वर्ष कैयौं लाभ प्राप्त हुनेछ । तपाईंलाई यो वर्ष भाग्यले पूरै साथ दिनेछ र तपाईंलाई केही राम्रा अवसरहरु पनि प्राप्त हुनेछन् । साथै तपाईंको परिवारको पनि भाग्योदय हुनेछ । तपाईंको चन्द्रराशिका स्वामी बुध ग्रह तपाईंको भाग्य भाव अर्थात नवम भावमा भएकोले तपाईंलाई यसको सकारात्मक उर्जा प्राप्त हुनेछ । सम्बन्धको क्षेत्रमा भने यो वर्ष केही उतारचढाव आउन सक्नेछ । त्यसैले आफ्ना प्रियजन तथा साथीसंगीहरुसँगको सम्बन्धलाई राम्रो बनाउन सम्पर्क स्थापित गरिराख्नुहोला ।

४. कर्कट राशिः कर्कट राशि हुनेहरुका लागि यो वर्ष शुभफलप्रद छ । तपाईंको आम्दानीमा यो वर्ष वृद्धि हुनेछ । तपाईंको घरमा केही मांगलिक कार्यको आयोजना हुनेछ । वृहस्पति सातौं घरमा हुनुको कारणले तपाईंको आर्थिक स्थितिमा सुधार आउनेछ र समस्याहरु समाधान हुनेछन् । तपाईं व्यापारिक प्रतिस्पर्धाबाट भने टाढै रहनु उचित हुनेछ । सन्तानको पक्षमा निर्णय लिनमा केही द्विविधा उत्पन्न हुन सक्छ । मेहनत गर्न नछोड्नुहोला फल जरुर मिल्नेछ ।

५. सिंह राशिः सिंह राशिका लागि यो वर्ष मिश्रित फलदायी हुनेछ । आफ्नो र परिवारका सदस्यहरुको स्वास्थ्यको विशेष ख्याल गर्नुहोला । कुनै पनि निर्णयहरु हतारोमा नलिनुहोला । यो वर्ष तपाईंलाई ऋण लिनु र दिनु दुबै राम्रो हुनेछैन । तपाईंले कसैलाई ऋण दिनुभयो भने त्यो समयमा फिर्ता हुनेछैन । विद्यार्थीहरुले पढाइमा विशेष ध्यान दिनुपर्नेछ । राजनीतिमा प्रवेश गर्ने सोचिरहनुभएको छ भने यो वर्ष अनुकुल समय हुनेछ । तपाईंको घरबाट कार्यालयको दिशातर्फ गरिने कुनै पनि कामबाट तपाईंलाई लाभ प्राप्त हुनेछ ।

६. कन्या राशिः यो साल तपाईंका लागि सफलतादायक रहनेछ । तपाईंलाई कैयौं आर्थिक लाभ, सम्मान र प्रशंसा प्राप्त हुनेछ । विदेशी नागरिकताको चाहना राख्नेहरुका लागि पनि यो वर्ष अनुकुल हुनेछ । शिक्षा क्षेत्रको प्रतिस्पर्धामा पनि सफलता प्राप्त हुनेछ । सन्तान सम्बन्धी समस्या पनि यो वर्ष समाधान हुनेछ । परिवार र सहकर्मीहरुसँगको सम्बन्ध सुमधुर बनाइराख्न भने ध्यान दिनुहोला ।

७. तुला राशिः यस वर्ष तपाईंका लागि पेशागत क्षेत्रमा लाभ प्राप्त हुन्छ तर तपाईंले सक्रियतापूर्वक काम गर्नुपर्ने हुन्छ । अधिकारप्राप्त व्यक्तिहरुको साथ प्राप्त हुँदा तपाईंको पदोन्नति पनि हुनेछ । कुनै पनि चिजको खरिदविक्रिको समय हतारो नगर्नुहोला । बुबाआमाको स्वास्थ्यको ख्याल राख्नुहोला । आलस्यमाथि नियन्त्रण राख्नुहोला अन्यथा आलस्यले तपाईंलाई नियन्त्रण गर्नेछ । कार्यक्षेत्रमा कुनै पनि खालको वावविवादमा नफस्नुहोला र कसैलाई पनि कडा शब्दको प्रयोग नगर्नुहोला ।

८. वृश्चिक राशिः वृश्चिक राशिवालाहरुको लागि यो वर्ष वृद्धिको वर्ष रहेको छ । जीवनका ठूला समस्याहरुबाट मुक्ति मिल्नेछ । नयाँ अवसर प्राप्त हुनेछ । मेहनत गर्न भने नछोड्नुहोला । व्यापारीहरुका लागि यो वर्ष केही उतारचढावपूर्ण हुनेछ । ज्ञान प्राप्ति र आध्यात्मिक उन्नतिका लागि पनि यो साल अनुकुल हुनेछ । सरकार पक्षबाट पनि लाभ प्राप्त हुनेछ ।

९. धनु राशिः धनु राशिका लागि नयाँ वर्ष मिश्रित फल प्राप्त हुनेछ । आफ्नो स्वास्थ्यको विशेष ख्याल राख्नुहोला र मानसिक तनावबाट बच्नुहोला । तपाईंलाई पिताको सहयोग रहनेछ । शत्रु नाश हुनेछन् । सन्तानको पक्षमा शुभफल प्राप्त हुनेछ । घरमा मांगलिक कार्य हुनेछ । आफन्त तथा साथीसंगीसँग कुराकानीका क्रममा कडा शब्दको प्रयोग नगर्नुहोला अन्यथा तपाईंलाई त्यसले हानी पुर्‍याउनेछ । यो साल नयाँ प्रेम सम्बन्धको विकास पनि हुन सक्नेछ, तपाईं कसैप्रति आकर्षित हुन सक्ने सम्भावना रहेको छ ।

१०. मकर राशिः यो वर्ष फाइदाजनक रहेको छ । नयाँ सम्बन्धहरु बन्नेछन् भने नयाँ कारोबारको शुरुवात पनि हुन सक्नेछ । यो वर्ष यात्रा नगर्दा नै तपाईंका लागि फाइदा हुनेछ । व्यापारको पक्ष र आर्थिक पक्ष बलियो रहनेछ । ठूला ठूला निर्णय लिनमा पनि तपाईं सक्षम हुनुहुनेछ । नवदम्पत्तिका लागि सन्तानप्राप्तिको समय छ । धेरै समयदेखि रोकिएको तपाईंको धन फिर्ता पाउने सम्भावना छ । मुद्दामामिलामा पनि तपाईंको जीत हुनेछ । षड्यन्त्रबाट बच्नुहोला, कामबाट सिधै घर फर्कनु नै तपाईंका लागि लाभदायक हुनेछ ।

११. कुम्भ राशिः यो वर्ष तपाईंलाई मध्यम फल मिल्नेछ । कुनै पनि वादविवादमा नपर्नुहोला । आफ्नो क्रोधलाई नियन्त्रणमा राख्नुहोला अन्यथा शत्रुको वृद्धि हुनेछ । विदेश जान चाहनेका लागि यो वर्ष सफलता मिल्नेछ । स्वास्थ्यको विशेष ख्याल राख्नुहोला । सवारीसाधन चलाउँदा विशेष सावधानी अपनाउनुहोला । यो वर्ष तपाईंलाई नयाँ अवसरहरुको प्राप्ति पनि हुनेछ ।

१२. मीन राशिः यो वर्ष तपाईंका लागि लाभप्रद हुनेछ । मान सम्मान प्राप्त हुनेछ । आर्थिक क्षेत्र बलियो हुनेछ । धार्मिक कार्य तथा यात्राको अवसर प्राप्त हुनेछ । विदेशबाट शुभ खबर मिल्नेछ । सम्बन्धमा भावनाको प्रधानता हुँदा सम्बन्ध सुखप्रद हुनेछ । कार्यक्षेत्रमा जिम्मेवारी बढ्न सक्नेछ । प्रशासनिक कार्य सम्पन्न हुनेछ भने व्यापारको क्षेत्रमा सुझबुझपूर्ण तरिकाले काम गर्दा लाभ प्राप्त हुनेछ । परिवार र आफ्नो स्वास्थ्यको ख्याल राख्नुहोला । रोजगारीका लागि तपाईंको प्रयास सफल हुनेछ ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय