scheduleआइतवार चैत्र २३ गते, २०७६

संकिर्णतावादी सत्ता र कोरोनाको ‘पर्या–राजनीति’

दामोदर त्रिपाठी

२१औं शताब्दीको आरम्भसँगसँगै विश्व राजनीतिको सत्ता क्रमशः अनुदार, साम्प्रदायिकता तथा संकिर्णतावादी शक्तिहरुको हातमा चिप्लिइरहेको परिस्थितिमा विश्व मानव समाज कोरोनाको कठोर महामारीसँग जुध्नुपर्ने अवस्था बन्न गएको छ । नयाँ वर्ष सन् २०२० को सुरुवातसँगै चीनको वुहानबाट फैलन सुरु गरेको कोरोना भाइरसको चक्रले करिब ३ महिनाको अवधिमा करिब २० हजार जनाको ज्यान लिएको छ भने चार लाख भन्दा बढी व्यक्ति संक्रमित भएको पुष्टि भएको छ ।

यतिबेला संसारका सबैजसो देशमा यो भाइरसको संक्रमण फैलिइसकेको छ र यसको प्रभावमा संसारका धेरै देशहरुमा अत्यावश्यकीय बाहेक अन्य सम्पूर्ण सार्वजनिक क्षेत्र, औद्योगिक प्रतिष्ठानहरु, विद्यालय तथा कजेलहरु बन्द गरिएका छन् । यतिबेला इटली, स्पेन, इरान र अमेरिकामा यसको संक्रमण तीव्र गतिमा भइरहेको छ । गएको हप्ता दिनभन्दा बढी समयदेखि इटलीमा प्रत्येक दिन सयौंको संख्यामा कोरोनाको संक्रमणका कारण मानिसहरुको ज्यान गइरहेको छ । बढी जनघनत्व भएको दक्षिण एसिया क्षेत्रमा पनि यो भाइरस भित्रिइसकेको छ जहाँ यसको चरमोत्कर्ष कस्तो हुनेछ अहिल्यै अनुमान गर्न सक्ने अवस्था छैन । सरकारहरुले गरेका कठोर प्रयत्नका बाबजुद परिस्थिति कतै भयावहतर्फ धकेलिने त होइन ? त्रास आम जनतामा सघन छ । यहि त्रासका बीचमा हामीले समकालीन संर्कीणतावादी मान्यता र यस तवरका महामारीबीचको सम्बन्धको चक्रलाई तोड्न थप सचेतता अपनाउनु आवश्यक छ ।

मानिसहरु आम सञ्चार तथा सामाजिक सञ्जालका निरन्तरका समाचारहरुलाई चियाइरहेका छन् । एकपछि अर्को गरी आफ्ना सरकारका लकडाउन र सामाजिक तथा भौतिक सम्पर्क घटाउने र घरभित्रै बस्ने सम्बन्धिका नयाँ-नयाँ आदेश र निर्देशनहरुलाई सकेसम्म पछ्याइरहनुको उनीहरुसँग विकल्प पनि छैन । ठूला शहरहरुभन्दा बाहिर सुदूर पहाड, देहात र ग्रामीण इलाकाहरुमा भने अवस्था केही भिन्न छ । त्यस्ता क्षेत्रका मानिसहरुको आम सामाजिक जीवनमा त्यति ठूलो फेरबदल आएको छैन र तिनीहरुको बाह्य समाजसँगको आवागमनमा भने ठूलो कटौती भएको छ ।

Dish_Home

देशका अर्थव्यवस्था, बजार, यातायात तथा विकासका तमाम् सवालहरुको यतिबेला समकालीक मूलधारको बहसमा खास कुनै महत्व छैन । महत्व छ त केवल समाज र देशको समग्र स्वास्थ्यको अवस्था, भाइरस संक्रमणको नयाँ समाचार र संक्रमण हुन नदिन र भइहालेमा के गर्ने, आफन्तजन, आफ्नो समाज र वरपरको अवस्था के कस्तो भइरहको छ भन्ने छिनछिनका खबरहरुको ।

दामोदर त्रिपाठी

संक्रमणको परिस्थिति अझै बढ्दै जाँदा यसको समग्र असर कसरी विकसित हुँदै जानेछ र महिनौंसम्म लकडाउनको अवस्था आयो भने हामीले कस्तो खालको मानवीय दुर्दशालाई सामना गर्नुपर्ने हो, यो अहिल्यै एकिन गर्न सकिने कुरा होइन । यस्तो परिस्थिति आउन सक्छ यदि हामी चुक्यौं भने । तर, यतिबेला त्यस्तो परिस्थिति आउन नदिन विश्वका सरकारहरुसँग अझै विकल्पहरु बाँकी छन्, अझै बढी तदारुक्ता र व्यवस्थापकिय क्षमता देखाउन आवश्यक छ र यसको बारेमा उनीहरुलाई सचेत गराउनु र उपलब्ध तमाम् उपायहरुको अवलम्बनतर्फ सबै तवरको दबाव र सहयोग पनि बढाउनै पर्दछ ।

तर, यसो गरिरहँदा हामीले ध्यान दिनुपर्ने कोरोनाको अर्को महत्वपूर्ण पर्या–राजनीतिक (political ecology) पक्ष पनि छ जसका सम्बन्धमा आम जनमानसले पर्याप्त चासो नदेखाएको हुनसक्छ । त्यो के हो भने, यही महामारीको बीचमा संसारका संकिर्णतावादी शासक र सत्ताले आफ्ना संकुचित मान्यताहरुलाई कसरी त्यसप्रकारका सरकारी आदेश तथा प्रयत्नहरु, सार्वजनिक सूचना र समाचारहरु एवं अन्य विभिन्न तवरले (प्रायः अव्यक्त ढंगले) सुरक्षित गर्ने प्रयत्न गरेका छन् र तत्कालका लागि र दिर्घकालीनरुपमा समेत यस तवरका मानवीय विपत्तिसँग जुध्ने समग्र मानवीय क्षमतालाई कसरी कमजोर पारिरहेका छन् ? कोरोनाको यो पर्या–राजनीतिक पक्षलाई अझ स्पष्ट तवरले बुझ्न समकालीन संकिर्णतावादी राजनीतिको विकासका सम्बन्धमा र वर्तमानमा यसको अवस्थाका बारेमा केही विमर्श गर्नु आवश्यक छ ।

वर्तमान विश्व राजनीतिमा तथा विश्वका धेरै जनसंख्या बसोबास गर्ने र धेरै स्रोत साधनहरु भएका देशहरु जस्तै अमेरिका, बेलायत लगायत अन्य धेरै युरोपेली देशहरु, भारत एवं दक्षिण अमेरीका र अन्य क्षेत्रका जनताहरु पनि यतिबेला संकिर्णतावादी शासन प्रणालीबाट गुज्रिई रहेका छन् । चीन, खाडी र पूर्वी एसियाका धेरै देशहरुमा यो अवस्था त झन् पहिल्यैदेखि ब्याप्त छ नै ।

यो प्रणालीको मुख्य विशेषता के हो भने देशको राज्य सत्तामा पुग्न वा राज्य सत्तालाई आफ्नो नियन्त्रणमा जतिसक्यो लामो समयसम्म राखिरहन शासक वा शासक वर्गले आफुलाई उपलब्ध (वा निर्मित) कुनै न कुनै खालको जातीय, साम्प्रदायिक वा क्षेत्रीयतावादी मान्यताको आडमा नयाँ भाष्य तयार गर्दछ । धेरैजसो आधुनिक प्रयोगमा यसलाई राष्ट्रवादको रुपमा ब्याख्या गर्ने गरेको पनि पाइन्छ । जसको परिणाम बढीभन्दा बढी जनताको अभिमत, विश्वास वा समर्थन हासिल गर्न ऊ सफल पनि हुन्छ र त्यसप्रकारको मान्यतालाई समाजका अन्य समूह वा समुदायमाथि बलपूर्वक थोपर्ने प्रयत्न गर्दछ । माथि भनिएका वा त्यसबाहेक अन्य देशहरुमा पनि समकालीन समयमा संकिर्णतावादले आफूलाई कसरी स्थापित गरिरहेको छ भन्ने कुरा बुझ्न भने सम्बन्धित देशको राजनीतिक विकास, समकालीन राजनीति परिस्थिति र आम जनअपेक्षा जस्ता कुराले पनि धेरै भूमिका खेलिरहेको हुन्छ ।

संकिर्णतावाद लोकतन्त्र वा उदारवादको विपक्षमा नै भइहाल्छ भन्ने चाहिँ होइन । जस्तो पछिल्लो उदाहारणको रुपमा बेलायतलाई लिन सकिन्छ जहाँ संकिर्णतावाद बेलायत युरोपियन युनियनबाट बाहिरिने सन्दर्भमा सतहमा देखिन पुग्यो । तर त्यहाँ लोकतन्त्रका आधारभूत मान्यतालाई बेवास्ता गरिएको तथा उदारवादको सम्पूर्ण विपक्षमा बेलायत गएको भने होइन । तर, पनि विश्वव्यापीकरणबाट सबै देश र जनताले समान लाभ लिन सक्नुपर्दछ र आजका नयाँ विश्व समाजका चुनौतीहरुलाई सामना गर्न विश्व समुदायबीच आवश्यक नयाँ एकताको घेराबाट बेलायतले आफुलाई एक कदम पछाडि लग्नुका पछाडि यही संकिर्णतावादी मान्यताले काम गरेको हो ।

संकिर्णतावादी राजनीतिका तात्कालीन र दिर्घकालीन प्रभावहरु स्थानीय र विश्व स्तरसम्म हुन्छन् । तात्कालीकरुपमा यसले विश्व समाजको नयाँ एकतामा एक तवरको संकुचन नै पैदा गर्न सक्दछ भने राष्ट्रियतहमा नियन्त्रणकारी वा एक पक्षीय रुपमा शासन सञ्चालन गर्ने सम्भावना बलियो बन्दै जान्छ । यसको अर्को उाहारण हामी भारतबाट लिनसक्छौं । भारतका वर्तमान प्रधानमन्त्री नरेन्द्र मोदीले अत्यन्त ठूलो बहुमतका साथ सन् २०१९ मा दोस्रोपटक जनताबाट आफुलाई निर्वाचित गरेर सत्ता संहालिरहेका छन् । उनका हरेक अभिब्यक्ति र प्रयत्नमा आम जनताको आर्थिक तथा सामाजिक हित हुने कुरा नै जोडिएको देखिन्छ । तर, सबैले जानेको कुरा के हो भने उनले भारतीय समाजमा रहेको खास तवरको संकिर्णतावादी मान्यता र विचारको पक्षमा आफूलाई बलियो गरी खडा गरेर नै त्यो अवस्था हासिल गरेका हुन् । अमेरिकाका ट्रम्पको अवस्था योभन्दा भिन्न होइन, न त नेपालका केपी ओलीको पनि ।


अर्को महत्वपूर्ण कुरा संकिर्णतावादका सम्बन्धमा हामीले विचार गर्नुपर्ने पक्ष के हो भने आफ्नो वैधताको लागि आधुनिकतावादी विचारहरु (लोकतन्त्र वा समाजवाद) बाट यसले आफ्नो सम्बन्धलाई कहिल्यै अलग पनि देखाउँदैन किनभने संकिर्णतावादको विकास आधुनिकतावादी राजनीतिक अभ्यासको क्रममा नै भएका हो । तर, आधुनिकतावादका कुनै पनि मान्यताहरुका बर्खिलाप सीमित व्यक्तिको स्वार्थमा राज्यसत्तालाई केन्द्रित गर्ने, नयाँ-नयाँ शोषण र सिमान्तीकरणका संस्करणहरु उत्पादन गर्ने, मानवीय विकास र मानव सुरक्षाको सवाललाई जातीय, क्षेत्रीय, साम्प्रदायिक वा वर्गीय अवधारणाहरुको आडमा तिरस्कृत गर्ने र प्राकृतिक स्रोत माथिको चरम दोहनलाई कायम राख्ने र उपभोक्तावादलाई निरन्तर प्रवर्तन गर्न संकिर्णतावाद तल्लिन रहन सक्छ । यो अवस्था गरिब तथा विपन्न देशहरुमा झन बलशाली हुने सम्भावना रहन्छ । यसै सन्दर्भमा, कोरोना संक्रमणको आजको यो महामारीको अवस्थामा पनि संकिर्णतावादले मानवता माथि अझ संकट थोपरिरहेको त छैन, जिम्मेवारीपूर्वक हामीले विचार गर्नै पर्दछ ।

त्यस्तै राष्ट्रिय राजनीतिको परिदृष्यमा संकिर्णतावादी सत्ताले कोरोना नियन्त्रणको अभियानमा सरकारले गरेका काम र त्यसमा जनताको समर्थनलाई यसरी बढाई चढाई गरिरहेका छन् कि मानौं तिनीहरुले यस अगाडि यस तवरको समर्थन कहिल्यै प्राप्त गरेका थिएनन् । यो स्वभाविक पनि हो किनभने यो समयमा आम जनताले सरकारका आदेश र विज्ञका सुझावहरुमा बढी विश्वास गर्दछन् नै । साथै, यस परिस्थितिमा आफ्नो राजनीतिको बैधतालाई यही बहानामा सावित पनि गर्न खोज्नु अस्वाभाविक पनि होइन । तर यसको परिणाम भने स्वभाविक नहुनसक्छ । किनभने, यस तवरको सत्ताले आफ्ना आदेशहरु कार्यान्वयन गर्न अनावश्यक दवावका औजारहरु सार्वजनिक प्रशासनको क्षेत्रमा प्रयोग गर्न सक्छ एकातर्फ भने अर्कोतर्फ यसले परिणाममा भन्दा बढी प्रचारबाजीलाई आफ्नो प्राथमितामा राखिरहेको पनि हुन सक्दछ ।

आम रुपमा यो सवाल किन सरकोकारको विषय हो भने, संकिर्णतावादी सत्ताको यस तवरको प्रवृतिले आम जनतामा स्वःस्फूर्त सेवा प्रदान गर्न खटिने कर्मचारीको मनोवललाई उच्च राख्न मद्दत गर्दैन र आम जनमानसले यस तवरको कार्यप्रणालीमाथि विभिन्न तवरले चिन्ता जताइ रहनुपर्ने अवस्था बन्न पुग्दछ । जसले गर्दा सार्वजनिक प्रशासनको कार्य क्षमता र प्रभावकारितामा निकै हदसम्म हस हुन सक्छ । त्यस्तै आम जनताको सहकार्य, स्थानीय सरकारहरुको प्रभावकारी परिचालन तमाम जनसमूह, व्यवसायी र उत्पादक संस्थाहरुको प्रभावकारितामा समेत संर्कीणतावादले नकारात्मक प्रभाव पार्ने सम्भावना रहन्छ ।

यसको अर्थ संसारका धेरै सरकारहरुले हाल यो महामारीसँग जुध्ने सम्बन्धमा चालेका कदमहरु बेठीक छन् भन्ने कुरा कदापि पनि होइन । यी कदमहरु धेरै हदसम्म सहि छन् । तर, यति हुँदाहुँदै पनि सत्तारोहण गर्दा वा राज्य सत्तालाई आफ्नो नियन्त्रणमा राख्न उनीहरुले अपनाएका साम्प्रदायिकतावादी वा संकिर्णतावादी मान्यताहरुलाई पुनरावलोकन गर्नेतर्फ कुनै कदम चालेका छैनन्, न त त्यस तर्फ संकेत मात्रै पनि गरेका छन् ।

उनीहरु यसरी अगाडि बढिरहेका छन् कि मानौं उनीहरुमा रहेको यो संकिर्णतावादका सम्बन्धमा छलफल गर्नु कुनै आवश्यक नै छैन । अर्थात, यो कुनै समस्या नै होइन । यो अत्यन्त विचारणीय कुरा हो । नेपालको सत्ता पनि यही अवस्थाबाट गुज्रिईरहेको छ । जसको परिणाम के भइरहेको छ भने आमजताका बीचमा यसको सार्वजनिक प्रशासन क्षमतामा प्रश्नहरु उठ्न थालेका छन् ।

आन्तरिकरुपमा भने बाह्य तहमा खुल्ला र समझदारीपूर्ण क्षेत्रीय र विश्व सम्बन्धको पक्षमा आफूलाई कसरी उभ्याउने भन्ने कुरालाई यसले महत्व दिनसकेको छैन । यसको प्रथामिकता केवल क्षणिक साथ र समर्थनको प्रचारबाजीमा रमाउनुमा मात्रै सीमित छ । जुन प्रवृत्तिले यसप्रकारका महामारीसँग जुध्न चाहिने आवश्यक शक्ति हासिल गर्न निकै ठूलो ब्यवाधान खडा गर्न सक्दछ । किनभने, यसखाले संकटहरुसँग जुध्न संगठित राष्ट्रिय समाजको अवधारणाको जति आवश्यकता छ त्यति कै महत्व छ अत्यन्त गतिशील र खुल्ला विश्वब्यापी सम्बन्ध र सहकार्यको । यी दुवै अवस्थालाई हासिल गर्न संकिर्णतावाद अत्यन्त ठूलो चुनौतिको रुपमा २१ औं शताब्दीको समकालीन राजनीतिमा विद्यमान छ ।

यहाँ फेरी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका केही अन्तराष्ट्रिय पहलहरुबारे पनि हामी जानकार हुनु आवश्यक छ । यो वैश्विक महामारीविरुद्ध जुध्ने सम्बन्धमा उनले दक्षिण एशियाली सहयोग संगठन सार्कका सदस्य राष्ट्रहरुका बीच लगभग टुटिसकेको वार्तालापको श्रृंखलालाई नयाँ जीवन दिने प्रयत्न गरेका छन् । साथै उनले विश्वका धनी राष्ट्रहरुको सम्मेलनको आयोजनाका लागि पनि पहल लिइरहेका छन् । त्यस्तै तीन हप्ता लामो लकडाउनलाई कार्यान्वयनको दिशामा लग्न उनले चालेका कदमहरु समेतले उनी थप धेरै मानिसहरुका लागि प्रशंसाका पात्र पनि बनेका छन् ।

तर, यहाँ अहम् सवाल के हो भने, उनी सम्बद्ध राजनीतिक समूहहरु र दलहरुले हिजो जे जस्तो साम्प्रदायिक र संकिर्णतावादको प्रवर्द्धन गरिरहेका छन् त्यसले यस तवरका महामारीसँग जुध्ने आजको मानवीय क्षमतालाई कसरी हस गरिरहेको छ भन्ने कुराप्रति एथेष्ट ध्यान दिन के उनी तयार छन् ? के उनी त्यस तवरका विभाजनकारी र विभेदकारी मान्यताहरुलाई पुनर्व्याख्या गर्ने र रुपान्तरण गर्ने आन्तरिक पहलकदमीलाई जिम्मेवारीपूर्वक अगाडि बढाइरहेका छन् ?

महा–विपदको यो घडीमा नै यी सवालहरु प्रधानमन्त्री नरेन्द्र मोदीका लागि मात्र होइन विश्वका सबै खाले संकिर्णतावादी सत्ता र शासकहरुका अगाडि सोझ्याउनु आवश्यक छ । किनभने, मानव इतिहासमा यो विपद पहिलो पनि होइन र अन्तिम पनि होइन भन्ने कुरामा हामी सबै स्पष्ट हुनै पर्दछ र महामारीविरुद्ध जुध्ने तत्कालीक कदमहरुको स्वागत र समर्थन गरिरहँदा दिर्घकालीनरुपमा यस तवरका संकटहरुलाई सामना गर्ने मानवीय क्षमताको सुदृढिकरणको आवश्यकताबाट हामी वर्तमानका शासकहरुलाई उन्मुक्ति दिन पनि सक्दैनौं । आशा गरौं, यो विपद्को घडी विश्व राजनीतिलाई सबै खाले संकिर्णताहरुबाट माथि उठाउने एक नयाँ अवसरको रुपमा सदुपयोग गर्न, जनताका सबैखाले अधिकारहरु र मानव सुरक्षाको पूर्ण ग्यारेण्टी गर्न एवं पर्यावरण संरक्षणप्रति जिम्मेवार हुँदै विश्वलाई सबैखाले युद्ध र हिंसाहरुबाट मुक्त पार्ने एक नयाँ संकल्प गर्ने नयाँ अवसरको रुपमा सदुपयोग गर्न सरकारहरु, राजनीतिक शक्तिहरु र अन्य सबै पक्षहरु एथेष्ट रुपमा जिम्मेवार बन्ने छन् ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय