scheduleबुधवार आश्विन १४ गते, २०७७

ट्रम्पको शासनकालमा अमेरिकाले विश्वको नेतृत्व गुमाएको हो ?

 

साझापोष्ट टिप्पणी/काठमाडौं, १३ चैत । भनिन्छ– नेतृत्व भनेको अप्ठ्यारो समयको भूमिका हो । संकट मोचन गर्ने क्षमता हो । समस्या समाधान गर्ने विधि र प्रक्रियाको संवाहक हो । संकटमा जसले आफ्ना अनुयायी, शुभेच्छुक र आशावादीहरुलाई निराश बनाउँछ, ऊ नेता हैन ।

संकटको समयका जो समस्यासंग पिठ फर्काएर भाग्छ– उसलाई नेता मान्नु पर्ने आवश्यकता रहँदैन । जसले संकटको समाधान पत्ता लगाउने, लागू गर्ने क्षमता राख्दैन । उसले पाइरहेको भूमिका पनि गुमाउँछ, रङ्गमञ्चमा अर्को कोही आउँछ, ऊ नै नेता हुन्छ ।

समकालीन विश्वमा अमेरिकालाई त्यस्तै एउटा नेतृत्वदायी मान्ने गरिएको थियो । यो भूमिका उसले सजिलै पाएको थिएन । सन् १७७९ मा अमेरिका बेलायती साम्राज्यबाट मुक्त भयो । विश्वको मानचित्रमा अमेरिका एक नयाँ मुलुक, नयाँ राज्य, नयाँ देश थियो । तर बेलायती साम्राज्यबाट मुक्त भएसंगै उनले विश्वका लागि केही फरक र उदाहरणीय गुणहरु देखायो ।

अमेरिकाका संस्थापक पिताहरु त्यो युगका सर्वाधिक योग्य योद्धा र चिन्तकहरु थिए । जर्ज वासिङ्गटन, थोमस जेफरसन, जोहन आडम्स, बेन्जामिन फ्रेकलिन, अलेक्जेण्डर हेमिल्टन, जेम्स मेसिडन, जोहन जोयको नाम आज पनि संसारले सम्मानका साथ स्मरण गर्दछ । अमेरिकाकी स्वतन्त्रताको घोषणापत्र एक अदभूत शब्दलालित्यमा बुनिएको राजनीतिक दस्तावेज थियो, जसमा व्यक्त भएको स्वतन्त्रता, समानता, न्याय र मुक्तिका आधारभूत सिद्धान्तप्रतिको निष्ठाले संसारलाई नै उद्धेलित गर्दथ्यो । उनीहहरुले अपनाएको प्रत्यक्ष लोकतन्त्र र संघीय शासन प्रणालीले विश्वलाई नै एक फरक प्रकारको शासनशैलीको उदाहरण दियो ।

तर त्यति कारणले मात्र विश्वमा अमेरिकाको भूमिका स्थापित भएको थिएन । स्वतन्त्रतासंगै उसले आधुनिक विज्ञान, प्रविधिको विकास र अर्थतन्त्रको सुदृढिकरणमा तीव्र प्रयासहरु गर्‍यो । पहिलो विश्वयुद्धको त कुनै छोडौं, तेस्रो विश्वयुद्धसम्म पनि अमेरिकालाई विश्वले कमै विश्वास गर्थ्यो । दोस्रो विश्वयुद्धमा पर्ल हार्रवार र हिरोसीमा, नागाशाकीजस्तो घटना भए जस्ले अमेरिकाको भूमिकालाई विश्वव्यापी रुपमा स्थापित गर्न थाले । तथापि दोस्रो विश्वयुद्धको विजेता राष्ट्रको जस सोभियत संघले पायो ।

सन् १९५७ एक त्यस्तो मोड थियो, जसले बेलायती साम्राज्यको युग अन्त्य भएको र त्यो ठाउँ अमेरिकाले लिएको तथ्य विश्वले स्वीकार गर्‍यो । त्यो घटना थियो– स्वीज क्यानेल युद्ध । स्वीज नहर भू-मध्यसागर र हिन्दमहासागरलाई जोड्ने सबैभन्दा छोटो बाटो थियो– यसमाथिको पकड जब बेलायत र इजिप्टले गुमाए, अमेरिकालाई विश्वको नयाँ महाशक्ति स्वीकार गरियो । यो लामो प्रक्रियामा अमेरिकामा लिंकन, रुजवेल्ट, आइजेनआवरजस्ता अनेक चमत्कारिक र चुम्बकीय व्यक्तित्व भएका राष्ट्रपतिहरु आए ।

तथापि अमेरिका विश्वको एकल नेता थिएन । सोभियत संघमा स्टालिनको उदयले विश्व दुई ध्रुवीय भएको थियो । त्यही बीचमा अनेक युद्धहरु भएका थिए । कोरिया युद्धले कोरिया दुईवटा भयो । अमेरिकाकै भूमिकाको कारण जर्मन एकछत्र सोभियत धुरीमा गएन । त्यहाँ बर्लिनको पर्खाल लाग्यो । भियतनाम पनि उत्तर र दक्षिण दुई देशमा विभाजित भएको थियो ।

कुनै ग्यारेन्टी थिएन कि शीतयुद्धमा अन्ततः सोभियत संघको पतन हुन्छ । बर्लिनको पर्खाल ढल्छ । पूर्वी युरोपमा कम्युनिज्मको पतन हुन्छ । र अमेरिका एकछत्र विश्वशक्तिका रुपमा उदय हुन्छ । सन् १९९० पछि जुन भूमण्डलीकरणको शुरुवात भयो, त्यसको नेतृत्वदायी देश अमेरिका नै थियो । यस क्रममा पनि अनेक पराक्रमी राष्ट्रपति आए । रिचार्ड निक्सन, रोनाल्ड रेगन, जर्ज डब्लु बुस सिनियर आदि ।

एक्काइशौं शताब्दिमा तीन ठूला संकटहरुको नेतृत्व गर्‍यो अमेरिकाले ।

पहिलो- सन् २००१ को सेक्टेम्बर ११ को घटना थियो । अलकाइदाले अमेरिकी ट्वीन टावरमा आतंकवादी हमला गरेर एउटै घटनामा करिब तीन हजार अमेरिकीको हत्या गरेको थियो । २५ हजार बढी घाइते भएका थिए ।

दोस्रो संकट- सन् २००८ को विश्वको आर्थिक मन्दी थियो । मन्दीबाट आफूलाई र प्रभावित देशहरुलाई बाहिर निकाल्न अमेरिकाले ठूलो भूमिका गर्‍यो ।

तेस्रो थियो- सन् २०१४ को इबोला भाइरस प्रकोप, त्यसको नियन्त्रणमा लागि अमेरिकाले ठूलो तदारुकता अपनाउने र लगानी गर्ने गरेको थियो । यो चरणमा जर्ज, डब्लु बुस, विल क्लिन्टन, बाराक ओबामाजस्ता सहास, धैर्यता र व्ययवस्थापकीय क्षमता भएका राष्ट्रपति अमेरिकाले पाएको थियो ।
विश्व आज एकअर्को संकटको सामु छ । अमेरिकी राष्ट्रपति छन्- डोनाल्ड ट्रम्प । ट्रम्पले आफ्नो विवादास्पद ४ वर्षे पहिलो कार्यकाल पूरा गरेका छन् । यो वर्षको अन्त्यतिर फेरि अमेरिकामा राष्ट्रपतिको चुनाव हुनुपर्ने छ । रिपब्लिकन उम्मेद्वारका रुपमा ट्रम्प पुनश्चः दोस्रो कार्यकालका लागि खडा हुने लभभग निश्चित छ ।


तर यही बीचमा ट्रम्प र अमेरिकाको भूमिकाबारे नयाँ बहस प्रारम्भ भएको छ । के अमेरिकाले ट्रम्पको शासनकालमा आएर विश्वको नेतृत्वदायी भूमिका गुमाएकै हो, जुन उसले दोस्रो विश्वयुद्ध ताका बनाएको थियो ? अमेरिकालाई अब विश्वशक्ति मानिरहन जरुरी छ ? उसले विश्वको नेता देश मान्नु पर्ने किन ? त्यस्तो व्यक्ति वा देशलाई कस्ले नेता मान्दछ जसलाई आफ्नो बाहेक अरु कसैको चिन्ता छैन ? के कोरोना प्रकोप एउटा अर्को ‘स्वीज मुभमेन्ट’ जस्तै मोड हो, जुन बिन्दूमा ट्रम्प शासित अमेरिकाले आफ्नो भूमिकालाई आफैं हापेको छ ।

कोराना प्रकोपमा अमेरिकाको कमजोर भूमिका मात्र हैन, यस्तो तर्क गर्न सकिने अनेक कारणहरु छन् । अमेरिकासंग अझै पनि विश्वको जुनसुकै देशमा बमबारी गर्न सक्ने क्षमता होला । संसारको जुनकुनै कुनामा लुकेको जो कोही व्यक्तिलाई गोली हान्न सक्ने क्षमता होला । तर आर्थिक नीति र प्रकोप व्यवस्थापनको क्षमतामा अमेरिका हारेको छ । उसको बम, बारुद्ध, मिसाइल, फाइटर विमान, नासा, एमआइटी आदि इत्यादी सबै सानो जिवाणुसँग पराजित भएका छन् ।

सन् २०१४ को इवोला भाइरस प्रकोपको बेला यसरी कसै सोच्दैनथ्यो । इवोला नियन्त्रणमा अमेरिकाले अरबौं लगानी गरेको थियो, जबकी त्यसको प्रभाव अमेरिकामा असाध्यै न्युन थियो । इवोला प्रभावित देश नाइजेरिया, सेरालियोन, गूइना र लाइवेरिया थिए । करिब ११ मानिस मर्दा न मर्दैै इवोला नियन्त्रण गर्न अमेरिका र विश्व स्वास्थ्य संगठन सफल भएका थिए । जबकी अमेरिकामा इबोलाबाट १ जनाको मात्र मृत्यु भएको थियो ।

इवोला प्रकोपको बेला अमेरिकाले जुन तदारुकता देखायो, कोरोनाबारे ठीक उल्टो गर्यो । अमेरिका चीनलाई हियाउँन होच्याउँनतिर लाग्यो, जबकी जिवाणु विरुद्धको मानवताको लडाइँ राजनीतिक, आर्थिक र समारिक मजाको बिषय हुन सक्दैनथ्यो । आज अमेरिकामा कोरोनाबाट मर्नेहरुको संख्या १ हज्जार पुग्न लागेको छ, अमेरिका निरिह छ । न कुनै खोप आबिष्कार गर्न सकिरहेको छ, न प्रभावकारी नियन्त्रण प्रणाली कायम गर्न सकेको छ । न विश्वका कोरोना प्रभावित देशहरुलाई कुनै उल्लेखनीय सहयोग नै गर्न सकिरहेको छ ।

अमेरिका एकाएक यति कमजोर किन भयो ? सायद यस्को मुख्य कारण ट्रम्पको शासनशैली नै हो । आफ्नो ४ बर्षे शासनकालमा ट्रम्प विश्वका कुनै पनि समस्याप्रति संवेदनशील भएनन् । भूमण्डलीकरणको नेतृत्व लिइरहेको देश आफै विभूमण्डलीकरणको पैरवीकर्ता बन्यो । सन् १९९० यता शुरुवात भएको भूमण्डलीकरण प्रक्रियाको कोही माइवाप रहेन । ट्रम्प जसलाई ‘गोरा राष्ट्रवाद’ को आँधीले उठाएको श्रीपेज आफ्नो शीरमा चाहिएको थियो, अरु कुनै कुरासंग मतलब थिएन, उनले कोरोना प्रकोपबारेमा बेलैमा सोच्ने र तयारी गर्ने चासो किन राख्न पर्‍यो ?

विश्वमा यस प्रकारको महामारीको अनुभव अमेरिकालाई नभएको हैन । सन् १९१८ को स्पेनिश फ्लु होस वा सन् १९६८ को बिफर, यी दुबैको प्रतिरोधमा अमेरिकाले ठूलो ताकत लगाएका थियो । अमेरिकाको संस्थागत अभिलेख र मेमेरीबाट ती घटनाहरु भेटिएका थिएनन् । यहाँसम्म की दक्षिण एशियाको मलेरिया नियन्त्रणमा समेत अमेरिकाको ठूलो भूमिका थियो ।

आधुनिक सभ्यताको चक्रवर्ती सम्राट आज कोरोना सामु निरिह छ, उसबाट न कसैले कुनै आशा राखेको छ, उ उसले संकटमा अरुलाई सहयोग गर्न सकेको छ न समस्याको कुनै समाधन सुझाउँन सकेको छ । अब अमेरिकालाई विश्वको नेता देश भन्न कसरी मिल्छ ?

सम्भवत त्यो ठाउँ अब चीनले लिदैछ । यदि यही परिदृष्य कायम रह्यो भने कोरोनापछि अमेरिका एक गणनायोग्य विश्व शक्ति रहेन छैन । यसले के सिद्ध गर्दछ भने कुनै राष्ट्रको जीवनमा कुनै गलत नेतृत्वको उदयको कति ठूलो मूल्य चुकाउनु पर्दछ । यो भन्न अहिले नै हतारो हुनेछ कि चीनको नेतृत्वमा एक नयाँ विश्वव्यवस्था नै खडा हुनेछ तर यति भन्न सकिन्छ कि भूमण्डलीकरणको विद्यमान धार अब उल्टो मोडिने छ । अमेरिका केन्द्रित भूमण्डलीकरण शिथिल हुने छ र चीन केन्द्रित भूमण्डलीकरण तीव्र हुनेछ ।

तस्बिरहरुः पिक्जाबेबाट

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय