scheduleबुधवार आश्विन १४ गते, २०७७

कोरोनाले मानिसलाई के सिकाउँदैछ ? संसारलाई बिल गेट्सको मार्मिक खुल्लापत्र

हामी क्षमाप्राथी छौं 
भूलसुधार (समाचार प्रकाशन समयः १३ चैत बिहान ११:९ बजे, अपडेट १९:२२, २७ मार्च/१३ चैत २०७६)

(द सन अनलाइनबाट लिइएको यो सामग्री बिल गेट्सको भनाई होइन भन्ने थाहा पाएपछि स्वयम् पत्रिकाले पछिल्लो समय हटाइसकेको रहेछ । द इन्डिपेन्डेन्टले यसबारे विस्तृत समाचार नै बनाएको रहेछ र यो सामग्री संसारभरी कोरोनाजस्तै तिव्रतामा फैलिएको रहेछ । यो यथार्थ थाहा पाउनासाथ हामीले यो भूलसुधार प्रकाशित गरेका छौं । यद्यपि, हजारौं पाठकहरुले शेयर गरिसकेको गलत सामग्री के थियो भन्ने जानकारीका लागि तलको सामग्री हामीले हटाएका छैनौं । आगामी दिनमा यो भूलबाट सिकेर अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गर्दछौं । -सम्पादक) 

एजेन्सी, १३ चैत । कोरोना भाइरसविरुद्ध लड्न गत महिना विश्व धनाढ्य व्यक्ति बिल गेट्सले आठ करोड ५० लाख डलर सहायता रकम दान गरेका थिए । यो सबै विनाश र विपदको पछाडि आध्यात्मिक रहस्य रहेको पनि बिल गेट्स विश्वास गर्छन् ।

कोभिड १९ अर्थात् कोरोनाले हामीलाई के सिकाउँछ ? शीर्षकमा उनले लेखेको खुल्ला पत्रको साझापोस्टकर्मी युजु राईले गरेको भावानुवाद-

आध्यात्मिक कारण

जे हुन्छ त्यसको पछाडि एउटा दरिलो आध्यात्मिक कारण हुने कुरामा म विश्वास गर्छु, चाहे त्यसलाई हामी राम्रो वा नराम्रो रुपमा लिऔं । जब मैले यसमाथि गरिरिएर विचार गरें, कोभिड-१९ ले हामीलाई के गरेको छ भन्ने कुरामा मैले केही ज्ञान पाएँ जुन म यहाँहरुसँग बाँढ्न चाहन्छु ।

१. हाम्रो धर्म, सम्प्रदाय, पेशा, वित्तीय अवस्था वा हाम्रो कीर्तिको बावजूद यसले हामीलाई सबै समान छौं भनेर सम्झाएको छ । यो रोगले हामी सबैलाई समानरुपमा व्यवहार गरेको छ र सम्भवतः हामीले पनि यस्तै गर्नुपर्छ । यदि तपाईं विश्वास गर्नुहुँदैन भने टम हान्कलाई सोध्नुहोस् ।

२. यसले हामी सबै एकअर्कासँग जोडिएको कुरा सम्झाएको छ । कसैलाई प्रभाव पार्ने एउटा कुराले अर्कोलाई पनि प्रभाव पार्छ । यो भाइरसलाई राहदानी नचाहिने हुँदा हामीले बनाएको झूटो सीमाको कुनै मूल्य मान्यता नरहेको हामीलाई बताउँछ । यसले हामीलाई छोटो समयका लागि दबाबमा राखेर यो संसारमा दमन र दबाबमा बाँचिरहेकाहरुको अवस्थाको सम्झना गराएको छ ।

३. यसले हामीलाई हाम्रो स्वास्थ्य कति महत्वपूर्ण छ भनेर देखाएको छ र हामी कति अपौष्टिक खाने कुरा खाएर स्वास्थ्यको बेपर्वाह गरिरहेको छौं भनेर सम्झाएको छ ।

४. यसले हामीलाई हाम्रो जीवन कति छोटो छ भनेर सम्झाएको छ र यो छोटो जीवनमा हाम्रो लागि के गर्न आवश्यक छ भन्ने कुरा सिकाएको छ । हामीले गर्नुपर्ने त्यो काम एकअर्काको सहयोग नै हो । विशेषगरी ती बिरामी मानिसहरुको । हाम्रो उद्देश्य भनेको ट्वाइलेट पेपर रोल किन्ने होइन ।

५. यसले हाम्रो समाज कति र कसरी भौतिकवादी बनेको छ भनेर देखाएको छ । आपतको समयमा हाम्रो लागि खाना, पानी र औषधि कति महत्वपूर्ण छ भनेर देखाएको छ, जबकि हामी अन्य समय अनावश्यक वस्तुलाई बढी महत्व दिइरहेका हुन्छौं ।

६. यसले हामीलाई हाम्रो परिवार र घरेलु जिन्दगीको महत्व सिकाएको छ जुन हामी अरु समय बेवास्ता गर्दै आएका छौं । यसले हामीलाई हाम्रो घर फर्कन भनेको छ र घरमा बसेर फेरी परिवार बनाउने र पारिवारिक एकतालाई मजबूत बनाउन मौका दिएको छ ।

हाम्रो वास्तविक काम

७. यसले हामीलाई हाम्रो पेशा हाम्रो वास्तविक काम होइन भनेर सिकाएको छ । त्यो हामीले गर्ने काम हो तर त्यति मात्रै गर्नलाई हामी जन्मिएको होइन, हामीले गर्ने पेशा मात्रै हो भनेर सम्झाएको छ । हाम्रो वास्तविक काम भनेको एकअर्कालाई हेरविचार गर्ने, सुरक्षा दिने र एकअर्काको फाइदाको लागि काम गर्ने हो ।

८. यसले हामीलाई हाम्रो अहंकार वा दम्भको परीक्षण गर्न सम्झाएको छ । हामी आफूलाई जति नै ठूलो सोचौं वा अरुले हामीलाई जति नै ठूलो सोचून् तर एउटा भाइरसले हाम्रो अवस्थालाई निस्क्रिय बनाइदिन सक्छ ।

९. यसले हाम्रो स्वतन्त्र कर्मको शक्ति हाम्रो हातमा रहेको कुरा सिकाएको छ । हामी सहयोगी, दयालु, सहायक बन्छौं वा स्वार्थी, आफ्नो बारेमा मात्र सोच्ने बन्ने हो यो हाम्रो हातमा छ । वास्तवमा अप्ठ्याराहरुले मानिसको असली रुप सामुन्ने ल्याउँछ ।

१०. यसले हामीलाई हामी धैर्यवान हुन सक्छौं वा आत्तिन्छौं भन्ने कुरा देखाएको छ । हामी या त यो अवस्था पहिले पनि विश्वमा आएको थियो र अहिले पनि टरेर जान्छ भनेर बुझ्छौं या त यो नै विश्वको अन्त्य हो भनेर सोचि आत्तिन थाल्छौं ।

११. यसले हामीलाई यो अन्त्य बन्नसक्छ या त नयाँ सुरुवात बन्न सक्छ भनेर सिकाएको छ ।

१२. यसले हामीलाई हाम्रो पृथ्वी बिरामी छ भनेर बताएको छ । हामी हाम्रो ट्वाइलेट पेपरको रोल्स सकिएको जति चाँडो ख्याल गर्छौं, हाम्रो वनविनाशको अवस्थालाई पनि त्यत्ति नै चाँडो बुझ्न सुझाएको छ । हाम्रो घर बिरामी छ । त्यसकारण हामी पनि बिरामी छौं ।

१३. यसले हामी सबैलाई अप्ठ्यारा समयपछि सजिलो समय आउने कुरा सिकाएको छ । जीवन एउटा चक्र जस्तो छ, अहिलेको संकट पनि चक्रको एउटा चरण हो , हामी आत्तिनु हुँदैन, यो पनि टरेर जान्छ ।

१४. धेरैले कोरोना (भाइरस कोभिड-१९) लाई ठूलो प्रकोपको रुपमा देखिरहँदा मैले यसलाई एउटा गल्ती सच्याउने मौकाको रुपमा देखेको छु । हामीले बिर्सिएको महत्वपूर्ण पाठ यसले सम्झाएको छ । हामीले यसबाट पाठ सिक्ने कि नसिक्ने त्यो हामीमै निर्भर छ ।

 

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय