scheduleमगलवार चैत्र २५ गते, २०७६

ट्रम्पको असन्तुलित अभिव्यक्तिपछि संयुक्त राष्ट्र संघले भन्‍यो- विवाद होइन, सहकार्य गरौं


संयुक्त राष्ट्रसंघ, १३ चैत । संयुक्त राष्ट्रसंघका महासचिवले कोरोनाभाइरस महामारीलाई सम्पूर्ण मानवताका लागि खतरा भन्दै त्यसविरुद्ध सबै विश्वसमुदायबीच सहकार्यको आवश्यकता रहेको बताएका छन् । एन्टोनियो गुटेर्रेसले देशहरूको एक्लाएक्लै लडाइँ पर्याप्त नहुने बिहीबार बताए ।

आधारभूत स्वास्थ्य सेवा समेत नभएका जोखिमपूर्ण देशहरूलाई मद्दत गर्न राष्ट्रसंघले दुई अर्ब डलर कोषको घोषणा गरेको छ ।

महासचिव गुटेर्रेसले भने, ‘यदि यो महामारीलाई विकसित मुलुकहरूमा नियन्त्रण गरिन्छ तर यदि यसलाई विकासोन्मुख देशहरूमा डढेलो जसरी फैलिन दिइन्छ भने दशौँ लाख मानिसको ज्यान जान सक्छ ।’

Dish_Home

‘त्यति मात्र होइन त्यसले भाइरसलाई स्वरूप परिवर्तन गर्ने अवसर पनि दिनेछ र परिवर्तित भाइरसले बनेका खोप पनि काम नलाग्ने गरी फेरि सबैलाई आक्रमण गर्न सक्नेछ । त्यसैले यो लडाइँ आधामात्र लड्न सकिँदैन,’ उनले भने ।

यसैबीच विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले परीक्षण, क्वारन्टीन तथा सङ्क्रमणका स्रोतको निरन्तर खोजीको आवश्यकतामाथि जोड दिएको छ ।

सङ्क्रमणबाट अति प्रभावित इटलीको प्रयासलाई प्रशंसा गर्दै विस्तारै उसका प्रयासले नतिजा ल्याउने राम्रा सङ्केत देखिएको डब्ल्यूएचओले बताएको छ ।

यसअघि उनले कोरोनाभाइरस प्रकोपका माझ विश्वभरि चलिरहेका द्वन्द्वको युद्धविराम गरिनुपर्ने बताएका थिए ।

राष्ट्रसंघले एकताबद्ध लडाइँको महत्त्व बताइरहँदा शक्तिशाली देशहरूमाझ भाइरसलाई लिएर मतभेद देखिएका छन् ।

सम्पन्न देशहरूको समूह जी सेभेनका विदेशमन्त्रीहरूमाझ कोरोनाभाइरसको स्रोतसम्बन्धी वक्तव्यमा राखिने वाक्यबारे मतभेद भएको थियो ।

अमेरिकाले वक्तव्यमा ‘चीनको नियतवश गलत सूचना अभियान’ उल्लेख हुनुपर्ने बताएको थियो, तर अन्य कैयौँ सदस्य देशहरूले भने त्यसलाई अनावश्यक विभाजनकारी भनेर अस्वीकार गरेका थिए ।

अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले बैठकलाई कूटनीतिज्ञहरूमाझ चीनले भाइरसको स्रोतबारे अनर्गल षड्यन्त्रका सिद्धान्त फैलाइरहेको जानकारी रहेको बताएका थिए ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले कोभिड–१९ लाई ‘चिनियाँ भाइरस’ बताउने गर्नुभएको छ भने वरिष्ठ चिनियाँ अधिकारीहरूले उक्त भाइरस ‘अमेरिकी सेना’ ले चीन भित्राएको आरोप लगाएका छन् ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय