कोरोना राहत कोषमा सांसद सिम्खडाको एक महिनाको तलब
धादिङ, १४ चैत । बागमती प्रदेश सांसद जगतबहादुर सिंखडाले आफ्नो एक महिनाको तलब सरकारले बनाएको कोरोना भाइरस (कोभिड-१९) कोषमा जम्मा गर्ने घोषणा गरेका छन् ।
अखिल नेपाल ट्रेड युनियन महासंघका केन्द्रीय अध्यक्ष समेत रहेका सिम्खडाले सरकारी कोषमा प्रदेश सांसदको रुपमा पाउने एक महिनाको तलब जम्मा गर्ने घोषणा गरेका हुन् ।
सांसद सिंखडाले कोरोनाको महामारीविरुद्ध जुध्नका लागि सरकारले गरेका निर्णयहरुलाई आत्मसाथ गर्न अखिल नेपाल ट्रेड युनियन सम्बद्ध सबैलाई र आफ्ना मतदाताहरुलाई अपिल गरेका छन् । ‘यो महामारीबाट सामान्य इच्छाशक्ति र अठोटले पार पाउन सकिन्न, हामी सबै एकजुट भएर सरकारी निर्णयहरुको पालना गरौं र आत्मअनुशासनमा बसेर एकले अर्कालाई सघाऔं,’ उनले भने ।