scheduleसोमवार आषाढ़ २९ गते, २०७७

ओलीकै नेतृत्वमा जित्न सकिएला कोरोना विरुद्धको युद्ध ?

युद्ध नियमले भन्छ– जस्तो प्रवृत्तिको युद्ध, उस्तै चरित्रको कमाण्डर चाहिन्छ

साझापोष्ट टिप्पणी/काठमाडौं, १५ चैत । भनिन्छ– संकट भनेकै सम्भवलाई असम्भव र असम्भवलाई सम्भव बनाउन सकिने समय हो । सामान्य अवस्थामा समयको गति जुन दरमा हुन्छ, असामान्य अवस्थामा त्यो भन्दा छिटोछिटो चलिरहेको हुन्छ । सामान्य अवस्थामा समयको गति ढिलो हुने हुँदा कुनै कमजोरी भइहाले त्यसको असर ढिलो पर्दछ । सच्याउन सकिन्छ । तर असामान्य अवस्थामा समय यति छिटो हुन्छ कि ठीक निर्णय गर्न नसके कमजोरी सच्याउने अवसर नै हुँदैन ।

यो नियम हरेक असामान्य अवस्थामा लागू हुन्छ र युद्ध आफैंमा एक असामान्य अवस्था हो । अहिले सिंगो मानव जाति एक युद्धमा छ । यो युद्ध विगतका धेरै युद्धजस्तो जाति–जाति, सेना–सेना बीचको युद्ध हैन । राष्ट्र–राष्ट्र, राज्य–राज्य, देश–देश बीचको युद्ध हैन । यो युद्धमा एकातिर मान्छे छ, मानव जाति छ, मानव जातिको अस्तित्वको प्रश्न छ, अर्कोतिर कोरोना नामको सुक्ष्म जीवाणु छ ।

युद्धको प्रवृति युद्धमा संलग्न पक्षको चरित्रले निर्धारण गर्दछ । यो युुद्धको प्रवृत्तिको मुख्य निर्धारक तत्व कोरोना जीवाणुको प्रवृत्ति हो । यसको संक्रमित गर्ने क्षमता हो । यो जीवाणु ज्यामितीय दरमा संक्रमित हुन सक्दछ । पहिलो लहरको ४४ दिनमा यो जीवाणु जति फैलियो, दोस्रो लहरको ११ दिनमा त्यति नै फैलियो, तेस्रो लहरको ४ दिनमा उत्तिनै फैलियो । चौथो लहरमा पुग्दा यो प्रतिदिन दोब्बर हुनेछ यदि यसको संक्रमण हुने गति र बाटोलाई अवरोध गर्न सकिएन भने ।

कोरोनाको यो स्वभावले प्रष्ट गर्दछ कि त्यसको विपक्षमा युद्धरत मान्छेले पनि आफ्नो रणनीति छिटोछिटो बनाउन सक्नु पर्दछ । एकातिर अत्यन्त द्रूत गतिको दुश्मन छ, त्यसको तुलनामा मान्छे ढिलो भयो भने यो युद्ध जित्न मान्छेलाई निक्कै गाह्रो हुनेछ ।

कोरोनाले अहिलेसम्म मान्छेलाई जति क्षति गरेको छ, त्यो कुरो बुझ्न ढिलो गरेकै कारणले गरेको छ । चीनले कुरा ढिलो बुझ्यो । उस्ले कोरोनाको पहिलो जानकारी दिने वुहान नगर अस्पतालका दुई डाक्टरलाई नै अफवाह फैलाएको भनेर थुनामा राख्यो । त्यसमध्ये एक को त थुनामै मृत्यु भयो । करिब ८०० मान्छे मरेपछि मात्र चीनले कुरा बुझ्यो र आफ्नो रणनीति बनायो । त्यसपछि त्यो रोकियो ।

युरोपेली देशहरुले कोरोनाको चरित्रको भेउ धेरै ढिलो पाए । जब कुरा बुझे, कोरोना अगाडि मान्छे पछाडि भइसकेको थियो । इरानले त्यही गल्ती गर्‍यो । इरानी सर्वोच्च नेता आफ्ना करिब २०० नागरिक मरुन्जेल पनि यो अमेरिकाले फैलाएको अफवाह हो भनेर ढुक्क थिए ।

अर्को गल्ती अमेरिका आफैले गर्‍यो । अमेरिकालाई लाग्यो कि ‘चिनियाँ भाइरस’ हो कम्युनिष्ट देश तिर मात्र जान्छ, अमेरिका आउँदैन । अर्थात् यी सबै दृष्टान्तमा कोरोनाको गति छिटो थियो । मान्छेको गति ढिलो भयो । कोरोना फाष्ट देखियो, मान्छे स्लो । कोरोनाले आफ्नो रणनीति सजिलै बनायो, मान्छेको आफ्नो रणनीति भएन ।

अब प्रश्न उठ्छ– युद्धमा रणनीति कस्ले बनाउँछ ? निश्चय नै कमाण्डरले । जुन युद्धमा कमाण्डरले सही रणनीति बनाउन सक्दैन, त्यस्तो युद्ध सिपाहीले मात्र जित्न सक्दैनन् । कोरोनाविरुद्धको लडाइँमा हाम्रो नेतृत्वले पनि केही गल्ती गरिसक्यो ।

पहिलो गल्ती भ्रमण बर्षको मोह वेलैमा त्याग्न नसक्नु थियो । वुहानमा कोरोना डिसेम्बरमा देखिएको थियो– जनवरीमा भ्रमण बर्षको उत्सव गर्न र नेपाल भ्रमणको निम्तो दिँदै हिड्न जरुरी थिएन । दोस्रो गल्ती वेलैमा अन्तर्राष्ट्रिय उडानहरु नरोक्नु थियो । फेब्रुअरी १५ पछि अरु देशले अन्तर्राष्ट्रिय उडान रोकिसकेका थिए नेपालमा मार्च २१ सम्म जारी थियो । तेस्रो गल्ती नेपाल–भारत सीमा सिल गर्ने निर्णय बेलैमा गर्न नसक्नु र भारतबाट फर्किनेहरुका लागि पर्याप्त क्वारेन्टाइनहरु व्यवस्था गर्न नसक्नु थियो ।

यदि हामीसँग चुस्त, सही सूचना लिनदिन सक्ने, सूचना विश्लेषण गर्न सक्ने, रणनीति बनाउन सक्ने र बनाएको रणनीति निर्ममतापूर्वक लागू गर्न सक्ने नेतृत्व हुन्थ्यो भने सायद यी गल्ती हुँदैनथे । किनकी समय पर्याप्त थियो । डिसेम्बरमा कन्फ्युज थियो लौ मानौं । जनवरीदेखि तयारी शुरुवात गरेको भए ३ महिना कम समय थिएन ।

आज बुझिँदैछ– राज्यको खासै तयारी छैन । मान्छे निराश नहुन्, नआत्तिउन्, नडराउन् भनेर ढाडस दिन मात्र छ, छ भनिँदैछ । अन्यथा नेपाल अहिलेसम्म जति जोगिएको छ, संयोगिक कारणले जोगिएको छ । पशुपतिनाथको कारणले जोगिएको छ । कमाण्डरको चलाखी, चातुर्य र सही रणनीतिको कारणले हैन । तथापि पछिल्ला प्रयासहरुलाई जस दिनै पर्दछ । कम्तीमा थोरै क्षति हुँदै लकडाउन भएको छ ।

कोरोनाविरुद्धको यो लडाइँमा हाम्रा सुप्रिम कमाण्डर इन चिफ प्रधानमन्त्री केपी ओली आफै बिमार छन् । मानवीय हिसाबले उनले महिनौं लामो आराम गर्नुपर्ने अवस्था छ । लेफ्टिनेन्ट जर्नेलका रुपमा ४ मन्त्री देखिएका छन् । रक्षामन्त्री इश्वर पोख्रेल, गृहमन्त्री रामबहादुर थापा बादल, अर्थमन्त्री युवराज खतिवडा र स्वास्थ्यमन्त्री भानुभक्त ढकाल । समस्या कहाँनेर छ भने युनिफाइड कामण्डका लागि कमाण्डर इन चिफको दिनन्दैनी अनुगमन, निर्देशन र समन्वय चहिन्छ । त्यो छैन । त्यो भूमिका गर्न सक्ने अवस्थामा प्रधानमन्त्री ओली छैनन् ।

रक्षामन्त्री पोख्रेल आक्रमणको भूमिकामा छन् तर उनको कौशलता अझै प्रस्फुटित छैन । गृहमन्त्री यो टिममा सायद निर्णायक हैनन्, बलिया सहयोगी हुन् । तसर्थ उनका बारेमा धेरै चर्चा गर्नु आवश्यक छैन । स्वास्थ्यमन्त्रीले शैलीको अपरिपक्वताका कारण विश्वासनीयता गुमाएका छन् भने अर्थमन्त्री खतिवडा ढुंगाको देवताजस्तो बनेका छन् । अर्थमन्त्री खतिवडाका आर्थिक नीतिहरु स्वयं उनका हुन् वा प्रधानमन्त्री ओेलीका छुट्याउने सीमारेखा देखिन्न ।

संसदीय व्यवस्था र क्याविनेट प्रणालीमा अर्थमन्त्री निर्णायक हैन, प्रधानमन्त्रीका आर्थिक नीतिहरुको प्रशासनिक संवाहक मात्र हो । तर ओली मौन छन् । अर्थमन्त्रीले आपतकालीन अर्थतन्त्रका चरित्र र त्यसलाई सुझाउने उपायको भेउ पाउन सकिरहेका छैनन् । अर्थमन्त्री आपतकालीन आर्थिक प्याकेज ल्याउन अझै ढिलो गर्दैछन् जबकी द्रूत अवधिमा ढिलो गर्नु गलत रणनीति हो ।

यो लडाइँमा सम्पूर्ण जनता सिपाही हुन् । सिपाहीले आफ्नो कमाण्डर इन चिफको रणनीतिको मुख्य अंश बुझ्नु पर्दछ । अनि मात्र सिपाही उत्साही हुन्छन् र ठीक ढंगले लड्न सक्दछ । लकडाउनसम्मको कुरा जनताले बुझे । सरकारको बाँकी रणनीति जनताले बुझेका छैनन् । कोरोनाविरुद्धको लडाइँमा जनता रोलकल र व्रिफिङ विनाका सिपाही जस्ता छन्, जो युद्ध मैदानमा त छन् तर के गर्नु हुन्छ, के गर्नु हुन्न थाहा छैन ।

यस्तो मनोदशामा ब्याकफायर हुन सक्दछ । असल नियतले गरिएका कामको पनि गलत परिणाम आउन सक्दछ । कोरोनाविरुद्धको लडाइँमा कमाण्डर–इन–चिफको भूमिकामा रहेका प्रधानमन्त्री ओलीले समग्र युद्धका आम रणनीतिहरु आफ्ना सिपाहीलाई प्रष्ट भन्न सक्नु पर्दछ । त्यो पनि छिटो । किनकी कोरोना धेरै छिटो चालको दुश्मन हो, ढिलो गरी योसँग लड्नै सकिन्न ।

तर ओलीको व्यक्तिगत स्थिति हेर्दा उनी यो युद्धको नेतृत्व गर्न लायक सेनापति हुन् कि हैनन् भन्ने द्विविधा उत्पन्न हुन्छ । मृगौला प्रत्यारोपण दोस्रो चोटी सफल भएको छ । बुढ्यौली उमेरको शरीर छ । बेलाबेला अनेक साइड इफेक्टहरु देखा परिरहन्छ । बारम्बार अस्पताल गइरहनु पर्दछ ।

बहुआयामिक तबरले सूचना संकलन, विश्लेषण, रणनीति निर्माण, निर्देशन, समन्वय, कार्यान्वयन र अनुगमन यी सबै काम कमाण्डर इन चिफको अभावमा कसले गर्ने ? कसले गर्दै होला ? युद्धको नेतृत्व भनेको कुनै टुप्पोको पदमा बस्नु मात्र हैन । त्यो पदले माग गर्ने जिम्मेवारी निभाउने तत्परता, क्षमता, कौशलता, इच्छाशक्ति र सक्रियता पनि हो ।

त्यसैले धेरैको मनमा यो प्रश्न बारम्बार उब्जिन्छ – ओलीकै नेतृत्वमा जित्न सकिएला त कोरोना विरुद्धको युद्ध ? ठ्याक्कै उत्तर दिन सक्ने अवस्थामा कोही छैनन् । आशा गर्नु बाहेक सायद यो प्रश्नको कुनै उत्तर पनि छैन ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय