scheduleबुधवार आषाढ़ ३१ गते, २०७७

घुमघामः सगरमाथा आधार शिविरबाट सरकारलाई नियाल्दा

पंकज राई

भनिन्छ- यात्रामा पैतालाका डोबहरु छाड्नुपर्छ र यादहरु सम्हालेर राख्नुपर्छ मनभित्र ।

सगरमाथा बेसक्याम्प जाने बाटोभरी मैले पनि मेरा दुई पैतालाका हजारौं दृश्य-अदृश्य डोबहरु छाडेर आएको छु ।
र, मनभरि सम्हालेर ल्याएको छु ती यादहरु ।

यादहरु, अनुभव-अनुभूतिहरु बाँढ्नुपर्छ भन्छन् । बाँढ्न मन लाग्यो ।

वस्तु एउटै हो । बाटो एउटै हो । हजारौं मानिसहरु हिंड्छन् । न पैतालाका डोबहरु मिल्छन् न अनुभूतिका श्रृंखलाहरु ।

अँ, डोबहरु कहिलेकाँही मिल्न सक्लान् । अथवा पदचापहरुका आवाजहरु उस्तै सुनिन सक्लान् तर अनुभूतिमा अनुरुपता हुँदैन होला । किनकि प्रकृतिका हरेक जीवहरु फरक फरक हुन्छन् । मान्छेहरुको पनि सोच्ने र ग्रहण गर्ने तरिकाहरु फरक फरक हुन्छन् । उस्तै उस्तै हुन सक्ला उही हुँदैनन् ।

यात्रालाई एउटा स्वस्थ कुलत भनिन्छ । मलाई पनि छ । यहाँ म लत र कुलतको कुरा गर्न गइरहेको छैन । म गर्न गइरहेको छु केही यात्रा र यादहरुको कुरा ।

दिल्लीमा दिल्ली विधानसभाको चुनाव चलिरहेको थियो । दिल्लीको चुनावलाई प्रत्यक्ष अनुभव गर्नुपर्छ भनेर हामी दिल्ली पुगेका थियौं ।

दिल्लीका दैलोहरुमा फरकफरक मानिसहरुसँग भेटघाट र घुमघाम चलिरहेकै थियो । अचानक भाइबरमार्फत् सन्देश आयो । भाइबरमा भाइब्रेसनसहित आएको सन्देश पढ्न हतारिएँ । किनकी विदेशमा हुँदा स्वदेशलाई बढी मिस गरिन्छ । सम्झनाहरु र सम्झिनेहरुले भाइवर र म्यासेन्जरमार्फत् खबर पठाइरहेका हुन्छन् ।

‘मार्च १० मा सगरमाथा आधार शिविर भ्रमण गर्न जाने हो ?’ प्रश्न र प्रस्ताव रहेछ ।

मैले एकछिन निर्णय लिनै सकिनँ र मागेँ एक साताको समय । फुर्सद्मा सबै कार्यक्रम, व्यवसायिक कामको तालिका हेरेँ । यो अवसर हो भन्ने लाग्यो र मलाई निम्तो दिने मित्र सुरज ज्ञवालीलाई भनेँ, ‘हुन्छ म तयार छु ।’

मित्र सुरजजी ट्राभल एजेन्सीमा कार्यरत पथप्रदर्शक हुनुहुन्छ । हाम्रो टिममा हामी ८ जना रहेछौं । गज्जबको विविधता थियो टिममा । एक/एकजना अमेरिका, आयरल्याण्ड र अष्ट्रियाका नागरिक, २/२ जना नेपाली, बेलायती र ३ जना अष्ट्रेलियन नागरिक । केवल दुईजना महिला र अन्य सबै पुरुष ।

निर्णय गरिसकेका थियौं । टिकट लगायत सबै कुराको तयारी भइसकेको थियो ।

विश्वमा कोरोना भाइरसबारे डरलाग्दो समाचार आइरहेकै थियो । तर, नेपालमा अवस्था सामान्य नै थियो । मार्च १० मा बिहान ७:४५ को उडान थियो र हामी ७:१० बजे एयरपोर्ट पुग्यौं । स्वभाविकै हो, नेपालमा ढिलासुस्ती भइरहन्छ । भनिन्छ नि कुकुरले मान्छेलाई टोके समाचार बन्दैन तर, मान्छेले कुकुरलाई टोके समाचार बन्छ । उडान २ घण्टा जस्तो ढिला भयो । यो समाचार होइन हाम्रो लागि । सम्भवतः डिले नभए खबर बन्थ्यो कि । तर मैले यो सोच तपाईंलाई बाँढेँ किनकि म विदेशीहरुसँग थिएँ । संवाद त्यस्तै भएको थियो हाम्रो त्यहाँ, जहाँ हामी कुरिरहेका थियौं विमान । अन्ततः हामी सवा ९ बजे काठमाडौंबाट लुक्लाको लागि उड्यौं ।

बिहान सवा १० बजे हाम्रो टोली लुक्या पुग्यो । हवाईजहाजबाट झर्ने बित्तिकै कहाँ कहाँ पुगेजस्तो भयो । अहो, नेपालमा पनि यस्तो ठाउँ छ र भनेजस्तो लाग्यो । हामी देशभित्र घुम्न सक्ने हैसियत हाम्रो अझै भएको रहेनछ कि भन्ने लाग्यो । यस्तै यस्तै विचारहरु मन/मष्तिष्कमा आयो ।

टिममा थियौं । कहाँ बस्ने, कहाँ खाने, कहाँ सुत्ने भन्ने कुराको कुनै तनाव थिएन । सबै पूर्वनिर्धारित नै थियो । त्यहीअनुसार हामी लुक्लाको एउटा होटेलमा पस्यौं र बिहानको खाना खायौं । पाहुनाहरुको सामान त्यहाँबाट पोर्टरहरुले लग्ने रहेछन् । पोर्टरहरु होइनन् हिरोहरु । मलाई पहिलोपटक थाहा भयो उनीहरुलाई हिरो भन्दा रहेछन् ट्राभल अफिसहरुले ।

शब्दको अर्थ पनि सापेक्ष हुन्छ । ठिकै अभ्यास रहेछ भन्ने लाग्यो । शब्दको अर्थ फेर्नु पर्‍यो कि शब्द नै । शब्दले पनि मान्छेलाई कति सम्मानित महसुस गराउँछ । हामीसँग तीनजना हिरोहरु थिए ।

आज हाम्रो यात्रा लुक्लाबाट फाकदिङसम्मको थियो । धेरै उचाईमा पुग्नु थियो । त्यसकारण हाम्रो शरीरलाई मौसम र त्यहाँको उचाईसँग सन्तुलन मिलाउन सकिने प्रकारको पैदल यात्राको तालिका थियो ।

पैदल यात्रा गर्दा मनमोहक प्राकृतिक दृश्यहरु देखिए । गर्वले छाती फुलिरह्यो । लाग्यो- छाती फुलाउन जिममा गरेर तौल उठाउनु नै पर्दो रहेनछ ।

खलखल पसिना बगिरहेछ । चिसो हावा चलिरहेछ । प्रकृतिले गीत गाइरहेछ । आँखाले रमाइरमाइ हेरिरहेछन् सेतै फुलेका हिमलहरीहरु । हिमालसँग नजिकै पुगेपछि अग्लाई थाहा हुन्छ । चिसो चिसो सिरेटोले शरीरलाई बिना अनुमति स्पर्श गर्दा एकप्रकारले मन रोमाञ्चक बनिरहेको थियो ।

प्रकृतिले हामीलाई रमाउन र खुसी हुन धेरै कुरा दिएका छन् । तर हामी कहाँ के खोजिरहेका छौं ? कहाँ हराइरहेका छौं ?

हिंड्दै जाँदा जब स्थानीय मानिसहरुसँग अन्तरक्रिया हुनथाल्यो, लाग्यो- हिमालले मान्छेलाई सित्तैमा खुसी दिँदैन रहेछ । सात समुद्रका मानिसहरु यही हिमाल हेरेर खुसी हुन पैसा खर्च गरिरहेका छन् । अर्कोतिर हिमालको काखमै जन्मिएर हुर्किएका मानिसहरुले खुसी हुने बहानाहरु भेटिरहेका छैनन् कि ? जति जति मान्छेहरुसँग गफ गर्दै गएँ । बडो खिन्नता जन्मँदै हुर्कन थाल्यो मनको गर्भाशयमा ।

सगरमाथा क्षेत्रमा प्रायः शेर्पा, राई, तामाङ र भरियाहरु भेटिने रहेछन् । सोलुखुम्बु जिल्लाका थुलुङ्ग, माकुलुङ्ग, साेताङ्ग गाउँपालिकाबाट प्रायः दलितहरु आउने रहेछन् ।

किराँतमा कुलुङ्ग (राईहरु) धेरै मात्रामा देखिए । त्यहाँको जनजीवन एकदमै कष्टकर रहेको पाएँ । सोलारबाट बिजुली निकालेर प्रयोग गरिनेरहेछ । ३ घण्टा हिंडिसकेपछि हामी फाकदिङ पुग्यौं र एकछिन आराम गरेर हामी हाइकिङ गर्न त्यहीँ नजिकको गाउँमा गयौं जहाँ गुम्बा थियो । प्रायः यहाँ बुद्ध धर्म मान्ने समुदाय रहेछन् ।

कार्यक्रमको तालिकाअनुसार दोस्रो र तेस्रो दिन नाम्चे बजार (३४४० मिटर), चौथो दिन तङ्गबोचे (३८६० मिटर), पाँचौं र छैटौं दिन दिङ्गबोचे (४३५०), सातौं दिन लुबुचे (४९१० मिटर) र आठौं दिन गोरकछेप (५१८० मिटर) र यही आठौं दिनको ठीक १:४५ बजे हामी सगरमाथा आधार शिविर पुग्यौं । जुन ५३६४ मिटर अर्थात् १७७०१ फिट हो । काठमाडौं भैरहवा आउँदा हवाईजहाज १४/१५००० फिट उड्छ । त्योभन्दा माथि उचाईमा हिंडेर पुग्दा गर्व लाग्ने नै भयो । अझ विश्वकै अग्लो हिमाल हेर्दा, हेर्न पाउँदा खुसीको सीमा नै थिएन ।

सगरमाथा नेशनल पार्कभित्र यात्रा गर्दा सबैभन्दा मलाई मनपरेको आवाज थिए- चराको, हावाको, खोलाको । यी आवाजहरु सुन्दै यात्रा गर्दा प्रकृतिसँग जोडिएझैं लाग्ने र अद्भूत आनन्द प्राप्त हुँदो रहेछ । स्वर्ग पुगेर साधना गरेजस्तै । प्रकृतिको यो अलौकिक झंकारलाई मानव निर्मित हेलिकप्टरका ध्वनि प्रदूषण गरी राखेको हुन्थ्यो ।

प्रकृतिले मान्छे बनायो । मान्छे प्रकृतिको छाति चिथोरिरहेछ । प्रकृतिको दोहन गरिरहेको छ । यति दोहन कि जसले निर्ममताको पराकाष्ठा नाघिरहेको छ । यसैले हो कि कोरोनाले याद गरेको मानिसलाई । मान्छे आफू चल्न आफैंले संविधान बनाउँछ, नियम बनाउँछ, कानून बनाउँछ । हाम्रो साझा घर पृथ्वी अर्थात् प्रकृतिका नियमहरु मान्दैन । प्रकृति अनि वाध्य हुन्छिन् होला आफ्नै सन्तान तह लगाउन । यस्तै-यस्तै तर्कनाहरु मनमा खेलिरहे ।

भिजिट नेपाल २०२० को तयारी चलिरहेको हुँदा हाम्रो पर्यटनमन्त्री विदेश जानु भएको थियो प्रचार गर्न तर यहाँको गन्तव्यमा जे हेर्न पर्यटन आउने हुने, त्यहाँ कुनै तयारी नै रहेनछ ।

पर्यटन भनेको गरिबी बेच्नु होइन । पर्यटन भनेको हिमाल देखाउनु र पैसा तिर्न लगाउनु मात्रै होइन होला । हामीले दिुनुपर्ने हो पूर्ण प्याकेज । जहाँ स्थानीय कला संस्कृति होओस्, जहाँ न्यूनतम् पूर्वाधारहरु होऊन् । जहाँ पर्यटकले चाहेका कुरा पाउनु जतिसम्म न्यायोचित छ ।

त्यसो त, पर्यटनमा रिभिजिटेड कस्टमरको ठूलो महत्व हुन्छ । हामीले आएकाहरुलाई राम्रो स्वागत गर्न सक्यौ, सत्कार गर्न सक्यौं र मन जित्न सक्यौं भने उनीहरुले संसारभरी निशुल्क प्रचार गर्छन् । घर नाङ्गै राखेर गोठ सिगार्ने नाटक हाम्रा नेताहरुले किन गरिरहेका होलान् ? यो प्रश्नको औचित्य सगरमाथाको फेदतिर उकालो चढिरहँदा राम्रोसँग पुष्टि हुँदोरहेछ ।

सगरमाथा आधार शिविरमा यात्रामा सबैभन्दा भरपर्दो आहारा भनेको पानी हो । पानी पिउँदै हिंड्नुपर्छ र पानी धेरै खाएपछि आउने पिसाब हो । पुरुषलाई सजिलो छ हिमाल हेर्दै पिसाब फेर्न । तर महिलालाई धेरै गाह्रो भएको थियो । कम्तिमा केही किलोमिटरको दूरीमा अस्थायी नै भए पनि शौचालयको व्यवस्थापन गरिनुपर्छ जस्तो लाग्यो ।

पहिलो- विश्वबाट आएका महिलालाई त समस्या थिएन । महिला-पुरुषमा समानता छ । तर यदि आन्तरिक पर्यटक पनि बढाउने हो भने प्रथम चरणमा शौचालयको व्यवस्थापन गर्नु नै पर्ने जस्तो लाग्यो ।

दोस्रो- कुरा लुक्लाबाट गुरुपचेसम्म सबै शेर्पा नाम छ तर चुमलुङ्ग्मा अर्थात् सगरमाथा अर्थात् माउन्ट एभरेष्ट भनेर अनुवाद गरिएको रहेछ । यहाँ हुनुपर्ने त चुमलुङ्गमाको हो नि अत्यधिक प्रचार । सगरमाथाको अनुवादित भाषाको प्रचार भइरहेको छ । मुख्य कारण यही भएर पनि यहाँ स्थानीयमा आवश्यक जोशजाँगर देखिँदैन । जसरी त्यहाँका समुदायको भाषा र संस्कृति राज्यले अपहरण गर्‍यो, पर्यटकहरुलाई पनि त्यस्तै व्यवहार भएको देखियो ।

त्यहाँ दुःख कष्ट गरेर जाने हो । हेर्ने भनेको हिमाल मात्रै हो । यहाँको कला-संस्कृति केही हेर्न पाइँदैन ।

त्यहाँ त नेपाल सरकारलाई भन्दा एडमण्ड हिलालाई धेरै मान्दा रहेछन् । किनभने त्यहाँ भौतिक पूर्वाधार, पर्यावरणको सुरक्षा, विद्यालय, स्वास्थ्य आदि काम नै उनले गरेका रहेछन् । केही बाटो भने शेर्पा समुदाय पनि सरकारको नजिक भएर आसेपासे पुँजीपति हुँदै बनाएका । तर आफ्नो भाषा संस्कृति कला दिनप्रतिदिन लोप हुँदै गरेको महसुस नगरेको देखियो ।

तेस्रो- अहिलेको नयाँ पुस्ता भन्नेहरु सबै कि काठमाडौं कि विदेश पलायन भएको देखियो । नाँम्चे बजारमा रहेको एउटा मात्रै लाइब्रेरी पनि बन्द भएको धेरै भएछ । कारण पढ्ने मान्छे नभएर । भाषाको कारणले गर्दा पढ्न छोड्ने युवाहरु बढ्दो देखियो ।

चौथो- आन्तरिक पर्यटक यो क्षेत्रमा बढ्ने सम्भावना धेरै कम छ । किनभने यहाँ घुम्न आउने पैसाले थाइल्याण्ड, बाली, मलेसिया, सिंगापुर जस्तो देश घुम्न पुग्छ । अझै सस्तो पनि हुनजान्छ । कारण महंगी हो । पानीको ४००, तातो पानीको ३००, मोबाइल चार्ज ३५०, कोक ५००, खानेकुराहरु पनि अत्यधिक महंगो ।

सामान ढुवानीको समस्या, थोरै महिना मात्रै सवारी चल्ने हुँदा सामानहरु महंगो भएको भन्ने तर्क त्यहाँका स्थानीयबासीको छ । तर, यो तर्क त्यति चित्तबुझ्दो लागेन । हेलिकप्टर, हवाईजहाजले धेरै कम रकममा र चिनजान छ भने फ्रीमा पनि सामान ल्याई दिएको देखियो । तर सामानको मूल्य भने अत्यधिक महंगो ।

पाँचौं- यो क्षेत्रमा प्लाष्टिक प्रदुषण एकदमै बढेको छ । त्यहाँको जंगलले वर्षमा २२ केजी कार्बन लिएर पर्यावरणलाई सन्तुलित बनाएको छ । यसरी प्लाष्टिकको दुरुपयोग हुँदा त्यहाँका जनावर चराचुरुङ्गीहरु लोप हुने हो भने विश्वले ठूलो संकट व्यहोर्नुपर्छ । यो क्षेत्रलाई प्लाष्टिकमुक्त क्षेत्र तत्काल घोषणा गर्नुपर्छ र कडाईको साथ कार्यान्वयन गर्नुपर्छ ।

यति धेरै समस्या हुँदै गर्दा पनि यो प्रदेश नं. १ मा पर्छ । जुन सम्मानीय प्रधानमन्त्री खड्गप्रसाद ओलीको प्रदेश हो । पर्यटन क्षेत्रमा सगरमाथा आधार शिविरलाई मात्र व्यवस्थित गर्न सक्ने हो भने नेपालको अर्थतन्त्रमै ठूलो टेवा पुग्छ । भ्यू टावर बनाउन भन्दा पहिला यो क्षेत्रमा विकास गर्नुपर्छ । स्थानीय जनतालाई शिक्षा, स्वास्थ्य, गुणस्तरीय दिनुपर्छ । मातृभाषामा पढ्ने पाठ्यसामग्री तत्काल व्यवस्थापन गर्नुपर्छ । भौतिक पूर्वाधारमा केबलकारको लागि अध्ययन गर्नुपर्छ । यहाँ मोटर बाटो जानु हुँदैन । यहाँ प्रवेश गर्दा सार्क बाहिरका विदेशीलाई ३ हजार, सार्क देशका पर्यटकलाई १५ सय, नेपालीहरुलाई १५० शुल्क लिने गरिन्छ ।

२०१९ मा मात्रै ५२२०८ पर्यट भित्रिएका रहेछन् यहाँ । २०१९ मा कुनै प्रचार गरेर पर्यटक भित्रिएको हैन । यहाँ आउने विदेशी पर्यटक यसको महत्व बुझेर आफैं आउँछन् । सरकारले गर्ने प्रचारले बढ्ने भनेको आन्तरिक पर्यटक हो । तर यस्तो महंगीले आन्तरिक पर्यटक बढ्ने सम्भावना धेरै न्यून छ । यो क्षेत्रमा विदेशी पर्यटकहरु कृतिमान कायम गर्न, हनिमुन मनाउन, प्रकृतिसँग रमाउन, एकैपटकमा धेरै हिमालयहरु हेर्न आउँछन् ।

नेपालको सरकारको पर्यटन क्षेत्रमा राम्रोसँग ध्यान पुग्यो भने अर्थतन्त्रले ठूलो फड्को मार्न सक्छ । नभए हाम्रो देश नेपाल कस्तुरी मृगको अवस्थामा हुन्छ । छिमेकी मुलुकको अनुदानको भरपर्ने र संकटमा फसेर राष्ट्रघाती सन्धिहरु गरेर जनतालाई सधैं ऋणको भारी बोकाई राख्ने मात्र हुन्छ ।

केही गरौं । गाली गर्न राजा छैनन् । अस्थिरता छैन । गाली गर्नुछ भने आफ्नै कमजोरीलाई गाली गरौं । आफ्नो असक्षमताका कारण नागरिकलाई सुनको थाल थापेर माग्न नराखौं ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय