scheduleआइतवार जेष्ठ १८ गते, २०७७

कोरोना-विमर्शका अनेक आयाम

डम्बर खतिवडा

कोरोना ! कोरोना !! कोरोना !!!

लाग्थ्यो–प्रलय/प्रकोप त सृष्टिको नियम नै हो । त्यो हुन्छ नै कुनै दिन । तर यति छिट्टै, आफ्नै जीवनकालमा, आँखा अगाडि होला, यति गहीरो अनुभूति गर्नुपर्ला भन्ने सोचिएनछ । कोरोना इपिसेन्टर बनेका इटाली, स्पेन, इरान, अमेरिका, फ्रान्स, बेलायत आदि देशको समाचार सुन्दै कहाली लाग्छ । धन्य, चीन सम्हालिँदैछ र आशाको दियो बाल्दैछ । धन्य, नेपाल अहिलेसम्म जोगिएको छ ।

मान्छे आफैंमा प्रकृतिको विचित्र रचना हो । मान्छेलाई परिभाषित गर्ने अनेक प्रयत्न भएका छन् । प्रत्येक प्रयेत्न छोटा, खोटा र अपूरा भएका छन् । तथापि मान्छेको एक सामान्य विशेषता हो- जुन समस्या मान्छेले सामना गरिरहेको हुन्छ, ध्यान त्यहीँ केन्द्रित गरिरहेको हुन्छ । यस्तो बेला लेख्ने अरु विषय नै के रहन्छ ? न पाठकलाई सायद अर्थोक पढ्न नै मन लाग्दछ ।

Dish_Home

तर कोरोनाबारे लेख्न कुनै आधिकारिक व्यक्ति त हैन म । न स्वास्थ्य सेवा प्रणालीको विज्ञ हुँ, न जनस्वास्थ्य प्रशासनको । यस्तो बेला तिनै मानिसले लेखेको, बोलेको राम्रो– जो यस क्षेत्रका विज्ञ हुन् । वैज्ञानिक हुन्, डाक्टर हुन्, नर्स हुन्, फार्मेसीका ज्ञाता हुन् । स्वास्थ्य सेवा प्रणाली र जनस्वास्थ्य प्रशासनका विशेषज्ञ हुन् ।

सामाजिक सञ्जालमा कतै भेटेको थिएँ–‘हामी नेपाली भूकम्प जाँदा भूकम्पविद् हुन्छौं, बाढीपहिरोको मौसममा मौसमविद् बन्छौं, अस्ति भर्खर एमसीसीविद् भयौं, अब कोरोनाविद् हुनु परेको छ ।’ यो वाक्यमा हाम्रो प्रवृत्ति निक्कै राम्रो चित्रण भएको छ । हाम्रो सतही, हल्का र टपरटुइँया प्रवृत्ति ।

ज्ञान र लेख्ने/बोल्ने अधिकार एउटै कुरा हैन । लोकतन्त्रले सबैलाई आफ्ना तर्क राख्ने अधिकार दिन्छ । मनका कुरा भन्ने अधिकार दिन्छ । लोकतन्त्रसँग यो अधिकार अविभाज्य हुन्छ । तर यसको अर्थ यो हैन कि लोकतन्त्रले एउटै मान्छेमा एकसाथ हज्जारौं बिषयको विशेषज्ञता भर्दिन्छ । हामी जे सार्वजनिकरुपमा लेख्छौं, बोल्छौं त्यसको कहिँ न कहिँ सत्यतथ्यसँग सम्बन्ध हुनु पर्दछ । ज्ञानसँग सम्बन्ध हुनु पर्दछ ।

कोरोनाबारे म बिल्कुल अज्ञानी मान्छे हुँ । यहाँसम्म कि आइसोलेसन, क्वारेन्टाइन, सोसल डिस्टान्सिङ, लकडाउनजस्ता शब्दको अर्थ बुझ्न नै केही दिन लाग्यो । तर अब यिनै शब्द पढनु, बुझ्न खोज्नु, संसार अब के होला भनेर मनमनै गम्नु, मानव जातिको भविष्यको चिन्ता गर्नु र दुई छाकको प्रश्नले घेरिनु बाहेक कामै के बाँकी रह्यो र ? संसारका धेरै विज्ञ, सञ्चारकर्मी, लेखक, स्तम्भकारले कोरोनाबारे अनेक तबरले लेखिरहेकै छन् । कोरोनाको राजनीतिक, सामाजिक, सांस्कृतिक प्रभावबारे लेख्नु सायद नराम्रो हैन होला ।

कोरोनाबारे बुझ्न पहिलो जिज्ञासा चीनसँग नै थियो । कसरी देखा पर्‍यो त्यहाँ ? अधिकांशले त्यही लेखेका छन् कि कोरोना कुनै न कुनै पशुपंक्षीबाट मान्छेमा हाम्फालेको हुनुपर्दछ । जस्तो कि एड्स चिम्पान्जीबाट मान्छेमा आएको ठानिएको थियो । कोराना एक प्रकारको चमेरोबाट मान्छेमा आएको हुनु पर्दछ ।

चीनको स्थिति बुझ्न मैले ‘द साउथ चाइना मर्निङ’को अनलाईन संस्करण पछ्याएको थिएँ । यो हङकङबाट प्रकाशित हुन्छ । यसका संवाददाता चीन मूलभूमिमा पनि हुन्छन् । तिनीहरु भन्छन् कि वुहान जंगली पशुपंक्षीको किनबेच र मासु खान असाध्यै रम्ने शहर हो । वुहानमा खासखास चोकहरुमा जंगली पशुपंक्षीका शिकारीहरु सजिलै भेटिन्छन् । तर चीन सरकारले यो कुरा अस्वीकार गरेको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताका अनुसार– ‘केही महिनाअघि अमेरिकी सेनाको एउटा टुकडी सैनिक खेल प्रतिस्पर्धामा भाग लिन वुहान आएको थियो, उनीहरुले नै वुहानमा कोरोना सारेका हुन् ।’

चीन सरकारको यस्तो प्रतिक्रियापछि रीसको झोंकमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोनालाई ‘चाइनीज भाइरस’ लेखे । ट्रम्पलाई रीस र सनकमा कस्ले जित्न सक्छ ? त्यसो त अमेरिकामा कोराना नदेखिउञ्जेलसम्म धेरै त्यस्ता लेखक, पत्रकारहरु पनि देखिए, जसले कोरोना चीन र इरानविरुद्ध अमेरिकाको जैविक हतियार हुन सक्नेसम्म लेखे । शुरुवातमा त हो कि जस्तो भान पर्‍यो मान्छेलाई । चीन र इरान समकालीन विश्वमा अमेरिकाका मुख्य दुश्मन राष्ट्र थिए ।

तर यस्तो आँकलन मूलतः षड्यन्त्र सिद्धान्तमा विश्वास गर्नेहरुको थियो । राजनीति भनेको सधैं र सबै प्रकारका षड्यन्त्र गर्ने कला वा सीप हो, त्यहाँ कुनै नैतिक सीमा हुँदैन भनेर मान्ने हो भने यो जैविक हतियार पनि हुन सक्ला । अन्यथा पत्याउने ठाउँ कतै थिएन । हुनतः यस्तो तर्क अमेरिकाले नै शुरुवात गरेको हो । इराक आक्रमणको वातावरण तयार गर्न अमेरिकाले इराकमाथि जैविक हतियार प्रयोग गरेको आरोप लगाएको थियो, जो कहिल्यै पुष्टि भएन ।

कोरोनाजस्ता भाइरस किन र कसरी उत्पत्ति हुन्छन्, तिनको अर्थराजनीतिक कारण धेरैले वातावरणीय विनाशसँगै लगेर जोडेका छन् । नेपालकै उत्तमबाबु श्रेष्ठले त्यसबारे निक्कै राम्रो लेख्नु भो – मान्छे स्वस्थ हुन पृथ्वी स्वस्थ हुनु पर्दछ भनेर । ठीक यस्तै तर्क क्यानेडियाली लेखिका नोयमी क्लेनले गरेकी छन् । उनी भन्छिन् – ‘कोरोनाको सम्बन्ध पुँजीवादसँग छ ।’

पुँजीवादलाई व्यापार चाहिएको छ । मुनाफा चाहिएको छ । त्यसका लागि आम उत्पादन चाहिएको छ । प्रकृतिको असीमित दोहन भएको छ । फलतः प्रकृति असन्तुलित र अस्वस्थ भएको छ । यो चिन्तन प्रणालीका सामान्य तर्क यिनै हुन् ।

त्यसो त सामाजिक संजालमा यो – ‘कम्युनिष्ट भाइरस’ हो कि ‘लिवरल भाइरस’ हो भन्ने बहस नदेखिएको हैन । सायद यस्ता फजुल बहसहरु राजनीतिक पूर्वाग्रहका कारण सिर्जना हुन्छन् । कोरोनाको दर्शनशास्त्र निर्माण गर्न यस्ता तर्कहरु उल्का गतिला होलान् तर मानवीय समस्या समाधान गर्न ठीक बिन्दूमा छन् जस्तो लाग्दैन ।

नेपालमा ‘यारना पुँजीवाद’ शब्दको व्यापक प्रयोग भइरहेको वेला क्लेनले ‘कोरोना पुँजीवाद’ प्रयोग गरिन् । साथै यो भनिन् कि– यो एउटा अवसर पनि हो । जसरी सन् १९३० को आर्थिक मन्दी ‘न्यू डिल’ को अवधारणा बन्ने अवसर बनेको थियो त्यसैगरी कोरोनाको समस्या ‘न्यू ग्रिन डिल’ को अवधारणा लागू गर्ने अवसर बन्न सक्दछ ।

यो तर्क पत्याउने हो भने सायद कोरोना वुहानमा नभएर न्यूयोर्कमा पहिलो पटक देखिनु पर्‍थ्यो होला । भलै कि कोरोना तथ्यांकमा चीनलाई अमेरिकाले, वुहानलाई न्यूयोर्कले जितिसकेको छ । चीनले आफूलाई पुँजीवादी हैन, समाजवादी राज्य भन्दछ । अझ साम्यवादी राज्य । धर्तीमा कम्युनिष्टहरुको त्यही एउटा मक्कामदिना बाँकी छ अब । फेरि पुँजीवादले कोरोना त्यही स्वर्गमा किन उत्पत्ति गर्‍यो ? यो अज्ञानीलाई अझै सुझेको छैन ।

साउथ चाइना मर्निङ पोष्टमा प्रकाशित समाचार, रिपोर्ट र लेखहरुमा विश्वास गर्ने हो भने वुहानकोे घटना नेपालमा चीनको गौरवीकरण गरेजस्तो सहज लाग्दैन । शुरुवातमा त्यहाँको कम्युनिष्ट सत्ताले कोरोना नामको जीवाणुको अस्तित्व नै अस्वीकार गरेको थियो । कोरोनाको पहिलो रोगी डिसेम्बरमै वुहान नगर अस्पतालमा देखिएका थिए । त्यसको रिपोर्ट गरेवापत अफवाह फैलाएको आरोपमा दुई डाक्टरहरुलाई चीनियाँ प्रशासनले थुनामा राखेको थियो ।

त्यसमध्ये एक डाक्टरको मृत्यु थुनामै भयो । त्यो घटना जब सामाजिक सञ्जालमा आयो, जनताले सरकारको विरुद्धमा ठूला प्रदर्शनहरु गर्न थाले अनि मात्र कम्युनिष्ट सत्ताले कोरोनाको अस्तित्व स्वीकार गर्‍यो । त्यतिखेरसम्म पनि कतिपय ठूला कम्युनिष्ट अधिकारीहरु कोरोनालाई चीन जनगणन्त्रविरुद्ध अमेरिकी षड्यन्त्रकारीले फैलाएको अफवाह भनिरहेका थिए । त्यतिन्जलेसम्म करिब २० दिन बितेको थियो र करिब ८०० मानिस मरिसकेका थिए ।

‘फोरेन अफेयर’ मा एउटा लेख छापिएको छ– कुर्त क्याम्पावेल र रोस डोसीको । त्यसमा उनीहरु कोरोना प्रकोपलाई ‘नयाँ विश्व व्यवस्थाको जन्म’ सँग लगेर जोड्दछन् । उनीहरु भन्छन् कि यो सन् १९५७ को ‘स्वेज मुभभेन्ट’को दोस्रो संस्करण हुन सक्दछ । स्वेज घटनाक्रम त्यो ऐतिहासिक विन्दू थियो जसले विश्वमा ब्रिटिस साम्राज्यको नेतृत्वदायी भूमिका अन्त्य गर्‍यो र अमेरिकालाई स्थापित गर्‍यो । आज सायद ‘वर्ल्ड अर्डर’ भन्दा अमेरिकी नेतृत्वको एक ध्रुवीय विश्व भन्ने बुझिन्छ ।

यदाकदा लाग्छ पत्रकार मात्र ब्रेकिङ न्यूज गर्न अधैर्य हुँदैनन् बरु विश्लेषकहरु पनि कुनै नयाँ भाष्य निर्माण गर्न उत्तिकै अधैर्य हुन्छन् । ट्रम्पको प्रवृत्ति नै विश्वको नेता हुनु हैन । आफै भूमण्डलीकरणको विरोध गर्ने र अमेरिकी राष्ट्रवादको चिन्ता गर्ने ट्रम्पलाई ‘नयाँ विश्व व्यवस्था’ कस्तो आउला के मतलब ? उनको मतलब त अरु ४ बर्ष अमेरिकाको सत्तामा टिकिरहनु हो ।

कोरोनाविरुद्धको लडाइँमा अमेरिका र ट्रम्पको साटो चीन र सि जिङ पिङको उदय भइसक्यो भन्ने तर्क सायद त्यत्तिकै अधैर्य भाष्य हो । आज विश्व जुन तवाहीमा पुगेको छ, त्यो स्तरको एक्सन चीनले पनि गर्न सकेको देखिन्न । बल्लतल्ल चीनले वुहानलाई नियन्त्रणमा ल्याएको छ । तर बाँकी विश्वको भविष्य, इरान, इटली र स्पेनको तबाही ? इवोलाको समयमा यो स्तरको स्थिति विश्वले सामना गरेको थिएन ।

युवल नोहा हरारीका लेख यसबीच विश्वमा असाध्यै चले । नेपालमा पनि अधिकांश पत्रपत्रिकाले अनुवाद गरे । उनका विश्लेषणमा गहीरो इतिहासचेत र आशावाद देखिन्छन् । उनी कोरोनालाई मानवजातिको पहिलो संकट मान्दैनन् । उनको भनाइमा स्पेनिस फ्लु र बिफरको समयमा यो भन्दा ठूलो महामारी चलेको थियो । त्यतिखेर मान्छे सकिएनन्, अब पनि सकिँदैनन् । कोराना प्रकोपपछि पनि मान्छे रहन्छन् । अहिलेका मध्ये हामी अधिकांश बाँच्छौं । तर विश्वको आर्थिक, सामाजिक र साँस्कृतिक धरातल भने बद्लिन्छ भन्ने उनको ठहर छ ।

तर हरारी पनि नयाँ विश्व व्यवस्थाको संकेत गर्न चुकेका छैनन् । उनी चीनको साटो त्यसको केन्द्र युरोपियन युनियन भइदिए हुन्थ्यो भन्ने इच्छा गर्दछन् । तर यो इच्छा म अज्ञानीलाई दमदार लागेन । बेलायत जो भरखरै इयुबाट निस्किएको छ, बेलायतविनाको युरोपियन युनियनमा त्यो क्षमता रहन्छ भनेर विश्वास गर्न गाह्रो छ ।

यो आलेख लेखुन्जेल कोरोनाबाट सबैभन्दा बढी तबाही बेहोरिरहेका देश इटाली र स्पेन त्यहीँ छन् तर इयु कुनै प्रभावकारी संयन्त्र बन्न सकेन । अझ समाचारले वेलायती राजकुमार चार्ल्स र प्रधानमन्त्री जोहन्सन कोरोना संक्रमित भएको जनाएका छन् ।

‘अरु महामारीहरु तलबाट माथि जान्थे । गरीबका वस्तीहरुमा उत्पत्ति भएर धनीका महलतिर सर्थे । कोरोना ठीक उल्टो छ । यो माथिबाट तल झरेको छ । यो रोग जहाज चढ्नेहरुबाट झरेर पैदल हिड्नेहरुतिर आएको छ ।’

अरेबियन मुलुकको मनोदशा बुझ्न मैले मेहन्दी हसनलाई पछ्याएको थिए । उनी अलजजिराका लोकप्रिय प्रस्तोता तथा स्तम्भकार हुन् । उनका लेखहरुमा देखिने तर्क र कोण भने फरक थियो । उनी इरानलाई कोरोनाको केन्द्र बनाएर अरब दुनियाँको चिन्ता गर्दै हुन्छन् । इस्लामिक क्रान्तिपछिको दुनियाँमा इरानी सर्वोच्च नेता खुमेनीलाई ललकार्न सक्नु सायद आफैमा ठूलो आँट हो । हसन लेख्छन्–‘जोसँग ‘फतवा’ जारी गर्ने अधिकार छ, ती मान्छे कोरोनासामु निरीह भएका छन् ।’

कोरोनाबाट उच्च अधिकारीहरु मर्ने देशमा इरान सबैभन्दा माथि छ । त्यहाँ आर्मी जर्नेल, सांसद, धार्मिक नेता, उच्चपदस्थ कर्मचारी दर्जनौंको संख्यामा कोरोनाबाट मरेका छन् । तर अमेरिकी प्रतिबन्ध कायमै छ । हसन ठान्छन् कि अमेरिकी प्रतिबन्ध हुँदैनथ्यो र इरानमा औषधी वा अन्य स्वास्थ्य सामग्रीको सहज आपूर्ती हुन्थ्यो भने त्यस्तो हुँदैनथ्यो । अरब दृष्टिकोणबाट हेर्दा ती मान्छे जो कोरोनाले मरे, ती सनकी ट्रम्पको सहमतिमा कोरोनाले मारेको हो । आज अमेरिका त्यसैको पाप भोग्दैछ ।

विश्व अर्थतन्त्रमा कोरोनाको प्रभाव कस्तो होला ? मार्च २४ को भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सम्बोधनले यो बहसका सबै आयामलाई बन्द गरिदिन्छ । २१ दिने लकडाउनको घोषणा गर्दै उनी भन्छन् – ‘बाँचिएछ भने अर्थतन्त्रको चिन्ता गरौंला, पहिलो कुरा त बाँच्नु हो ।’

कोरोनाको सन्दर्भमा विश्व मिडियाले ट्रम्पलाई झनझन खेदेका छन् । उनलाई सनकी, पागल र इतिहासकै सबैभन्दा गैरजिम्मेवार राष्ट्रपति करार गर्ने काम भएको छ । यो बर्ष अमेरिकी राष्ट्रपति निर्वाचनको बर्ष पनि हो । एकातिर बर्षौंबर्षदेखि अमेरिकामा ‘युनिभर्सल हेल्थ केयर सिष्टम’को माग गर्दै आएका बर्नी स्यान्डर्स डेमोक्रेटिक प्राइमरमा छन् ।

अर्कोतिर जो वाइडेन र ट्रम्प छन् । स्यान्डर्स र ट्रम्पको भेट आउने चुनावमा हुन सके कोरोनाको कारण जनस्वास्थ्यको मुद्दा चुनावको मूल मुद्दा बन्ने थियो भन्ने आशा धेरैले गरेको देखिन्छ तर भन्न सकिन्न वाइडेन तगारो बाँकी रहन्छन् वा रहन्नन् ।

क्लेनको भनाइ छ – ‘पुँजीवादको आम नियमभित्र हरेक महामारीले धनीलाई अझ धनी र गरीबलाई अझ गरीब बनाउँछ ।’ तर गहिरिएर हेर्ने हो भने कोरोनाको पहिलो आक्रमण धनीमाथि नै परेको देखिन्छ । ती मान्छे जोसँग पैसा छ, जोसँग भिषाको पहुँच छ, जो विदेशीहरुको बाक्लो सम्पर्कमा हुन्छन्, त्यस्ता मान्छे गरीब कमै हुन्छन् । नेपालमा पनि कोरोना विदेशबाट जहाजबाटै भित्रिएको हो, हिँडेर आएको हैन

भारतीय विश्लेषक योगेन्द्र यादव कोरोनाको वर्गविश्लेषण गर्दै भन्छन्– ‘अरु महामारीहरु तलबाट माथि जान्थे । गरीबका वस्तीहरुमा उत्पत्ति भएर धनीका महलतिर सर्थे । कोरोना ठीक उल्टो छ । यो माथिबाट तल झरेको छ । यो रोग जहाज चढ्नेहरुबाट झरेर पैदल हिड्नेहरुतिर आएको छ ।’

उत्तमबाबु श्रेष्ठले आफ्नो फेसबुक वालमा लेखेका छन् – ‘कतै गरीबहरुको इम्युनिटी पावर बढी त हुँदैन ?’ नेपालीहरु धुलो, मैलो र फोहोरबीच हुर्किन्छन, तसर्थ गरीब नेपालीहरुको रोग निरोधक क्षमता सानैदेखि धेरै भएको हो कि ? हुन सक्ला ? नत्र त नेपाली गरीबहरुको माइबाप नै को छ र ? जसको केही हुँदैन, उसको भगवान हुन्छ भनेको सायद त्यही होला !

कोरोनाबारे यसबीचमा जति पनि विश्लेषण पढें, त्यसले मलाई लाग्यो कि मान्छे अज्ञानता र अनिश्चयको भारबाट कहिल्यै मुक्त हुन सक्दैन । भन्न सकिन्न कोरोना प्रकोपको अन्त्य कहिले र कसरी हुन्छ ? त्यसपछिको विश्व कस्तो हुन्छ ? हरारीझैं मलाई पनि भित्र हृदयबाट एउटा विश्वासको दियो फुट्छ – ‘कोरोनापछि पनि हामी आजका अधिकांश मान्छे बाँच्छौं, मानवता जिवितै रहन्छ ।’

तर विश्वास हुँदैन कि मान्छेको सोंच, चरित्र र स्वभावमा त्यत्रो ठूलो कुनै परिवर्तन आउँछ । कोरोना सकिएको बर्ष दिन नबित्दै मान्छेले फेरि त्यही अहंकार, धन, शक्ति र सत्ताको दौडको शुरुवात गर्नेछन्, जो कोरानाअघि थियो, जो आज निरर्थक हो भन्ने धेरैलाई लागेको छ, तुरुन्तै त्यही दौडमा सामेल हुँदा हामी गौरवान्वित हुन थाल्नेछौं । मान्छेको चरित्र इतिहासका सबै कालखण्डमा यस्तै पाइन्छ ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय