scheduleसोमवार जेष्ठ १२ गते, २०७७

‘महामारीको पनि क्लस्टर हुन्छ, अबको खतरा अफ्रिका र दक्षिण एशियामा छ’

डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विद्

एक जना चिकित्सकको हिसाबले नेपालमा कोरोनाको प्रकोप आएपछि कोरोनाविरुद्ध लड्न नेपाली जनता र सरकारले गरेका अनुसरणीय काम केही छन् ?

– कोरोना संक्रमण देखिन थालेपछि सरकारले लकडाउनको घोषणा लगायत आफ्नो ठाउँबाट गरिरहेको छ । तर कामहरु अपर्याप्त छन् । परीक्षणको दायरा बढाउनुपर्ने छ । लकडाउनको घोषणा चाहिँ प्रसंशायोग्य नै काम हो ।

म आफैं कार्यकारी प्रमुख भएको भए यी यी काम गर्थेँ र प्रकोप नियन्त्रणमा लिन्थे भन्ने लाग्छ ? 

Dish_Home

– यदि म त्यो स्थानमा हुन्थें भने सरकारभन्दा एक हप्ताअघि नै लकडाउन गर्ने थिएँ । अहिले त्यही एक हप्ताबीचमा आएका व्यक्तिहरुमा नै अहिले संक्रमण देखिइरहेको छ । हामीले लकडाउन गर्नमा एक हप्ता ढिला गर्‍यौं । एक हप्ताअघि नै अन्तर्राष्ट्रिय विमानस्थल र भारतसँगको सीमा बन्द गराएको भए अहिले देखिएको संक्रमण आउन पाउँदैनथ्यो । अहिले महामारीको बेलामा पनि स्वास्थ्य मन्त्रालय लगायतका कार्यकारी निकायमा बस्ने व्यक्तिहरु असाध्यै भोकाएका र तिर्खाएका छन् । अहिले असाध्यै महंगो दरमा सामानहरु ल्याउँदैछन् । ती सामानहरुको गुणस्तरको कुनै ग्यारेन्टी छैन । स्पेनले चीनबाट ३५० करोड डलरको सामान किनेकोमा ३० प्रतिशत सामान मात्रै राखेर अरु फिर्ता पठायो । किनेका सामानहरु नेदरल्याण्ड, अष्ट्रिया, फ्रान्स लगायतका देशले फिर्ता पठाएका छन् । चीनको केन्द्र सरकार वा प्रान्तीय सरकारसँग सिधै परराष्ट्रमन्त्रीमार्फत् समन्वय गरेर ल्याइएको भए धेरै सस्तोमा ल्याउन सकिन्थ्यो र गुणस्तरीय पनि हुन्थ्यो । चीन पनि भर्खरै संकटबाट गुज्रियो, त्यहाँ राम्रा मान्छेहरु मात्रै छैनन्, नक्कली कम्पनीहरु पनि छन् । उनीहरुले हरेक देशमा हाम्रो सामान किनिदेउ हामी यति कमिशन दिन्छौं भनेर लोभ्याइराखेका हुन्छन् । म कार्यकारी भूमिकामा हुन्थें भने हतारोमा सामान किन्ने नगरिकन आधिकारिक च्यानलबाट गुणस्तरीय सामान ल्याउँथें ।

अर्को पक्ष, लकडाउन धेरै दिनसम्म हुँदा धेरै अप्ठेरो परिस्थिति पनि बन्छ । दिनभरि काम गरेर बिहान बेलुकी खाने ठूलो जनसंख्या छ । अहिले ती जनता ठूलो मर्कामा परेको छ । कसरी खाना पुर्‍याउने, कसरी केटाकेटीलाई पाल्ने, कसरी कोठाभाडा तिर्ने ? भन्ने ठूलो चिन्ताको विषय बनेको छ । संकट नहुँदा राज्यले कर लिन्छ तर अहिले संकट हुँदा हरेक नागरिकलाई भोको, नांगो नराख्ने राज्यको दायित्व हुन्छ । लकडाउन लम्बिँदै गर्दा राहत प्याकेज ल्याइएन भने भोको मान्छेले लकडाउन पालना गर्न सक्दैन । अहिले तत्काल राहत प्याकेज ल्याउने र त्यो तत्काल जनतामा पुग्नुपर्छ ।

लकडाउन गर्न ढिला त भइहाल्यो, अब त यसलाई सच्याउन सकिँदैन । तर संक्रमित व्यक्तिसँग सम्पर्कमा आएका अन्य व्यक्तिहरुको पहिचान गर्ने र ती सबैको परीक्षण गर्ने कामलाई प्रभावकारी बनाउनुपर्ने हो । यो कुरामा सरकारले काम गर्न नसकेको हो ?

– लकडाउन गर्न ढिलो भइसकेपछि अध्यागमनमा रेकर्ड हुन्छ । हरेक उडानहरुको विवरण र यात्रुहरुको विवरण हुन्छ । त्यसका आधारमा पनि सरकारले पहिचान गर्न सकिन्छ । पहिल्यै पनि संक्रमण फेलिइसकेको देशबाट आएकाहरुलाई केही समय क्वारेन्टाइनमा राखेर मात्रै जान दिनुपर्दथ्यो । अर्को कुरा, स्थानीय तहहरु छन् । हरेक वडा वडामा ठूला पार्टीका भ्रातृ संगठनहरु छन् । हरेक वडामा हेल्थ पोष्टहरु छन् । प्रहरी चौकीहरु छन् । तीमार्फत् बाहिरबाट आउनेको तथ्यांक संकलन गर्ने, बाहिरबाट आएकालाई क्वारेन्टाइनमा राख्ने गर्न, नमूना संकलन गरी परीक्षणका लागि पठाउन सकिन्थ्यो । परीक्षणको दायरा पनि अहिले बढ्न सकेको छैन । हामीले केही परीक्षणहरु र्‍यान्डमली गर्नुपर्छ । चिकित्सक, नर्स, पत्रकार, मजदुरहरु देखि लिएर चोकचोकबाट नमुना संकलन गरी परीक्षण गरेर कतिमा पोजेटिभ देखिन्छ त्यसका आधारमा यसविरुद्ध लड्ने नीति बनाउनुपर्ने हुन्छ । अहिले विकास निर्माणको चिन्ता गर्ने भन्दा पनि जनताको ज्यान बचाउनुपर्छ ।

अहिलेको टड्कारो खतरा वा सचेत हुनुपर्ने पक्ष कुन हो ?

अहिले नेपाललाई भारतीय सीमाबाट धेरै खतरा छ । उत्तर प्रदेश र विहारमा ठूलो जनसंख्या छ, गरीबी छ, रोग छ, भोक छ । एउटै छाप्रोमा १५/२० जनाको परिवार एकै ठाउँमा पकाउने, खाने, बस्ने गर्छन् । लकडाउनकै पनि त्यहाँ खास प्रभाव पर्दैन । यदि त्यहाँ संक्रमण फैलिने हो र हामीले हाम्रा सीमानाकाहरुलाई पूर्ण रुपमा सिल गर्न सकेनौं भने हामीले सम्हाल्नै सक्दैनौं । भारतका लागि पनि युपि, विहार टाइम बम नै हो र नेपालका लागि पनि टाइम बम नै हो । त्यसैले सीमालाई पूर्ण बन्द गर्ने र सीमा क्षेत्रमा परीक्षणको कामलाई तीब्र बनाउने काम गर्नैपर्छ ।

अहिले टेकु अस्पतालले दिल खोलेर काम गरिरहेको छ । तर अरु अस्पतालहरुले दिल खोलेर काम गरिराखेका छैनन् । निजी अस्पतालले ज्वरो आएका, खोकी लागेका बिरामीलाई गेटबाटै फर्काइराखेका छन् । कुनै अस्पतालले १०/१५ वटा बेड राखेर आइसो वार्ड बनाएको भनेर हल्ला गरिराखेका छन् । यसरी हुँदैन । सरकारले एउटा मापदण्ड बनाएर सबै अस्पतालहरुले कम्तीमा ५० प्रतिशत बेडहरु कोरोना संक्रमित बिरामीको लागि छुट्ट्याएर उपचार गर्नै पर्ने बनाउनुपर्छ ।

अहिले जुन अस्पतालले कोरोना संक्रमितको उपचार गर्दिन भन्छ त्यसको सञ्चालन अनुमति रद्द गरेर राज्यले लिनुपर्छ । तर, हाम्रो राज्यले त्यसो गर्न सक्दैन । अस्पताल सञ्चालकहरुको ठूला नेताहरुसँग कनेक्सन छ, ती नेताहरुको उपचार, उनीहरुका परिवारको उपचार निःशुल्क गर्ने लगायतका लाभहरु प्राप्त गरिरहेका छन् । अहिले संकटको बेला उपचार नगर्ने हो भने लाइसेन्स खारेज हुन्छ भनेर भन्ने हो भने कोही पनि लाइसेन्स खारेज गरेर बस्न त तयार हुँदैनन् ।

समाजवाद उन्मुख संविधान, कम्युनिष्टहरुको सरकार भएको बेलामा नागरिकहरुप्रति राज्यको दायित्व नै नहुने, शिक्षा, स्वास्थ्य, यातायात सबैमा व्यापार नै गर्ने, अहिले देखिएका सबै नेताहरु भ्रष्टाचार गर्ने मामिलामा उस्तै भएर कसैप्रति पनि विश्वास गर्नै नसकिने स्थिति आउनु दुःखको कुरा हो ।

अहिले विश्वभर कोरोनाको विश्लेषण गर्दा कोरोना धनी र विकसित राष्ट्रहरुमा धेरै छ । यसको पछाडिको तर्क केही छ ?

एउटा चाहिँ जब चीनमा कोरोना भाइरसको प्रकोप देखियो त्यसपछि तुरुन्तै धनी राष्ट्रहरुले आफ्ना नागरिकहरुलाई रेस्क्यु गरे । त्यतिबेला उनीहरुमा कोरोनाको लक्षण देखिइसकेको थिएन । उनीहरु भीडभाड हुने ठाउँहरुमा निर्वाध रुपले गए । त्यहाँबाटै संक्रमण फैलियो । हामीकहाँ रेस्क्यु गर्न ढिला पनि भयो अनि ल्याएपछि पनि केही समय क्वारेन्टाइनमा राखेर संक्रमण छैन भन्ने भएपछि मात्रै छोडियो ।

अर्को चाहिँ युरोप, अमेरिकामा यो चीनको भाइरस हो अन्त सर्दैन भन्ने ठाने । जसरी इबोला अफ्रिकाभन्दा अन्त गएन त्यस्तै कोरोना पनि चीनबाहिर जाँदैन भन्ने गलत बुझाइ भयो । त्यसैले उनीहरुले समयमै सतर्कता अपनाएनन् । अनि धनी मान्छेहरुको घुमघाम ज्यादा हुन्छ र उनीहरुको रात्रीकालीन डिस्को, क्लब लगायतका भीडभाड हुने ठाउँमा आवतजावत धेरै हुने र एकअर्कासँग घुलमिल भइराख्ने हुन्छ । कोरोना भाइरस चाँडै प्रसार हुनमा यसको पनि भूमिका छ ।

दक्षिण एशिया र अरु देशहरुका धेरै कुराहरु मिल्दैनन् पनि । जस्तो कि विहान, दिउँसो, बेलुका आफै पकाएर खान्छौं । बाहिर होटलमा खाना खाने भनेको कहिलेकाहीँ मात्रै हो । फ्रिजमा राखेर बासी बनाएर खाँदैनौं । खानामा पनि मसलाहरुको प्रयोग गर्छौं । यो परम्पराले गर्दा र शारीरिक काम पनि धेरै गर्ने हुँदा हाम्रो रोग प्रतिरोधी क्षमता पनि धेरै छ । धनी देशहरुमा स्वास्थ्य सेवा निःशुल्क छ । उनीहरुले परीक्षणको दायरा बढाए, व्यापक परीक्षण गरे । त्यसले गर्दा संक्रमितको पहिचान चाँडै नै भयो । हाम्रो जस्तो देशहरुमा धेरै परीक्षण भएकै पनि छैन । भारतमै पनि कोरोना संक्रमणको जस्तै लक्षण देखिएकामध्ये ६.५ प्रतिशतको मात्रै परीक्षण भएको छ । नेपालको अवस्था पनि त्यस्तै छ । महामारीको पनि क्लस्टर हुन्छ । पहिले चीनमा फैलियो, कोरियामा फैलियो । त्यसपछि युरोपतिर गयो, अनि अमेरिका गयो । अबको खतरा भनेको अफ्रिका र दक्षिण एशियामा हो । अफ्रिकाको तथ्यांक हेर्ने हो भने बढ्दो छ । दक्षिण एशियामा पनि बढिरहेको छ ।

तपाईंले नेपालीहरुलाई हत्तपत्त कोरोना लाग्दैन, लागे पनि चाँडै नै निको हुन्छ भनेर फेसबुकमा लेख्नुभएको पनि थियो । नेपालीहरुलाई नलाग्नुको कारण के हो ?

कोरोना संक्रमण भएकोमा पनि ८० प्रतिशत मान्छेलाई त थाहा पनि हुँदैन । सामान्य रुघाखोकी लाग्छ, सिटामोल, तातोपानी खाने गर्दा केही दिनमै हराएर जान्छ । जसको रोग प्रतिरोधी क्षमता कमजोर छ उसलाई चाहिँ यसले गलाउँदै लैजाने हो । विकसित देशमा पनि १५ प्रतिशत मानिसको रोग प्रतिरोधी क्षमता कमजोर छ भनिन्छ । हाम्रो समाजमा चाहिँ १५ प्रतिशत छैन । किनकि हामीकहाँ शारीरिक श्रम गर्ने, हिँडडुल गर्ने, भोकप्यास खप्न सक्ने, खानेकुरामा पनि चिल्लो पिरो मरमसला भएको खाने, आफैंले घरमै खाना बनाएर खाने परम्परा छ । हाम्रा यी अभ्यास संक्रमण फैलाउने खालका छैनन् । विदेशमा ७० वर्ष कटेपछि नर्सहरु राखेर स्याहार गर्नुपर्ने, छोराछोरीहरु काममा जाने हुन्छ । हामीकहाँ ८०/८५ वर्षका बुढाबुढीहरु पनि सक्रिय भएर काम गरिरहेका हुन्छन्, उकालो ओरालो हिँडिराखेका हुन्छन् । नातिनातिनाहरुसँग समय बिताइरहेका हुन्छन् । यसरी शारीरिक रुपमा सक्रिय छन् । यसो हुँदा रोग लागिहाले पनि पचाउन सक्ने क्षमता हामीसँग छ । फेरि हामी सबै नै डाक्टर नै छौं । आफैंले पनि सामान्य स्वास्थ्य समस्या हुँदा झारबुटीहरु खोजेर खाइराखेका हुन्छौं, गाउँगाउँमा जडिबुटीको प्रयोग गर्न जानेका पनि छन् । हामीले हात धोइराखेका हुन्छौं । विदेशीहरुको कसैको त दिनमा एकचोटि पनि हातमा पानी परेको हुँदैन । उनीहरु ट्वाइलेट पेपर प्रयोग गर्छन्, खाना खाँदा पनि काँटा चम्चा प्रयोग गर्छन् । हाम्रो चाहिँ कपडा पनि हातले धुन्छौं, भात पकाउने, तरकारी पखाल्ने, भाँडा माझ्ने गर्दा धेरै हात धोइराखेका हुन्छौं, हातले नै खाना खाने हुँदा खाइसकेपछि पनि हात धुन्छौं । पानीसँगको यो सम्बन्धले गर्दा भाइरससँगको साङ्लो तोडिन्छ । हाम्रो यस्ता मौलिक पक्षहरु छन् जसले गर्दा खासगरी दक्षिण एशियामा भाइरसको आक्रमण त्यति भएको छैन ।

तपाईंले नयाँ मौसममा नयाँ भाइरसले नै कोरोनालाई आक्रमण गर्छ भन्नुभएको छ । यो वैज्ञानिक तर्क नै हो ?

एकचोटि एच१एन१ भाइरसको संक्रमण फैलियो । पछि एच२एन२ भाइरस आयो र एच१एन१ भाइरसलाई खाइदियो । ठाउँ अनुसार कहिँ २ सिजन, कहिँ ३ सिजन, कहिँ ४ सिजन पनि हुन्छ । हामीकहाँ गर्मीबाट जाडो हुँदा र जाडोबाट गर्मी हुँदा तपाईंहामी सबैलाई रुघा लाग्छ । यो भाइरसको कारणले नै लाग्ने रुघा हो । एक सिजनमा आएको भाइरस त्यो सिजनमा मात्रै सक्रिय हुन सक्छ । नयाँ सिजन सुरु भएपछि नयाँ आएको भाइरसले पुरानो भाइरसलाई हटाउँछ । यो भाइरसको चक्र हो ।

अहिले यो महामारी उत्कर्षमा पुगेको छ । महामारीशास्त्रको अध्ययन गर्ने हो भने पनि जब उत्कर्षमा पुग्छ वा धेरैमा संक्रमण हुन्छ, धेरैलाई आतंकित बनाउँछ त्यसपछि सबै नियन्त्रणमा लाग्छन् अनि भाइरस नियन्त्रण हुँदै जान्छ । भाइरसको पनि आयु हुन्छ र यसको असरको पनि आयु हुन्छ । तापक्रम बढी भइराख्ने देशमा त त्यो तापक्रम भाइरसका लागि अनुकुल नै हुन सक्छ तर हाम्रो जस्तो तापक्रम थोरै भएको ठाउँमा तापक्रम बढ्दा भाइरस निष्कृय हुन्छ । जति चिसो र ओसिलो ठाउँ भयो त्यो भाइरस त्यति नै रहन्छ । हामीकहाँ अब गर्मी पनि बढ्दैछ त्यसले पनि हामीलाई मद्दत गर्छ । अर्को चाहिँ वर्षा शुरु भएपछि पनि जीवाणु र विषाणुको चक्र तोडिन्छ । प्रकृतिको ऋतुचक्र जस्तै हुन्छ यो भाइरसको पनि चक्र ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय