scheduleआइतवार आश्विन ११ गते, २०७७

कोरोनाले कसरी निल्दैछ अर्थतन्त्र ?

साझापोष्ट टिप्पणी/काठमाडौं, १७ चैत । कोरोना भाइरसले गरिरहेको मानवीय क्षति एउटा पाटो हो । यसको अर्को भयावह पक्ष छ, त्यो हो– आर्थिक क्षति ।

कोरोना प्रकोप कति लामो जाला ? यस वैश्विक महामारीको अन्त्य कसरी होला ? के छिटै कुनै देशले प्रभावकारी खोप वा औधषी पत्ता लगाउँला ? मान्छेहरुले अपेक्षा गरेबमोजिम मौसम परिवर्तन पछि रोकिएला ? वा विस्तारै मानव शरीर नै कोरोना प्रतिरोधक बन्दै जाला ? यी प्रश्नहरु आजसम्म अनुत्तरित छन् ।

कोरोना प्रकोपपछि विश्वका सबै देश एक साथ आर्थिक संकटमा फस्दै गएका छन् । अमेरिकी आर्थिक विश्लेषकहरुका अनुसार त्यहाँ सन् २००८ को आर्थिक मन्दीभन्दा ठूलो आर्थिक संकट संघारमा आइसकेको छ । आर्थिक दुष्चक्रको घेरा कुनै एउटा क्षेत्रमा मात्र सीमित हुँदैन । त्यो एक साङग्लो जस्तो हो । कुनै एक क्षेत्रमा परेको प्रभाव अर्को क्षेत्रमा सहजै पुग्दछ ।

कोरोनापछि पहिलो हवाई उड्यानमा पर्‍यो । विश्व फेरि एकपटक सम्पर्कविहिनजस्तो भयो । हवाईजहाज कम्पनीहरुले जहाज भर्न सकेनन् । लामो समय उनीहरु यसरी नै निस्क्रिय बसे पनि तिनले सञ्चालान लागत धान्न सक्ने छैनन् । विस्तारै उनीहरु कामदार कटौती गर्नुपर्ने अवस्था आउँछ । त्यसो गर्दा पाइलट, एयर होस्टेजको बेरोजगार हुनेदेखि ट्राभल एजेन्सीसम्म प्रभावित हुने छन् ।

केही अपवादलाई छोडेर संसारका धेरै देशहरु लकडाउन हुँदैछन् । त्यसको सिधा असर अर्थतन्त्रको सेवा क्षेत्रमा पर्नेछ । यातायात अवरुद्ध हुनेछन् । पयर्टन क्षेत्र शून्य बराबर हुनेछ । पर्यटन शून्य हुनु भनेकोे होटल, लज, रेस्टुँरा, डान्स बार, मनोरञ्जन पार्कआदि सबै बन्द हुनु हो । यो क्षेत्र मूलतः साना र मध्यम व्यवसायीहरुले धान्ने अनौपचारिक रोेजगारीको क्षेत्र हो । यो क्षेत्रमा महिना लामो बन्द भएपछि रोजगारदाताहरु कामदारलाई तलव भत्ता दिन सक्ने अवस्था हुँदैन ।

कोरोनाको कारण ठूला उद्योगहरु स्वतः बन्द हुन्छन् । त्यस क्षेत्रको क्षति मूल्यांकन गर्न सजिलो हुने छैन । सार्वजनिक विकास निर्माणको कुनै गुन्जाइस हुने छैन । तसर्थ निर्माण कामदारहरु पूर्णतः बेरोजगार हुनेछन । राज्यहरुले अन्य क्षेत्रको पूँजीगत लगानी कटौती गरी स्वास्थ्य सेवा क्षेत्रमा लगाउनु पर्ने हुन्छ ।

स्वास्थ्य क्षेत्रमा खर्च बढाएर पनि तत्काल प्रभावकारिता बढाउँन सम्भव हुँदैन । स्वास्थ्यकर्मी जनशक्ति साधारण श्रममा आधारित जनशक्ति हैन । दुईचार दिनको तालिम दिएर पर्याप्त जनशक्ति विकास गर्न सकिन्न । स्वास्थ्य सेवा क्षेत्रमा सामग्रीहरुको उत्पादन बढाउन सरकारहरुले यस क्षेत्रका कम्पनीहरुलाई प्रेरित गर्नुपर्ने हुन्छ । यहाँनेर अर्थतन्त्रको गति केही मात्रामा गतिशील हुन सक्दछ ।

उद्योग व्यवसायहरु बन्द हुँदै गएपछि त्यसको प्रभाव वित्तिय क्षेत्रमा पर्नु स्वभाविक हुन्छ । आधुनिक अर्थतन्त्रमा अधिकांश उद्यमशील संस्थाहरुको वित्तिय कर्जा हुन्छ । कर्जाको किस्ता र ब्याज बैंकहरुको मुख्य कारोबार र आम्दानी हो । यस्ता संस्थाहरुको बैंकको ब्याज र किस्ता समयमै तिर्न सक्ने छैनन् । त्यसले बैंकहरुको तरलता, पुनर्लगानी क्षमतालाई प्रभावित पार्नुको साथै खराब आसामीको परिमाण बढाउने छ । यो अवस्था लामो गएमा बैकिङ क्षेत्रले समेत कारोबार सीमित गर्ने र रोजगार कटौती गर्ने अवस्था आउँछ ।

संकटको बेला मान्छेहरुले आम्दानी गर्न सक्दैनन् । त्यस्तो स्थितिमा बचत धन खर्च हुने हो । तसर्थ बैंकबाट खातावालहरु नगद खिच्ने छन् । बचत धन सकिँदै जाँदा मान्छेहरुको धनको परिमाण घट्दै जान्छ । धनी मान्छेहरु पनि विस्तारै विस्तारै गरिब हुन थाल्दछन् ।

यसप्रकारको आर्थिक स्थितिले फरकफरक वर्गलाई फकफरक प्रभाव पार्दछ । तल्लो वर्गलाई जीवन धान्न नै गाह्रो हुनेछ । श्रमिक वर्गसँग खाद्यान्नको पर्याप्त संग्रह र बचत नगद हुँदैन । महिना दिनसम्म यो वर्गले जसोतसो जीवन धान्ला, त्यसभन्दा बढी सक्दैन । यो वर्गलाई सरकारले जीवन धान्न कै लागि सहयोग गर्नुपर्ने हुन्छ । तर सरकारको सामान्य कोष त्यो लामो धान्न सक्दैन । किनकी सरकारको राजस्व संकलन यस्तो बेला ह्वात्तै घट्छ ।

मध्यम वर्गको आफ्नै प्रकारका समस्या हुन्छन । यो वर्गमा मानिस साना वा मध्यम आकारका व्यापार व्यवसायमा हुन्छ । ती मध्ये अधिकांश बन्द हुन्छन् । उनीहरुको धन झनझन बट्छ । बन्द भएका व्यवसायले मुनाफा दिँदैन तर घरभाँडा, बैंक ब्याज भने पाकिरहन्छ । जति लामो बन्दी भयो भयो वर्ग झनै तवाह हुनेछ ।

ठूला उद्यमी र व्यवसायीको व्यक्तिगत पारिवारिक जीवनमा खासै संकट आउँदैन । तर व्यवसायिक जीवनले तनाव पक्कै दिन्छ । एकातिर उनीहरु रोजगार कटौती गर्नु पर्ने बाध्यतामा हुन्छन अर्कोतिर त्यसो नगर्न सरकार र समाजको दबाब उनीहरुमाथि हुन्छ । यो पक्कै सजिलो अवस्था हुँदैन । ग्रामिण कृषि क्षेत्रमा भने यसको असर अलिक ढिलो पुग्दछ ।

नेपालजस्तो आर्थिक क्रियाकलाप सीमित र राजस्व संकलन कम भएको देशमा देखापर्ने आर्थिक असन्तुलन हल गर्न सजिलो हुने छैन । सरकारले आर्थिक राहतको सामान्य प्याकेज त ल्यायो तर यो करिब ३ हप्ताभित्र स्थिति नियन्त्रणमा आउँछ भन्ने मान्यतामा आधारित छ । के कोरोना ३ हप्ताभित्र साँच्चै नियन्त्रणमा आउँछ ? यसको उत्तर कसैले दिन सक्दैन । कोरोना संक्रमणको साविक विश्वव्यापी दर र लकडाउन कायम रहेमा यस्ता राहत प्याकेजहरु स्वतः निस्क्रिय हुने छन् ।

त्यसो भए के होला ? भन्न सकिन्न । सरकारहरु अहिले नै दीर्घकालीन महत्वको निर्णय गर्न सक्ने अवस्थामा छैनन् । कुनै दीर्घकालीन निर्णयमा पुग्न अझै केही हप्ता कोरोनाको विश्वव्यापी ट्रेन्ड आकलन गर्नैपर्छ । अहिलेको चरण भनेको अल्पकालीन रेस्क्यू गर्ने र धैर्यता गर्ने चरण हो । यो स्थिति ३ महिनाभन्दा बढी गएका सायद विश्व अर्थतन्त्रलाई कोरानाले निलिसक्ने छ । नयाँस्तरबाट अर्थतन्त्र विकास गर्नुपर्ने अवस्था मानव जातिले सामना गर्नुपर्ने छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय