scheduleसोमवार श्रावण १९ गते, २०७७

हरेक संक्रमितलाई ठीक नपारिकन कोरोना महामारी रोकिँदैन

डा. लोचन कार्की, अध्यक्ष- नेपाल चिकित्सक संघ

तरकारी, पानी तथा खाद्य पदार्थ किनेर प्रयोग कोरोना संक्रमण हुने सम्भावना कति हुन्छ ?

यसमा चनाखो नै हुनुपर्छ । किनभने कोरोना एक प्रकारको भाइरस हो । भाइरसलाई जीवित रहनका लागि एउटा कोष चाहिन्छ । तर कोरोना भाइरस चाहिँ सतहहरुमा, जस्तो कि टेबलमा, प्लास्टिकमा, सिसामा, फलफूलहरुमा पनि बाँच्ने देखियो । त्यसैले मानिलिउँ म संक्रमित मान्छे छु, मैले फलफूलअगाडि हाच्छ्युँ गरें, अथवा मैले नाक चलाएको छु र हातमा संक्रमण भएको छ अनि त्यही हातले तरकारी, फलफूल चलाएको छु भने त ती चीज पनि संक्रमित हुने भयो । यति उति भनेर ठ्याक्कै त थाहा छैन तर सतहको प्रकृति हेरेर कुनैमा ५ घण्टा, ६ घण्टा, कुनैमा १२ घण्टासम्म बाँच्न सक्ने भन्ने आएको छ । फलफूल, तरकारी बेच्ने मान्छेलाई कोरोना संक्रमित भएको छ कि छैन या अरु कोही संक्रमित आएर छोएको, हाच्छ्युँ गरेको छ कि छैन भन्ने कुरा हामीलाई त थाहा हुँदैन । त्यसैले एकदमै सुरक्षित रहने हो भने फलफूल, तरकारीलाई १२ घण्टा राख्ने अनि त्यसपछि बल्ल खाने गर्नुपर्छ ।

भनेपछि पहिले १२ घण्टा केही नगरी राखेर त्यसपछि मात्रै खानुपर्‍यो ? पकाउनुपर्ने कुरामा भएको भाइरस त पकाउँदा पनि मर्छ होला नि ?

राम्रोसँग पकाएपछि मर्ने भइहाल्यो । हामीले अण्डा, मासु पनि राम्रोसँग पकाएर खानुपर्छ भन्नुको मतलब पनि यही हो कि भाइरस त जनावरमा पनि हुन्छ यदि संक्रमित छ भने । सं‌क्रमित जनाबरको मासु पर्‍यो र राम्रोसँग पाकेको छैन भने त्यहाँबाट पनि संक्रमण फैलिने भयो । मानौं सुरुमै फलफूलमा पनि भाइरस छ भने फलफूल त पकाइँदैन अनि हातले छुँदा हातको माध्यमबाट पनि हामीमा संक्रमण हुने भयो । त्यसैले बजारबाट तरकारी, फलफूल ल्याएर हातले छोइसकेपछि हात साबुन लगाएर मिचिमिची धुनुपर्‍यो । अनि १२ घण्टा राखेर त्यसपछि खानु राम्रो हुन्छ ।

कोरोना महामारी संसारमा शुरु भएपछि नेपाल पनि सचेत हुन थाल्यो । यसबीचमा नेपालले गज्जब गरेको छ, यसलाई निरन्तरता दिनुपर्छ भन्ने खालका कुराहरु देख्नुहुन्छ ? सरकारी तहबाट या आम जनताको तहबाट ?

नेपालले त्यस्तो गज्जबै त के गर्‍यो होला र । तर पछिल्लो समयमा स्वास्थ्य स्वयंसेविकाहरुसम्मलाई परिचालन गरेर गाउँगाउँमा, वडावडामा संक्रमितहरु छन् कि भनेर खोज्न शुरु गरिएको छ । गाउँपालिकाहरुले, वडा कार्यालयहरुले पनि कोरोना संक्रमितहरुको खोजी गरिरहेका छन्, घरघरमा पुग्ने हिसाबले काम भइरहेको छ । केन्द्रमा भन्दा स्थानीय तहमा काम राम्रो भइरहेको जस्तो लाग्छ मलाई चाहिँ ।

म चाहिँ कार्यकारी तहमा भएको भए यस्तो गर्थें भन्ने कुरा केही छन् ?

लकडाउन गर्न ढिलो भयो, चाँडो लकडाउन गरौं, विमानस्थल, सीमानाकाहरु बन्द गरौं भनेर पहिल्यैदेखि कराउने मान्छे म पनि हुँ । यो भाइरसको बारेमा धेरै अनुसन्धान भएको छैन, हामीले सिक्ने अनुभवबाट हो, चीनले कसरी नियन्त्रण गर्‍यो, इटालीमा किन बढ्यो भन्ने कुराहरुबाट सिक्ने हो । इटाली लगायतका देशमा एक हप्ताअघि नै लकडाउन गरेको भए यतिधेरै मान्छे मर्दैनथे संक्रमितको संख्या कम हुन्थ्यो भन्ने भएकोले त्यहीबेला मैले लकडाउन चाँडै गर्नुपर्छ भनेको थिएँ । भिजिट नेपाल २०२० भन्दै गर्दा, नेपाल कोरोना फ्रि देश भनेर पर्यटक बोलाउने, धुमधाम गर्ने भनिरहेको बेलामा भिजिट नेपाल २०२० तुरुन्तै बन्द गरौं भनेर पनि भनेको थिएँ ।

म भएको भए लकडाउन र सीमानाका बन्द धेरै पहिले नै गर्थें । सीमानामा जुन खालको खुकुलोपना छ त्यसलाई एकदमै कडा बनाउँथें । बाहिरबाट आउनेलाई अनिवार्य क्वारेन्टाइनमा राख्थें । अनिवार्य परीक्षण गराउँथें । नेपालमा अहिले देखिएको कोरोना संक्रमित ५ जना नै बाहिरबाट आएको देखियो । हाम्रो कमजोरी नै बाहिरबाट आएका मान्छेहरुलाई राम्रोसँग क्वारेन्टाइनमा राख्न सकेनौं । त्यसैले ती मान्छे कहाँ कहाँ पुगे, कस कसमा फैलाए भनेर अहिले तनाव बढेको छ ।

लकडाउन किन ढिला भयो जस्तो लाग्छ तपाईंलाई ?

अहिलेको परिप्रेक्ष्यमा लकडाउन गर्नु भनेको ३/४ वटा कुराको लागि हो ।

जति पनि बाहिरबाट आएका मानिसहरु छन् तिनको खोजी गर्ने राम्रो उपायहरु म खोज्थें । जस्तै विभिन्न प्रविधिहरुको प्रयोग गर्न सकिन्छ । फोनको माध्यमबाट को को कहाँकहाँ गएका छन् भनेर म्यापिङ गर्ने सफ्टवेयर प्रयोग गर्न सकिन्छ । सुरक्षा निकायलाई परिचालन गर्न सकिन्छ । स्थानीय तहमा, वडाहरुमा काम गर्ने महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई परिचालन गर्न सकिन्छ । गाउँमा त थाहा हुन्छ कि को नयाँ मान्छे गाउँमा प्रवेश गर्‍यो भनेर । अहिले संक्रमितहरुको खोजीकार्य जसरी भइरहेको छ यो भन्दा धेरै सशक्तरुपमा गर्थें ।

नेपालमा बाहिरबाट आएका कति छन् तिनीहरुलाई ट्रेस गर्ने प्रणालीलाई अझ सशक्त बनाउने विधिहरुको प्रयोग गर्थें । जस्तो इन्टरनेट, टेलिफोन, एप्स लगायतका प्रविधिहरुलाई प्रयोग गर्ने । उनीहरु घरघरमा सेल्फ क्वारेन्टाइनमा राम्रोसँग बसिरहेका छन् कि छैनन् ? बसेको मिलेको छ कि छैन ? भनेर अनुगमन गर्ने । केही प्रश्नावली तयार गरेर उनीहरुलाई ५ मिनेट टेलिफोन नै गरेर सोधपुछ गर्ने, उनीहरुले गरिरहेको मिलेको छ कि छैन बुझ्ने, मिलेको छैन भने मिलाइदिने, लापरवाही भइरहेको छ भने समातेर राज्यको क्वारेन्टाइनमा राख्ने रणनीति लिन्थें ।

परीक्षणको दायरा पनि बढाउँथें । क्वारेन्टाइनमा बस्ने सबैको परीक्षण गर्ने गर्थें । अहिले कोरोना पोजेटिभ धेरै नभेटिएकोमा खुशी भन्दा दुःख लागेको छ । किनकि टेस्ट गर्दा पोजेटिभ पाइयो भने बरु समातेर क्वारेन्टाइनमा राख्ने, आइसोलेसनमा राख्ने उपचार गर्ने गरेर भाइरसलाई घटाउन सकिन्थ्यो । तर धेरैको परीक्षण नहुँदा भोलि एकैचोटि ठूलो संख्यामा पोजेटिभ भेटियो भने त हाम्रा अस्पतालहरुका क्षमताले भ्याउँदैन । हामीसँग भएका साधनस्रोतले भ्याउँदैन । त्यसैले अहिले व्यापक परीक्षण गर्नुपर्‍यो ।

मान्छेमा मनोवैज्ञानिक त्रास देखियो नि । जस्तो कि बुटवलको घटनालाई लिउँ । भेन्टिलेटर पनि नभएको, आइसियु पनि नभएको ठाउँमा लगेर राख्छन्, पानी पिउन दिँदैनन् भनेपछि त आइसोलेसनमा जाने भनेको मर्न जाने जस्तो भयो नि ?

त्यो त सबै मिलाउनुपर्‍यो । तयारी पुर्‍याउनुपर्‍यो । अहिले ५/१० जना आउँदा यस्तो गाह्रो छ भने भोलि हजारौंको संख्यामा आउनुपर्‍यो भने के होला हालत ?

मानिस मरिसकेपछि मलामी जाने मान्छे नै नपाउने अवस्था भयो । मरेको मानिसको शरीरमा पनि भाइरस जीवित हुन्छ ? अन्त्यष्टिको बेला सावधानी अपनाउनुपर्छ ?

मरेको लाशमा पनि भाइरस त हुन्छ । संक्रमण नहुने कुरा छैन । त्यसैकारण इटालीमा पनि अहिले मरेका मानिसहरुको शव व्यवस्थापन ठूलो चुनौति भएको छ । त्यसैले सावधानी अपनाउनैपर्छ ।

कोरोनाले धनीमानी मानिसहरु, विकसित राष्ट्रहरु धेरै प्रभावित देखिन्छन् । यसको पछाडिको कारण के होला ?

जुन जुन देशमा अनुशासनको पालना भयो त्यहाँ नियन्त्रण भयो । जस्तो कि जापानमा, कोरियामा, ताइवानमा नियन्त्रण भयो । चीनमा पनि आउनेबित्तिकै घरबाट कसैलाई बाहिर निस्कनै नमिल्ने गरी रोकिदिए । बाटोबाटोमा ज्वरो नाप्दै भित्र राखे । जहाँ जहाँ अनुशासन पालना गरेन त्यहाँ चाहिँ नियन्त्रणबाहिर गयो । जस्तो किन युरोपमा इटालीमा भयो, अहिले अमेरिकामा भइरहेको छ । त्यहाँ लकडाउन पनि गरेको छैन । जहाँ मानिसहरु धेरै चुरोट खाने छ त्यहाँ पनि कोरोनाको प्रभाव ज्यादा देखिन्छ । जस्तो कि इटालीमा धेरै चुरोट खान्छन् । युरोपमै धेरै चुरोट खान्छन् । जुन ठाउँमा वृद्धवृद्धाहरुको जनसंख्या धेरै छ त्यहाँ पनि धेरै प्रभाव परेको छ । इटालीमा पनि ६० वर्षभन्दा माथिको जनसंख्या धेरै छ ।

नेपालीलाई हतपति कोरोना लाग्दैन । लागे पनि थाहा नपाइ निको हुन्छ भन्ने तर्क पनि सुनिन्छ नि । यसमा कत्तिको दम छ ?

यसमा केही पनि दम छैन । यसलाई झन् लापरवाही मान्नुपर्छ ।

पहिले महामारीका रुपमा फैलिएका रोग उपचार पत्ता लगाएकोले नियन्त्रणमा आएका हुन् कि शरीरले त्यसविरुद्ध प्रतिरोधात्मक क्षमता विकास गर्न सकेकोले ?

उपचार हुने खालका महामारी त उपचार गरेर नियन्त्रण हुने भयो । अहिलेको महामारी त नयाँ पर्‍यो, उपचार नै पत्ता लागेको छैन । यसको लागि त हामीले फैलिनबाट रोक्ने, भौतिक, सामाजिक पृथकीकरण गरेर फैलिन नदिने र संक्रमितहरुलाई समातेर क्वारेन्टाइनमा, आइसोलेसनमा राखेर उपचार गर्नै नै हो । यसो नगरी यसलाई नियन्त्रणमा लिनै सकिँदैन, वर्षौंसम्म जान्छ । एक जना मात्रै पनि संक्रमित बाँकी रह्यो भने त्यसले सय जनामा संक्रमण फैलिन सक्छ, सय जनाबाट हजार जनामा फैलिन सक्छ र फेरि जस्ताको त्यस्तै हुन सक्छ । त्यसैले हरेक व्यक्ति जो संक्रमित छ त्यसलाई समातेर उपचार गर्ने, क्वारेन्टाइनमा राख्नेबाहेक अरु उपाय छैन । हैन भने त यो वर्षौंसम्म जान सक्छ ।

यसको नियन्त्रण कसरी होला ? यसको उत्कर्ष कस्तो होला ? केही अनुमान गर्न सकिन्छ ?

विश्व स्वास्थ्य संगठनले त के भन्छ भने यो मानवजातिकै लागि ठूलो लडाइँ भइसक्यो । मानवजाति नै रहने कि नरहने जस्तो भयो । युरोप नै सकिने स्थिति आयो । अमेरिकाको न्युयोर्क केन्द्रविन्दू जस्तो भइराखेको छ । चीनमा २० हजार जना नयाँ संक्रमित भेटिइराखेको छ, लाखौं मान्छेमा होला भन्ने अनुमान भइराखेको छ । संसारमै मानवजातिमध्ये ५० प्रतिशतदेखि ६० प्रतिशतसम्मलाई संक्रमण हुन सक्छ भन्ने कुराहरु भइराखेको छ । त्यो अवस्थामा यसको उत्कर्ष त दर्दनाक हुन्छ । जतिसक्दो चाँडो यसको औषधी पत्ता लगाउन सकियो भने यसलाई रोक्न सकिन्छ । हरेक संक्रमितलाई ठीक नपारिकन त यसलाई रोक्न सकिँदैन ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय