scheduleसोमवार आषाढ़ २९ गते, २०७७

सरकार ! आफ्नै नागरिकलाई सीमा नाकामा अलपत्र नपार

साझापोष्ट टिप्पणी/काठमाडौं, १८ चैत । ५ दिन बढी भइसक्यो, दार्चुलापारि महाकाली किनारमा मान्छे अलपत्र छन् । सामाजिक सञ्जालमा फोटो र भिडियो छ्यापछ्याप्ती छ । फोनबाट बुझ्दा त्यहाँको स्थिति निक्कै भयावह छ । नेपाल पस्न चाहने ठूलो हुलले नदी किनारमै रात बिताई रहेका छन् । केही मान्छे महाकाली नदीमा हाम्फालेर नेपाल पस्ने प्रयत्न गरेका छन् । उनीहरुलाई पनि पुलिसले छोडेको छैन ।

नदीमा जोखिम मोलेर हेलिएकाहरुले आफ्नो कुम्लो कुटरो पारी नै छोडेर ज्यान मात्र जोगाउन चाहेको प्रष्टै बुझिन्छ । तर ती नाङ्गै नदीमा हेलिएका मानिसमाथि पुलिस प्रशासनको बर्बबरताको अर्थ बुझिनसक्नु छ । यो के तमासा गरेको हो ? किन गरेको हो ? कहिलेसम्म यस्तो गर्ने हो ? सरकारको सबै अंग र निकाय मौन छन् । कोही बोलिरहेका छैनन् ।

सरकारले भन्ला- लकडाउन भइसकेपछि जहाँको त्यही किन नबसेको ? सीमा बन्द भइसकेपछि किन नाकामा आएको ? यस्तो जवाफ बिल्कुल ओठे जवाफ हो । धरातलीय यथार्थप्रति कुनै ज्ञान र संवेदना नभएको टर्रो जवाफ हो । नेपाल भारत सीमामा त्यस्तो परिस्थिति किन आयो ? त्यसको विश्लेषण हुन जरुरी छ ।

ती मान्छे जो भारतीय सीमामा आइपुगेका छन् र नेपाल पस्न चाहन्छन्, ती सरकारको आदेश उल्लघंन गर्न त्यहाँ आएका हैनन् । ती मान्छे नेपाल ग्रिन जोनमा छ भनेर सुरक्षित हुन आएका भारतीय वा विदेशी पनि हैनन् । ती केही मन्त्रीज्युहरुले भने जस्तो ‘गिद्ध’ र ‘कुकुर’ हैनन्, जो सत्ताको सिनो लुछ्न आएका हुन् । उनीहरुको घर छ नेपालमा । आफन्त छन् । परिवार छन् । मरे संगै मरौला, बाँचे संगै बाँचौला भनेर घर आएका हुन् । जस्तो सुकै परिस्थितिमा पनि घर फर्किने अधिकार मान्छेको नैसर्गिक अधिकार हो ।

घर भन्दा आफ्नो र प्यारो मान्छेको संसारमा अरु केही हुँदैन । घरभन्दा ठूलो आश्रय र सुविधा मान्छेको अरु केही हुँदैन । घर चाहे त्यो दश ठाउँ चुहिने पराले झुपडि होस वा नमिलेको बाङखुट्टे ढुंगे गारो, घर घर नै हो । घर पुग्दा मान्छेले जुन स्वामित्व, अपनत्व र सहासको अनुभूति गर्दछ, त्यो अन्यत्र कतै गर्न सक्दैन । भ्रम नपरोस कि देश भनेर आएका हुन । ती देश भनेर पनि आएका हैनन्, घर भनेर आएका हुन । यदि यो देशमा उनीहरुको घर हुँदैनथ्यो भने उनीहरु यो देश आउँने थिएनन् । त्यही देशमा जान्थे, जहाँ आफ्नो घर छ ।

जहाँ मान्छेको घर छ, परिवार छ, नातागोता छन, वैधानिक कानुनी अधिकार छ, त्यो ठाउँ स्वत मान्छेको देश हुन्छ । घर भएर देश हुने हो, देश भएर घर हुने हैन । तसर्थ यो भुल्नु हुन्न कि जस्तोसुकै सरकार, जस्तोसुकै राजनीतिक प्रणाली, जुनसुकै नाताशाहले मान्छेको घरसंगको सम्बन्ध टुटाउँन सक्दैन । टुटाउँन पाउँदैन । यदि कुनै शासक मान्छेको घरसंगको सम्बन्ध टुटाउँन उद्यत्त छ भने त्यो भन्दा अमानवीय, निकृष्ट, निर्घृणी र तानाशाही शासक अरु कोही हैन । अरु कोही हुन सक्दैन ।

सरकारले भन्ला यो असामान्य अवस्थाको कुरा हो । बिल्कुल हैन । यस्तो परिस्थिति आउँनुमा ती मान्छे हैन, सरकारहरु दोषी छन । सीमा नाका व्यवस्थापनमा नेपाल र भारत दुबै देशका सरकारले गल्ती गरेका छन । उनीहरु बीच समन्वय हुनु पर्दथ्यो । कहिलेदेखि बन्द गर्ने सामञ्जस्य हुनु पर्दथ्यो । यदि लकडाउँन भारतमा पनि भएको हो भने ती मान्छेहरुलाई सीमासम्म आउँन उताको सरकारले किन दियो ? नेपाल सरकारले भारत सरकारको रणनीति के हो ? किन बुझेन ? किन समन्वय गरेन ?

यथार्थमा ती मान्छेहरु भारतमा लकडाउन भएपछि नेपाल हिडेका मान्छे पनि हैनन् । ती भारतमा विभिन्न भागबाट भारतमा लकडाउन हुनु अगाडि नै नेपाल हिडेको मान्छे हुन । भारत धेरै ठूलो देश हो । त्यसका विभिन्न भागबाट एकै दिनमा नेपालको सीमा आइपुगिँदैन । महाराष्ट्र, केरला, तमिलनाडु, गोवा, कर्नाटका, पञ्जाबआदि भारतीय प्रदेशबाट उनीहरु हिडेको दिन नेपालको सीमा आइपुग्दैन ।

जुन दिन उनीहरु हिँडे, भारतमा लकडाउन थिएन । भोलि वा पर्सीपल्ट लकडाउन भयो । ती बाटोमा अलपत्र परे । बाटोमै २१ दिन बस्न सम्भव थिएन । फर्किन भन्दा आफ्नै घर तिर जान उचित ठानेर ती नेपाल आए । केही मान्छेहरु नजिकबाट पनि आएका होलान् । अर्काको देशमा काम दाम विना लामो बस्दा पर्ने अप्ठ्यारो सम्झेर आफ्नै घर आउँन चाहेका होलान ।

नेपाल भारतको सम्बन्ध अरु देशको जस्तो हैन । नेपालको सीमा भारत र चीनसँग मात्र जोडिन्छ । अरु सबै देशसँगको सम्बन्ध हवाई सम्बन्ध हो । चीनसँगको सम्बन्ध स्थालमार्गबाट भए पनि त्यहाँ हिमाल छ । पहाड छन् । धेरै सहज नाका छैनन् । मान्छे चीनतिर त्यति जाँदैनन् पनि । किनकी जानु पर्ने काम पनि खासै पर्दैन । चीनले नेपालीलाई सीमा जोडिएर पनि सहज आवत जावतको सुविधा दिएको छैन । अरु देशजस्तै भिसा लिएर जानु पर्दछ । तसर्थ चीनसंगको नाका व्यवस्थापन नेपालका लागि खासै जटिल हैन । हवाई सम्बन्ध भएका देशहरुको जस्तै हो ।

तर भारतसंगको सम्बन्ध त्यस्तो हैन । यो खुल्ला सम्बन्ध हो । लाखौं नेपाली भारत जान्छन् । कतिले उत्तिको नागरिकता लिन्छन् । दोहोरो नाकगरिता चलाउने पनि होलान्, त्यो अर्कै कुरा हो । तर नेपालीहरुका लागि संसारमा त्यही एउटा मात्र देश बेरोकटोक छ– भारत । बेरोजगारहरु जाने ठाउँ त्यही हो–भारत ।

मनिषा कोइराला र उदित नारायण झाझैं ठूल्ठूला सपना बोकेर जान पाइने देश पनि त्यही एउटा हो– भारत । विना पार्सपोर्ट र भिषा नागरिकता कार्ड देखाएर वा नदेखाएर पनि तरक्कीको आधार खोज्दै हिड्ने पाइने त्यही देश हो– भारत ।

तसर्थ, यो समस्या हल गर्न नेपाल र भारत सरकारबीच गहिरो सहकार्य गर्नु पर्दथ्यो । कस्को कमजोरीले भएन, त्यो सरकारहरुले जान्ने हो, ती अलपत्र नागरिकले जान्ने हैन । हुनतः भारतबाट मात्र हैन, संसारको जुनसुकै देशबाट आउन चाहने नेपालीलाई नेपाल ल्याउनु नेपाल सरकारको कर्तव्य हो । यदि क्षमता हुने हो भने चार्टर विमान पठाएर अरु खाडी लगायतका अरु देशबाट पनि ल्याउनु पर्छ । बरु यही क्वारेन्टाइनमा राख्ने हो । हिजो चीनको वुहानबाट नेपाली फर्काएकै हो । भक्तपुरमा क्वारेन्टाइनमा राखेकै हो । यो स्थिति लामो गयो भने अरु देशबाट पनि त्यसो गर्नुपर्ने हुन्छ ।

तर भारतसँगको हकमा कुनै ‘स्टे स्ट्राटेजी’ ले हुँदैन । के गर्ने हो, तुरुन्त गर्नु पर्दछ । भारतसंगको नेपाल सम्बन्ध प्राकृतिक, भौगोलिक, राजनीतिक वा कानुनी हरेक हिसाबले फरक हो । भारतमा कति नेपाली बस्दछ सायदै कसैसंग तथ्यांक छ । तर ती सबै यो संकटमा नेपाल आएका हैनन, ती मात्र आएका हुन, जस्को नेपालमा आश्रय बाँकी छ ।

सरकारले भन्ला त्यसो भए के गर्ने त ? सूचना विश्लेषण र निर्णय क्षमता नभएको हो भने विज्ञहरुबाट सल्लाह र सुझाव लिनु पर्छ । गर्न सकिने सजिला काम छन् । भारतबाट आएका सबैलाई सीमा क्षेत्रमै क्वारेन्टाइन गर्न सम्भव छैन । नेपाल राज्यसंग त्यत्रो क्षमता छैन । त्यो क्षमता रातारात बन्दैन । गर्न सकिने सजिलो तरिका उनीहरुलाई सीमामा अभिलेख गर्ने हो । त्यो अभिलेख सम्बन्धी पालिकामा पठाईदने हो । त्यहीबाट उनीहरुको ‘फ्लो अप’ गर्ने हो । कस्को घर कस्तो छ ? स्थानीय अस्पताल र क्वारेन्टाइनको क्षमता कस्तो छ ? त्यसका आधारमा व्यवस्थापन गर्ने हो ।

अन्य राष्ट्रहरुले विमान चार्टर गरेर आफ्ना नागरिकलाई विदेशबाट उद्धार गरिरहेका छन् । हामीले विमान चार्टर गर्न सक्दैनौं । तर बस रिजर्भ गर्न सक्छन् । हरेक गाउँपालिकाले क्वारेन्टाइन गृहहरु निर्माण गरेका छन् । त्यहाँ व्यवस्थित गर्न सक्छ । आफ्नै देशका नागरिकले सीमा उभिएर मलाई मेरो देश छिर्न देऊ भनेर नाराबाजी गर्नुपर्ने अवस्थाको निरन्तरता हेर्न र सहन सकिने विषय होइन ।

यति सजिलो कुरा बुझ्ने नसक्नेहरु, भारतसँग समन्वय गर्न नसक्नेहरु त्यही गिद्ध र कुकरको कविता लेखी बसून । तर त्यो कविताको मूल्यमा हज्जारौं नागरिक महाकालीको बगरमा भोकभोकै मर्दिनु पर्छ भन्ने छैन । यस्तो अपराध कहिल्यै र कसैका लागि क्षम्य र स्वीकार्य हुन सक्दैन ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय