scheduleबिहिवार आश्विन ८ गते, २०७७

कोरोना संक्रमित युवतीलाई घरसम्म पुर्‍याउने चालकको पहिचान

बागलुङ, १८ चैत । बागलुङकी कोरोना भाइरस संक्रमित १९ वर्षीकी युवतीलाई पोखराबाट उनको घरसम्म पुर्याउने स्कार्पियो गाडीका चालकको पहिचान भएको छ ।

पोखरा महानगरपालिका–२५ स्थायी घर भई हाल माछापुच्छ्रे गाउँपालिका–३ बस्ने चालक अहिले घरमै सेल्फ–क्वारेन्टाइनमा रहेका छन् ।

उनलाई दैनिक स्वास्थ्यकर्मी र स्थानीय जनप्रतिनिधिको निगरानीमा राखिएको छ । उनको स्वास्थ्य अवस्था भने सामान्य छ । उनलाई दैनिक तीन पटक स्वास्थ्यकर्मीले तापक्रम लिने गरेका छन् ।

युवतीलाई गएको शनिबार कोरोना सङ्क्रमण भएको पुष्टि भएपछि पोखराबाट बागलुङ घरसम्म पुग्न उनले गाडी रिजर्भ गरेको खुलेपछि गाडीका चालकको खोजी शुरु भएको थियो ।

चालक अहिले घरमा नै रहेको र दैनिक स्वास्थ्यकर्मी पुगेर तापक्रम जाँच्ने र निगरानीमा राख्ने काम भैरहेको वडाध्यक्ष सूर्यप्रसाद लम्सालले बताए ।

हालसम्म उनमा कोरोनासँग मिल्दोजुल्दो कुनै पनि लक्षण देखा नपरेको वडा अध्यक्ष लम्सालले बताए ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आफू परीक्षणका लागि गएको तर कुनै पनि लक्षण नदेखिएसम्म स्वाब परीक्षण नगर्ने भनी चिकित्सकले घर पठाएको चालकले बताएका छन् ।

चालक आफूहरुको सम्पर्कमा रहेको तथा स्वास्थ्य अवस्था सामान्य रहेको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा विनोदविन्दु शर्माले बताएका छन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय