scheduleआइतवार जेष्ठ ११ गते, २०७७

गुजारा चलाउन समस्या भएकालाई राहत दिन साढे ६ करोड निकासा

कास्की, १८ चैत । गण्डकी प्रदेश सरकारले लकडाउनका कारण प्रभावित बनेका ज्यालादारीमा काम गर्ने मजदूर लगायतलाई राहत दिन ८५ वटै पालिकामा बजेट निकासा गर्ने भएको छ ।

सरकारले कोरोना भाईरस (कोभिड–१९) को जोखिम न्यूनीकरण गर्न जारी गरेको ‘लकडाउन’ ले दैनिक ज्यालादारीमा काम गर्नेलाई समस्या बनाएको भन्दै प्रदेश सरकारले गुजारा चलाउन समस्या भएका एवं विपन्न वर्गका लागि साढे ६ करोड बजेट निकासा गर्ने निर्णय गरेको हो ।

प्रदेश सरकार मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले पोखरा महानगरपालिकालाई एक करोड, २६ नगरपालिकालाई प्रतिनगरपालिका १० लाख तथा ५८ वटा गाउँपालिकालाई पाँच लाखका दरले जम्मा छ करोड ५० लाख रुपैयाँ रकम निकासा गर्ने निर्णय गरिएको हो ।

Dish_Home

विनियोजित रकम स्थानीय तहले मापदण्ड बनाएर दैनिक गुजारा चलाउन नसकेका परिवारको तथ्याङ्कका आधारमा वडा कार्यालयमार्फत जिन्सी राहत प्याकेज उपलब्ध गराउनुपर्नेछ । सरकारले राहत दिन सकभर स्थानीय उत्पादनलाई प्राथमिकता दिन आग्रह गरेको छ ।

राहत वितरणको सम्बन्धित जिल्लाका प्रदेशसभा सदस्यको सहभागितमा सरकारले गठन गरेको जिल्लास्तरीय अनुगमन समितिले अनुगमन गर्नेछ ।

यसअघि चैत १५ गतेको मन्त्रिपरिषद् बैठकले असहज अवस्थामा समेत गाउँगाउँसम्म खाद्यान्न आपूर्ति तथा वितरणमा सघाउने, अत्यावश्कीय वस्तुको आपूर्ति, मूल्य र गुणस्तर कायम गर्नका लागि प्रदेश, जिल्ला तथा स्थानीय तहस्तरीय आपूर्ति समिति गठन गर्ने निर्णय गरेको थियो ।

प्रदेशस्तरीय आपूर्ति तथा अनुगमन समितिले लकडाउनको मारमा परेका सडक बालबालिका, दैनिक ज्यालामा काम गर्ने मजदूर, क्वारेन्टाइनमा बसेका र आर्थिकरुपमा आफैँ किनेर खाने क्षमता नभएकाहरुलाई राहत प्याकेज ल्याउने घोषणा गरेको थियो ।

त्यसैगरी विपन्न तथा ज्यालादारीमा काम गर्ने मजदूरलाई राहत प्रदान गर्न पोखरा महानगरपालिकाले समेत राहत कोष घोषणा गरेको छ । महानगरको तर्फबाट दुई करोड रुपैयाँ तथा कर्मचारीबाट सङ्कलित ४८ लाख ५० हजार रुपैयाँ गरी महानगरले दुई करोड ४८ लाख ५० हजार रुपैयाँको राहत कोष स्थापना भएको हो ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय