scheduleबुधवार आषाढ़ ३१ गते, २०७७

यसकारण गलत छ हाम्रो शिक्षा प्रणाली

रोशन अधिकारी

हाम्रो देशबाट दैनिक औसत ११ सयदेखि १३ सयसम्म युवाहरु वैदेशिक रोजगारीको लागि विदेश पलायन हुन्छन् । ती युवाहरुमा ठूलो हिस्सा त कम्तिमा पनि विद्यालय स्तरको शिक्षा हासिल गरेकै हुन्छन् । ज्यादै न्यून हिस्सा मात्र निरक्षर हुन्छन् । आफ्नो देशमा रोजगारीका क्षेत्र नभएका भने हैन, नेपाली बजारमै ठूलो संख्यामा जनशक्तिको खाँचो छ । यसो भैरहँदा पनि आखिर किन युवा जनशक्ति रोजगारीको खोजीमा विदेशिनु परेको होला त ? आफ्नै मुलुकमा रहेका शिक्षित युवाहरु पनि किन बेरोजगारीको समस्याले पिल्सनुपरेको होला त ?

अवश्य पनि हाम्रो देशको शिक्षा प्रणाली बिकासमुखी छैन, सिर्जनशील छैन । व्यवहारिक र जीवनमुखी छैन । खोज- अनुसन्धानमुखी छैन । वस्तुतः हाम्रो मुलुकमा शिक्षा सम्बन्धी बुझाई नै गलत छ । केवल अक्षरहरु रटान लगाएर तीन घण्टाको परीक्षाबाट प्राप्त हुने अंकलाई गुणस्तरको तराजुमा ताैलन्छाैँ । नकि विद्यार्थीमा रहेको प्रतिभा, सिर्जनशीलता, अन्तरनिहित क्षमता र व्यवहारिक कार्यक्षमताका आधारमा । जबकि परीक्षा दिनुभन्दा बाहिर कुनै व्यवहारिक जीवनमा लागू नै हुँदैन । न त त्यो ज्ञानले विद्यार्थीलाई सिर्जनशील बनाउन सक्छ । प्रसिद्ध वैज्ञानिक आईन्स्टाइनले भनेका थिए, ‘लामो समयसम्म मेरो सिकाईको सबैभन्दा ठूलो बाधक नै मेरो शिक्षा बनेको थियो ।’

आजको मुलुकको शैक्षिक पद्धति ठिक यस्तै बनेको छ । यहाँ बेरोजगार जनशक्ति उत्पादन हुने किसिमको शिक्षा राज्य आफैंले विद्यार्थीमा लगाम लगाईदिएको छ । मुलुकको विकासका विभिन्न क्षेत्रमा आवश्यक पर्ने दक्ष जनशक्ति निर्माणका निमित्त, सोही अनुकुलको व्यवहारिक शैक्षिक योजना ल्याउन सके युवा कसरी बेरोजार हुन्छ ? व्यक्तिको रुचिअनुसारको क्षेत्रलाई शिक्षाको रुपमा विकास गरी विद्यार्थीलाई सिर्जनशील बनाउन सके उसको लगनशिलताले स्वरोजगार बनाउन सहयोग गर्छ कि गर्दैन ? यहाँनेर मुलुकको साधन स्रोतको उपलब्धता र तिनलाई सशक्त परिचालन गर्ने दक्ष जनशक्तिबीचको तादात्म्यता मिलाउने शिक्षा नीति बनाउन राज्य पक्ष चुकेको स्पष्ट देखिन्छ ।

रोशन अधिकारी

कुनैपनि युनिभर्सिटीले दिएको सर्टिफिकेट बोकेर पनि हामी बेरोजगार बन्छाैँ भने त्यो शिक्षाको कुन अर्थ रहयो र ? विद्यार्थीले ग्रहण गर्ने शिक्षाको गुणस्तर उसको स्मरणशक्तिमा मात्र नभै उसको सिर्जनशील क्षमता र व्यवहारिक कार्यक्षमताका आधारमा मुल्यांकन गर्न हाम्रो समग्र शिक्षा प्रणालीलाई प्रयोगात्मक बनाउन जरुरी छ । त्यसको लागि नेतृत्व पक्षले मुलुकको सिङ्गो शिक्षा प्रणालीलाई तहगत सुधार गरी मुलुकको अपरिहार्य आवश्यकता र औचित्यका आधारमा शैक्षिक कार्यक्रम, योजना एवं पाठ्यक्रम बनाउन पर्दछ ।

प्रथमतः विद्यार्थी जीवनको जग भनेकै आधारभूत तह हो । हुन त राज्यले यसलाई निःशुल्क नबनाएको भने हैन तर पढाई, बुझाई र सिकाईको पद्धति जुन छ त्यो वास्तविक धरातलमा परिणाममुखी नभै प्रक्रियामुखी मात्र रहेको पाइन्छ । शिक्षासम्बन्धि ऎन परिमार्जन गर्न राज्यले जति सक्रियता देखाए पनि, परिमार्जित ऐनले पनि कुनै नयाँपनको जनशक्ति डेलिभर गर्न सक्दैन । कुन विषय अनिवार्य र कुन विषय ऐच्छिक बनाउने सम्बन्धमा मात्र ऐन परिमार्जन हुन्छ नकि विद्यार्थीलाई कसरी सिकाउने, कसरी बुझाउने र कसरी सिर्जनात्मक बनाउने सम्बन्धमा हुन्छ ।

यहाँ विज्ञान जस्तो प्रयोगात्मक विषयलाई पनि शब्दमै रटान गर्न लगाईन्छ न कि प्रयोगशालामा लगेर प्रयोगात्मक अभ्यास गराईन्छ । अरु बिषयको त कुरै छाेडाैँ ।
त्यस्तै, स्कूल स्तरमा अध्यापन गराउने प्रायः शिक्षकहरुको मनोवैज्ञानिक पक्ष हेर्ने हो भने समय बिताउने र जागिर टिकाउने भन्ने ध्येय मात्र छ र अभिभावकहरु पनि आफ्ना बाल बच्चाको कुन विषयमा कति अंक आयो भनी उनीहरुको क्षमतालाई मुल्यांकन गर्दछन् । कलिलो बाल मस्तिष्कमा पढिदिनुपर्ने, घोकिदिनुपर्ने भन्ने दवाव हुन्छ, उनीहरुले ईच्छाएको र रुचाएको बिषयमा उनीहरुको कला, सिर्जनशिलता र उनीहरुको अतिरिक्त क्रियाकलापलाई बुझ्ने नत पाठयक्रम छ न त शिक्षकमा सिर्जनशील बनाउने क्षमता नै छ । अझ निजी विद्यालयहरु पनि अंक भारलाई गुणस्तर ट्याग लगाउँदै प्रतिष्पर्धाको होडबाजीमा छन् ।

अमेरिकाले माध्यमिक तहका विद्यार्थीप्रति विद्यार्थी १२ हजार डलर भन्दा बढी लगानी गर्छ । त्यसको परिणाममा विद्यार्थीहरु योग्य र अब्बल भएर निस्कन्छन् । तर नेपालको कुनैबेला १७ प्रतिशत पुगेको शिक्षा बजेट पनि हाल १२ प्रतिशतमा झरेको छ । त्यसको पनि कार्यान्वयन पक्ष प्रभावकारी छैन । राज्यले स्कुल लेभलको शिक्षालाई निःशुल्क मात्र हैन । सबै पाठयक्रमलाई अनिवार्य प्रयोगात्मक बनाई उनीहरुको सिर्जनशिलता तिखार्ने प्रयत्न गरे मात्र त्यो परिणाममुखी शिक्षा हुनेछ । विद्यार्थीलाई रटन्ते र घोकन्ते भन्दा पनि प्रयोगात्मक, सिर्जनशील र अतिरिक्त क्षमताको विकास गर्ने नीति बनाउन अत्यन्तै जरुरी छ । यसले विद्यालय स्तरको दरिलो जग मुलुकलाई प्राप्त हुनेछ ।

माध्यमिक तहको शिक्षापश्चात् जब क्याम्पस लेभलको पढाइ सुरु हुन्छ । विश्वविद्यालयले दक्ष, गुणस्तरीय र विश्व बजारमा प्रतिस्पर्धा गर्ने दक्ष जनशक्ति उत्पादन गर्न असक्षम रहेको पाईन्छ । एकातिर मुलुकको आवश्यकता अनुरुपको शिक्षा छैन भने अर्कोतिर त्यसलाई सिर्जनशील र व्यवहारिक बनाउने सिकाई पद्धति छैन । हाम्रो देशका नेतृत्व वर्गले विकास र समृद्धिको मिठो सपना देखाउँछन् तर त्यसका आधारस्तम्भको रुपमा रहेको शिक्षा क्षेत्र निकै जर्जर भैरहँदा त्यसलाई सबल र अब्बल बनाउन ध्यान दिदैनन ।


जस्तै- हाम्रो देसमा जलविद्युतको प्रचुर सम्भावना रहेको छ, तर त्यसको निर्माणका निम्ति प्राविधिकहरु बाह्य मुलुकबाट झिकाउन पर्छ । तर देशअनुरुपको शिक्षा प्रवाह गर्ने हो भने आफ्नै देशको बजारमा रोजगार सिर्जना हुन्छ र देश विकासमा पनि टेवा पुग्नेछ । त्यस्तै हामीले हासिल गरिरहेको शिक्षा कति व्यवहारिक र परिणाममुखी छ हेरौं- एकातिर कृषिलाई अर्थतन्त्रको पहिलो आधार बनाइन्छ । नेपालीहरु ७०% को हाराहारीमा कृषिमा संलग्न छन् । साथै कृषि अध्ययन गर्ने शिक्षण संस्थाहरु पनि छन् । तर रिजल्टमा हामीले खाद्यान्नको आयत मात्रै अर्बौको गर्छौं उत्पादन सोचे भन्दा ज्यादै दर्दनाक छ । अन्ततोगत्वा हाम्रो शिक्षा परिणाममुखी नभै प्रक्रियामुखी मात्र भएको पाईन्छ । त्यसैगरी हामीसँग पहाडीमुलमा प्रशस्त नगदेबालीका साथै बहुमुल्य जडिबुटी उपलब्ध हुन्छन् तर त्यसको उत्खनन्, अन्वेषण र प्रशोधन गर्ने जनशक्तिको अभाव छ र त्यही मुलको मानिस तराई झरेर आडम स्मिथ, मार्शल, रोबिन्सका सिद्धान्त पढेर डिग्री हासिल गर्छ र बेरोजगार बन्छ ।

हाम्रो शिक्षा प्रणाली वस्तुतः गलत सावित हुन्छ । जब युनिभर्सिटीले सीप र सिर्जनशिलता हैन सर्टिफिकेट मात्र दिन्छ भने त्यो शिक्षाको कुन अर्थ रहन्छ ? हामी आफ्नै बजारमा बिक्न नसक्ने सर्टिफिकेट बोकेर बिश्वको कुन बजारमा प्रतिस्पर्धा गर्न सक्छौं ? त्यसैले राज्यले शिक्षालाई ब्यवहारिक जीवनसँग जोड्न सक्नुपर्दछ । विद्यार्थीको सिर्जनशिलता र उसको ब्यवहारिक क्षमतालाई उजागर गर्न सक्नुपर्दछ । यहाँ विज्ञान, वाणिज्य, शिक्षा, मानविकी मात्र शिक्षाका क्षेत्र नभै खेल, संगीत वा अन्य व्यक्तिगत अभिरुचिका विषयलाई शिक्षा मान्न सक्नुपर्दछ, जुन शिक्षाले सीप र सिर्जनशिलता प्रदान गर्न सकोस् ।

त्यस्तै क्याम्पस लेभलको शिक्षाभन्दा बाहिर खोज अनुसन्धानमुलक शिक्षा हुन जरुरी छ । जुन क्षेत्रमा राज्यले व्यापक लगानी गर्नुपर्दछ । खोज अनुसन्धान एवं अन्वेषणमुलक शिक्षाले आफ्नो मुलुकलाई मात्र नभै समग्र विश्वकै लागि योगदान पुर्‍याउन सकोस् । जसले अर्थ, वित्त, विज्ञान, प्रविधि, कृषि, स्वास्थ्य आदि क्षेत्रको विशाल अध्ययन एवं खोज अन्वेषण गर्न सकोस् । यसमा राज्यले अर्बौं लगानी गरे पनि गुणस्तरीय रिजल्ट निकाल्न सक्ने हो भने त्यसले मुलुकलाई कति पनि घाटा गर्दैन, उल्टो मुलुकको विकासलाई बढोत्तरी गर्न मद्दत गर्नेछ ।

मुलुकको विकास एवं समृद्धिको मेरुदण्डको रुपमा रहेको शिक्षा आज व्यापार गर्ने उत्तम लगानीको क्षेत्र बनेको छ । तथापि निजी शैक्षिक संस्थाहरु पनि विद्यार्थीको अंकभारलाई आफ्नो गुणस्तर ट्याग लगाउँदै प्रतिस्पर्धाको होडबाजीमा लागेका छन् । आज डिजिटल प्रविधिको युगमा संसार दौडिरहेको अवस्थामा राज्य संयन्त्र शिक्षामा क्रान्तिकारी कदम चाल्न गम्भीर बन्न सकेको छैन ।

विद्यार्थीको हक-अधिकारको नारा लगाउँदै सडकदेखि सदन हुँदै सिंहदरबारसम्म पुगेका विद्यार्थी नेतृत्वहरु कति शिक्षामन्त्री भए भने कति त प्रधानमन्त्रीसम्म भएका छन् । तर मुलुकको घोकन्ते र रटन्ते शिक्षामा आमूल परिवर्तन भने हुन सकेको छैन । यसको परिणामस्वरुप शैक्षिक बेरोजगारको संख्या दिनानुदिन बढिरहेको विकराल अवस्था छ । भौगोलिक एवं प्राकृतिक विविधताले भरिपूर्ण मुलुकमा जनशक्ति बेरोजगार छन् भने, प्राकृतिक स्रोत साधनहरु स्थिर छन् । विकास र समृद्धि चर्को नारा लगाउने नेतृत्व वर्गले व्यवहारिक, वैज्ञानिक एवं जीवन उपयोगी शिक्षा बिना मुलुकको समृद्धि असम्भव छ भनेर कहिले बुझ्ने ?

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय