scheduleसोमवार श्रावण १९ गते, २०७७

कोरोना महामारी मान्छेको शरीरमा भन्दा मान्छेको दिमागमा बढी देखियो

प्रा.डा. राजीव झा, निर्देशक- चाइना-नेपाल मेडिकल रिसर्च सेन्टर

तपाईं चीनबाट फर्कनुभएको, चीनबाटै सुरु भएको कोरोनाभाइरसको प्रकोपलाई नजिकबाट हेरिरहनुभएको छ ?

मेरो काम गर्ने ठाउँ चीन नै हो । स्वाभाविकरुपले त्यहाँको परिस्थितिबारे जानकारी राख्नैपर्ने हुन्छ ।

चीनमा शुरुमा के कस्ता गल्तीले गर्दा रोग फैलियो जस्तो लाग्छ तपाईंलाई ?

यसको लक्षण भनेको सामान्य रुघाखोकी जस्तो हो । फेरि त्यो डिसेम्बर, जनवरी रुघाखोकी लाग्ने नै मौसम हो । कुनै पनि मान्छेले त्यसलाई गम्भीर रुपमा लिँदैन । फेरि संसारमा कतै पनि यो भाइरसको बारेमा जानकारी थिएन । एउटा शंका चाहिँ सार्स हो कि भन्ने थियो तर पछि रोगको निदान गर्ने क्रममा सार्स भेटिएन । अनुसन्धान गर्नेहरुले के भूल गरे जस्तो लाग्छ भने उनीहरुले नयाँ भाइरस हो कि भनेर अनुसन्धान चाहिँ गरेनन् । सार्स होइन भन्ने चाहिँ निश्चित भयो त्यसपछि यो निमोनियाको भाइरल हो भनेर उनीहरु ढुक्क भएर बसे । फेरि २७ वटा केस आइसकेपछि २ हप्ता यो बढेन । जनवरीको १९/२० सम्म यो बढेको थिएन ।

एउटा उदाहरण लिउँ । धेरै पहिले अमेरिकामा पनि निमोनियाबाट मान्छे मरे । एक जना मान्छे मर्दैमा त्यसमा कहिँ पनि कहिल्यै पनि अनुसन्धान गरिँदैन । मेडिकल फिल्डमा अलिकति घण्टी जबसम्म बजाउँदैन, अलर्ट गर्दैन तबसम्म अनुसन्धान गर्दैनन् ।

त्यहाँबाट समाचार आएको थियो नि दुई जना चिकित्सकहरुले सूचना दिँदा उनीहरुलाई जागिरबाट निकालियो भनेर ?

हैन हैन । यसमा समाचार आउँदा केही तोडमरोड पनि भएको थियो । चीनले गल्ती पनि गरेको थियो, ती चिकित्सकहरुलाई दण्ड दिएर । वुहानमा ती चिकित्सकहरुले के भनेका थिए भने नयाँ किसिमको भाइरस पो आउन लाग्यो कि क्या हो, यसले त भयानक स्थिति पो ल्याउँछ कि । तिनीहरुको गल्ती के भयो भने विच्याट र वेवो नामक सामाजिक सञ्जालको प्रयोग गरेर भन्न थाले । यो कुरा उनीहरुले सम्बन्धित निकायहरुसँग सल्लाह गरेर सार्वजनिक गरेको भए केही फरक पर्दैनथ्यो होला । १५/२० जनामा देखिएको रोगबारे त्यसरी सन्देश प्रवाह गर्दा सवा अर्ब जनतामा कस्तो सन्देश जान्छ ?

पछि त्यसले भयानक रुप लिइसकेपछि पनि चीनले त्यसलाई नियन्त्रणमा लिन सक्यो । यसको पछाडिको कारणहरु के होला ? चीनको खास क्षमता के हो जसले यसरी रोग नियन्त्रणमा लिन सक्यो ?

मान्छेहरुले त भन्लान् कि चीनमै हुर्कियो त्यसैले चीनको बखान गर्छ भनेर । तर यथार्थता के हो भने चीनसँग मेडिकल क्षेत्रमा, अनुसन्धानको क्षेत्रमा क्षमता अद्भूत छ । उदाहरणः दुई दशकअघि अमेरिकामा एच५एन१ फैलिँदा चीनको सहयोगमा अमेरिकाले नियन्त्रणमा लिएको थियो । चीनको क्षमता आज मात्रै होइन । सार्स देखिँदा पनि संसार नै खत्तम हुने भयो भन्ने स्थितिमा सार्सलाई नियन्त्रणमा लिने एउटा मात्रै राष्ट्र चीन नै थियो । अहिले पो मिडियामा आयो चीनले कसरी नियन्त्रणमा लियो भनेर अचम्म लागेको छ तर चीनसँग यसखालको क्षमता पहिल्यै थियो ।

यस्तो क्षमता भन्नाले ? 

चीनमा एक पार्टी राजनीतिक प्रणाली छ । सरकारले भनेको नियम लागू हुन्छ । उसले चीनको हरेक शहर, प्रान्तलाई पूर्ण लकडाउन गर्‍यो । किनभने यो सरुवा रोग हो, यो त फैलिन्छ । त्यसैले चीनले मान्छेलाई मान्छेसँग सम्पर्क हुन नदिएर १४-२८ दिनसम्म हरेक मान्छेलाई क्वारेन्टाइनमा राखिदियो ।

जनवरीको २४/२५ तिर शुरु भएको थियो । शुरुमा लकडाउन वुहानलाई मात्रै गर्‍यो । किन भन्दा वुहानमा काम गर्ने बाहिरको मान्छे अथवा वुहानका बाहिर गएर काम गरेका मान्छे नयाँ वर्षमा फर्कने भए । बाहिरका रोग संक्रमण नभएकालाई पनि वुहान भित्र्याएर रोग सर्ने होला अथवा वुहानभित्रका संक्रमित मान्छे बाहिर पठाउँदा संक्रमण फैलिएला भनेर शुरुमा वुहानमा लकडाउन गर्‍यो । फेब्रुअरीको दोस्रो हप्तातिर उसले क्रमैसँग चीनको सम्पूर्ण प्रान्तहरुलाई, शहरहरुलाई लकडाउन गर्‍यो । त्यतिबेला २८ दिन लकडाउन गर्नुपर्ने अवस्था देखियो । कारण के थियो भने १४ दिन जुन व्यक्तिमा संक्रमणको लक्षण थियो त्यो व्यक्तिको परीक्षणका लागि क्वारेन्टाइन भयो, अर्को १४ दिन चाहिँ ती व्यक्तिले भेटेका अरु व्यक्तिमा संक्रमण छ कि छैन हेर्नका लागि लाग्ने भयो । त्यसैले चीनले २८ दिन पूर्ण लकडाउन गरेको हो । वुहान २ महिना लकडाउन भएको हो, पूरै चीन चाहिँ २८ दिन लकडाउन भयो ।

भनेपछि उनीहरुको मेडिकल क्षेत्रमा भएको विशिष्ट क्षमता र लकडाउन सफल भएको कारणले नियन्त्रणमा आएको हो ?

त्यहाँ राष्ट्रिय एकता पनि देखियो । जबजब यस्तो समस्या आउँछ नि राष्ट्रवादले एकदम काम गर्छ । चीनमा भएका हरेक प्रान्तका चिकित्सकहरु वुहान पुगेका थिए । मेरै विश्वविद्यालयबाट पनि तीन चरण गरेर लगभग डेढ सय चिकित्सकहरु गएका थिए । एक विश्वविद्यालयबाट मात्रै यति गए भने सान्सी पूरै प्रान्तबाट कति गए होलान् ?

चीनको अनुभवको आधारमा नेपालमा महामारी नियन्त्रण गर्न तत्काल के कस्ता कामहरु गरिहाल्नु जरुरी छ ?

हामीकहाँ पहिलो त जनशक्तिको अभाव छ । पहिलादेखि नै हामीले भन्थ्यौं काठमाडौं बाहेक बाहिर डाक्टर नै छैन । यो बेला पनि समस्या त्यही नै छ । अर्को कुरा जति पनि चिकित्सक, नर्स, चिकित्सा-सहायक, मेडिकलमा काम गर्नेहरु छन् तिनीहरुलाई उनीहरुको स्वास्थ्यको सुरक्षाबारे ढुक्क बनाउन सकेका छैनौं । हामीसँग पिपिई छैन, चिकित्सकहरुलाई कुनै किसिमको सुविधा दिइएको छैन । चीनमा प्रोत्साहन भत्ताको कुरा थियो तर यहाँ निजी अस्पताल र सरकारी अस्पतालमै पनि सेवा सुविधामा भिन्नता छ । यस्तो समयमा हरेक अस्पताल एउटै हो भन्ने हिसाबले निश्चित समयका लागि सरकारको नियन्त्रणमा हुनुपर्छ, सरकारले जति सरकारी अस्पतालमा गरिरहेको छ त्यति नै निजी अस्पतालमा पनि गर्नुपर्छ । अनि कमसेकम चिकित्सकहरुलाई अरु भन्दा प्राथमिकतामा राखेर उनीहरुको स्वास्थ्यको सुरक्षाको अनुभुति त गराउनुपर्‍यो नि । सरकार त बन्द कोठामा मास्क लगाएर निर्णय गर्छ, आम जनता घरमा बस्छन् । चिकित्सकहरु त दिनभरि हजारौं बिरामी मान्छेहरुसँग बस्नुपर्छ । खै त उनीहरुलाई सरकारले ढुक्क हुने वातावरण बनाइदिएको ? फेरि काठमाडौं मात्रै हेरेर पनि भएन । काठमाडौंमा समस्या पर्‍यो भने सबै यहीँ केन्द्रित हुन्छन् । तर बाहिर त चेतनाको पनि अभाव छ । साबुन पानीले हात धुने कुरा पनि कतिलाई थाहा नहुन सक्छ । चीनले दिनभरि नै मिडियाबाट कोरोनाबाट कसरी जोगिने भनेर जानकारीमूलक कार्यक्रमहरु प्रशारण गर्ने, अनलाइन पुस्तकहरु निकाल्ने गर्‍यो । हामीकहाँ त मिडिया हेर्ने हो भने कोरोनाविरुद्ध कसरी लड्ने भनेर सन्देशात्मक नभइकन भ्रम फैलाउने किसिमका कुराहरु छन् ।

हामीले स्वास्थ्यकर्मीहरुलाई सुरक्षाकवचः मास्क, पिपिई दिन सकेका छैनौं । तर काम गर भनेर निर्देशन चाहिँ दिएका छौं । चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई चाहिँ आफ्नो ज्यानको माया हुँदैन ?

पिपिई लगायत स्वास्थ्य सामग्रीहरु खरिदमा पनि अनियमितताका कुराहरु आइरहेका छन् । यो बारेमा कत्तिको जानकार हुनुहुन्छ तपाईं ?

हतारमा गर्दा मूल्यमा केही तलमाथि भयो होला तर योसँग हामी सम्बन्धित हुँदैनौं । यो खरिद गर्ने र बिक्री गर्नेको कुरा हो ।

चीनको बारेमा भारत र पश्चिमा मुलुकहरुका मिडियामा आएका समाचारहरुमा चीनमा अहिले भनिएको भन्दा धेरै मान्छेहरु मरेका छन् तर सूचना लुकाइएको छ भनिएको छ । यस्तो भ्रम किन भइरहेको छ ?

यस्तो समयमा हरेक देशका मिडियाले आफ्नो देशलाई नै केन्द्रमा राखेर समाचार लेखेको राम्रो हो । अहिले बाहिरको देशको बारेमा त्यसरी लेख्नु भनेको राजनीतिक पूर्वाग्रह हो, भ्रष्ट दिमागको उपज हो, अवसरवाद हो । विश्व शक्तिराष्ट्र हुने दौडमा अहिले धेरै राष्ट्रहरु छन् । एउटा देशले अर्को देशलाई पछार्ने दाउ यही बेला हेरिरहेका छन् । मिडियाले यसलाई किन र कसरी लिन्छन् त थाहा छैन तर म चाहिँ यस्तो समाचारलाई बकवास भन्छु र म पढ्दा पनि पढ्दिनँ ।

कतिपयले कोरोना महामारी नियन्त्रण भएपछि ‘वर्ल्ड अर्डर’ नै बदलिन्छ भन्छन् । तपाईंको विचारमा चाहिँ कस्तो होला कोरोना नियन्त्रणपछिको विश्व ?

सम्भावना छ । एउटा आर्थिक मन्दी २००८ मा देखिएको थियो । त्यही मन्दीले गर्दा चीन १०/१२ वर्षमा धेरै अघि बढ्यो । अहिले पनि एक खालको मन्दी देखिएको छ । यो मन्दी चाहिँ अलि जटील खालको छ । अहिलेको महामारीका कारणले राजनीतिक मन्दी पनि देखियो, आर्थिक मन्दी पनि देखियो । व्यापारी र ठूला कर्पोरेटको ध्यान चाहिँ राजनीतिक र वित्तीय क्षेत्रमै छ । राजनीतिक क्षेत्रमा चाहिँ फेरि ठूलो राजनीतिक खाडल बन्दैछ त्यसैले अबको राजनीतिक विश्वशक्ति को त भन्ने छ । अहिलेको कोरोना भाइरसको महामारी सकिएपछि हरेक समाजमा अरु धेरै खालका भाइरसहरुको आतंक देखिनेवाला छ ।

अहिलेको यो लडाइँमा सबै मानिसहरु, राष्ट्रहरु एकजुट हुनुपर्ने तर मानवताले नेतृत्व गुमाइरहेको छ । अरु स्वार्थहरुले चाहिँ नेतृत्व पाइरहेको छ भन्छन् नि ?

यो महामारी अहिले मान्छेको शरीरमा भन्दा मान्छेको दिमागमा बढी देखियो । अहिलेको अवस्थामा मान्छेहरुले संसार सबैका निम्ति हो भनेर सोचिरहेका छन् कि मेरो निम्ति अलग्गै संसार हो भनेर सोचिरहेका छन्, म यो वातावरणमा छु भन्ने सोचिरहेका छन् कि वातावरणकै एउटा पक्ष हो म भनेर सोचिरहेका छन् । बुझ्न सकिएको छैन । यो त वैश्विक समस्या हो नि, यसमा त विश्वका सबैबीचमा समन्वय चाहिन्छ । तर यहाँ ठ्याक्कै उल्टो भइरहेको छ । देशहरुले लकडाउन गरेका छन् । एक देश अर्को देशबाट टाढिएको छ । अहिले कुनै पनि राष्ट्रले अर्को राष्ट्रसँग समन्वय गर्न कोसिस गरेका छैनन् । पहिले आफ्नो जनता सुरक्षित छन् भन्ने भएपछि अरुलाई हेर्ने कुरा त ठीकै हो तर यो त विश्वको साझा समस्या हो त्यसैले विश्वकै साझा पहल आवश्यक पनि छ ।

कुनै एक देशमा पनि यो जीवाणु जीवित रह्यो भने त संसारभरि नै जोखिम त रहिराख्ने भयो नि हैन ?

एकचोटि देखिएको भाइरस कहिल्यै पनि हराउँदैन । त्यो सधैं रहिरहन्छ । सार्स भाइरस पनि वातावरणमा छ । पोलियो भाइरस पनि छ । हामीले मलेरिया हरायो भन्छौं तर मलेरियाको किटाणु पनि यही वातावरणमै छ । फरक यत्ति हो कि मान्छेले त्यो भाइरसविरुद्ध लड्ने क्षमता विकास गर्छ र वातावरणअनुसार निष्कृय हुन्छ । यसको मतलब भाइरस मर्‍यो, हरायो भन्ने हुँदैन । २०, ५०, १०० वर्षपछि त्यो फेरि सक्रिय हुन सक्छ । अहिले आएको भाइरस पनि दशकौंदेखि वातावरणमा थियो । त्यो बेला निष्कृय थियो, उसले आफ्नो शक्ति विकास गर्दै गयो र अहिले आक्रमण गरेको हो ।

तपाईंले चीनलाई पनि नजिकबाट चिन्नुभएको छ र नेपाललाई पनि चिन्नुभएको छ । तपाईंको नेपालीलाई र नेपाल सरकारलाई केही सन्देश छ ?

मेरो लागि नेपाल र नेपाली सबैभन्दा महत्वपूर्ण हो । भगवानको कृपाले भनौं, संक्रमण पुष्टि भएका पाँच जनामा सबैको स्वास्थ्य राम्रो छ । आशा गरौं यसभन्दा धेरै नहोस् । मेरो अपेक्षा के छ भने अबको १०/१५ दिन बढेन भने सायद नबढ्ला । अहिलेको लकडाउन अरु दुई हप्ता बढाउनुपर्छ । सहयोगको लागि चिन्ता नगरौं, नेपालमा त्यस्तो भयानक स्थिति आउँदैन । सहयोगको लागि चीन हमेशा तत्पर र तयार छ । तर एउटा अपेक्षा के छ भने नेपालीले पनि सधैंभरि अरुले हामीलाई नै सहयोग गरिदियोस् भनेर नबसुन् । अहिलेको संकटमा नेपालले अन्तर्राष्ट्रिय जगतमा हामी पनि छौं है भनेर देखाउन सकोस्, हामी पनि अरुलाई सहयोग गर्न सक्छौं भनेर नेपालको परिस्थितिअनुसार इटाली, स्पेन लगायतका देशमा जे भइरहेको छ त्यसप्रति सद्भाव रुपमा केही न केही चाहिँ गर्नुपर्छ । मानवता भनेको यही हो । हामी मानवताको कुरा गर्छौं तर सबैभन्दा अव्यवहारिक हामी नै छौं । हामीले कसलाई सहयोग गर्‍यौं ? हामीले त सधैं सहयोग मागिरह्यौं । अहिले पनि हामी अरुको सहयोगकै अपेक्षा गरिरहेका छौं । मानवताको हिसाबले अहिले हाम्रो वास्तविक स्थिति भन्ने हो भने इटाली भन्दा राम्रो छ, स्पेन भन्दा राम्रो छ । महाशक्ति राष्ट्र भनिएको अमेरिकामा डेढ लाख भन्दा बढीलाई संक्रमण भइसक्यो, त्यो भन्दा त हाम्रो स्थिति राम्रो छ नि । अहिलेको स्थितिमा हामीलाई भुइँचालोको बेला हामीलाई सहयोग गर्नेलाई सानै भए पनि सहयोग गर्नुपर्ने हो । हामी आफूले अरुको सहयोग चाहँदा चाहँदै पनि अरुलाई सहयोग गर्नुपर्ने समय हो यो ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय