scheduleसोमवार जेष्ठ १२ गते, २०७७

‘हामी जो भए पनि अब महामारीपछि म कसरी उठ्ने भनेर आफ्नो दिमाग चलाऔं’

अनिलकेशरी शाह, प्रमुख कार्यकारी अधिकृत- नबिल बैंक

सेलिब्रेटी बैंकरका रुपमा चिनिने अनिलकेशरी शाह नेपाल बैंकर्स संघका पूर्व अध्यक्ष पनि हुन् । हाल उनी नबिल बैंकका प्रमुख कार्यकारी अधिकृतको भूमिकामा छन् । उनलाई धेरैले हाइप्रोफाइल बैंकर पनि भन्छन् । उनै शाहसँग साझापोस्टले कोरोना महामारीले अर्थतन्त्रमा पार्ने प्रभावको सेरोफेरोमा संवाद गरेको छ । प्रस्तुत छ उक्त कुराकानीको सम्पादित अंश-

कोरोनाको महामारीका कारण विश्वव्यापी रुपमै अर्थतन्त्रमा ठूलो धक्का लाग्ने विश्लेषण भइरहेको छ । यसले नेपालको अर्थतन्त्रमा चाहिँ कस्तो प्रभाव पार्ला ?

मलाई के लाग्छ भने कोरोना भाइरसले हाम्रो जनसंख्याको सानो हिस्सा मात्रै बिरामी हुन्छ । तर अर्थतन्त्रमा चाहिँ कोरोना भाइरसले शत प्रतिशत प्रभाव पार्छ । जो बिरामी भयो उनीहरुलाई मात्रै प्रभाव पार्ने हैन । हामीले यो महामारी नफैलियोस् भनेर जुन सकारात्मक कदमहरु चालिरहेका छौं, त्यो कदमले अर्कोतिर अर्थतन्त्रलाई चाहिँ शत प्रतिशत नै असर पार्छ । हाम्रो अर्थतन्त्र हेर्ने हो भने सर्वप्रथम पर्यटन हो । भिजिट नेपाल २०२० पनि मनाइराखेका थियौं, राम्रो भइराखेको थियो तर कोभिड १९ आइसकेपछि पर्यटन क्षेत्र ठप्पै छ । पर्यटन भनेको तारे होटलहरु, लज, रेष्टुरेन्ट मात्रै हैन । ती ठाउँहरुमा सामग्री दिने, सेवा दिने लाखौं लाख नेपाली जनताको व्यवसाय नकारात्मक रुपले प्रभावित भएको छ ।
दोस्रो भनेको व्यापार हो । हाम्रो अर्थतन्त्र नै व्यापार अर्थतन्त्र हो । मालसामान आउने, बिक्री हुने सबै ठप्प छ । व्यापारको मात्रा शून्य जस्तै भएको छ । त्यसैले राजश्व संकलनदेखि लिएर नगद प्रवाहको जुन चरण हुन्छ अर्थतन्त्रमा त्यो नै अहिले लकडाउनको अवस्थामा छ ।

Dish_Home

तेस्रो रेमिटेन्स हो । यो महामारीले नेपालमा मात्रै होइन संसारभरि प्रभाव पारेको छ । संसारमा पनि जहाँ अधिकांश नेपाली कामदारहरु छन्, खाडी क्षेत्र, मलेसिया, कोरिया, जापानमा नकारात्मक प्रभाव परिरहेको छ । यो सँगसँगै पेट्रोलियम पदार्थको मूल्य पनि घटेको छ । खाडी क्षेत्रको पूरै अर्थतन्त्र नै पेट्रोलियम पदार्थले धानिरहेको हो । त्यसैले खाडी क्षेत्रमा होस् वा सूदुरपूर्वी देशहरुमा होस् काम एकदम कम छ । नेपाली कामदारहरुलाई लकडाउन भएकोले अहिल्यै फिर्ता पठाउन त सम्भव भएको छैन तर अब लकडाउन सकिएपछि त्यहाँबाट फिर्ता पठाइदियो भने एकातिर रेमिटेन्स आउन बन्द हुन्छ र अर्कोतिर वेरोजगारीको प्रतिशत नेपालमा बढ्छ र त्यसले सामाजिक समस्या बढ्ने, अपराधहरु बढ्ने लगायतका समस्या सिर्जना हुन्छ । भूकम्पले हाम्रो अर्थतन्त्रलाई जुन खालको नकारात्मक प्रभाव पारेको थियो, तराईको आन्दोलनले पारेको थियो त्यो दुबैको भन्दा पनि दशौं गुणा बढी नकारात्मक प्रभाव हाम्रो अर्थतन्त्रलाई कोरोना भाइरसको संकटले पार्छ ।

यसले वर्ल्ड अर्डर नै परिवर्तन गर्छ, कोरोना भाइरसको संकट सकिएको दिन संसार नयाँ अवस्थामा पुग्छ भन्ने चर्चा परिचर्चा पनि भइरहेका छन् । नेपालको त खासमा आयात र रेमिटेन्समा आधारित अर्थतन्त्र भयो । हाम्रो अर्थतन्त्रलाई प्रभावित त पार्छ नै । अर्थतन्त्र प्रभावित भइसकेपछि हामी कस्तो अवस्थामा पुग्छौं ?

वित्तीय क्षेत्रकै कुरा गर्दा अहिले हामीकहाँ कोरोनाको कारणले गर्दा धेरै मान्छेहरु डिजिटलाइजेसनमा गइराखेका छन् । भारतमा नोटबन्दीपछि धेरै मानिसहरु डिजिटलाइजेसनमा गए । हामीकहाँ अहिले पेमेन्ट एपबाट होस् वा एटीएमबाट वा इन्टरनेट बैंकिङबाट कारोबार बढेको छ । कोरोना भाइरसको महामारी सकिएपछि पनि अहिलेका प्रयोगकर्ताहरु यसमै लाग्छन् । किनभने यो सजिलो पनि छ र सुरक्षित पनि छ । वित्तीय क्षेत्रलाई डिजिटलाइजेसन गर्नमा यसले सकारात्मक प्रभाव पार्ने देखिन्छ । अर्कोतिर विदेशमा काम गर्न गएकाहरु फर्किए भने हामी आत्मनिर्भरतातिर लाग्छौं कि जस्तो लाग्छ । छिमेकी देशबाट सामान ल्याउँदा महामारी पनि सँगै आउँछ भनिराखेका छौं, यसले गर्दा हाम्रै देशमा उत्पादन बढ्छ कि, उद्यमशीलता बढ्छ कि जस्तो पनि लाग्छ । विदेशमा रहेका युवाहरु देशमै आएर पनि काम गर्ने अवसर पाउँछन् कि भन्ने खालको कालो बादलमा चाँदीको घेरा पनि देखिराखेको छु ।

बैंक तथा वित्तीय संस्थाहरुले पनि अर्थतन्त्रको आधार विस्तारमा काम गर्न सकिराखेका छैनन् भन्ने आरोप लागिरहेको छ । उत्पादन र उत्पादनशील क्षेत्रमा बैंकहरुको लगानीको अनुपात एकदम कमजोर छ । राज्यले प्राथमिकता निर्धारण गरेका क्षेत्रमा लगानीको अनुपात एकदम कमजोर छ । अबको नयाँ अवस्थामा बैंकहरुले विगतको जस्तो प्रगति देखाउन सक्छन् ?

विगत दुई वर्षलाई नै हेर्ने हो भने त्यसअघि भन्दा बैंकको नाफाको प्रतिशत वा लाभांश घटिरहेकै थियो । किनभने जुन रफ्तारबाट बैंकको पुँजी २/३ अर्बबाट ८ अर्ब पुग्यो त्यही किसिमले शाखाहरु पनि विस्तार भए तर त्यही किसिमले हाम्रो अर्थतन्त्र बढ्न सकेको थिएन । नयाँ संविधान आयो, गणतन्त्र आयो, संघीयता आयो, सात प्रदेश बन्यो । सात प्रदेशको जरा फैलिने बेलामा भूकम्प, तराई आन्दोलनको प्रभाव पर्‍यो र अहिले फेरि कोभिड १९ को प्रभाव पर्‍यो । त्यसैले पनि जुन रफ्तारमा हाम्रो अर्थतन्त्र बढ्न सक्थ्यो त्यो रफ्तारमा नबढेको भएर त्यसको प्रभाव वित्तीय क्षेत्रमा पनि परिहाल्छ । देश जस्तो अवस्थामा भए पनि वित्तीय क्षेत्रले चाहिँ सधैं नाफा नै बनाइराख्छ भन्ने हुँदैन । अहिलेको अवस्थामा पनि वित्तीय क्षेत्र अर्थतन्त्रको मुटु हो । मुटु मजबुत भयो भने मुटु चलिराख्दा जीऊ चलिराख्छ । जसरी मुटुले अंगअंगमा रगत पुर्‍याउँछ वित्तीय क्षेत्रले अंगअंगमा पुँजी पुर्‍याएर अर्थतन्त्रको हरेक अंगलाई मजबुत बनाउने हो । कोरोना भाइरसको प्रभाव वित्तीय क्षेत्रमा पनि पर्छ नै । ब्याज कम गरेर नै अर्थतन्त्र फेरि उकासिन्छ भने ब्याज कम गरौं । तर मेरो विचारमा ब्याज कम गरेर मात्रै हुँदैन । ब्याज कम गर्नुपर्छ त्यो पनि एउटा पक्ष हो तर त्यो सँगसँगै धेरै अरु पनि गर्नुपर्छ । नेपाल सरकारले धेरै काम गर्नुपर्छ, निजी क्षेत्रले गर्नुपर्छ, वित्तीय क्षेत्रले गर्नुपर्छ । सबै पक्ष मिलेर एउटा विस्तृत योजना बनाउनुपर्‍यो । पर्यटन क्षेत्रलाई मात्रै राहत दिएर पनि केही हुनेवाला छैन । हामीले रेमिटेन्सको पक्षमा के कस्तो प्रभाव पर्छ त्यो पनि हेर्नुपर्‍यो, अरु क्षेत्रमा पर्ने प्रभाव पनि हेर्नुपर्‍यो । सबै पक्षको विचार गरेर विस्तृत रणनीति बनायौं भने हामी उठ्न सक्छौं ।

अघि तपाईंले कालो बादलमा चाँदीको घेराको कुरा गर्दै हुनुहुन्थ्यो । आत्मनिर्भरतातिर जाने कुरा, विदेशिएका युवाहरु देशमै आएर देशको अर्थतन्त्रलाई स्वाबलम्बी बनाउन सक्ने कुरा गर्दै हुनुहुन्थ्यो । तर बैंकहरुले कृषि क्षेत्रमा गर्ने लगानीको स्तर एकदमै कम देखिन्छ । उनीहरुलाई प्रोत्साहित गर्न बैंकहरुले नयाँ अवस्थामा कोर्स करेक्सन गर्लान् ?

निश्चित रुपमा गर्नुपर्छ । तर त्यसमा पनि बैंकहरुले मात्रै गरेर हुँदैन । नेपाल सरकारकै दुई वटा बैंक छः कृषि विकास बैंक र वाणिज्य बैंक । नेपाल बैंकमा पनि नेपाल सरकारको अधिकांश पुँजी छ । उहाँहरुले कति गर्नुभएको छ त ? हामीले गर्न नखोजेको कारण कृषिमा लगानी नगर्ने भनेर होइन । वित्तीय क्षेत्रले कहिँ पनि लगानी गर्दा हामीले दुई कुरा हेर्छौं । एउटा त लगानी गरिसकेपछि कत्तिको सुरक्षित छ र लगानी गरेको सावाँ र ब्याज फर्किन्छ कि फर्किँदैन भनेर हामी हेर्छौं । दोस्रो, लगानी गर्ने क्षेत्रमा कति मान्छे उत्साहित छ ? भनेर हेर्छौं । बैंकले पैसा नदिएर मात्रै कृषिजन्य उत्पादन नभएको हो त ? कृषिको उत्पादन बढाउन जग्गा चाहिन्छ र त्योसँगै जनशक्ति चाहिन्छ । अहिले खेत किन बाँझो छ ? बैंकले ऋण नदिएर मान्छेहरु विदेश गएको त हैन नि । मानौं हामीले ऋण दियौं, कसैले गोलभेडा खेती गर्‍यो, कसैले धान खेती गर्‍यो, कसैले मकै खेती गर्‍यो तर सरकारले न त उनीहरुलाई मल दिएको छ, न त सिँचाइको सुविधा छ । भारतमा हेर्ने हो भने किसानले सहुलियतको मल पनि पाइराखेको छ, सिँचाइ सुविधा पनि पाइरहेको छ । नेपाली किसानले उत्पादन गरेको मकै एक सय रुपियाँ प्रतिकिलो हुँदा भारतबाट ६० रुपियाँ प्रतिकिलोमा आउँछ । अनि हामीले पनि सय रुपियाँ नै परे पनि नेपाली मकै नै किन्छु, नेपाली किसानलाई नै प्रोत्साहन गर्छु भन्दैनौं । अनि त्यो किसानले कसरी बैंकको ऋण तिर्न सक्छ ? त्यसैले बैंकले ऋण दिएर मात्रै कृषिको उत्पादन बढ्छ भनेर भ्रममा नपरौं ।

अनि हामीले धान, मकै उत्पादन गरेर मात्रै हुँदैन । उत्पादन गरेको बस्तुलाई हामीले निर्यात पनि गर्नुपर्छ । खाडी क्षेत्रमा के निर्यात गर्न सक्छौं, जापानमा, कोरियामा के के निर्यात गर्न सक्छौं ? त्यो पहिचान गर्नुपर्‍यो । नेपाली किसानहरु पनि डलर कमाउने होस् न । अनि दाल चामल त डलर कमाएपछि छिमेकी देशबाटै किनौंला नि । धान उत्पादनमा भारतसँग हामीले कहिल्यै पनि प्रतिस्पर्धा गर्न सक्दैनौं । हामी ठूलोठूलो परिमाणमा च्याउ उत्पादन गरौं न । अनि च्याउ डलरमा जापानलाई बेचौं । च्याउबाट आएको डलरले भारतबाट किने पनि बंगलादेशबाट किने पनि किनौंला नि चामल त । त्यसैले कृषिमा अलि भिजनरी रणनीति बनाउनुपर्‍यो । जहिले पनि बैंकले ऋण दिएर त्यसैले किसानले गर्न सकेन भनेर मात्रै नबसौं ।

बैंकले ऋण दिने भनेको मैले दिने होइन । बैंकमा खातावालहरुले राखेको पैसा नै दिने हो । भोलि किसानले ऋण तिर्न सकेन र बैंक धरापमा पर्‍यो भने खातावालाहरुले जम्मा गरेको रकम धरापमा पर्छ । अनि त्यो कसले व्यहोर्ने ? हामी भन्न त कृषिप्रधान देश भन्छौं नेपाललाई तर जुन देशमा किसानको छोराले मेरो बुबा किसान हो भन्न लजाउँछ त्यो देशमा बैंकले ऋण दिएर मात्रै कृषिको उत्पादन बढ्छ जस्तो चाहिँ मलाई लाग्दैन ।

लकडाउनले अर्थतन्त्रमा त ठूलै धक्का दिएको छ । सरकारले केही राहतको प्याकेज घोषणा गरेको छ । यसले कस्तो प्रभाव पार्छ ?

लकडाउनले अर्थतन्त्रलाई बर्बादै पार्‍यो भन्छन् । तर लकडाउन नभएको भए के हुन्थ्यो तपाईं विचार गर्नुस् । लकडाउन नभएर काठमाडौंमा एक लाख मान्छेमा कोभिड-१९ पोजेटिभ देखिएको भए, दश हजार मान्छे अस्पतालमा भएको भए अर्थतन्त्र के भयो भनेर कसैको सोचमा हुँदैनथ्यो होला, आफ्नो परिवार लिएर पहाड कसरी कटौं भनेर दौडिरहेका हुन्थ्यौं होला अहिले । त्यसैले महामारीलाई नियन्त्रणबाहिर जान नदिन चालिएको यो कदमलाई म चाहिँ सकारात्मक रुपमै लिन्छु । यसबाट हाम्रो अर्थतन्त्रमा प्रभाव त पर्छ । चिकित्सककोमा जाँदा तपाईंको सानो कालो कोठी आएको रहेछ, १० वर्षपछि क्यान्सर हुन सक्छ आजै काटेर फालौं त भन्दैन नि । पहिले औषधी दिँदै जान्छ, एउटा औषधीले भएन भने अर्को हुँदै उपचार प्रक्रिया अघि बढ्छ । अहिलेको राहत प्याकेज पनि यस्तै हो । एउटा आयो, यही हो राहत प्याकेज भन्ने हुँदैन । यो राहत प्याकेजको शुरुवात हो । शुरुवात एकदम राम्रो भएको छ । वित्तीय क्षेत्रलाई मात्रै होइन पूरै अर्थतन्त्रलाई राम्रो भएको छ । भोलि यही प्याकेजले पुग्यो भने ठीकै छ । भएन भने सरकारले अरु प्याकेज थप गर्छ, गर्नुपर्छ । त्यसैले एकैचोटि यो पनि पुगेन, त्यो पनि भएन नभनौं । सरकारले ६ महिना कसैले पनि नाफा नलिने भनेको भए हामी खुशी हुन्थ्यौं त ? कोही पनि खुशी हुँदैनथ्यो । यो पनि त एउटा आर्थिक प्याकेज हो नि, आम नेपाली जनता त यसबाट खुशी नै हुन्थे होला । तर सरकारले एकैचोटि त्यसो त गरेन नि । त्यसैले अर्थमन्त्रीले ल्याएको प्याकेज शुरुवात हो, शुरुवातमा चाहिने यति नै हो, यो सकारात्मक छ । यसले सकारात्मक प्रभाव अर्थतन्त्रलाई दिइराखेको छ । लकडाउन सकिएपछि यसको कार्यान्वयन हुँदै जान्छ । ऋण तीन महिनापछि तिरे पनि हुन्छ भनिएको छ, त्यो राम्रो हो । अहिले नै तिर्न चाहनेलाई ब्याजमा १० प्रतिशत छुट भनिएको छ, त्यो पनि राम्रै कुरा हो । डेरामा बस्नेलाई एक महिनाको डेराभाडा मिनाहा गर्न आग्रह गरिएको छ, त्यो पनि राम्रै कुरा हो । विद्यालयलाई पनि एक महिनाको शुल्क नलिन भनिएको छ । त्यसैले संस्थादेखि लिएर व्यक्तिसम्म सबै जनालाई छुने किसिमको राहत प्याकेज ल्याइएको छ । यसमा म त सकारात्मक नै छु ।

एक बैंकरको रुपमा तपाईंलाई अहिलेको अवस्थामा आर्थिक इञ्जिनलाई गति दिनको लागि सरकारले थप के गर्नुपर्ला जस्तो लागेको छ ?

मेरो विचारमा सर्वप्रथम त अर्थमन्त्रीको अध्यक्षतामा राष्ट्रिय योजना आयोग, राष्ट्र बैंक पनि होस् र नेपाल बैंकर्स एशोसिएसन, हान, टान, सिएनआई, एफएनसिसिआई सबै पक्ष भएको एउटा टास्क फोर्स बन्नुपर्छ र यसले अर्थतन्त्रलाई कसरी उठाउने भनेर मूल रणनीति बनाउनुपर्‍यो । अनिल शाहले भनेको वा अरु कसैले व्यक्तिगत रुपमा भनेको कुरा गर्दै जाने हो भने हामी कहिल्यै पनि उठ्दैनौं । एउटा विस्तृत योजना बनायौं भने मात्रै हामी अगाडि बढ्न सक्छौं ।

संसारबाट कोभिड १९ को महामारी हट्यो भन्ने भएपछि नेपालले एक वर्षका लागि नेपाल आउनेहरुलाई भिसा फ्रि भन्नुपर्छ । कति पैसा उठ्छ र भिसा शुल्कबाट ? उनीहरु आइदियो भने त्यो भन्दा हजार गुणा बढी पैसा आउँछ नि नेपाललाई । त्यसैले भिसा फ्रि भन्दिनुपर्‍यो । विदेशबाट फर्किएका वा यहीँ भएका युवाहरुमा उद्यमशीलता कसरी विकास गर्ने भन्नेमा निजी क्षेत्रसँग समेत मिलेर योजना बनाउनुपर्‍यो । सबै युवाहरुलाई उद्यमी, स्वरोजगार, रोजगार कसरी बनाउने भन्ने विस्तृत योजना बनाउनुपर्‍यो । कृषिमा क्षेत्रलाई मजबुत बनाउनुपर्‍यो । मैले वागमती प्रदेशको मुख्यमन्त्रीसँग पनि कुरा गर्दा उहाँले किसानहरुलाई तपाईंहरुले मद्दत गर्नुपर्‍यो भन्नुभयो । मैले के गर्ने त भनेर सोध्दा उहाँले हाम्रो प्रदेशमा किवी र जुनार एकदम राम्रो हुने रहेछ त्यसैले किवी र जुनारको राम्रो विरुवा ल्याउने, त्यसलाई चाहिने मल पनि ल्याउने, किसानलाई तालिम पनि दिने हामीले योजना बनाइराखेका छौं भन्नुभयो । पहिले विदेशबाट हुने आयातलाई रोक्ने त्यसपछि निर्यात पनि गर्न थाल्ने उहाँले भन्नुभयो । यसरी प्रष्ट रणनीति भएपछि बैंकहरु, निजी क्षेत्र पनि आउँछन् साझेदारी गर्नका लागि । किसानलाई मद्दत गर्नुपर्‍यो मात्रै भनेर त हुँदैन नि । कृषिको उत्पादन केमा, कसरी गर्ने र कसरी उत्पादित बस्तुको बजारीकरण गर्ने भन्ने विषयमा विस्तृत रणनीति पनि बन्नुपर्छ ।

अहिलेको संकटको स्थितिमा तपाईंको केही सन्देश छ नेपालीलाई ?

सर्वप्रथम, अबको एक हप्ता र एक हप्तापछि पनि बढ्यो भने त्यो अवधिभर घरमै बसौं, जीवित बसौं । घरबाहिरको समस्या त छँदैछ । तर अहिले यो संकटमा मैले के गर्न सक्छु भन्दा घरमा बस्न सक्छु, सुरक्षित बस्न सक्छु, आफ्नो परिवारलाई सुरक्षित राख्न सक्छु र आफू र परिवार सुरक्षित भएपछि समाजलाई सुरक्षित राख्न सक्छु । यही कुरा सबैले गरेनौं र सबैलाई यो रोग लाग्यो भने नेपाल सरकारको क्षमता छैन यसविरुद्ध लड्नको लागि । त्यसैले घरमा बसौं, सुरक्षित बसौं । दोस्रो चाहिँ घरमा बस्दा समयको सदुपयोग गरौं । किताब पढेर हुन्छ कि, इन्टरनेटमा राम्रा कुराहरु हेरेर हुन्छ कि, आफ्नो कार्यक्षेत्रसँग सम्बन्धित विषयमा आफ्नो सीप विकास गरौं । जब यो महामारी हट्छ र लकडाउन हट्छ त्यसपछि पनि हुलमुल गर्ने, भोजभतेर गर्ने, रमाइलो गर्नेतिर लाग्नुभन्दा सकेसम्म दूरी कायम गरेर सुरक्षित नै बसौं । आफ्नो व्यवसायलाई आफ्नो खुट्टामा कसरी उभ्याउने भनेर सोचौं । सरकारले यो पनि गरेन, त्यो पनि गरेन, भाग्य बलियो भएन भनेर नबसौं । पसिना हामीले नै बगाउनुपर्छ, बुद्धि हामीले नै चलाउनुपर्छ । क वर्गको ठूलो बैंक चलाउने सिइओ होस् वा किराना पसल चलाउने मान्छे होस् या ट्राभल एजेन्सी चलाउने मान्छे होस् वा मजदुर होस्, जो भए पनि अब म कसरी उठ्ने भनेर आफ्नो दिमाग चलाऔं । हामी नेपाली कति ठूला ठूला महामारीबाट त उठिसकेका छौं भने यो कोरोना भाइरसको महामारीबाट पनि उठेर अगाडि बढ्छौं ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय