scheduleबिहिवार आश्विन ८ गते, २०७७

पाँचपटक सूचीकृत भएर पनि नोबेल पुरस्कार नपाएका गोर्कीको कहानी

अनुराग भारद्वाज

रुसी साहित्यका चम्किला नक्षत्र मेक्सिम गोर्कीको आफ्नो देशमा मात्र हैन, विश्व साहित्यमा पनि उत्तिकै उच्च स्थान छ । उनी रुसको निझ्नी नोवगर्द शरहमा जन्मिएका थिए । पिताको मृत्युपछि गोर्की बेसहारा भए । आफ्ना नजिकका नातेदारहरुको घरघर चहार्दै बचपन गुजार्नु उनको नियति बन्यो । तर यही अनुभवपछि उनको लेखनको आधार बन्यो ।

गोेर्की पैदल हिंड्न खुबै मन पराउँथे । जहाँ पुग्थे, त्यहाँको समाज र समस्यालाई गहिरोे गरी बुझ्न खोज्थे । यही तरिकाले उनले आफ्नो ज्ञान र अनौपचारिक शिक्षा अघि बढाए । मानव र विश्वबारे समझदारी हासिल गरे । गोर्कीको खाँटी पारिवारिक नाम अलेक्साई मेक्सिमोकोभ पेश्कोभ थियो । उनको पहिलो उपन्यास सन् १९९२ मा प्रकाशित ‘मकरचुद्र’ थियो । यो किताबमा उनले आफ्नो नाम एम. गोर्की लेखेका थिए । ‘मकरचुद्र’ एक रोम निवासी इटालियन पात्र हो, जो यात्राका लागि हिंडेको छ ।

त्यतिखेर उनी टिफसिल पुगेका थिए । त्यहाँ ट्रान्सककेसियन रेलवे बन्दै थियो । केही समय उनले त्यहाँ खानी मजदुरको रुपमा काम गरेका थिए । पेश्कोव नामको त्यो टुहुरो बालक कसरी एक विश्व चर्चित लेखक मेक्सिम गोर्की बने त्यो उनका संस्मरणका किताबहरु ‘मेरो बाल्यकाल’, ‘मान्छेहरुको माझमा’ र ‘मेरो विश्वविद्यालय’ चर्चा गरिएको छ । यी गोर्कीका आत्मकथा हुन ।

म्याक्सिम गोर्की

‘मेरो बाल्यकाल’ उनी आफ्नो पिताको मृत्युबाट शुरुवात गर्दछन् । यसले उनको पिताप्रतिको श्रद्धा र विश्वास झल्किन्छ । सायद उनी आफ्नी आमाप्रति उत्तिकै विश्वस्त थिएनन् । उनले त्यस किताबमा एक ठाउँ लेखेका छन्, ‘हजुरआमा आमासँग खुबै डराउनुहुन्छ । मलाई पनि खै किन हो आमासँग डर लाग्दछ । त्यसैले आमासँग भन्दा म हजुरआमासंग बढी नजिक हुन्छु ।’

तर गोर्कीको सबैभन्दा स्मरणीय कृति नै ‘आमा’ उपन्यास हो । यो उपन्यासले जारशाही शासनमा जकडिएको रुसको स्थिति चित्रण गर्दछ । रुसका क्रान्तिकारी नेता लेनिनकी पत्नी नाजेज्दा क्रुप्सकायाल लेनिनको जीवनीमा लेखेकी छन् कि उनी गोर्कीको ‘आमा’ खुबै मन पराउँथिन । लेनिनकी बहिनी उल्यानोभले पनि गोर्कीको चर्चा गरेकी छन् । लेनिनको परिवारभित्र गोर्कीलाई महत्व दिएर पढिन्थ्यो भन्ने प्रष्ट हुन्छ ।

लेनिन आफैले यो कृतिको बारम्बार चर्चा गर्थे । गोर्कीले एक ठाउँ यो उपन्यासबारे लेनिनसंगको भेटमा चर्चा भएको उल्लेख गरेका छन् । गोर्की भन्छन्, ‘त्यो भेटमा लेनिनले मेरो आमा उपन्यासको पनि कुरा उठाए । आँखाहरु चम्किला पर्दै उपन्यासका कमजोरीहरु मलाई गनाए । तर उनको प्रष्ट धारणा थियो– यो एक सर्वश्रेष्ठ रचना हो । रुसी समाजको एउटा कालखण्डलाई यसले राम्रो चित्रण गर्दछ ।’

गोर्कीलाई यसकारण मन पराइन्छ कि उनी जे लेख्थे, आफ्नो अनुभूतिको सच्चाई लेख्थे । उनका कथाका पात्रहरु उनको वरिपरिका मान्छे हुन्थे । उनलाई कसैले यो आरोप लगाउन सक्दैनथ्यो कि उनी रुसी समाजको यथार्थभन्दा बाहिर कुनै काल्पनिक कुरा लेख्दैछन् । कतिपय आलोचकले उनलाई ‘आमा’ उपन्यासमा त्यतिखेर रुसी समाजमा हुँदै नभएको क्रान्तिकारी स्थिति दर्साएको आलोचना गरेका थिए ।

पछि गोर्कीले यो प्रष्ट गरे कि उपन्यास सन् १९०२ मा उनको गाउँ निझ्नी इलाकाको सोर्मोवो गाउँमा भएको एक मजदुर आन्दोलनमा आधारित थियो । उनले उपन्यासमा चित्रण गरेकी आमा निलोभ्ना र छोरा पावेल गोर्कीका टाढाका नातेदार एना किरिलोभ्ना जोलोमोभ र उनका छोरा फ्योदोर जोलोमोभाको व्यक्तित्वबाट प्रभावित हुन् ।

गोर्कीले यो उपन्यासमा सर्वहारा र बुर्जुवा वर्गको अवश्यभावी द्वन्द्व देखाएका छन् । त्यो कालखण्ड भने रुसी क्रान्तिभन्दा अगाडिको थियो । क्रान्ति आउँदै थियो, आउनेवाला थियो तर क्रान्तिको आहट गोर्कीले अगाडि नै सुनिसकेका थिए । अप्टोन सिंक्लैरको ‘जंगल’ सन् १९०४ मा लेखिएको थियो त्यसले अमेरिकी समाजको वर्गसंघर्षको चित्रण गर्दथ्यो । गोर्कीको ‘आमा’ सन् १९०६–०७ तिर लेखिएको थियो, यो रुसी समाजमा तत्कालिन वर्गसंघर्षको वर्णन थियो ।

यो एक कारण हो कि पश्चिमा समालोचकहरुले वर्गसंघर्षको चित्रण गर्ने उपन्यासको रुपमा सिंक्लैरको उदाहरण लिन्छन् तर गार्कीलाई कमै महत्व दिन्छन् । यहाँनेर यो प्रश्न सोध्न सकिन्छ, ‘के पश्चिमाहरु रुसी लेखकहरुलाई कमजोर र निम्नकोटीको देखाउने मनोविज्ञानबाट प्रेरित थिए ?’ होइन भन्न सकिन्न । किनकी गोर्कीलाई ५ पटक नोबेल साहित्य पुरष्कारका लागि नामांकन गरिएको थियोे तर पुरस्कार भने कहिल्यै दिइएन । तर पछि रुसबाट भागेर अमेरिका गएका अलेक्जेण्डर सोल्जेनिनित्सीनलाई त्यो पुरस्कार दिइयो । दुवै लेखकहरु जेल परेका थिए । फरक कति हो भने गोर्कीलाई शासनविराधी भावनाको कविता लेखेको आरोपमा जारशाहीले जेल हालेको थियो सोल्जेनिनित्सीनलाई कम्युनिष्ट शासक स्टालिनले जेल हालेका थिए ।

गोर्कीसँग पहिल्यैदेखि पश्चिमाहरुले गलत व्यवहार गरेका थिए । सन् १९०६ को अप्रिलमा जेल मुक्त भएइपछि गोर्की आफ्ना एक साथीको साथ सोसल डेमोक्रेटिक पार्टीका लागि आर्थिक सहयोग संकलन गर्न अमेरिका गएका थिए । त्यहाँ उनलाई अपमानजनक ढंगले होटलबाट निकालिएको थियो । यो अपमान गोर्कीले जीवनमा कहिल्यै बिर्सन नसकेको घटना थियो ।

स्टालिनले भने गोर्कीसंग फरक प्रकारको व्यवहार गरे । गोर्की इटालीमा निर्वासित जीवन विताइरहेका थिए । स्टालिनले उनलाई रुस फिर्ता आउन आग्रह गरे । उनलाई रुसमा ‘राष्ट्र कवि’ को उपाधी दिइने र स्वतन्त्रतापूर्वक लेख्ने वातावरण दिइने वचन दिए । साथै उनलाई ‘गार्ड अफ द लेनिन’ सम्मान दिइयो र उनको गाउँको नाम बद्लेर गोर्की गाउँ बनाइयो । यसबापत गोर्कीले स्टालिनको गुणगानका कयौं लेखहरु लेखे ।

गोर्कीका यी व्यवहारले मान्छेलाई आश्चर्यचकित पार्‍यो । अक्टोबर क्रान्तिको केही समयपछि नै गोर्कीको लेनिनसँग कुरो मिल्न छोडेको थियो । गोर्कीले लेनिनका कयौं नीतिहरुको कठोर आलोचना गरेका थिए । यो दाग गोर्कीको जीवनमा कहिल्यै मेटिएन की उनले स्टालिनजस्तो एक खुंखार तानशाहको समेत समर्थनमा लेखे भने उनी कुन प्रकारको क्रान्ति र स्वतन्त्रताका पक्षघर थिए ?

पछि गोर्की र स्टालिनको सम्बन्ध राम्रो रहेन । गोर्कीको मृत्युको बारेमा पनि अनेक आशंका गरिन्छ । कतिले गोर्की होम एरेस्टमा रहँदा निमोनिया भएर मरे भन्दछन् । कतिपयले स्टालिनले आफ्ना विरोधीहरुलाई सफाया गर्न बनाएको एक स्पेशल टास्कफोर्सको जासुसले गोर्कीलाई मारेको ठान्दछन् ।

जे होस्, गोर्की आफ्नो समयका एक बेजोड लेखक थिए । गोर्कीले साहित्यमा सर्वहारा वर्गको नायकत्वलाई स्थापित गरे र वर्गसंघर्षको साहित्यिक परम्पराका संस्थापक बन्न पुगे ।

(सत्याग्रहको हिन्दी संस्करणबाट भावानुवाद गरिएको)

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय