scheduleआइतवार जेष्ठ ११ गते, २०७७

कोरानापछि ह्वात्तै माग बढेको कामुको उपन्यास ‘द प्लेग’मा के छ ?

एजेन्सी, २३ चैत । कोरोनाको विश्वव्यापी महामारीले उपन्यासकार अल्बर्ट कामुको ‘द प्लेग’ को बिक्रीलाई एकायक बढाएको छ । ‘द प्लेग’ कामुको सन् १९४७ मा प्रकाशित विश्व चर्चित उपन्यास हो । तर नयाँ पुस्ताका पाठकले यो उपन्यास बिर्सिसकेका थिए । सन् २०२० को जनवरीको अन्त्यतिर एकाएक बजारमा पाठकले ‘द प्लेग’ खोज्न थालेको द गार्जियनले खबर लेखेको छ ।

मार्चमा मात्र यसको ५ हजारभन्दा बढी प्रति बिक्री भयो । अमेजन डटकमबाट थप दुई हजार अनलाइन कपी बिक्री भयो । उपन्यासको पिडिएफ कपी गुगलमा सजिलै पाइने हुँदा लाखौं पाठकले यस बीचमा ‘द प्लेग’ पढेको अनुमान गरिदैंछ । यस बीच कयौं स्तम्भकार तथा लेखकले आफ्ना लेखमा ‘ द प्लेग’बारे चर्चा गरेका छन् ।

कामु विश्वप्रसिद्ध लेखक हुन । उनले ४४ वर्षको उमेरमा साहित्यमा सन् १९५७ को नोबेल पुरस्कार पाएका थिए । सन् १९६० मा एक विवादास्पद कार दुर्घटनामा उनको निधन भएको थियो । उनको लेखनमा मार्क्सवाद, अस्तित्ववाद र विसंगतिवादको समिश्रण थियो । प्रारम्भमा उनी मार्क्सवादी थिए । जा पाल सार्त्र्रको संगतले जीवनका केही वर्ष अस्तित्ववादी भए । अन्ततः उनले आफ्नै दर्शन बनाए- विसंगतिवाद । ‘द प्लेग’ उनको विसंगतिवादलाई पुष्टि गर्ने दार्शनिक उपन्यास हो । तर यसको कथा भने प्लेग रोगको महामारीसंग जोडिएको छ ।

Dish_Home

उपन्यासको कथा फ्रान्सेली साम्राज्य अधिनस्थ अल्जेरियाको ओरान शहरमा बुनिएको छ । ओरान बारम्बार प्लेगको महामारी चल्ने शहर थियो । कामुले ओरानको त्यो इतिहास र कथा आफ्नो सुनेका मात्र थिएन । बरु पछिल्लो सन् १९३८ को महामारी भोगेका समेत थिए । अद्यपि, इतिहासका महामारीभन्दा त्यो सानो महामारी थियो ।

तर, ओरानाबासीलाई पुराना कथाहरु खोतल्न मद्दत पुगेको थियो । ओरानमा प्लेगको ठूलो महामारी सन् १८६६ मा भएको थियो । सन् १९३८ को महामारीको समय करिब १ बर्ष अघिको त्यो महामारीका कथा ओरानबासीले संझिएका थिए । तिनै कथाहरु समेटेर कामुले ‘द प्लेग’ लेखेका थिए ।

प्लेग मुसाबाट मान्छेमा सर्ने ज्वरो हो । त्यसलाई पूर्वीया शास्त्रहरुमा ‘मुसिक ज्वार’ भनिएको हुन्छ । यो महामारीबाट मानव इतिहासका विभिन्न कालखण्डमा गरी कम्तीमा १० करोड मान्छेको मृत्यु भएको विश्वास गरिन्छ । कामुले प्लेगको महामारी बीच मान्छेको जीवन, सोच, दयनीयता र दुर्भाग्यलाई चरित्र गरेका छन् ।

प्लेगको नायक डा. बनार्ड ३५ बर्षीय युवा हुन्छ । ऊ बसेको घरको रेखदेख गर्ने बुढो मान्छे एम. मिसेलमा यो रोग पहिलो पटक देखा पर्दछ । यस अघि शहरमा हजारौं मुसाहरु मरेका हुन्छन्, त्यो मान्छेले पत्तै पाउँदैनन् । बुढा मिसेलमा नयाँ रोग प्लेग हुनु पर्दछ भन्ने अनुमान डा. बनार्डले गर्दछ । उसले शहरको प्रशासकलाई भन्दछ तर कसैले पत्याउँदैन ।

मृत्युहरु थपिँदै जान्छन । बनार्डकी श्रीमतीलाई पनि झण्डै यस्तै प्रकारको रोग देखिन्छ । बनार्डले आफ्नी श्रीमती उपचार गर्न अर्कै शहरमा पठाउँछ । तर पनि ओरानमा मान्छे मर्ने क्रम रोकिँदैन । प्रतिदिन जब ३० जना मर्न थाल्छन्, अनि मात्र प्रशासन कायल हुन्छ । शहरको ढोका बन्द गरिन्छ । अरु शहरसंगको सम्पूर्ण सम्बन्ध अन्त्य गरिन्छ । तर पनि मान्छे मर्न छोड्दैनन् ।

डा. बर्नाडले आफ्नो सहयोगी डा. क्यासटललाई साथ लिएर अस्पताल स्थापना गर्दछ । प्लेगको शिकार भएका मान्छेहरुको उपचार गर्न थाल्छ । उसकी बुढा आमा छिन् । छोरा संक्रमित भएर मर्ने डरले उसका परिवारजन र आफन्तले उसलाई त्यसो नगर्न भन्दछन् । तर डा. बनार्डमा एक अभूतपूर्व आत्मानुभूति उत्पन्न हुन्छ ।

उसले सोच्छ, ‘यदि मैले बिमारीको उपचार नगर्ने हो भने म किन डाक्टर भएको ? डाक्टर भन्ने पेशा अस्तित्वमा रहनुको अरु कुनै कारण छ ? म जन्मिए, डाक्टर भए, सायद डाक्टर हुन जन्मिएको थिए, अर्थोक किन भइन ? डाक्टर किन भए ? सायद मेरो जन्मको सार्थकता नै डाक्टर हुनु हो । डाक्टर हुुनको सार्थकता नै बिमारीको उपचार गर्नु हो । त्यसो भए मेरो जन्मको सार्थकता बिमारीको उपचारसंग जोडिएको छ ।’

ऊ साथीहरुसंग भन्छ, ‘मलाई थाहा कि मान्छेले मृत्युलाई जित्न सक्दैन । तर पनि म मृत्युलाई जित्ने प्रयत्न नगरि रहन सक्दिन ।’

मिष्टर ओथन शहरको मजिस्ट्रड हो । ऊ प्लेग भन्दा सनकी, रिसाहा, निर्दयी हृदयको मान्छे थियो । यहाँसम्मकी आफ्नै श्रीमती र छोराछोरीलाई बारम्बार कुटिरहन्थ्यो । तर प्लेगले जब उसको एउटा छोरा मर्‍यो, उसको व्यवहारमा ठूलो परिवर्तन आयो । तर प्लेगले उसलाई पनि छोडेन । ऊ सेल्फ क्वारेन्टाइनमा गयो । निको भयो ।

प्लेग लागेका कोही मर्थे, कोही बाँच्थे । किन र कसरी बाँच्थे, कसैले बुझ्दैनथ्यो । डा. बनार्डले उत्तिकै मेहनत गरेको बिमारीमध्ये पनि कोही बाँच्थे, कोही मर्थे । निको भएर पनि मजिष्ट्रेडलाई आत्मशन्ति भएन । छोराको यादले उसलाई सताउन छोडेन । अन्ततः ऊ प्लेग बिमारीको शिविरमा सेवा गर्न जान थाल्यो । फेरि प्लेगले छोयो र मर्‍यो ।

जिन टाउरो उपन्यासको अर्को मुख्य पात्र हो । ऊ ओरानमा प्लेग शुरुवात हुन भन्दा केही अघि मात्र त्यहाँ आएको हो । ऊ कहाँबाट किन आएको हो, कसैलाई थाहा छैन । पछि जब उसले डा. बनार्डलाई सहयोग गर्न थाल्यो, साथी भयो र आफ्नो कथा खोल्यो । ऊ कुनै शहरको महान्याधिवक्ता पिताको छोरा हो । उसका पिता मृत्युदण्डका पक्षपाती थिए । अदालतमा मृत्युदंडको पक्षमा सधै बहस गर्थे । तर टाउरोलाई त्यो काम हत्या भन्ने लाथ्ग्यो । ऊ भन्छ, ‘ मलाई लाग्छ कि मृत्युदंड भनेको राज्यले गरेको हत्या हो, त्यस्तो काम हत्यारो राज्यले गर्छ । मलाई हत्यारो राज्यमा बस्न मन लागेन । म हत्या र मृत्यु विरुद्धको लडाइँ लडेर मर्न चाहन्छु,’ ओरान आएर ऊ भ्याक्सिनेटर बन्छ ।

रेमोन्ट रामब्राण्ड नामको अर्को पात्र छ, ऊ पत्रकार हुन्छ । ऊ अरबतिरको कुनै जर्नलका लागि रिपोर्टिङ गर्न त्यहाँ पुगेको हुन्छ । उसले श्रीमती पेरिसमा छोडेको हुन्छ । जब शहरमा प्लेग फैलिन थाल्छ,उसले आफूलाई फसेको ठान्दछ । भाग्न चाहन्छ, तर शहरको ढोका बन्द भइसकेको हुन्छ । ऊ शहरको तस्कर प्रमुख गोन्लाजेलको सम्पर्कमा पुग्दछ । गोन्जालेजलाई १० हजार फ्र्याङ्क लिएर भगाउन राजी हुन्छ ।

तर रेमोन्टको मुड चेन्ज हुन्छ । ऊ सोच्छ, ‘ यो शहरमा म आफ्नो काम गर्न आएको थिए । यो शहरलाई सजिलो हुन्थ्यो म यही बस्थे । अप्ठ्यारो परो म भाग्न खोज्दैछु । यसको अर्थको हो- म स्वार्थी र निकृत्ष्ट मान्छे हुँ । यदि म असल मान्छे हुन्थे भने कि यहाँ आउँदिनथे कि यो शहरलाई अप्ठ्यारोमा छोडेर भाग्ने सोच ममा आउँने थिएन ।’ रोमन्ड अब भाग्दैन । ऊ डा. बनार्डलाई सहयोग गर्न थाल्छ । प्लेगको महामारी रोेकिएपछि मात्र पेरिस जान्छ र श्रीमतीलाई भेट्छ ।

फादर प्यानलक्स शहरको नामुद यहुदी पादरी हो । उसलाई ठूलो विश्वास छ- भगवान माथि । ऊ प्लेगलाई पापीहरुलाई सजाय दिन भगवानले पठाएको दण्ड ठान्छ । आफूले भगवानको पुकारा गरेर प्लेग निको पार्दिने दाबी गर्दछ । तर उसले धुपधुवार गरेका प्लेग रोगीहरु भटाभट मर्दछन । त्यसपछि उसलाई भगवनाप्रति ठूलो अविश्वास हुन्छ । अन्ततः ऊ पनि महामारीकै बीचमा मर्दछ । तर उसको रोगको लक्षण भने प्लेगसँग मिल्दैन ।

डा. बनार्डले उसलाई शंकास्पद मृतक मान्दछ । मर्ने बेलामा पादरीले भन्छ, ‘भगवानले पनि मान्छेलाई प्लेगबाट जोगाउँन सक्नु भएन । तर म भगवानप्रति विश्वास आफूमा मर्नु अघि आफैं मर्न चाहन्छु ।’

जोसेफ ग्राड भने ५० बर्षको नगर कर्मचारी हो । ऊ अग्लो र लुरे छ । एक्लो छ । मृतकको अभिलेख बनाउँदै शहरमा हिड्छ । महामारीका अनुभवहरु अभिलेख गर्दछ । ऊ एक स्वघोषित लेखक पनि हो । तर उसको समस्या के हो भने शहरमा उसले जे देख्छ र उसमा जस्ता अनुभूतिहरु सृजना हुन्छन्- ती अभिव्यक्त गर्ने शब्द उसले प्रचलनमा पाउँदैन । ऊ गरिब परिवारको थियो । सानैमा बिहे भयो । दुख्खका वेला जेन्नाले उसलाई छोडी अर्कैसंग बिहे गरी । आज पनि ऊ धनी छैन तर गरिब पनि छैन । प्लेगबाट बाँच्यो भने ऊ कथा लेख्न चाहन्छ । प्लेग उसलाई पनि लाग्छ तर पनि ऊ बाँच्छ र आफूले चाहेको कथा लेख्न बाँकी रहन्छ ।

अर्को विचित्रको पात्र हुन्छ–कोस्टार्ड । सानैदेखि उसलाई धनी व्यापारी हुने रहर थियो । तर प्लेग अघि सफल भएन । त्यतिखेर उसले आत्महत्या गर्ने प्रयास गरेको थियो । जब प्लेग फैलियो, उसले चुरोट र स्थानीय रक्सीको व्यापार थाल्यो । महामारीमा दुवै चीज खुबै बिक्यो । ऊ धेरै धनी भयो । संगसंगै मानसिक उन्मादको रोगले ग्रस्त हुँदै भयो । शहरमा बन्दुक बोकेर घुम्न थाल्यो । भुस्याहा कुुकुर गोलीले मार्न थाल्यो । अन्ततः मान्छेमाथि पनि गोली चलायो र जेल गयो ।

यी कथाहरु भइइरहँदा वर्ष वित्यो । अन्ततः प्लेगको महामारी रोकियो । डा. बनार्डले ठानेको थियो कि उसकी श्रीमती शहर बाहिर सुरक्षित छ । अब शहर बोलाउने छ । तर उसकी श्रीमती पनि मरेको खबर उसले पायो । यस बीच ओरान शहरको जनसंख्या आधा घट्यो । कामुको साहित्यलाई मानवीय दुर्नियतीलाई पुष्टि गर्ने प्रयास गर्दछन् । मान्छे सबैभन्दा बढी मृत्युसँग डराउँछ, अन्ततः त्यही चिज उसले सामना गर्नु पर्दछ ।

कोरोना प्रकोप अहिले प्लेग जतिको दुर्भाग्यपूर्ण भइसकेको छैन । कहाँ त्यो बेलाको १० करोड, करिब एकचौथाई सिछ्याउने प्लेग । कहाँको भर्खरै १० लाख प्रभावित गर्ने कोरोना । कोरोनाभन्दा प्लेग हजारौैं गुण बढी निर्दयी र फासिष्ट थियो । तर मान्छेले त्यसलाई पनि सामना गर्‍यो । प्लेग सामना गर्दा मान्छे कुन मनोदशाबाट कसरी गुज्रिएका थिए– सायद नयाँ पुस्ताले कोरोना सामना गर्ने प्रेरणा प्राप्त गर्न द प्लेग किन्न र पढ्न थालेका हुनसक्छन् ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय