इटलीबाट मात्र ४६ देशमा पुग्यो कोरोना भाइरस
काठमाडौं, २२ चैत । कोरोना भाइरस आकारमा असाध्यै सानो हुन्छ । एउटा सानो कलमको टुप्पोले बनाएको थोप्लोमा लाखौं कोरोना भाइरस अटाउन सक्छन् ।
यो सानो भाइरस चीनको वुहानबाट देखियो । वुहानबाट इटली पुग्यो । तर इटलीबाट झण्डै ४६ देशमा कोरोना पुगेको पाइएको छ ।
वुहान शहरबाट इटलीको राजधानी रोमसम्मको दूरी साढे ८ हजार किलोमिटर भन्दा धेरै छ । रोममा ३१ जनवरीमा कोरोनाको बिरामी भेटिएका थिए । उनीहरु चीनबाट आएका दुई पर्यटक थिए । त्यसपछि इटलीमा लगातार कोरोना फैलिएर महामारीको रुप लिइरहेको छ ।
इटलीलाई केन्द्र बनाएर कोरोना यूरोपमा मात्र होइन संसारका धेरै देशहरुमा फैलिएको छ । संसारका झण्डै ४ दर्जन देशमा भेटिएका कोरोना संक्रमित बिरामीको सम्बन्ध कुनै न कुनै हिसाबले इटलीसँग जोडिएको पाइएको छ । कि उनीहरु इटलीका नागरिक थिए वा इटलीबाट यात्रा गरेका थिए ।
कोरोना भाइरस रोक्न कयौं देशले लकडाउन गरे समयमै । उनीहरुले अन्य देशमा यात्रामा प्रतिबन्ध पनि लगाए । तर, इटलीमा लगातार संक्रमित बढिरहँदा पनि उडानहरु सुचारु गरिए ।
इटलीले मिलान एयरपोर्टको एक टर्मिनल १६ मार्चमा मात्र बन्द गर्यो । त्यतिबेला लम्बार्डीमा ३ हजार ७६० भन्दा बढी संक्रमित भेटिइसकेका थिए ।
तर ठिक विपरित २३ जनवरीमा नै हुबेईलाई पूर्णरुपमा लकडाउन गरिसकेको थियो । त्यतिबेला हुबेईमा ५०० नागरिकमा मात्र कोरोना संक्रमण देखिएको थियो ।
वुहान, हुबेईको राजधानी हो । केवल इटलीले मात्र होइन सिंगो यूरोपले नै कोरोना संक्रमण बढिरहँदा अन्तर्राष्ट्रिय उडान जारी राखेको थियो ।
यी देशहरु जहाँ इटलीबाट कोरोना फैलियो-
१. अफ्रिका
अल्जेरिया, मोरक्को, नाइजेरिया, सेनेगल, ट्युनिसिया जस्ता ९ देशमा कोरोनाको पहिलो संक्रमितको सम्बन्ध इटलीसँग थियो । ९ मार्चमा दक्षिण अफ्रिकामा पहिलो ७ संक्रमित भेटिएका थिए । जसमध्ये सबैजना इटलीबाट वा इटली हुँदै यात्रा गरेर फर्किएका थिए ।
२. अमेरिका
अर्जेन्टिना, ब्राजिल, बोलिभिया, चिली, कोलम्बिया, क्यूबा, डोमिनियन रिपब्लिक, ग्वाटेमाला, म्याक्सिको, उरुग्वे र भेनेजुयलामा कोरोनाको पहिलो संक्रमित बिरामी इटलीबाट आएका थिए । अमेरिकामा पहिलो संक्रमित बिरामी वुहानबाट फर्किएका थिए । यद्यपि, अमेरिकाकै न्यू ह्याम्पसायर, रोड आइसल्याण्ड र मिसोरीमा भेटिएका सबै बिरामी इटलीबाट फर्किएका थिए ।
३. एसिया
कोरोनाको जन्म एसियाको चीनमा भएको मानिन्छ । तर एसियाको धेरै देशमा कोरोना संक्रमण चीनबाट होइन, इटलीबाट भएको छ ।
बंगलादेशमा ८ मार्चमा पहिलो ३ संक्रमित भेटिए । तीमध्ये दुईजना इटलीबाट फर्किएका थिए ।
भारतमा ३० जनवरीदेखि २ फेब्रुअरीबीचमा तीन संक्रमित भेटिएका थिए । उनीहरु वुहानबाट फर्किएका थिए । त्यसपछि कुनै पनि बिरामी भेटिएनन् । २ मार्चमा दुई नयाँ बिरामी भेटिए । उनीहरु इटलीबाट फर्किएका थिए ।
त्यस्तै ६ मार्चमा भारत घुम्न आएका १६ नागरिकमा कोरोना पोजेटिभ देखिएको थियो ।
यीसँगै श्रीलंकामा भेटिएका पहिलो कोरोना बिरामीको कुनै ट्राभल हिस्ट्री थिएन । तर, उनी एक गाइड थिए, जसले इटलीबाट आएका पर्यटकसँग काम गरेका थिए ।
४. यूरोप
कोरोनाको पछिल्लो इपिसेन्टर बनेको यूरोपमा न्यूज एजेन्सी एएफपीका अनुसार १ अप्रिलसम्म यूरोपमा कोरोनाबाट ३० हजार भन्दा बढीको मृत्यू भइसकेको छ । कोरोना संक्रमणबाट अत्यधिक प्रभावित १० देशमा ५ त यूरोपबाटै छन् ।
एन्डोरा, अष्ट्रिया, क्रोएसिया, साइप्रस, डेनमार्क, फ्रान्स, ग्रीस, आइसल्याण्ड, आएरल्याण्ड, लातविया, लिथुआनिया, माल्टा, मोलडोवा, नेदरल्याण्ड, नर्थ म्यासेडोनिया, पोल्याण्ड, रोमानिया, सर्बिया, स्लोभाकिया, स्लोवेनिया, स्पेन, स्विट्जरल्याण्ड, युक्रेनमा पहिलो संक्रमित बिरामीको सम्बन्ध इटलीसँग थियो ।
५. ओसिनिया
यो क्षेत्रमा अस्ट्रेलिया र न्यूजिल्याण्ड समेत १४ देश रहेका छन् । यी देशमा पहिलो केसको ट्राभल हिस्ट्री इटली होइन । तर न्यूजील्याण्डको दोस्रो संक्रमित इटलीबाट फर्किएका थिए ।