scheduleआइतवार आश्विन ११ गते, २०७७

औषधि पसल बन्द भएपछि घण्टौँ हिँडेर औषधि किन्न बाध्य

हेमन्त केसी/जाजरकोट, २२ चैत । अत्यावश्यक सेवाअन्तर्गत निजी अस्पताल र औषधि पसल पनि पर्छन् । तर लकडाउनको अवसर पारेर यहाँका अधिकांश औषधि पसल बन्द भएका छन् ।

कोरोना भाइरस (कोभिड–१९)बाट सङ्क्रमित बिरामी आउने डरले यहाँका अधिकांश औषधि पसल सञ्चालकहरूले सामान्य सेवा पनि नदिने गरी बन्द गरेका हुन् । अरु समयमा बिरामीको जाँचसम्म गर्न भ्याइने यहाँका औषधि पसल सञ्चालकले लकडाउन भएको मितिदेखि नै पसल बन्द गरेका छन् ।

जिल्लाका सात स्थानीय तहमा झण्डै ३०० भन्दा बढी औषधि पसल बन्द हुँदा सर्वसाधारण सामान्य औषधिसमेत स्वास्थ्य संस्थामा गएर लिन बाध्य भएका छन् । अनुमतिबिना नै खुलेआम सञ्चालन भइरहेका मेडिकल बन्द हुँदा सर्वसाधारण घण्टौँ हिँडेर औषधि किन्न बाध्य छन् ।

जिल्लामा छेडागाड नगरपालिकाको थलहमा रहेको डेभिड मेडिकल सेन्टरबाहेक सबै बन्द छन् । कोरोना सङ्क्रमणको डरले अन्य सबै मेडिकल बन्द गरिएको डेभिड मेडिकलका सञ्चालक अर्जुन अधिकारीले बताए । बिरामी तथा औषधि बिक्रीमा चौबीसै घण्टा खटिनुपर्ने निजी मेडिकल पसल कोरोना भाइरस सङ्क्रमणको डरले बन्द गरी बसेपछि जिल्लाका ग्रामीण भेगका बासिन्दाको उपचार सेवा प्रभावित भएको देखिन्छ ।

लकडाउनको अवधिमा पनि सेवा दिनुपर्ने मेडिकलवाला नै बन्द गरेर घरतिर लागेपछि सामान्य रोगको समेत उपचार पाउन नसकेको स्थानीयवासीको गुनासो छ । गाउँमा रहेका मेडिकल बन्द भएपछि उपचारमा समस्या भएको भेरी नगरपालिका–३ का भीम खत्रीले बताए । ‘सङ्कटको बेला सेवा नदिई बन्द गर्नेलाई कारबाहीको दायरामा ल्याउनुपर्छ’, उनले भने, ‘अन्य समयमा डाक्टर ल्याएर महङ्गो शुल्कमा क्लिनिक चलाउने उनीहरूले अहिले पसल बन्द गरेर उपभोक्ता हितविपरीत काम गरेको छ ।’

सरकारी स्वास्थ्य संस्थाले पनि सामान्य अवस्थामा अस्पताल नआउनु भनेर सूचना नै जारी गरेका छन् । यसरी निजी मेडिकल बन्द भएका र सरकारी स्वास्थ्य संस्थाले पनि अन्य रोगको उपचार नगर्ने भएपछि स्थानीयवासी समस्यामा परेका छन् । कोरोना भाइरसका बिरामीको उपचारका लागि व्यक्तिगत सुरक्षा सामग्री नभए र सङ्क्रमित आए आफैँ जोखिममा पर्ने भएकाले मेडिकल नै बन्द गर्नुपरेको भेरी नगरपालिका रिम्नामा मेडिकल सञ्चालन गरिरहेका एक स्वास्थ्यकर्मीले बताए  । मेडिकलमा पर्याप्त औषधि नभएको र लकडाउनका कारण थप औषधि ल्याउन नसकिएकाले मेडिकल नै बन्द गर्नुपरेको मेडिकल सञ्चालकको गुनासो छ ।

पालिकामा पठाइयो दुईका दरले पिपीइ

यहाँका सात स्थानीय तहलगायत स्वास्थ्य सेवा कार्यालयमा न्यून मात्रामा व्यक्तिगत सुरक्षा सामग्री (पिपीइ) सामग्री पठाएको छ । कर्णाली प्रदेशले ५० व्यक्तिगत सुरक्षा सामग्री जाजरकोटमा पठाएको थियो । सो सामग्री स्वास्थ्य सेवा कार्यालयले सात स्थानीय तहमा दुईका दरले १४ वटा पठाएको स्वास्थ्य सेवा कार्यालयका प्रमुख टीकाराम जैसीले जानकारी दिए । ३६ पिपीइ सदरमुकाममा राखिएको छ ।

स्वास्थ्य सहायता कक्षमा आवश्यक रहेको आइआर थर्मोमिटर जिल्लामा अहिलेसम्म आउन नसकेको उनको भनाइ छ । मास्क लगाएर स्वास्थ्य सहायता कक्षमा अहिले स्वास्थ्यकर्मीले ज्वारोको नाप लिइरहेका छन् । स्थानीय तहहरुले आफैंले व्यवस्थापन गरी औषधि, अन्य सामग्री खरिद गरेर जाँच कक्षमा सेवा प्रवाह गरिरहेको बताइएको छ । रासस

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय