scheduleसोमवार श्रावण १९ गते, २०७७

‘संकटपछि कसरी पाहुना ल्याउने भनेर अहिल्यैदेखि तयारी गर्नुपर्छ’

सिर्जना राणा, अध्यक्ष, होटेल एसोसिएसन नेपाल

तपाईंहरु भ्रमण वर्षको तयारी गरिरहनुभएको थियो । लगानी पक्कै बढेको थियो । अचानक कोरोना संकट आइलाग्यो । अनपेक्षित दुर्घटना जस्तो भयो है ?

हाम्रो जुन किसिमको तयारी र अपेक्षा थियो यसमा यो कोरोना महामारीले त हामीलाई धेरै ठूलो धक्का नै दियो । पहिले भूकम्प लगायतका कुराले हाम्रो देश प्रभावित थियो, अहिले त संसार नै प्रभावित छ । तथ्यांक हेर्दा एकजना पर्यटक आउँदा १२ जना कर्मचारी प्रत्यक्ष अप्रत्यक्ष रुपमा लाभान्वित हुँदो रहेछ । पर्यटक नै नआएपछि त समस्या कुन तहमा छ भन्ने यसै पनि अनुमान लगाउन सकिन्छ । अर्थतन्त्रलाई टेवा पुर्‍याउने मुख्य क्षेत्र हो यो । २५ प्रतिशत वैदेशिक मुद्रा पर्यटन क्षेत्रले नै कमाउने रहेछ । रोजगारी पनि पर्यटन क्षेत्रले धेरै सिर्जना गरेको छ । तर अब संकट त आइहाल्यो नै, यसबाट भाग्न त मिल्दैन । यसबाट पार हुनै पर्छ ।

घटनाक्रम कसरी अगाडि बढ्लान् ? हामीले के गर्नुपर्ला ?

इतिहासमा पनि हेर्ने हो भने जब अर्थतन्त्र जब मन्दीमा जान्छ त्यो कुनै न कुनै दिन माथि आउँछ नै । यो बेलामा हामीले गर्नुपर्ने केही कामहरु छन् । गन्तव्यको हिसाबले नेपाल संसारमा माथि नै आउँछ । पहिला गोल्डेन ट्रयाङ्गल भनेर पोखरा, चितवन र काठमाडौं अनि ट्रेकिङ थियो नेपालको मुख्य पहिचान । नेपाल भ्रमणवर्षका लागि हामीले नयाँ नयाँ गन्तव्यहरु पहिचान गरेका छौं । अब अहिलेको संकट त केही समयपछि साम्य होला ।

हो, कोरोनाको महामारी कुनै न कुनै दिन त नियन्त्रणमा आउला । त्यसपछि काममा फर्कंदा कस्तो सोच लिनुपर्ला ?
अहिलेको लकडाउन खुलेपछि, संसारबाट कोरोनाको महामारी अन्त्य भएपछि त हामीले फेरि काम गर्नैपर्छ । त्यसका लागि हामीले अहिलेदेखि नै पर्यटकीय गन्तव्यहरु निश्चित गर्ने काम गरौं । ती गन्तव्यसम्म पुग्ने माध्यम के हो । मोटरबाटो कस्तो छ, मोटरबाटो छैन भने हवाइ मार्गबाट हो कि, पैदल जाने हो कि यसमा निश्चित गर्नुपर्‍यो । त्यहाँ घुम्न जान लागेको जोकोहीले कसरी जान सकिन्छ, बाटोको अवस्था कस्तो छ भन्ने कुराको सूचना सजिलैसँग पाओस् । त्यहाँ पुगिसकेपछि बस्ने होटलहरु कस्तो छ, होमस्टेहरु कस्ता छन्, बैठक तथा सम्मेलनहरु गर्ने हलहरु छन् कि छैनन् लगायत सबै सूचना पहिले नै पाउन सक्नुपर्‍यो । होमस्टेहरु पनि सुविधायुक्त र सफा हुनैपर्छ । त्यसका लागि होमस्टे सञ्चालकहरुलाई आवश्यक तालिमहरु पनि दिनुपर्छ । खानाको गुणस्तर पनि कायम गर्नुपर्‍यो, यसमा पनि ध्यान पुर्‍याउनुपर्छ । फोहरमैला व्यवस्थापनको पाटोलाई पनि हामीले मिलाउनुपर्छ । पर्यटकहरुले भोलि भुँइचालो, बाढी, पहिरो जस्ता प्राकृतिक विपत्तीमा कसरी उद्धारकार्य हुन्छ भन्ने कुराको सुनिश्चितता पनि खोज्छन् । साथै उनीहरुको सुरक्षाको सुनिश्चितता पनि हुनैपर्छ । मुख्यतः यी कुराहरुमा केन्द्रित भएर हाम्रा गन्तव्यहरु कुन कुन हुन् भनेर सबै सूचना भएको पुस्तक नै तयार पार्नुपर्छ । यसमा नेपाल पर्यटन बोर्डले पनि काम गर्नुपर्छ ।

प्राथमिककताका अन्य क्षेत्रहरु पनि होलान् नि ?

अर्थतन्त्रलाई उकास्नका लागि मुख्य क्षेत्र नै पर्यटन हो । त्यसपछि कृषि क्षेत्र हो । अब हामी कृषिमा आत्मनिर्भर हुनैपर्छ । अब विदेशबाट पनि धेरैले फर्कनुपर्ने हुन्छ । अब आफ्नै देशमा काम गर्नुपर्छ । पर्यटन, कृषि र जलविद्युतको क्षेत्रमा हामीले ज्यादा ध्यान लगायौं भने हाम्रो भविष्य धेरै राम्रो छ ।

अहिलेकै अवस्थामा हामीले तीनवटा कुरामा जोड दिनुपर्छ । लकडाउनको बेलामा कुनै पनि नागरिकले खानाबाट बञ्चित हुनुहुँदैन, खाना सबैले पाउनुपर्छ । सबैले औषधोपचार पाउनुपर्छ । लगानीकर्ता र कर्मचारीको लागि अबको एक वर्षमा सरकारले के गर्छ भनेर प्याकेज ल्याउनुपर्‍यो ।

सरकारले केही दिनअघि घोषणा गर्‍यो नि आर्थिक प्याकेज ?

त्यो पनि सकारात्मक नै छ । चार महिनाका लागि ल्याइएको छ, त्यो पनि ठीकै भन्छु म । तर जुन प्याकेज आएको छ त्यो हाम्रो आवश्यकताको २५ प्रतिशत मात्रै छ । हामीले त सरकारलाई हामी लगानीकर्ता र कर्मचारीलाई सरकारले के गरिदिनुपर्छ भनेर लिखित सुझाव पनि दिएका थियौं । तर हामीले दिएको सुझावको २५ प्रतिशतमात्रै प्याकेजमा आयो । हाम्रा छिमेकी देशहरुमा तथा अरु देशहरुमा पनि प्याकेजहरु आइसक्यो । थाइल्याण्डले कर्मचारीहरुलाई ५/५ हजार भाट दिने निर्णय गरेको छ । अमेरिकाले दिएको प्याकेज हामी दिन सक्दैनौं होला । तर अरु देशहरुले के गरेको छ त्यसमध्ये हामीले गर्न सक्ने राम्रो कुराहरु त गर्नुपर्‍यो नि । यस्तो संकटबाट पार लाउने विषयमा निर्णय गर्न ढिला गरेर हुँदैन ।

तपाईं झण्डै तीन दशकदेखि अतिथि सत्कारको क्षेत्रमा कार्यरत हुनुहुँदो रहेछ । अहिलेको संकट यो तीन दशकको सबैभन्दा ठूलो संकट हो कि अरु पनि छन् ?

भुइँचालोको समयमा पनि यस्तै अन्यौलमै थियौं हामी । यो मात्रै त हुँदै होइन, हामीले नेपालमा धेरै संकटहरुको सामना गरिसकेका थियौं । तर ती सबै संकटबाट चाँडै नै माथि पनि उकासियौं । दरबार हत्याकाण्ड हुँदा, राजनीतिक परिवर्तका लागि भएका आन्दोलनहरुको समयमा, भुइँचालोको समयमा पनि व्यवसायीहरुलाई धेरै अप्ठेरो परेको थियो । तर हामी सबै मिलेर ती संकटहरुबाट माथि उठ्यौं । त्यसैले अहिले हामीलाई सरकारले पनि हौसला दिनुपर्छ र हामीले पनि सकारात्मक हुँदै सरकारलाई सहयोग गर्नुपर्छ । हामीले गर्नुपर्ने कामहरु पनि गर्दै जानुपर्छ ।

हामीले पर्यटन क्षेत्रमा राम्रा काम के के भएका छन् र त्रुटीहरु के के छन् भनेर समय समयमा विश्लेषण, मूल्यांकन गर्दै अगाडि बढ्नुपर्छ ।

कोरोनाको प्रकोप कहिलेसम्म लम्बिन्छ भन्ने त अहिलेसम्म कसैलाई थाहा छैन । संक्रमण र संक्रमणबाट मृत्यु हुनेको ग्राफ बढिरहेको छ । अहिलेको संकटपछि त वर्ल्ड अर्डर नै परिवर्तन हुन्छ भनिराखेका छन् । पर्यटन उद्योगमा चाहिँ यसले पार्ने दीर्घकालीन प्रभाव के होला जस्तो लाग्छ ?

एक वर्षसम्म त हामीलाई केही दुःख हुन्छ । तर हामीसँग बेच्ने बस्तु त बाँकी नै छ नि । त्यसलाई त कसैले खोसेर लगेको छैन । विश्व कोरोनामुक्त भयो भन्ने भएपछि त मान्छेले भ्रमण त गरिहाल्छ नि । होला उसले बजेट हेरेर आफ्नो क्षमताअनुसारको गन्तव्य रोज्ला तर भ्रमण त गर्छ नै । त्यसैले एक वर्ष चाहिँ सरकारले लगानीकर्ता र कर्मचारीलाई सहयोग गर्नुपर्छ । हामीले यो कठीनाइबाट त जसरी पनि पार हुनैपर्छ ।

अहिले संसारका अरु देशमा जस्तो हामीकहाँ महामारीले ठूलो रुप लिएको छैन । यसरी नै हामीले संकट पार गर्‍यौं भने हाम्रो लागि त यसले नयाँ अवसर पनि सिर्जना गर्ला नि ?

हाम्रो सरकारले लकडाउन गर्ने भनेर सकारात्मक निर्णय लियो । छिमेकी देश भारतमा पनि लकडाउन गरिएको छ । तर भारतमा कस्तो अवस्था आउला भनेर अझै पनि प्रश्नचिन्ह लागिरहेको छ । भारतमा अब महामारीको रुप लिएन भने हामी पनि सुरक्षित नै हुन्छौं तर त्यहाँ महामारीको रुप लिन थाल्यो भने त हामी त्यति सुरक्षित छैनौं । हामी सुरक्षितसाथ यसबाट पार भयौं भने त्यसपछि हामीले कसरी विश्वमा प्रचार गरेर हामीकहाँ पर्यटक ल्याउने भन्ने बारेमा पूर्ण तयारी गर्नुपर्छ । नेपालमा आउ भनेर मात्रै हुँदैन, विमानस्थलदेखि नै यस्तो सुरक्षा मापदण्डहरु पूरा गरिएको छ, होटलहरुमा पनि सरसफाइको यस्तो व्यवस्था छ, बसहरुमा पनि यसरी सुरक्षित हुने गरी मिलाइएको छ भनेर हामीकहाँ आउने पाहुनाहरुलाई विश्वस्त पार्नुपर्छ । हामीले यसरी तयारी गर्न सक्यौं र प्रचार गर्न सक्यौं भने पर्यटकहरुको पर्यटन गन्तव्यको सूचीमा नेपाल पर्छ । पर्यटकलाई कसरी आश्वस्त तुल्याउने भन्ने चाहिँ हाम्रो काममा भर पर्छ ।

हाम्रो धेरै युवा जनशक्ति देशबाहिर छ । खाडी मुलुकको अर्थतन्त्रको मुख्य स्रोत तेलको मूल्यमा पनि गिरावट आइरहेको छ । त्यसैले त्यहाँ काम गर्ने नेपालीहरु जागिरमुक्त हुने सम्भावना बढिरहेको छ । उनीहरु नेपाल फर्किने र कृषिमा क्रान्ति ल्याउने भयो भने त पर्यटन उद्योगलाई पनि त्यसले सकारात्मक प्रभाव पर्छ नि हैन ?

कृषिले त पर्यटन क्षेत्रलाई पूरै टेवा दिन्छ । संसारमा जहाँसुकै पनि खानेकुराको उत्पादनको कामबाट कहिल्यै पनि नराम्रो हुँदैन भनिन्छ । अब युवाहरुलाई पनि अहिले आयात गरेर खाइरहेका थियौं अब चाहिँ आत्मनिर्भर हुनुपर्‍यो भन्नुपर्‍यो ।

तपाईं हानको अध्यक्ष पनि हुनुहुन्छ । नेपाल भ्रमण वर्षको तयारी हुँदै गर्दा यस्तो संकट आयो । विवाहमा सबै तयारी सकिएपछि जन्ती नआएको जस्तो भयो हैन ? होटल व्यवसायीहरुबीच चाहिँ कस्तो संवाद चलिरहेको छ ?

म चाहिँ धेरै बोल्दिनँ, मलाई सबै कुरा कागजमा उतार्नुपर्छ । भाषण गरेर यो भएन त्यो भएन भन्ने मेरो बानी छैन । मैले शुरुमै आफ्ना सदस्यहरुलाई यस्तो समस्या आयो अब हामीले के गर्ने भनेर भनें । त्यसपछि मकहाँ १४/१५ वटा लिखित सूचीहरु आए । त्यो लिएर म नेपाल पर्यटन बोर्डमा गएँ, पर्यटन मन्त्रीकहाँ गएँ अनि रक्षामन्त्रीकहाँ गएँ । त्यहाँ गएपछि उहाँहरुले यो धेरै लामो भयो, यसलाई तत्काल काम गर्नुपर्ने विषय के के हुन् त्यो बनाएर ल्याउनु भन्नुभयो । त्यसपछि मैले तीनवटा विषयमा समेटें । एउटा चाहिँ आर्थिक राहत प्याकेजको कुरा थियो । दोस्रो लगानीकर्ता र कर्मचारीलाई तलब कसरी दिने भन्ने विषयमा थियो । तेस्रो चाहिँ जमीन वा घर लिजमा लिएर व्यवसाय सञ्चालन गरिरहेकाहरुको मुद्दाको विषय थियो । यसरी तीन वटा बुँदामा संक्षेपीकरण गरेर अरु पर्यटनव्यवसायीहरुसँग पनि कुरा गरें । सबैको समस्या त्यसैले नै सम्बोधन गरेको रहेछ । त्यसैले अब सरकारले तत्काल गर्नुपर्ने विषयमा सबै नागरिकहरुलाई खाना र औषधोपचारको सुनिश्चित गर्नुपर्‍यो र लगानीकर्ताहरुका लागि र कर्मचारीहरुका लागि आर्थिक प्याकेज ल्याउनुपर्‍यो ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय