scheduleबिहिवार जेष्ठ १५ गते, २०७७

भजाइनल ट्रमा !

डा. अशोक थापा

कीर्तिपुर ! पुरातन सहरको सामुन्ने ठिङ्ग उभिएको भवन । सहिदको नाममा न्वारन गरिएको घर । माथि जस्ताको छाता ओडाइएको छानो र कमसल इँटाले बुनिएको भित्तो । झट्ट आकार हेर्दा ठ्याक्कै अङ्ग्रेजी एल् आकारको । हो यही हो ‘शहीद स्मारक कलेज’ ।

चन्चले आँखा, सेतो खरायोलाई उछिन्ने गोरी । उन्नाईस वर्षकी । आफ्नो समूहकी नेता । पूरै बोल्ड । हरेक दिन उत्साहका साथ कलेज आउने । सधैँ अनुहारमा जाँगर र हिँडाइमा छुट्टै जोस् भएकी ! साहसी । यही कलेजमा स्नातक पढ्ने, मेनका तमु ।

निख्रँदो फागुन महिनाको ओसिलो बिहानलाई तताएको थियो कल्याङ्-मल्याङ् एक रङ्गिन भिडले । रङ्गीचन्ङ्गी अनुहार लिएर केटाहरू कलेज ड्रेसमै बास्केट बल उफार्दै थिए, कोही चाउचाउ मुर्क्याइरहेका थिए । लखेटा-लखेट, घचेटा-घचेट, भनूँन रङ्गिएको भीड देख्दा लाग्थ्यो उनीहरू मध्यान्हमा पिसाब फेर्न भुन्भुनिएका मौरी हुन् ।

Dish_Home

एक दिनअगावै होली आउनु खास विशेषता हो शहीद स्मारक कलेजको ।

बेलैमा कलेज छिर्ने गोरीको अत्तपत्तो थिएन आज । घनघोर प्रतीक्षामा देखिन्थे उसका ४ थान जिग्री दोस्तहरू । एकएक रङ्का बट्टाहरू हातमा थिए तर उनीहरूको अनुहारमा कमान्डर मरेको सिपाहीमा जस्तै अन्यौलता देखिन्थ्यो । केटीहरू भनिहरेका थिए ‘पैसा तिरेर पनि किन्न नसकिने चिज मित्रता नै रहेछ ।’ तुरुरन्तै ! लमक्-लमक् एकजना किशोरी गेटभित्र छिर्दै थिई । उसको हिडाइमा खास दम थिएन । उत्साह पूरै मुर्झाएको प्रस्टै देखिन्थ्यो । उनीहरू मुस्कुराउने निश्‍चित थियो ‘प्रतीक्षाको घडीको अन्तिम सेकेन्ड पूरा हुनलागेकोमा ।’

कालो जुत्तासहितको देब्रे खुट्टो गेटभित्र झ्याप्प छिर्‍यो । दाहिने गेट बाहिरै । मेनका झट्ट गेटभित्र पसी । तुरुन्त चार जनाको झम्टाइमा परी ऊ । भोका चितुवाले सिकार गरेझैँ उसलाई पक्रेर होलीको रङमा डुबाइयो निमेषमै । रातो, पहेँलो, हरियो अनि थरीथरीका रङले एकै छिनमा बिरूप बनी मेनका । तर न ऊभित्र उत्साह थियो न आकर्षण थियो होलीको । सबैले हेरिरहे उसलाई अनौठो मानेर । एउटा जिज्ञाशा ‘हिजोको जोस् खोई यसको भनेर ?’

ओइ ! ‘तेरो आँखा हो कि पाकेको खोर्सानी’ ‘हेर् त रङ र गाजल पनि बगिसकेछ’ । पभी चिच्याइ ।

अँ साँच्ची के भयो? सन्चो छैन हो तँलाई? सज्जाले हो’मा हो’हो थपी ।

‘मैले था पाएँ तँलाई के भा’छ भन्ने’ यसलाई ‘लबेरिया’ भन्ने रोग ला’छ, क्यान्सर भन्दा नि डेज्जर,’ अर्कीले भनी ।

हैन ‘तेरो बोली कस्ले चोर्‍यो आज ?’ प्रश्‍नमाथि प्रश्‍न !

‘त्यै लट्टेले चोर्‍यो होला नि?’ सामूहिक स्वरमा माहौल तात्तियो, अट्टहासले (हा-हा-हा-हा-हा !), बाघभैरव मन्दिर गुञ्जने गरी ।

पूरै उदासी अनुहार, निराश भावमा थिई ऊ । यस्तो लाग्थ्यो मेनका आज वाणीहीन र प्राणविहीन छे । उसले ‘मुन्टो आकाशतिर फर्काई’ उसका आँखाबाट आँसुका डल्ला पल्टन थाले ‘बुरुल्-बुरुल्’ । भर्खर पोतिएको रङ् र गाजल बगेको प्रस्टै देखिन्थ्यो ।

हँ के भयो डब्बा ? लौउ ! उसका साथीहरू मुखामुख गरेर हेरे आफैँ-आफैँलाई । सिताङ्ग भए एकैपटक उनीहरू । मेनका जुरुक्क उठी, हतार-हतारमा । उसले अमिलो मन गरेर सुक्क-सुक्क गर्दै भनी, ‘तिमीहरूलाई भेट्न मात्र आ’को, भोलि छुट्टी छ त्यसैले । म फर्किहाल्छु ल । बाइ !’

यति भनेर ऊ तुरुन्तै गेटबाट बाहिर निस्किई ‘उही उदासी मनको गरुङ्गो भारी बोकेर ।’

होलीका सबै रङ् कालो धब्बामा बदलियो अचानक । एकै पटक माहौल सन्नाटमा डुब्यो । उनीहरूको गुलाबी अनुहार एकै पटक न्यास्रियो । तातेको फलाम पानीमा चोबले जस्तै देखियो, उनीहरूको अनुहार । उसलाई पछ्‌याउने निधो गरे साथीहरूले । एउटी सबैको झोला बोक्न केलजभित्र पसी । बाँकी तीनवटीले उसलाई पिछा गरे भोको सिंहले हरिणलाई पछ्‌याएजस्तै । बेतोडको देखिन्थ्यो उसको हिडाइ । के’ले बित्याँस पार्‍यो डब्बालाई ? साथीहरूले साउती मारेर कुरा गरे बाटैमा । ‘इम्ली बम’ बाँडेकी थिई हिजोसम्म त कलेजमा । पूरा मुडमा थिई । तर त्यै अनुहारमा आज? कालो बादल र हुन्डरी ! अचम्म !

टीयुको पश्‍चिमी पर्खालबाट फनक्क बायाँ घुम्दा ट्याङ्ग्ला फाँटको गुरुङटोल आउँछ, त्यसबाट साँगुरो गल्ली छिरेर सिधा अघि बढेर थोरै बायाँ मोडिँदा एउटा साढे दुई तले घर आउँछ । हो त्यही हो मेनकाको डेरा । कालो गेट । कालै रेलिङ् । त्यसको तल दुई कोठा । हतार-हतार भित्र पसी ऊ । गेट लगाई । कर्‍याङ्—र्‍याङ् आवाज आयो । झोलामा हात हाली । चाबी निकाली । ढोका खोली । भित्र पसी । आफ्नो कोठा पनि यसै गरी खोली । पछाडि फर्केर हेरिन उसले, एकपटक पनि । उसको पछिपछि साथीहरू हस्याङ्-फस्याङ् गर्दै थिए । लाग्थ्यो एउटा कुख्यात अपराधीलाई ‍पुलिसले पिछा गरिरहेको छ ।

कोठामा पुग्नासाथ झ्याम्म! बिस्तारामा पल्टिई ऊ । साथीहरू पछिपछि आएको देखेर ऊ छक्क परी सायद इरिटेड पनि भई, तर बोलिन, ‘ओई ‘डब्बा’ भन्न के भो तँलाई ? भनेको ।’

‘तैले आज हाम्रो दिन खराब बनाइदिइस् । हाम्रो रोमान्स, उमङ्ग, पूरै ध्वस्त भयो, होलीको यो रङ् पूरै कालो मोसो जस्तो पार्दिस्, मुड पूरै अफ बनाइदिइस् ‘डब्बा’! ।

साथीहरू अलिअलि रिसाए बनावटी पाराले ।

‘ओई सुन्न ! के हामी तेरो मिल्ने साथी होइनौँ? हामी अब तँसँग कहिल्यै नबोल्ने । तँ अब हाम्रो कै पनि होइनस् ।’

अझै रन्किए साथीहरू । मेनका झन् पातलो ब्ल्याङ्केटले मुख डाक्न थाली । र कुनातिर फर्केर गुटुमुटु परी । उसलाई बकाउन पेलान्, धम्की, चेतावनी, डर, त्रासको सबै अस्‍त्र प्रयोग गरे साथीहरूले । उसलाई अत्याए, चिमोटे, चिथोरे, उसको बिस्तारा रङैरङ दलेर बिरूप बनाए साथीहरूले । झन्डै बीस-बाईस मिनटेपछि ऊ भारी शरीर लिएर उठी । एकछिन एकोहोरो टोलाएर झ्यालतिर हेरी । अनि विस्तारै साथीहरूको अनुहारतिर हेरी । उसको अनुहारमा प्रस्ट देखिन्थ्यो होली, अनिँदो र पीडाको रङ्ग पूरै लतपतिएको ।

‘तिमीहरूलाई दुःख दिएँ, सायद यो सामान्य बहाना भन्दा अलगै छ कुरा,’ ऊ बिस्तारै बोल्न थाली ।

‘तिनीहरूलाई थाहा छँदै छ । शिशिर र मेरो अफियर्स । हामी कति क्लोज थियौँ त्यो पनि भन्नै परेन,’ ऊसले लामो सास तानी अनि सुस्केरा हाली, ‘ऊ र म निकै नजिकियौँ, हामी एकविना अर्को साँच्चै छपपटीमा पुग्थ्यौँ । तिमीहरूले बाहिर देखेभन्दा पनि धेरै । यति एकोहोरिएँ कि म सपनामा पनि कराउँदो रहेछु । शिशिर् ! शिशिर्! भनेर । हामी कहाँ मात्र पुगेनौँ । गोदावरी, दक्षिणकाली, टौदह, थानकोट, सल्लाघारी र पर पाइलट बाबा आश्रम, काँआँ, काँआँ । कुन्नि! पाइला रोक्न नसक्नु पहिलो प्रेमको झट्का रहेछ ।’

‘तिमीहरू धेरैलाई यो कुरा पनि थाहा छ दाई र म सँगै बस्छौँ यहाँ,’ फोटोतिर औँला देखाउँदै उसले भनी, ‘ऊ मेरो दाई ऊ नै हो ।’

‘दाईले के पढ्नु हुन्छ रे ?,’ बीचैमा सोधी सज्जाले ।

उसले भनी, ‘इन्भाइरोमेन्टल साइन्स । टीयुमा । म बिहान, दाईको दिउँसो छ क्लास ।’

‘अस्तिको शुक्रबार । दाई फिल्डमा जानु भो । कैलालीको घोडाघोडी ताल । जैविक विविधताको अध्ययन गर्न। यो कुरा शिशिरलाई थाहा थियो ।’

‘शनिबारको दिन म तिमीलाई भेट्न आउँछु,’ उसले भनेको थियो, ‘सायद ऊ एक्लै भेट्न चाहन्थ्यो मलाई कोठामा ।’

सयौँ शनिबार मध्ये त्यो शनिबार भिन्न थियो । अन्य धेरै छुट्टीका दिनभन्दा पनि अलग्गै । विनाकारण छिनछिनमा मनमा उठ्ने तरङ्गले रन्थन्याउँथ्यो । समुन्द्रको लहरीजस्तै मनको चन्चलता एकपछि अर्को गरी आइरहन्थ्यो मनमा । न योजना, न काम, न कुनै उपलब्धि त्यतिकै बितेर पनि जाँदारहेछन् दिनहरू । यतिकैमा साँझको धमिलो किरण फ्याँकेर घाम डाँडाबाट फुत्त हाम फाल्यो । सायद बिलायो । त्यसको केही समयपछि चिप् चिप् चिप् चिप् गरेर गेटको घण्टीले साइरन बजायो छुट्टै लयमा । भिन्न लागेको थियो मलाई त्यस दिनको घण्टीको आवाज पनि । यै कोठा हो हामीले १८ महिना बिताएको । सुरुमा त मैले वास्ता गरिन घरबेटीका कोही मान्छे आए होलान् भनेर । म तर्सेँ पनि एउटा मौनताबाट बिथोलिएर । साँझको सात बजेर पच्ची मिनेट गएको थियो । म जुरुक्ट उठेँ । पहिले आफ्नो कोठाको ढोका खोलेँ । त्यसपछि मूल ढोका खोलेँ । त्यहाँ मेरो पूर्वअड्कल मेल खाएको थियो, ‘ऊ अरू कोही नभएर शिशिर नै थियो ।’

‘तँ काले किन आएको ? साँझ ?,’ मैले सोधेँ ।

अस्ति आउँछु भनेको थिएँ त ? उसले जवाफ दियो । मन्द मुस्कान दिएर उसले भन्यो, ‘आज यहीँ बस्ने, यहीँ खाना खाने हो ।’

मलाई कस्तो उकुस-मुकुस, आतङ्क, भय, भयानकता, व्याकुलताले थिच्यो एकैचोटि । यस्तो अनुभव भाथ्यो कि ढोकाबाट मान्छे होइन प्रवेश गरिरहेको छ ‘भयानक सुनामी ।’

मान्छेहरूलाई के’को डर लाग्छ कुन्नि ? मलाई मान्छेको डर लाग्यो त्यति खेर । सबैभन्दा धेरै डर घरबेटी बूढोको । तै पनि मैले नाइँ भन्न सकिनँ । गफिँदै खाना बनायौँ । ठट्टा गर्‍यौँ । योजनाविना धेरै काम गर्‍यौ पनि । हामी सँगै बस्यौँ । जब साँझ छिप्पिँदै गर्‍यो कालो रातले छोपेझैँ भयो मेरो मन पनि । म खुसी पनि थिएँ डेढ वर्षदेखिको आफ्नो प्रेमीसँगै भएकोमा र दुःख, डर, त्रास र सामाजिक लाजले पूरै छपटपटीमा पनि ।

एउटा बिस्तरा किचनमा थियो । अर्को वल्लो कोठामा । सुत्ने बेला भयो ।

‘तिमी किचनमा सुत’ मैले भनेँ । उसले नसुने जस्तो गर्‍यो । उसले झन् अरू गफ निकाल्यो । गफ गर्दैगर्दा उसले मलाई छुन थाल्यो विस्तारै । कपाल, गर्दन, पिठिऊँ । लगभग जतातै । अन्ततः उसले कसिलो अँगालोमा बेर्‍यो, शरीरका सबै अङ्गमा चुम्यो पालैपालो ।

म बोल्न सकिन, चिट्-चिट् पसिना आयो । लामोलामो सास मात्र फेरेँ । ‘झ्याप्प बत्ती निभायो’ वरैबाट । मेरो सुरुवाल तान्दै, इजार तन्काएर भित्र हात छिरायो उसले । आफ्नै जिऊ धान्नै गारो भयो मलाई । एक्कै पटक! उसले कानैमा मुख लगेर यौन-सम्पर्क राख्‍ने प्रस्ताव गर्‍यो । म अनायाशै चिच्याएछु त्यति बेला ।

मेरो आँखाबाट अगि नै आँसु झरिसकेको रहेछ । ‘के गरेको तिमीले ? शिशिर म तिमीलाई संसारमा सबैभन्दा धेरै माया गर्छु, जे भने पनि मान्छु तर यति हतारो किन गर्‍यौ प्लिज, म तिम्रो खुट्टा ढोग्छु, तिमी बुझ न कुरा खासमा यो हतार अनि गल्ती के’का लागि? अर्को कुरा मेरो शारीरिक अवस्था !’

मैले उसको गालामा दुई हात राखेर मुसार्दै भनेँ । मेरा आँसुका धाराले उसको टिसर्ट लपक्कै भिजेको थियो । बाहिरबाटै छाम्न सकिन्थ्यो उसको मुटुको चाल । ऊ झन्डै बेहोसीमा थियो । उसको मुखबाट एक शब्द पनि बाहिर ननिस्केको मैले पहिलो पटक देखेँ । उसले सम्झाउने असफल प्रयास पनि गर्‍यो ।

‘के सब यी बगबास थिए ? तिमी मेरो गर्लफ्रेन्ड होइन ? हामी विवाह गर्ने भनेर तिमीले नै भनेको होइन ? हामी कहिल्यै नछुट्टिने कसम खाएको होइन ?,’ उसले भट्टाभट् साउती मारेर सोधेको थियो कानैभित्र ।

‘हो, मेरो कुरा त सुन न । म एउटा कुरा भन्छु अनि !,’ मैले अनुनय-विनय, अनुरोध अपील, विन्ती, याचना, प्रार्थना के के हो के के गरेँ । अहँ !

‘पर्दैन मलाई कसैको माया,’ ऊ ठूलो स्वरमा चिच्यायो । मेरो हात हुत्याइदियो करेन्टको धक्काले जस्तै । भित्ताको ऐना भुँइँमा झर्‍याम्म फुट्यो ।

‘ऊ हेरेन ऐनाको हालत,’ उसले भुइँमा देखाई । रातीको ११ बजिसकेको थियो । ऊ लुगा मिलाएर झोला बोकेर घर्‍याक्क ढोका खोल्दै रिसले पुत्ताएर बाहिर निस्क्यो राति नै । सायद आफ्नो कोठामा गयो । मैले १७ पटक फोन गरेँ । घरि उठेन । घरि तपाइँले डालय गरेको नम्बर व्यस्त छ भन्ने आवाज आयो । मेसेज पठाएँ, एकपटक फोन उठाऊ भनेर । मेसेन्जरमा टेक्स गरेँ । उसले रेस्पोन्स गरेन कतैबाट पनि ।

माथिबाट घरबेटी बा कराएर सोधे, ‘के भयो ?’ किन चिच्याएको ?’

‘हेर्नु न बा कत्रो बिरालो मेरो रुममा पसेछ ।’

‘खेदाउ न,’ उहाँले भन्नु भो । मैले भने, ‘खेदाइ सकेँ ।’

सुत्न मलाई मन पर्थ्यो । तर रातभरि निद्रा लागेन । आफ्नो भाग्य, आफ्नो नियति के के कुराले ऐठन गरिराख्यो, बिहान चार बजेछ । मैले उसलाई मेरो बाध्यता भन्न नसक्नु मेरो गल्ती पनि थियो सायद । म बाहिर सर्लक्क सद्धे थिएँ तर भित्रभित्रै ! निद टुटेपछि यो पनि सोचेँ,’ ‘सुत्नु विलाशिता होइन रहेछ’ ।

धेरै कुरा खेले मनमा । सबैभन्दा धेरै प्रेम, सम्बन्ध र आकर्षण खेले । के प्रेम भनेको शारीरिक सम्बन्ध मात्र हो ? कि अनिवार्य तत्त्व ? यौनविनाको प्रेम संसारमा छैन है ? सय बढी प्रश्‍नका आँधिले म रातभरि लछारिएँ कहिले वल्लो भित्ता कहिले पल्लो । एकाएक नर्मल केटी पूरा दार्शनिक जिज्ञाशामा डुबैँ । त्योभन्दा बढी आसुमा डुबेँ । पहिलो पटक केटी भएकोमा मलाई घृणा र छटपटी दुवै सिर्जना भयो ।

मलाई शिशिर देखेर साह्रै रिस उठ्यो । कता-कता घृणा पनि । उसको आक्रोशको प्रतिक्रियामा म सुत्केरी बघिनीजस्तै बने । अनि आफ्नो शरीर । मैले मोबाइल खोलेँ र भ्वाइस मेसेज रेकर्ड गरेँ । रेकर्ड भएको जनाउ घण्टी बज्यो ‘टुइङ्क’ गरेर ।

++++++++

मेरो रिसाएको साथी शिशिर ! तिमीले फोन उठाएनौ राम्रो गर्‍यौ, फेसबुकमा चिडिएर ठीकै गर्‍यौ । यो मेरो भ्वाइस मेसेज सुन्छौ या सुन्दैनौ ? यो पनि तिम्रै खुसी । जे गर !

कुरा दुई वर्ष अगाडिको हो । कक्षा १२ को मौका परीक्षा दिएर गाउँ फर्किएको थिएँ म । फलफूलमा रोज्जा अम्बा नै लाग्छ मलाई । रुचाएर अम्बा खानु मात्र होइन, उत्तिकै स्वादे लाग्छ अम्बाको कलिलो पातको गन्ध पनि । घरमा दशैँले ढकमक्क ढाकेको थियो । घटस्थापनाको दिन थियो । गाउँमा दशैँको महोलले तरङ्ग ल्याएको थियो । आमा घर चोख्याउँदै हुनुहुन्थ्यो रातोमाटोले । बाबा च्याङ्ग्रा रोज्न बजार जानु भएको थियो । घर आउना साथ पहिलो काम गरेँ अम्बाको रुखमा चढ्ने । त्यो पनि लुगा नफेरीकन । मान्छेका केकेमा खुसी हुन्छन् कुन्नि ? रुखमै बसेर अम्बा खानु मेरो पहिलो रोझाइको स्वर्ग थियो । त्यसमा पनि टुप्पाटुप्पामा पाक्ने नाइटेअम्बाको त म फ्यान नै हूँ, स्वाद पनि क्या गज्जबको । आहा ! अहिले पनि भुतुक्कै हुन्छु म अम्बा सम्झेपछि ।

विगत १० वर्षदेखि त्यो अम्बाको रूख उत्तिकै थियो र उस्तै । म अझै टुप्पामा जान चहेको थेँ किन कि झन् राम्रा अम्बा थिए माथि । म सबैभन्दा उपल्लो चोकमा चढेँ । तर समय सधैँजस्तो हुँदो रहेनछ, शिशिर ! करर् कट् कट् कटट् गरेको आवाजले म रुझेँ । मेरो आङ् सिरङ्ग भयो । म लुतुतु तल झरिसकेको थेँ । त्यसपछि ठूलो आवाज आयो कट्याक्क ! म निकै चिच्याएछु । आई—ई मम्मीमीमी–ईई! म एकैपटक भुइँमा बजारिएछु । शरीरमा केही रोपिएजस्तै भयो । रूखमुनि सरादे सिमी फूल खेलेका थिए । पहिला म केहीमा रोपिएँ र म बज्जारिएँ भुईँमा । सिमीको थाँक्रोमा परेको रहेछु । मेरो गुताङ्ग ठेसोमा परेछ, र छेडेछ मलाई । हातमा घर पोत्‍ने पोचो लिएर हतारहतार आमा बाहिर निस्कनु भयो । म पछारिएको ठाउँमा पुग्नु भयो । म बेहोस् जस्तै थिएँ । म रगत आहालमा डुबेछु आमाले उठाउनु भयो । झन्डै आधा फिट लामो काठको सोइलो रोपिएछ । आमा रुन थाल्नु भयो । चिच्याउनु भयो ।

‘गोतामे बा! गोतामे बा!,’ पल्लोघरे गोतामे बा घरै रहेछन् ।

‘लौन गोतामे बा छोरी अम्बाको रुखबाट खसी । सोइलो रोपिएको छ ।’

गाउँभरका एकै छिनमा जुटेछन् । मलाई सेवा अस्पताल पोखरा लगियो । त्यहाँका डाक्टरले प्राथमिक उपचार गरेर काठमाडौँ रिफर गरिदिए । म अचानक भेटिएँ, नर्भिक अस्पतालको इमर्जेन्सीमा । महिला डाक्टरका साथ १७ दिन रुम नं. २०३ मा बिताएँ तड्पिएर । फुत्त गुड न्यूज उदायो घाम झुल्केसरी, ‘तिम्रो अप्रेसन सफल भयो ।’

डाक्टरको माया र हौसलाले म पूरै पुलकित हुन्थेँ । लाग्थ्यो नयाँ उर्जा र हौसलाका खानी हुन् डाक्टर । माया र ममताले होला निकै चाँडै आएजस्तो लाग्यो डिस्चार्ज हुने दिन पनि ।

‘मेनका यु आर लक्की, हामी खुसी छौँ तिम्रो अपरेसन सफल भएकोमा । तर ‘भजाइनल ट्रमा’ले तिमीलाई निकै सताउने छ,’ डाक्टरले मेरो नजिकै आएर भने ।

‘मेनकाले करिब ४ वर्ष बिहे गर्न मिल्दैन,’ आमा नजिक गएर डाक्टरले भन्नु भो । वाल्ल परेर मेरो अनुहारमा हेर्नु भो आमाले । र मेरो कानैमा आएर पुनः डाक्टरले भने, ‘यौन समागन गर्‍यो भने ठूलो खतरा उत्पन्न हुनसक्छ ।’

‘अनि सुनन, तिम्रो दुवै क्लिट (भग) छेदविच्छेद थियो । रियर केस ! हामीले अपरेशन गरी ताछेर फ्याँकिदियौँ त्यसलाई । त्यसले तिम्रो यौन-उत्तेजनामा कमी आउनसक्छ । तैपनि आआफ्नो भाग्य हो, गुड लक,’ यति भनेर डाक्टर बाहिरिनु भयो । मलाई विवाह, उत्तेजना र यौनसम्पर्कमा निषेध गरेर ।

शिशिर म ठान्छु तिमी मेरो सायद पहिलो र अन्तिम साथी हौ । तिमीले त सजिलै भुल्छौ होला तर म भुल्दिन र सक्दिनँ पनि । तिमीले प्रेमलाई जसरी बुझ्यौ हामी समाजले त्यसरी नै बुझेको छ सायद । तिम्रो लागी प्रेम शारीरिक सम्बन्ध मात्र हो र फ्रायडले भनेजस्ते ‘यौनसम्पर्क गर्ने बहाना मात्रै?’ सायद धेरैका लागि त्यस्तै हो ।

तिमी त मसँग भेट्दैनौँ होला । कलेजमा पनि बोल्दैनौ होला, मलाई वेवास्ता गर्छौ होला ।

मलाई बारम्बार तिम्रो सम्झनाको ट्रमा र लखेटिरहन्छ मलाई मेरै भजाइनल ट्रमाले भन्दा पनि धेरै ! बाई ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय