scheduleआइतवार जेष्ठ १८ गते, २०७७

कोरोना संकटः अब बदल्नुपर्छ अर्थतन्त्रको वास्तुकला

डोनाल्ड लो

चाहे जुनसुकै देशका हुन्, विश्वका नीति निर्माताहरूलाई कोभिड-१९ को विश्वव्यापी महामारीले तीनवटा कठोर सत्य प्रष्ट पारेको हुनु पर्दछ ।

पहिलो- संसारका सबै मुख्य अर्थतन्त्र अहिले लकडाउनमा छन् । तर लकडाउान भनेको केवल लकडाउन मात्र हैन, यो अर्थतन्त्रका महत्वपूर्ण क्षेत्रहरुमा पूर्ण वा आशिंक ‘सटडाउन’ हो । लकडाउन भनियोस् वा सटडाउन आउने परिणाम एउटै हो । त्यो के भने- यो स्थिति लामो गएका विश्वको अर्थतन्त्र गहिरो मन्दीमा फस्ने निश्चित छ ।

अधिकांश समाचारपत्रको हेडलाइनमा वित्तिय बजारको परिचक्रबारे लेखिएला तर आर्थिक मन्दीको मुख्य तारो भने गरिब र नाजुक आर्थिक अवस्थामा रहेको ठूलो मानव समुदाय पर्ने छ । यो सबैभन्दा ठूलो सरोकारको बिषय पनि हो । अमेरिकामा बेरोजगारी २०% सम्म तन्किने अनुमान छ । यो सन् २००८ को विश्व वित्तिय मन्दीको अवधिको भन्दा दुई गुणा धेरै हो ।

Dish_Home

यो वर्षको मध्यसम्ममा महामारी नियन्त्रणमा आओस् वा नआओस तर सन् २०२० पूरै वर्ष अर्थतन्त्र ओरालो लागेको वर्ष हुनेछ । यो अवस्था विशेषतः ती विकासशील देशहरुका लागि महाविनाश सरह हुनेछ, जसको अर्थतन्त्रले मुख्य गरी आफ्ना आप्रवासी र अनौपचारिक कामदारहरुको आम्दानीमा सिरानी हालेको छ, उनीहरुको जनसंख्या संरचनामा यस्ता कामदारहरुको संख्या ठूलो छ । यस्ता देशका मान्छेका लागि लकडाउनको मूल्य उनीहरुको आम बचतभन्दा बढी हुन सक्दछ ।

चीन र केही विकसित देशहरुले शुरुवात गरेको लकडाउनको तरिका विशेषज्ञहरुले भने अनुसार रोग संक्रमण हुन नलिने एक विधि हो । महामारीविरुद्धको दीर्घकालीन उपाय हैन । लकडाउनलाई कोरोना महामारी विरुद्धको एक मात्र उपाय ठान्ने हो भने त्यसका बहुअयामिक र प्रत्युत्पादक असरहरु देखा पर्न धेरै लामो समय लाग्ने छैन ।

दोस्रो कठोर सत्य के हो भने लकडाउनको तरिकाबाट संक्रमणको दरलाई रोक्न सकिएला तर रोगलाई सधैका लागि निर्मूल पार्न सकिँदैन । यदि हामीले लकडाउनको तरिकाबाट कोरोनालाई अल्पकालीन दमन गर्‍यौं नै भने पनि लकडाउन खोल्ने बित्तिकै फेरि त्यो फैलिन सक्दछ । विशेषतः त्यतिखेर जब शरद ऋतुको समय आउँछ ।

सामान्यतः अर्थशास्त्रीहरु यो विश्वास गर्दछन् कि महामारी कुनै अल्पकालीन वा मध्यकालीन सार्वजनिक भलाईको काम मात्र हैन । यसको एक दीर्घकालीन प्रभाव हुन्छ । कुनै पनि रोगविरुद्ध त्यतिखेर मात्र मान्छेको शरीरले प्रतिरोधात्मक क्षमता आफूमा विकास गरी सक्दछ, जतिखेर त्यो ६०% मान्छेमा पुगिसक्दछ । यदि खोप र औषधिको आविष्कार भयो भने यो काम छिटो हुनेछ । हामी यथाशीघ्र सामान्य अवस्थामा फर्किन सक्नेछौं । यदि त्यसो भएन भने पनि हामीले आफ्नो इम्युनिटी पावर बढाएरै कोरोनालाई जित्नु पर्ने छ । त्यो निक्कै लामो प्रक्रिया हुनेछ ।

तेस्रो उत्तिकै कठोर सत्य के हो भने- चालु नवउदारवादी भूमण्डलीकरण जो सन् २००८ को मन्दी यता आफैं जोखिमका थियो तर त्यसलाई न परित्याग गरियो न त त्यसको ढाँचामा कुनै महत्वपूर्ण सुधार नै गरियो– अब त्यो उपयुक्त छैन । विश्वका नीतिनिर्माताहरुले यो नवउदारवादी अर्थनीति र ढाँचालाई बदल्ने महत्वपूर्ण अवसर हो भन्ने कुरा किमार्थ बिर्सनु हुँदैन । वर्तमान विश्वसञ्जाल, अन्तर्निभरता र भूमण्डलीकृत अर्थतन्त्रलाई यसले जहाँजहाँनेरबाट झड्का दिइररहेको छ, त्यसलाई अझ उपयुक्त ढाँचामा रुपान्तरित गर्ने दायित्वबाट चुक्नु हुँदैन ।

आर्थिक र मनोवैज्ञानिक निरासाको यो समयमा नीतिनिर्माताहरु अल्पकालीन उपायले लोभिने र दीर्घकालीन अनिश्चित भविष्यका पक्षलाई अनदेखा गर्ने दृष्टिकोण हावी हुन सक्दछ । तर उनीहरुले त्यस्ता लोभबाट आफूलाई जोगाउन सक्नुपर्दछ । अबको स्थितिमा नीतिनिर्माताहरुले चाल्ने कदम भोलि अर्बौ जनताको भविष्य र स्वास्थ्यलाई निर्धारण गर्ने मापक बन्ने छन् ।

भाग्यवश त्यस्ता केही कदमहरु केही सरकारले अबलम्बन गर्न थालिसकेका छन् । विशेषतः पूर्वी एशियाली राज्यहरु ताइवान, दक्षिण कोरिया, सिंगापुर र हङकङले पनि त्यस्ता कदम चालेका छन् जसले कोरोना भाइरसलाई नियन्त्रण गर्न समेत सफलता पाउँदै छ । यसका मुख्य ५ चरणहरु हुन्छन् ।

सबैभन्दा पहिला सरकारले आफ्ना नागरिकलाई यो अप्ठ्यारो कुरा जनसंवादमार्फत् बताउन पर्दछ कि कोरोनालाई जित्ने तरिका भनेको खोप वा औषधिको आविष्कार नहुन्जेलसम्मका लागि इम्युनिटी पावर बढाउनु नै हो । प्राकृतिक इम्युनिटी पावरबाट होस वा एन्टीडट खोपबाट जब ६०% मान्छे प्रतिरोधक हुन्छन् तब मात्र जनजीवन सामान्य जस्तो हुनेछ । त्यस्तो अवस्थामा ८०% संक्रमणहरु आफैं निष्क्रिय हुनेछन् । बाँकी २०% लागि अस्पताल र स्वास्थ्य सेवाको क्षमता बढाउनु पर्नेछ । मानिसको इम्युनिटी पावर बढाउने र भइरहेका स्वास्थ्य सेवा प्रणालीमा सहज पहुँच पुर्‍याउने कुरा नै दीर्घकालीन बिषय हो ।

दोस्रो कुरा– पहिलो चरणको परिणाम स्वरुप जब संक्रमण दरमा एकप्रकारको स्थिरता आउनेछ, रणनीतिमा परिवर्तन गर्न सकिन्छ । लकलाउनको साटो संक्रमितहरुको सघन उपचारको विधिमा जानुपर्ने हुन्छ । तर त्यतिखेर पनि सामाजिक दुरी बनाइरहने वा अन्य सुरक्षा उपाय अपनाउने कुरामा भने कुनै कमजोरी गर्नु हुँदैन । यस्तो प्रयासले कोरोना प्रकोपको ग्राफलाई ओरालो झार्न थाल्नेछ । उच्च जोखिममा भएका लागि राम्रो स्वास्थ्य सेवा पनि दिन सकिन्छ । यदि सरकारहरुले अहिले त्यसो गरिरहेका छैनन् भने तुरुन्त गर्न थाल्नु पर्छ । स्तरीय क्वारेन्टाइन र आइसियु क्षमताको विस्तारमा लगानी गर्नुपर्दछ ।

तेस्रो कुरा- महामारीका सम्भावित क्लष्टरहरुमा व्यापक जाँच गरिनु पर्दछ । इम्युनिटी पार बढाउने र संक्रमणबाट जोखिने उपायबारे व्यापक जनसंचेतना गर्नु पर्दछ ताकी लालामो लकडाउन सधैं गर्नु नपरोस् ।

चौथो- त्यस्ता मान्छेमाथि गहिरो निगरानी र सहयोग बढाउनु पर्दछ जो कोरोना संक्रमणबाट मुक्त भएका हुन्छन् । उनीहरुको आचारविचारको प्रभाव उनीहरुको इम्युनिटी पावरमा कस्तो परिरहेको छ ? त्यसको अनुसन्धान गर्न र ती कुरा अरुलाई सिकाउन सक्नु पर्दछ । सामान्य जीवनमा फर्किएका संक्रमितहरुले प्रतिरोधको अनुभव र सामाजिक आत्मविश्वास दुबै चिज बढाउन भूमिका गर्ने छन् ।

पाँचौं– विद्यमान नवउदारवादी भूमण्डलीकरण र यसले निर्माण गरेको अर्थतन्त्रको ढाँचालाई परिवर्तन गरी अझ सक्षम र जनमुखी बनाउन सबैले काम थाल्नु पर्दछ ।

पहिलो र दोस्रो कदम निक्कै अलोकप्रिय हुनेछन । मानिसलाई यो भन्नु निक्कै कष्टसाध्य कुरा हो कि यो रोगको कुनै उपचार छैन । यो रोग कसरी र कहिले निर्मल हुन्छ, त्यो कस्ले भन्न सक्दछ र ? तर कटु सत्यहरु स्वीकार गर्नु मान्छेका लागि निक्कै गाह्रो काम हो ।

डोनाल्ड लो

मान्छेको स्वभाव नै त्यस्तो हुन्छ कि कुनै जोखिमसंग समायोजन भएर बाँच्नु भन्दा उसले जोखिमको संभावना नै निर्मूल पार्न चाहन्छ । तर सरकारहरुसंग अरु के विकल्प छ र ? उनीहरुले यो अलोकप्रिय र गाह्रो कुरा आफ्ना नागरिकलाई भन्न थाल्नै पर्छ ताकी लकडाउनले ठूलो आर्थिक संकट ल्याएर मानवता अर्को प्रकारकोे संकटमा नपरोस् ।

तेस्रो र चौथो चरणको काम पहिलो र दोस्रोजस्तो अलोकप्रिय हुने छैनन् । तर यसका लागि सरकारहरु जनस्वास्थ्य प्रणालीमा परिवर्तन ल्याउन राजी हुनै पर्दछ । जनस्वास्थ्य प्रणालीमा गरिने सुधार र गुणस्तरीय स्वास्थ्य सेवाको प्रत्याभूतिबाट मात्र यस चरणका उद्देश्यहरु हासिल हुन सक्नेछन् ।

वास्तवमा भन्ने हो भने अहिलेको संकट यी काम गर्न राजनीतिक नेतृत्वमा इच्छाशक्ति र नोकरशाहीमा क्षमता नभएको कारण उत्पन्न भएको हो । फेरि त्यही गल्ती दोहोर्‍याउनु हुँदैन । यो कुरा हामीले बिर्सन हुन्न कि लकडाउन लामो लाने तरिकाले गरिबहरुलाई असाध्यै सताउने छ र आर्थिक विपत्तिको खराब युगमा हामी पुग्नेछौं । यस्को चर्को मारमा अल्पविकसित देश र गरिब नागरिक नै पर्ने छन् । तसर्थ हामी नैतिक तबरले अप्ठ्यारो नपर्ने गरी लकडाउन र सटटाउनबाट सुरक्षित रुपमा बाहिर निस्कने बाटो खोज्नै पर्दछ ।

अब पाँचौ चरणको काम बाँकी रहनेछ । यो पनि निक्कै गाह्रो काम हुने छ । किनकी यो चरणमा विश्व अर्थतन्त्रको वास्तुकला नै बदल्नु पर्दछ । जसरी सन् २००८ को वित्तिय मन्दीले वित्तिय उदारीकरण र एकीकरणको पुनर्संरचना गर्नु परेको थियो, त्यसै गरी यसपटक विश्व सञ्जालको पुनर्संरचना गर्नुपर्ने छ ।

यो संकटले मूलतः विश्व आर्थिक प्रणालीको त्यो नाजुकतालाई उजागर गरेको छ जो आपूर्ती व्यवस्थाको असहजता र प्रतिकुलतासँग जोडिएको छ, जो लाभदायक क्षेत्रको छनौटबाट उत्पन्न हुने असन्तुलनसंग जोडिएको छ, जो लागत तत्वहरुको मात्र पर्वाह गरी मानवीय पक्षलाई वेवास्ता गर्ने प्रवृतिसंग जोडिएको छ । यी चीजहरुको परिवर्तन एक तीक्ष्ण वैज्ञानिक दृष्टिकोणबाट मात्र सम्भव छ ।

करिब दुई दशक अघि स्ट्राउट कौफम्यानले भनेका थिए, ‘जब सञ्जालहरु बढ्दै जान्छन, त्यसको आकार, प्रभाव र अन्तर्निभरता बढ्दै जान्छ, एक खास विन्दूमा पुगेर ती झगडाउन थाल्दछन र त्यसको परिवर्तन नगर्ने हो भने त्यो आफैं दुःखद परिणामको कारक बन्दछ ।’ अहिले हाम्रो विश्व अर्थतन्त्र यसरी विशाल र सघन भएको छ, जसका अन्तर्सम्बन्धहरुले कयौं नकारात्मक परिणाम दिँदैछन् ।

कौफम्यानले यो पनि भनेका थिए कि सञ्जालमा जोड्नीहरुको चरित्र बढी निरन्तरतापूर्ण र पूर्वानुमानयोग्य हुन्छन् । सञ्जाल आफै त्यस्ता कडीहरुप्रति सहिष्णु हुन्छ । अहिलको विश्व आर्थिक प्रणालीको सञ्जालमा हाम्रा देशहरुलाई हामीले त्यस्तै जोड्नीहरुको रुपमा बुझ्नु पर्दछ । यहाँ निर्णय लिने कुरामा मुख्य देशहरुको पूर्वअनुमानित भूमिका छ । सञ्जालको समग्र संभावनलाई महत्व दिनुको साटो सञ्जालको औचित्यलाई महत्व दिएर निर्णय हुन पुग्दछन । त्यसले गर्दा सञ्जालको अस्तित्व नै विपत्तीपूर्ण र दुखद बन्दछ । यसलाई कौफम्यानले ‘जटिलताले निम्त्याउँने विपत्ति’ भनेका थिए ।

अहिलेको हाम्रो संकट यही सञ्जालका दुई जोड्नीहरु चीन र अमेरिकाका पूर्वअनुमानहीन क्रियाकलापहरुको अनावरण हो । यदि हामीलाई कोरोनाबाट बाँच्नु र भूमण्डलीकरण पनि जारी राख्नु छ भने अमेरिका नेतृत्वको भूमण्डलीकरणलाई चीन नेतृत्वको भूमण्डलीकरणको हातमा सुम्पेर मात्र हुँदैन ।

त्यसोको साटो हामीलाई एक यस्तो विश्व प्रणाली चाहिन्छ जसले प्रत्येक जोड्नीको नाजुकतालाई बलियो बनाओस् र जोड्नीहरु बहुआयामिक र विविधतायुक्त परिवेशमा खँदिला हुन सकून् । हामीलाई एउटा यस्तो विश्व प्रणाली चाहिन्छ, जहाँ जोड्नीहरु गठजोड विना अस्तित्वहीन नहून् । सबैको आआफ्नो प्रकारको स्वतन्त्र आर्थिक क्षमता होस् र विश्व सञ्जाल त्यसलाई कमजोर पार्ने हैन अझ मजबुत पार्न सहयोगी बनोस् । त्यसका लागि अझ बृहत, लचिलो र दीगो प्रकारको भूमण्डलीकरणको नयाँ ढाँचा निर्धारित गर्नुपर्दछ ।

(हङकङ विश्वविद्यालयका प्राध्यापक डोनाल्ड लोको यो आलेख साझापोस्टले द साउद चाइना मोर्निङ पोष्टबाट भावानुवाद गरेको हो)

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय