scheduleमगलवार आषाढ़ ३० गते, २०७७

कोरोना भाइरसको सेललाई पूर्णरुपमा मार्न सक्ने औषधि पत्ता लगाएको अष्ट्रेलियन वैज्ञानिकको दावी

काठमाडौं, २३ चैत्त । अष्ट्रेलियाका वैज्ञानिकहरुले कोरोना भाइरसको सेल मार्न सक्ने औषधि पत्ता लगाएको दावी गरेका छन् । अष्ट्रेलियाको मोनाश विश्वविद्यालयका वैज्ञानिकले हालै एक नयाँ अनुसन्धानबाट कोरोना भाइरसको सेललाई ४८ घण्टाभित्र मार्न सक्ने औषधिको विकास गरेको दावी गरेका हुन् ।

बेलायतबाट प्रकाशित हुने डेलीमेलमा प्रकाशित खबरका अनुसार उनीहरुले एउटा सामान्य परजीवी औषधीले ४८ घण्टाभित्र कोरोना भाइरसको सेललाई पूर्णरुपमा मार्न सक्ने पत्ता लगाएको उल्लेख गरेका छन् । औषधीको एकपटक सेवनबाट कोषभित्र रहेका सार्स–कोभ–२ भाइरसलाई मार्न सक्ने उल्लेख अनुसन्धानमा संलग्न वैज्ञानिकहरुले गरेका छन् ।

इभर्मेक्टिन एफडीए अनुमोदित परजीवी विरुद्धको औषधीलाई एकपटक मात्रैको सेवनले बढीमा ४८ घण्टा र कम्तिमा २४ घण्टाभित्र भाइरल आरएनएलाई नष्ट गर्ने मोनाश बायोमेडिसिन डिस्कोभरी इन्स्टिच्युटका डा. काइली वागस्टाफले जानकारी दिए ।

यसअघि उक्त औषधि जुम्रा र लुत्तो रोकथाममा प्रयोग हुँदै आएको छ । इभरमेक्टिन एचआइभी, डेंगी र इन्फ्लुएन्जा रोकथाममा समेत प्रभावकारी हुने वैज्ञानिकहरुले दावी गरेका छन् ।

डा. काइली वागस्टाफका अनुसार यो औषधिको एक डोजले भाइरल आरएनलाई नष्ट गर्न सक्ने बताइए पनि यो औषधिको मानवमा भने परीक्षण गर्न बाँकी रहेको एन्टीभाइरस रिसर्च जर्नलमा प्रकाशित सामग्रीमा उल्लेख गरिएको छ ।

हाल वैज्ञानिकहरु मानवका लागि उपयुक्त डोजको निर्धारण गर्न अनुसन्धान गरिरहेका छन् । अनुसन्धानमा संलग्न डा. वाग्स्टाफ भन्छन्, ‘विश्व समुदाय महामारीको चपेटामा छन्, अहिलेसम्म अनुमति प्राप्त उपचार आएको छैन्, कुनै ‘कम्पाउन्ड’ विश्वमा पहिले उपलब्ध भएको भए मानवलाई छिट्टै सघाउ पुग्थ्यो ।’

उनले उक्त औषधि मानवमा परीक्षण गर्न कम्तिमा एक महिला लाग्ने उल्लेख गर्दै विश्वव्यापीरुपमा उक्त खोप उपलब्ध हुन केही समय लाग्ने स्पष्ट पारे ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय