scheduleसोमवार जेष्ठ १२ गते, २०७७

रोगले थलिएको पार्टी र नेतृत्वले सञ्चालन गरेको सरकारले यहाँभन्दा अरु के गर्न सक्छ र !

राम कार्की, नेता- नेकपा

२००६ सालमा स्थापना भएको नेपाल कम्युनिष्ट पार्टी २०१९ सालपछि विभिन्न समूहमा विभाजित हुनेक्रम सुरु भयो । गत निर्वाचन अगाडि लामो टुटफुटको श्रृंखलालाई क्रमभंग गर्दै दुई ठूला कम्युनिष्ट पार्टीहरु मिलेर नेकपा बन्यो र जनताले अत्यधिक मत पनि दिए । नेकपाको नेतृत्वमा रहेको सरकारबाट धेरै आशा र भरोषा थियो जनतामा । तर, पटक–पटकको काण्डले नेकपाको भविष्मायथि नै प्रश्न चिन्ह खडा गरेको छ । यौन काण्डदेखि आर्थिक अनियमिततासम्मका काण्डैकाण्डको श्रृंखलाले नेकपालाई थिलथिलो बनाएको छ । अब हुँदाहुँदै विश्वभर फैलिरहेको कोरोना महामारीको समयमा पनि ओली निकट नेताहरु स्वास्थ्य सामग्री खरिद प्रकरणमा अनियमिता गरेको कुरा बाहिर आयो । सर्वहारा वर्गका नेता भन्न रुचाउने नेकपाभित्र आस्था र आदर्श किन स्खलित भइरहेको छ ? यिनै विषयमा साझापोष्टले नेकपाका एकजना वैचारिक नेता राम कार्कीसँग कुराकानी गरेको छ ।

तत्कालीन समयमा दुई ठूला कम्युनिष्ट पार्टी गठन गरेर विश्वमै एउटा सन्देश त दिन सकियो । तर, व्यवहारमा त्यसको प्रभाव देखिएन । गडबड कहाँनिर भयो ?

Dish_Home

मुख्य नेताहरुलाई संस्थागत रुपमा काम गर्न रुची कम भैरहेको छ । उहाँहरुभन्दा पछाडिका हामीजस्ता नेता कार्यकर्ताले पनि पार्टीमा अन्तरसंघर्ष चलाउन सकेनौँ । त्यसकै परिणाम नेकपाले बेहोरिरहनुपरेको हो । मुख्य गडबढ नै यहिनिर हो ।

सबै नेपालीको स्वास्थ्यमा ध्यान दिनुपर्ने समय हो यो । प्रधानमन्त्री आफैं बिरामी हुनुहुन्छ । अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कार्यकारी अधिकार पाएर पनि काम गर्न सकिरहनुभएको छैन । के के नै गर्छु भनेर लिएको जनमतमाथि विश्वासघात गर्न पाइन्छ यसरी ?

उहाँहरु (अध्यक्ष) आफ्नै खुसीमा रमाउने । संस्थागतरुपमा काम गर्नमा रुची नराख्ने । आफ्नो अनुकुल काम गर्न पाए उहाँहरु प्रसन्न । पहिले त उहाँहरुले पनि अव्यवस्थाको विरुद्धमा लडेर आउनुभएको हो । शासनमा आएपछि उहाँहरुलाई पनि पुरानै शासकमा जस्तो चैन गर्ने ईच्छा जागेर आयो । आफ्नै ईच्छाले आफ्नै अनुकुलमा देश चलाउने सोचमा हाम्रा नेतृत्व मग्न हुनुहुन्छ । अब उहाँहरुलाई मात्रै कत्ति दोष दिने, उहाँहरुको वरिपरी हामी छौँ, हामीले पनि पार्टीलाई संस्थागत रुपमा संचालन गर्नका लागि गर्नुपर्ने संघर्ष गर्न सकेनौँ । जनतालाई झुक्याएको जस्तो हुनु स्वभाविकै हो ।

पूर्व एमाले र पूर्व माओवादी केन्द्रकोको विचारबाट नेता र नेतृत्वदेखि कार्यकर्तासम्म माथि उठ्न सकेनन् । तपाईले पनि स्वीकारिसक्नुभयो की काम गर्न नसकेकै हो भनेर । काम गर्न किन सकिएन ? कमजोरी कहाँनिर हो ?

नीतिबाट नेतृत्व अगाडि बढ्नुपर्छ । हाम्रा पहिलो महासचिव पुष्पलालले भन्नुभएको थियो की, ‘नेता होईन नीति प्रधान बनाउ’ भनेर । तर अहिले सिंगो पंक्तिले नै नीतिलाई भन्दा नेतालाई प्रधान मानेर गयो । नेतातिर नजिक हुने र नेताकै लहडलाई सहयाग गरिदिने परिपाटी बढेर गयो । नेतालाई कसरी हुन्छ खुसी बनाउने भन्नेतिर नै ध्यान केन्द्रित हुन थाल्यो । अनि फेरी नेतालाई खुसी बनाईयो भने महत्वपूर्ण जिम्मेवारी पनि पाईने । यस्तै रोगले नेकपा आक्रान्त बनेको हो ।

रोगले थलिएको पार्टी र नेतृत्वले सरकार सञ्चालन गरिरहेको अवस्था छ । अप्रजातान्त्रिक कामका कारण प्रतिपक्षी पार्टी नेपाली कांग्रेस पहिल्यै थलिएको थियो, हाम्रो पार्टी उही पुरानै अप्रजातान्त्रिक रोगबाट थलिएको हो । प्रजातान्त्रिक यात्रा गर्न खोज्दा जनताले दुःख पाए ।

२१ औं शताब्दीको जनवादमा नेतृत्वको प्रश्नमा पनि कुरा उठाइएको थियो । नेताहरु बुढो हुँदा पनि, रोगी हुँदा पनि ओछ्यान पर्दा पनि नेतृत्व नछाड्ने अवस्था कहिलेसम्म ?

उहाँहरु (अध्यक्षद्वय) ले कर्तव्यको जत्ति कुरा गर्नुभयो त्यो अरुको लागि, अधिकारजति चाँही आफ्नो भन्ने सोच्नुभयो । विधिमा चल्ने, मूल्य मान्यतालाई नछाड्ने, आदर्शको जीवन बिताउने लगायत कुरा चाँही अरुको लागि लेखिदिनुभएको क्या उहाँहरुले । जबजको पनि अव्याख्या र उपेक्षा भयो । जनताको बहुदलीय जनवाद (जबज) माथि नेतृत्वले कहिल्यै छलफल नै गरेनन् र गर्न नै चाहेनन् ।

जबज लाई एउटा फ्रेममा हालेर धुपबत्ती बालेर राख्ने काम मात्रै भयो । राजनीतिक वाद र विचार भनेको छलफल, विवाद र आलोचना गर्ने विषय हो फ्रेममा सजाएर राख्ने विषय होईन । तपाईले भन्नुभएको जस्तै २१ औँ शताब्दीको जनवादको विषयमा पनि न छलफल भयो, न त त्यसमा थप व्याख्या गर्ने काम नै भयो । त्यसलाई दराजमा थन्क्याएर आफूलाई जे मन लाग्छ त्यहि काम गर्ने प्रवृत्ति बढ्यो ।

गल्ती जहाँबाट भएको हो त्यहिँबाट सच्याउनुपर्यो नी हैन र ?

नेताहरु सञ्चो हुँदा पार्टी सञ्चो हुनुपर्ने र बिसन्चो हुँदा पार्टी बिसञ्चो हुनुपर्ने । यस्तो भएपछि कसरी अघि बढ्न सकिएला र ? सँधैभरी यस्तै निम्सोले मात्रै नेतृत्व गरेर त देश अघि बढ्न सक्दैन । कुनैबेला त राम्रो पिढी पनि जन्मिएला । उनीहरुले चाँही यो पिढीलाई राम्रैसँग धिकार्ने भयो । एउटा कुरा चाँही के हो भने यो कुनै न कुनै ठाउँमा गएर विष्फोटन चाँहि पक्का हुन्छ ।

फिष्फोट हुने भनेको नेकपाभित्रबाट नै अर्को कुनै शक्तिशाली शक्ति जन्मन सक्छन् भन्ने आशय हो तपाईको ?

देशभर झण्डै ८ देखि १० लाख नेकपाका सदस्यता बोकेकाहरु छन् । उनीहरुले नै सामर्थ्य राखेर नेतृत्व र पार्टीलाई ठिक ठाउँमा ल्याउँछन् भन्ने हाम्रो आशा हो । तर, हाम्रै आशामा देश र युवा पिंढी बस्नेवाला छैनन् । विदेशमा ३० लाख भन्दा धेरै नेपालीहरु छन् । उनीहरु नेपाल आएर परेड खेल्न थाल्यो भने सबै चिजको विकल्प अगाडी आउनेछ । हाम्रो नेतृत्वलाई लागेको होला की फेसबुक र ट्वीटरमा विरोध गरेर केही हुनेवाला छैन भनेर । तर, यस्तै भैरह्यो भने जस्तो खालको पनि विष्फोट हुन सक्छ नी । सक्दैन र ?

नेकपामा दोस्रो र तेस्रो पुस्ताको बरेमा पनि बेला बेलामा बहस हुने गरेको छ । उनीहरुको भूमिकाप्रति तपाईको टिप्पणी के छ ?

दोस्रो र तेस्रो पुस्ता पनि मक्किएकै अवस्था छ । २/४ दिन फुर्तिफार्ती गर्छन् अनि त्यसपछि कता के मिल्दैन फेरी भताभुङ्ग हुन्छ । दोस्रो र तेस्रो पुस्ताले पनि योजनावद्ध भएर, आदर्शमा प्रतिवद्ध भएर वैचारिक संघर्ष चलाउन सकेको अवस्था छैन ।

तपाई आफूले आफूलाई कुन पुस्ताको नेता ठान्नुहुन्छ ? आफ्नो भूमिकाप्रति कत्तिको सन्तुष्ट हुनुहुन्छ ?

पुस्ता भन्ने कुराले खासै धेरै अर्थ राख्दैन । किनभने अत्यन्तै युवाहरु पनि अत्यन्तै दुर्बल र बुढो कुरा गरिरहेका सुन्छु मैले । पछिल्लो १५ देखि २० वर्षको अवधिमा विद्यार्थीहरुले उपद्रो केही गरेको देखेको छैन । अब हामीले गरेको समयको लडाई र इतिहासले उनीहरु चल्न सक्छन् जस्तो मलाई लाग्दैन । अब कुरा रह्यो आफ्नो भूमिकाप्रति सन्तुष्टिको । हाम्रा गुरु र लेनिनले आफूप्रति आफैं आत्मालोचक बन्नुपर्छ भनेर सिकाउनुभएको छ । त्यो अर्थले पनि म आफ्नो भूमिकाप्रति पनि त्यति धेरै सन्तुष्ट छैन ।

वैचारिक रुपमा पार्टी अघि बढोस् भनेर धेरै प्रयत्न चाँहि गरेँ । तर मैले त्यसका लागि सांगठनिक शक्ति बनाउन चाँहि सकिनँ । मेरो विचारले केही मान्छेले ताली बजाउने बनाउन त सकेँ तर, तर मेरो राय र अभिमतप्रति आलोचना र आत्मालोचना गरेर टीम निर्माण गर्न मैले सकिन । संगठनको मामलामा नै म कमजोर रहेछु भन्ने मलाई महशुस भैरहेको छ अहिले । आलोचनात्मक रुपमा हेर्ने र लोकतान्त्रिक बन्ने कोशिस त मैले गरेँ, तर आफ्नो विचारमा हिडाउने टीम बनाउन मैले नसकेकै हो ।

विश्वभर अहिले संकटको अवस्था छ । तर, यस्तो बेलामा पनि सरकार मातहतका व्यक्तिबाट अनियमितता, भ्रष्टाचार लगायतका कुराहरु पनि आउने गर्छ । पछिल्ला समय सार्वजनिक भैरहेका यस्ता घटनाक्रमले नेकपाप्रतिको धारणा त बिग्रँदै गयो नि हैन ?

हो, नेकपालाई असर गर्छ तर देशलाई यसले राम्रो गर्छ भन्ने मलाई लाग्छ । अहिले कोरोना भाईरस (कोभिड १९) का कारण धेरै देश संकटमा छ र नेपाल पनि एक हो । नेतृत्वले मुखले मात्रै समाजवाद भनेर नवउदारवादको खोल ओडेर हिंडेकोले अवस्था बिग्रिएको हो नेपालमा । जहाँ संकट पर्छ त्यहाँ मान्छेहरुले लेनिन, चे ग्वेभारा जस्ता मान्छेलाई खोज्छन् । जनताले भोलि दण्डित गर्नेछन् । यो कुरा चाँही पक्का हो ।

कोेरोना संक्रमणको अहिलेको संकटले पार्टी र संविधानको समाजवाद उन्मुखताको परीक्षा लिईरहेको छ । तर, सरकार र नेकपा नेतृत्वको व्यवहार सुधारिएन । यसले के संकेत गर्छ ?

जब गलत काम गरिन्छ, तब पुरानो समूहको आड लिने परिपाटी अहिले छ । राजनीतिक र वैचारिक बहसमा उत्रँदा आफ्नो स्वार्थ पूरा गर्नलाई समस्या त हुने नै भयो, कमाई र खवाईमा असर पनि पर्छ । यसले राम्रो संकेत गर्दैन । अबका युवाले नेताले जे जे भन्यो त्यतैतिर लाग्ला जस्तो मलाई लाग्दैन । जनताले विकल्प खोज्ने पक्का छ र खोज्नुपर्छ पनि ।

अन्त्यमाः यी र यस्तै बहस गर्दागदै कम्युनिष्टले पाएको जुन अद्वितीय अवसर छ, त्यो खेर जान्छ की के हो ?

हैन त्यो त जाओस् न त । राम्रो काम गर्न सकिएन भने कम्युनिष्ट नै शासनमै बसिरहनुपर्छ भन्ने के छ र ? राम्रो काम गरिरहेको छ भने पो वाहवाह हुने हो । गल्ती गर्न थालेपछि त जनताले पाल्टाईदिहाल्छन् नी । नेतृत्वले बुझ्नुपर्ने हो । नबुझेपछि के लाग्छ र !

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय