scheduleआइतवार जेष्ठ ११ गते, २०७७

अनि पत्रकारले पार्टी छाड्यो

सुदर्शन खतिवडा

लकडाउनमा थुनिएको छु । थुनिएपछि थाहा हुँदोरहेछ स्वतन्त्रताको मूल्य ।

साथीहरु सामाजिक सञ्जालमा लेख्छन्, ‘लकडाउनमा सुत्ने, उठ्ने र फेरि सुत्नेबाहेक काम भएन । तर, मेरो भने लकडाउनपछि थप व्यस्तता बढेको छ । किनकि म एउटा डिजिटल अखबारमा काम गर्छु ।

क्यान्सरका कारण पटकपटक शल्यक्रिया गरिएको आँखाले कम्प्युटरका स्क्रिनहरु मन पराउँदैनन् । कहिलेकाँही त दैनिक १६ घण्टा यहीसँग ठोकिनुपर्छ । आँखाको पीडा उम्लिएर टाउको फुट्लाजस्तै हुन्छ । यसरी नै बाँचिरहनुलाई मैले मेरो जीवनशैली भन्ने गरेको छु ।

Dish_Home

अन्तरविरोध यस्तो छ कि म निशाचर होइन तर पनि उज्यालोले बिझाउँछन् आँखाहरु ।

चैत २३ गते साँझ । एक्लो कोठा । कामले थाकेको शरीर । सधैंझैं टाउको दुःखाईले जागिर खाइरहेको थियो । चकमन्न वातावरणले भावनाका गहीरो खाडल बनाइदिँदो रहेछ । खाडलमा खसेपछि कहिले विगत ब्युँझन्छ कहिले आगतले अत्याउँछ । यसलाई भन्न सकिन्छ पूरै एउटा सन्नाटाको रात ।

******
‘आबूई, कति भयङ्कर प्रकाश ! मलाई उज्यालो मनपर्छ तर मेरो आँखालाई उज्यालो मन पर्दैन,’ म रंगमञ्चमा नेपथ्यबाट आउने आवाज जस्तै छुट्टै लयमा कराउन थालेँ,’ बन्द गर यो उज्यालो !’

साँच्चै, यसरी म कहिल्यै पनि मेरी श्रीमतीसँग संवाद गर्दिनँ । यसरी म मेरा नेताहरुलाई गाली गर्दिनँ । हो, कहिलेकाँही म आफैंले आफूलाई गाली गर्न यस्तै लय प्रयोग गर्नेगर्छु ।

‘कमरेड ज्योति !’

कहिलेकाहीँ मन नपर्ने कुराबाट मन पर्ने कुरा निस्कन्छ । प्रतिकूलताभित्र अनुकूलता खोज्ने द्वन्द्ववाद सिकेको भएर होला कुनैबेला ।

‘कहाँबाट आइपुग्यौ ज्योति ? मलाई मन पर्ने ज्योति । अनि मलाई मनपराउने ज्योति ?’


अस्कल पढ्नेताका मैले उनलाई कहिल्यै भेटिनँ । ०५७ तिर काठमाडौंमा राजनीतिमा बरालिने क्रममा पोस्टर टाल्दा, मसाल बाल्दा, केके केके गर्दा उनी कहिल्यै भेटिएकी थिइनन् ।

अचानक संकटकाल सुरु हुनुभन्दा अगाडि हामीले उपत्यका छाड्नेबेला उनी मेरो बाटोको साथी बनेकी थिइन् । ०५९ सालको अन्तिमतिर उनी जेलबाट निस्किएकी रहिछिन् । जेलमा यातनाले जीर्ण बनेको शरीरको पीडालाई टेप रेकर्डरमा क्रान्तिकारी गीत सुनेर सहने प्रयास गर्थिन् उनी । आफू पनि गुन्गुनाउँथिन् । भन्थिन्, ‘संगीतमा शक्ति हुन्छ ।’

उमेरमा मभन्दा ३/४ वर्ष जेठी थिइन् । म फुच्चे छापामार । सबैले माया गर्थे । उनले अझ बढी ।

धादिङ र गोर्खाको सीमाना मान्बु पुगेपछि ज्योतिले आफ्नो जुत्ता साटिन् मसँग । केटा कमरेडहरुले जिस्काए- लेडिज् जुत्ता लगाउने ।

‘जुत्ताको पनि जेण्डर हुन्छ र ?,’ कमरेडहरु बोलेनन् ।

मैले उनलाई धेरैपटक ज्योति दिदी भनेर सम्बोधन गरेको छु । ती कमरेडहरुको अगाडि म ‘दिदी’लाई बढी जोड दिन्थेँ ।

केही दिन सँगै हिँडेपछि गोरखाको घ्याल्चोकबाट हामी छुट्टियौं । ज्योतिहरु सेनातिर गए । म भूगोलको राजनीतिमा । एकीकृत जनप्रतिरोध अभियानमा जोडिएको थिएँ म । चितवनबाट तनहुँ, स्याङ्जा हुँदै पर्वत पुगेँ ।

ज्योतिको घर पर्वतको पाङराङ नजिकै पुग्दा दुइटा खबर एकसाथ आए ।

पहिलो खबर- म आइएस्सीमा उत्तीर्ण भएछु ।

दोस्रो खबर- ज्योतिको सहादत भएछ । सुख र दुःख मिसिएर कक्टेल भयो ।

कमरेडहरु भावनाका कुरा धेरै गर्नुहुँदैन भन्थे । आँसु झरेछन् ।

‘किन रोएको ?’ भनेर कसैले सोधेको भए म जवाफ दिन्थेँ- आइएस्सीमा उत्तीर्ण भएकोले ।

कसैले सोधेनन् । मैले जवाफ दिनु पनि परेन । यसरी कमै रोएको छु आँसुमा पीडा र खुसीको अनुपात मिलाएर ।

*** *** ***
उज्यालोको झिल्कोभित्र उनै ज्योति आएकी रहिछिन् ।

‘सहिद ज्योति,’ म जोडले चिच्याएँ ।

‘अँ, भन कमरेड ! सञ्चै छौ ?’

अप्ठेरो प्रश्न । खासमा सञ्चो हुनु भनेको के हो ? कोरोनाको प्रकोप छ । शरीरमा भन्दा धेरै मनमा महामारी छ । अवस्था अत्यासलाग्दो छ ।

‘हजुर, ठीकै छु,’ ओठले जवाफ दियो र मनले सोध्यो, ‘तपाईंलाई कस्तो छ सहिद कमरेड ?’

यो प्रश्न सहिद कमरेडलाई सजिलो भएन पक्कै । एकछिन जवाफ आएन । जब जवाफ आयो, पुग्ने गरेर आयो ।

ज्योति रोइरहेकी थिइन् । मलाई रोएको मान्छेसँग बोल्न जति गाह्रो केही लाग्दैन । किनकि ओठबाट निस्कने शब्दलाई आँखाबाट चुहिने आँसुले उछिन्छ ।

‘महिलाहरु सहिद भएपछि पनि रुन्छन्,’ प्याच्च भनिहालेछु ।

‘सहिदको पनि लिङ्ग हुन्छ र ?,’ अप्ठेरो प्रश्न थियो ।

‘म यो प्रश्नको उत्तर कमरेड प्रचण्ड र ओलीलाई सोध्नेछु,’ मैले घमण्डी लयमा जवाफ दिएँ, ‘सहिदहरुलाई विभाजन उहाँहरुले नै गरिरहनुभएको छ दस्तावेजहरुमा ।’

‘ठूलो कुरा गर्छौ, तिम्ले भेट्न पाउनु पर्‍यो नि !,’ खिस्युटिरी मिसिएको जवाफ आयो ।

‘म पत्रकार हुँ,’ स्वर उकालै लागेको थियो मेरो ।

‘कुन पार्टीको ?’ प्रश्नले थला पार्‍यो ।

‘म कुनै पनि पार्टीको भातृ संगठनमा छैन, विभागमा छैन,’ गर्वका साथ भनेँ ।

‘कुन हो पार्टीको केन्द्रीय समितिमा त छौ नि,’ अहिले उनको स्वर उकालो लागेको थियो ।

‘कसरी थाहा पायौ ? त्यो त नाम मात्रको हो । राजीनामा दिनु र नदिनुको अर्थ छैन । तर, तिमीले यो कुरा कसरी थाहा पायौ ? तिमी भौतिकवादी सहिद होइनौ र ? कि सहिदहरुले सबै कुरा थाहा पाउँछन् ?’ मेरा प्रश्नहरु राहत थाप्न बसेका गरीबहरुजस्तै लाइनमा बसे ।

तर, ज्योतिको जवाफमा राहत दिनेहरुको जस्तो दम्भ थिएन, ‘हो, सहिदले सबै थाहा पाउँछन् । मलाई तिम्रो बारेमा सबै थाहा छ । सहिद छुट्टै अस्तित्व होइन । हरेक मानिसभित्र हुन्छ वीरता र बलिदानी भाव । तिमी आफैंसँग झूटो बोल्छौ भने तिमी आफैंसँग गिरेका हुन्छौ । तिमीभित्रको सहिदले तिमीलाई कहिल्यै सम्मान गर्दैन । जब तिमी तिम्रै नजरमा गिर्छौ नि, त्यतिबेला तिमी बाँचेर मरिरहेका हुन्छौ । तिमी युद्ध हारेका सिपाहीको जस्तो जीवन बाँचिरहेका हुन्छौ ।’

म खिन्न भएँ । चिसो पानी खन्याएजस्तो भयो शरीरमा । ओरालो लागेको आवाजमा सोधेँ, ‘हो, सपना छैन, सन्नाटा छ मसँग । के म तिमीले व्याख्या गरेजस्तै जीवन बाँचिरहेको छु ?’

‘तिमी आफूलाई सोध, तिमी आफूले जस्तो जवाफ आफूलाई अरु कसैले दिन सक्दैन,’ ज्योति बोलिन् ।

‘तिमी हिजोजस्तै दार्शनिक लयमा बोल्छौ, सहिद भएपछि पनि पूरै पुस्तक पढेर बसेछौ कि ?’ टपरटुईंया प्रश्न गरे ।

‘हो, तिमी जस्तो अल्छि छैन । मलाई थाहा छ, तिमीले विवाह गरेपछि एउटा पनि पुस्तक पूरा पढेका छैनौ !’

उसको जवाफले म आफैँसँग खिन्न भएँ । जीवन पढिरा’छु । पुस्तकभन्दा कम कहाँ छ र जीवन पढ्नु । यस्तै जवाफ दिने सोचिरहेको थिएँ । उनले नै भनिन्, ‘तिमी मात्रै होइन, तिम्रो पुस्ता नै पुस्तक नपढ्ने पुस्ता, नेताका पछाडि लाग्ने पुस्ता, झारेर खाउँला होइन, झर्ला र खाउँला भनेर तिमीहरु त्यतिबेलासम्म आँ गरिराख्छौ बरु चराले किन नविष्ट्याइदिओस् ।’

‘हो ज्योति, मलाई पनि लाग्दैन चाकडी गरेर उचाई चुलिन्छ । मलाई मन नपरेको कुरामा कसैलाई पनि छाड्दिनँ । आलोचनात्मक चेतलाई सधैं प्रोत्साहन गर्दै आएको छु । तर, यो हाम्रो दुर्लभ भेटमा केही उत्प्रेरणाको कुरा गर न । संसार यसअघि नै आलोचनाहरुको पहाडले थिचिइसकेको छ ।’

लगातारको आलोचना मलाई निको लागेन । म त्यही आम मानिस न हुँ जो सधैं प्रसंशाको भोको रहन्छ !

‘तर, कमरेड तिमीले प्रसंशा र आलोचना दुवैलाई स्वीकार्नुपर्छ जसरी एउटा बिरुवाले घाम र वर्षा दुवै स्वीकार्छ ।’

‘मलाई थाहा छैन ज्योति ! सहिदले विश्वास जन्माउँछ कि विश्वासले सहिद जन्माउँछ । तिमीले जुन विश्वासका लागि जीवनको बलिदानी गर्‍यौ, त्यसमाथि विश्वासघात भएको छ । सहादत भनेको कुनै चिजको अन्त्य होइन, यो त मात्र एउटा सुरुवात हो । भन, तिमीहरुको सहादतले के कुराको सुरुवात गर्‍यो ?’ म आलोचना र अर्तिबाट उम्कन खोजेँ । दिन मनपर्ने, लिन मन नपर्ने कुरा कति धेरै लिनु ?

‘यो प्रश्न त मैले तिमीलाई सोध्नुपर्ने होइन र ? हाम्रो सहादत के को सुरुवात हो ? जबकि यो हाम्रा नेताहरुको कुर्सी सुखको गन्तव्यमा गएर टुंगिएको छ !’

मलाई दिक्क लाग्यो । अलि झर्किएर भनेँ, ‘जाऊ यो प्रश्न नेताका सन्तान, आफन्त र हुक्के बैठकेहरुलाई गएर सोध, जसले क्रान्तिको प्राधिकार खल्तीमा हालेर बसिरहेका छन् ।’
‘गाली उता नगर, गाली आफूलाई गर । यो सब तिमीजस्ताको असक्षमताको प्रतिफल हो । आफू सक्दैनौ, अरुलाई गाली गर्छौ । तिमी आफ्नो अयोग्यताको लागि अरुलाई किन गाली गर्छौ ?’ ज्योति कड्किइन् ।

‘हो ज्योति, हामी अगाडिका दोस्रो पुस्ता, हामी तेस्रो पुस्ता सब नाकाम भयौं । हाम्रो २१औं शताब्दीको जनवादले उठाएको पार्टी/नेतृत्व, सत्ता र सेनाको अवधारणामा धमिरा लागेको छ । मदनको जबजमाथि धुप, दीप र नैवेद्य चढाएर आरती भइरहेको छ …’ उसको रिसको पारो चढेको थियो । मलाई रोकिन् ।

‘छिः, तिमीहरु दोस्रो, तेस्रो पुस्ताको नालायकीपनदेखि मलाई घृणा छ । मलाई लाग्छ तिमीहरु उत्साह र चरित्र चाउरिएर ती बुढाहरुभन्दा कुप्रो परिसकेका छौ । सामान्यतः एउटा पुस्ताबाट दुईटा क्रान्ति हुँदैन । बुढा नेताहरु पार्टी र राज्य दुवै सत्ताको कुर्सी ओगटिरहेका छन्, उनीहरु त्यही कुर्सीमा बसेर मरेको मृत्यू शानदार हुन्छ भन्ने भ्रममा छन् । यी बुढा नेताहरुले आफ्नो समयका आफूभन्दा बुढा नेताहरुबाट कुर्सी छिनेर यहाँ आइपुगेका हुन् । तर तिमीहरु इतिहासको ब्याज खाएर बाँच्न अभिशप्त यी पात्रहरुका अगाडि आत्मसमर्पण गरिरहेका छौ । विवेक बन्धक राखेका आदेशपालक बनेका छौ । काम गर्न नसक्ने, विशाल जनसंख्याको रगत, आँसु र पसिना लुटेर परजीवीले जस्तो जिन्दगी बाँच्ने अनि ‘महान’, ‘युगपुरुष’, ‘आदर्शपुरुष’ बन्न खोज्ने उनीहरुको हुक्के, बैठके र नन्दीभृङ्गीको रुपमा परिचालित भइरहेका छौ ।’

मलाई सहन गाह्रो भयो । सहिद नभएको भए म ज्योतिलाई कुटपिट नै गरिदिन्थेँ होला । सम्हालिएँ । भूपिलाई सिरान हाल्दै भनेँ, ‘मरेर सहिद हुनेहरु हो, बाँचेर त हेर, बाँच्न कति गाह्रो छ ?’

‘कमरेड, तिमीहरुको पुस्ता आफू बाँचेको छु भनेर गर्व गरिरहेका छौ ? एक मच्छर आद्मीको हिजडा बना देता हे भनेजस्तै एउटा पार्टी सदस्यताको खोस्टोले तिमीहरुलाई ज्यूँदै मारेको छ । तिमीहरुको स्वाभिमान बन्धक बनाएको छ । खोई पार्टीभित्रको लोकतन्त्र, खोई राजनीतिक संस्कार । गुटको हित रक्षाको लागि धोती फुकालेर नाङ्गै मैदानमा उत्रन्छौ, नेताका लागि नन्दीभृंगीमा बदलिन्छौ, तर प्रिय पार्टीका लागि एक सुस्केरा पिपिरी बजाउन नि सक्दैनौ ।’

लखेटेपछि कि प्रतिकार गर्नुपर्‍यो । कि भाग्नुपर्‍यो । ‘हेर ज्योति, राजनीतिमा छउन्जेल म बोल्थेँ । अब म त्यहाँ छैन । पत्रकारितामा छु …’

उनी आक्रोशले महाकालीस्वरुप बनिन् । ‘भयो पत्रकारका कुरा छोड । पत्रकार कार्यकर्ता कि कार्यकर्ता पत्रकार ? हिजो पञ्चायत थियो, राजतन्त्र थियो । मिसन ठीक थियो । नेता जनताकोमा जान पाउँदैन थिए, शिक्षक, पत्रकारले दललाई साथ दिए । आज केको लागि दलीय पत्रकारिता ? कि बन्दुक बोकेर हिँड्नुपर्‍यो ! आफ्नो स्वार्थको दूनो सोझ्याउन दलका झोला बोक्ने पत्रकारहरुले स्वतन्त्रता र निष्पक्षताको कुरा गर्नु, झण्डा बोक्ने शिक्षकले शिक्षालयको पवित्रताको कुरा गर्नु र पार्टी सदस्य राष्ट्रसेवक कर्मचारीले राष्ट्रसेवाको कुरा गर्नुभन्दा भद्दा मजाक के होला ?’

रीसले रन्को छुट्यो । बोलिनँ । ज्योति पनि बोलिनन् । मष्तिष्कमा आँधी आइरहेको थियो । कस्तो प्रसव वेदनाजस्तो समय ।

‘हो ज्योति, यही कुरा म पनि सोचिरहेको थिएँ । तिमीलाई थाहै होला । तिमी त सहिद हौ, पक्कै मेरो मनको कुरा बुझ्छौ होला नि ?’

‘मलाई लाग्छ तिमी सोच्दा सोच्दा एक थान जीवन नै बिताइदिन्छौ । मलाई तिम्रो यो कक्टेल जीवन मन परेन । कि तिमी राजनीति गर, कि तिमी पत्रकारिता गर । यो त एकप्रकारले अलपत्रकारिता भयो । तिमी आफू पनि अलपत्र पर्छौ । देशलाई पनि अलपत्र पार्छौ,’ स्वर सानो थियो तर प्रहार सानो थिएन ।

‘हेर ज्योति, लामो समय राजनीति गरेँ । राजनीतिक चेत छ । एउटा पक्षधरता त हुन्छ नि ?’

उनले रोकिन् र पुनः ठोकिन्, ‘राजनीतिक चेतना सबैमा हुनुपर्छ । राजनीतिकरण र दलीयकरणबीचमा सानो सीमाना हुन्छ तर त्यो धेरै महत्वपूर्ण हुन्छ । सीमा नभत्काऊ । आफ्नो कर्मको विश्वसनियता गुमाएर बाँच्नु पनि के बाँच्नु । कर्मको अर्थ खोज न । के तिमीले लालसलाम, जय नेपाल वा केके भन्नेहरुको पक्षधरता परीक्षण गरेका छौ ? तिमीले अहिलेसम्म मजस्ता सहिदको पक्षमा लेख्यौ कि हाम्रा सपना लिलामी गर्नेहरुको पक्षमा ? मदन भण्डारीको फोटो बेच्नेहरुको पक्षमा कि मदनको विचारको पक्षमा ? बिपीको प्रजातान्त्रिक समाजवादको पक्षमा कि बिपीको सपनालाई नवउदारवादको पैतालामुनि किचिमिचि पार्नेहरुको पक्षमा ?’

म मौन बसेँ । सजिलो छैन नि निर्णय गर्न ।

‘तिमीले तत्काल निर्णय गर्न सक्छौ जस्तो लाग्दैन । म द्विविधाग्रस्त मानिससँग भावनात्मक सम्बन्धमा रहन चाहन्नँ । भयो मेरो जुत्ता देऊ र तिम्रो जुत्ता लग । यी जुत्तासँग मैले आस्था, निष्ठा र प्रतिवद्धता पनि साटेको थिएँ ।’

उनले जसरी सुरक्षित कहाँ राखेको थिएँ र मैले उनको जुत्ता । उनले श्रीपेचजस्तै साँचेर राखेकी रहिछिन् । मैले जुत्ता नै सम्झेर लगाएँ र अन्य नयाँ जुत्ताहरुसँग खुट्टाहरुको स्पर्श गराएँ । पटकपटक, सयौंपटक ।

‘ज्योति, अर्को भेटमा म तिमीलाई कि तिम्रो जुत्ता फर्काउनेछु कि पत्रकारिता र पार्टीमध्ये एक रोज्ने निर्णय ।’

ऊ खुसी भई । आँसु झार्न थाली । ‘सहिद पनि रुन्छन् र ? चुप लाग । हामी सँगै छौं,’ मैले भनेँ ।

ज्योतिले गम्लङ्ग अंगालो हालिन् ।

‘हैट, तिमीलाई कतै कोरोना त छैन ? सामाजिक दूरी कायम गरौं,’ म टाढिन खोजेँ ।

‘नचाहिने कुरा, सहिदलाई पनि कोरोना हुन्छ कतै ?’ ऊ फिस्स हाँसी ।

‘कतै कमरेडहरुले हाम्रो संवाद देखेका/सुनेका त छैनन् ? मलाई डर लाग्यो । यी कमरेडहरुले त झोक चल्यो भने सहिदसँग सम्भोग गरेको आरोप लगाउन पनि बेर लगाउँदैनन्,’ मेरो कुराले ऊ थप बेजोडसँग हाँसी ।

‘म सकारात्मक जवाफको अपेक्षामा हुनेछु,’ युट्युबरहरुले जस्तो तात्तातो हेडलाइन फुराएर कराउन थालिन्, ‘अनि पत्रकारले पार्टी छाड्यो, अनि पत्रकारले पार्टी छाड्यो ….!’

उसको तरिका देखेर मैले हाँसो रोक्नै सकिनँ । ऊ झन् बेजोडले हाँस्न थाली ।

कुकुर भुकिरहेको सुनेँ । यसरी नहाँसेको भए हुन्थ्यो नि ज्योति, जुन हाँसोले हाम्रो यति सुन्दर सपना बिथोल्न सकोस् ।

सुन्दर तर अप्ठेरो सपनाबाट ब्युँझिएँ । विपना झन् अप्ठेरो छ । आज चैत २४ । २०४६ को जनआन्दोलन उत्कर्षमा पुगेको दिन । मलाई लाग्यो, म शासकजस्तो भएछु र उनी विद्रोहीजस्ती । कतैबाट मलाई हेर्दै भन्दै होलिन् – तिम्रो बाटो फगत भो, मेरो बाटो रगत भो …।

म फेरि निदाउनेछु पक्का र देख्नेछु सपना अनि भेट्नेछु सहिद ज्योतिलाई । विपना सपनाविहिन सन्नाटाजस्तो छ । म पुनः निदाउन चाहन्छु र पुनः सपना देख्न चाहन्छु पनि ।

प्रिय पाठकहरु ! त्यतिबेला म उनलाई उनको जुत्ता फिर्ता गरौं कि निर्णय सुनाऊँ ? अनि म पत्रकारिता नै गरौं कि राजनीतिमा फर्कौं ?

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय