scheduleआइतवार जेष्ठ ११ गते, २०७७

‘लकडाउन’ कति दिन धान्न सकिएला ?

साझापोष्ट टिप्पणी/काठमाडौं, २५ चैत । सरकारले चैत्र ११ गतेदेखि लागू हुने गरी ७ दिने लकडाउनको सुचना जारी गर्‍यो । शुरुका केही दिन नागरिक अल्मलिए । नेपालमा लकडाउन लागू गरिएको यो पहिलो पटक थियो । लकडाउनमा केके गर्न हुन्छ, केके गर्न हुँदैन, सबै सुसुचित थिएनन् । लकडाउन नागरिक अधिकार निलम्बन हुने कर्फ्यू वा इमरजेन्सीजस्तै हो कि अन्य कुनै प्रकारको प्रावधान हो भन्ने प्रष्टता भएन । तसर्थ राम्ररी लागू गर्न केही समस्या आए होलान । त पछिल्ला दिनमा लकडाउनबारे सबैले बुझ्दै गए । प्रभावकारी रुपमा लागू पनि भयो ।

पहिलो ७ दिनको समयावधि नसकिँदै सरकारले दोस्रो हप्ताको लकडाउन घोषणा गर्‍यो । अर्थात् २५ गतेसम्मका लागि लकडाउन बढाइयो । नेपाल सरकारले ७ दिने लकडाउन घोषणा गरे लगत्तै भारत सरकारले एकैपटक २१ दिन लामो लकडाउन लागू गर्‍यो । सोमबार नेपाल सरकारले लकडाउन लम्ब्याएर वैशाख ३ गतेसम्मलाई पुर्‍याएको छ । नेपाल मात्र हैन, संसारका अरु धेरै देशहरु अझै लकडाउनमै छन । चीन, इटली र स्पेनजस्ता सबैभन्दा धेरै कोरोना प्रभावित देशहरु अप्रिलको अन्त्यसम्म लकडाउनमा रहने संभवना छ ।

Dish_Home

कोरोना संक्रमणको पहिलो चरणका लागि लकडाउन सबैभन्दा राम्रो उपाय हो भन्ने बिषयमा अब कुनै विवाद रहेन । यद्यपि, कतिपय देशहरु लकडकाउन नगरीकनै पनि कोरोना विरुद्ध राम्रै गरी जुझिरहेका छन् । ताइवान, दक्षिण कोरिया, सिंगापुर आदि त्यसका उदाहरण हुन् । तर लकडाउन नगरी कोरोना भाइरससंग लड्ने अमेरिकाको प्रयास भने असफल भएको छ । कुन बुझाईले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले देश नै लकडाउन गर्ने रणनीति अख्तियार गर्न मानेनन् । अन्ततः त्यहाँ स्थानीय वा प्रादेशिक सरकारले लकडाउन लागू गर्नु पर्ने स्थिति आयो । तर लकडाउन लागू नगर्ने ट्रम्प नीतिको आज व्यापक आलोचना भइरहेको छ ।

कोरोना उत्पति भएको देश चीनले लकडाउनकै तरिका अपनाएको थियो । तर चीनले पुरै देश नभएर हुवेइ प्रदेश मात्र लकडाउन गर्‍यो । वुहान हुवेइको राजधानी शहर हो । चीनका अरु प्रदेशमा कोरोना खासै फैलिएन । चीनले कोेरोनालाई वुहानमै क्लष्टराइज गर्ने र साँघुराउँदै लगेर थिच्ने नीति लियो । धेरै ठूलो देश, सोही प्रकारको जनशक्ति, स्रोत र साधन भएकोले सायद चीनमा यो रणनीति सफल भयो । तर चीनले लकडाउनबाट मात्र सफलता पाएको भने हैन । उसले स्वास्थ्य सेवाको व्यवस्थापनमा पनि उत्तिकै तदारुकता र शिघ्रता अपनायो । ९ दिन भित्र १३०० वेड क्षमताको कोरोना अस्पताल निर्माण गरी उसले आधुनिक विश्वलाई आश्चर्यचकित नै बनायो ।

संसारका यी सबै उदाहरण र अनुभवहरु हेर्दा नेपाल सरकारले लकडाउन घोषणा गरेर ठीक गरेका थियो । त्यसैले लकडाउन बढाउने पछिल्लो निर्णयलाई पनि हामी सबैले स्वागत गर्नुपर्छ र त्यसलाई पालना गर्नुपर्छ । कम्तीमा चैत्र मसान्त वा बैशाख पहिलो हप्तासम्म लकडाउन स्वभाविक र अवश्यक हुन्छ । तर प्रश्न उठ्छ ? त्यसपछि के गर्ने ? कुन रणनीतिमा जाने ? लकडाउन धान्न सक्ने हाम्रो क्षमता कति हो ? अरु तयारी के कस्तो हुँदैछ ? लकडाउनले मात्रै कोरोनासँग अन्तिम युद्ध जित्न सकिएला ? यी प्रश्नमा जनता खासै सुसुचित छैनन् ।

नेपालमा यस अघि पनि लामालामा राजनीतिक हडताल वा बन्द नभएका हैनन् । तर त्यसको प्रकृति फरक थियो । त्यो राज्यको विरुद्धमा हुन्थ्यो । नागरिक स्तरमा राजनीतिक दल वा जनताले आफै कयौं अनौपचारिक सहयोग संयन्त्र बनाएका हुन्थे । जनताको ठूलो पंक्ति राजनीतिक सञ्जालमा आबद्ध भएको हुँदा साह्रोगाह्रो, भरअभर सहयोग हुन्थ्यो । तर यो लकडाउन राज्यले आफैले लागू गरेको हुँदा त्यतिखेरका बन्द हडतालसंग यसको प्रकृति मिल्दैन ।

जनतालाई सहयोग गर्ने नागरिक स्तरका सञ्जाल र संयन्त्रहरु छैनन् । स्थानीय सरकारहरु पनि खासै प्रभावकारी देखिएका छैनन् । यस्तो अवस्थामा प्रहरीसंग स्थानीय सरकारले कसरी समन्वय गर्ने र स्थानीय सरकारले गर्न सक्ने वा गर्नु पर्ने काम केके हो ? त्यसको प्रष्टता देखिन्न । सबै काम पुलिसले गरिरहेको छ । पुलिसले के कसरी गरिरहेको छ ? जनता अनविज्ञ छन । ठीक छ– सरकारलाई यही विधि र मोडेल सही लागेको छ, यसरी नै समस्याको निदान भएछ भने राम्रै हो । तर सरकारका रणनीतिबारे नागरिक बेखबर रहे भने ठीक परिणाम नआउन पनि सक्दछ ।

नेपालको अर्थतन्त्रको आकार, संचित खाद्यान्न र अन्य अत्यावशकीय वस्तुको उलपब्धता हेर्दा लकडाउन ३ महिनासम्म धान्न सकिने पूर्वानुमान गरिँदैछ । त्यसले अर्थतन्त्रमा पार्ने दीर्घकालीन प्रभावको गणना गरिएको छैन । त्यो पाटोलाई पनि केही समय नजरअन्दाज गर्न सकिन्छ । किनकी अर्थतन्त्रभन्दा मानिस नै ठूलो कुरा हो । यति ठूलो विश्वव्यापी महामारीबाट थोरैभन्दा थोरै क्षतिमा उम्किन सकिए, त्यो नेपालको साँच्चै ठूलो उपलब्धी हुने छ ।

तर लकडाउनको अवधिबारे विश्वभरि नै फरकफरक विश्लेषण आउन थालेका छन् । यो महामारी सामान्यतया १ वर्षसम्म जान सक्ने अनुमान गरिदैछ । यदि यो अनुमान सही निस्किएमा हामी त्यति लामो लकडाउनमा जान सक्दैनौं । आर्थिक र व्यवहारिक दुवै कारणले त्यो असम्भव हुँदै जानेछ । त्यस्तो अवस्थामा सरकारले कोराना विरुद्धको लडाइँलाई नयाँ चरण र नयाँ रणनीतिसहित सामना गर्नुपर्ने हुन्छ ।

जारी लकडाउनलाई बैशाखको पहिलो सातासम्म लम्ब्याएको अवस्थामा सायद स्व-अगलावको परिणाम देशव्यापी रुपमा विश्लेषण गर्न सकिने छ । भारतबाट अनौपचारिक तरिकाले नेपाल भित्रिएकाहरुको पनि १४ दिने अवधि कट्ने छ । त्यो अवधिमा देशको कुुन भाग र क्षेत्रमा कोरोनाको लक्षण देखिने छ वा छैन ? बुझ्न सकिने छ । विशेषतः सुदुरपश्चिम र कर्णालीमा अनौपचारिक तबरले भारतबाट धेरै मानिस आउनु स्वभाविक हुन्छ । ती प्रदेशमा ग्रामिणस्तरमा नै पुगेर निगरानी र जाँचलाई प्रभावकारी बनाउनु पर्ने हुन्छ ।

लकडाउनले सृजना गर्ने सबैभन्दा ठूलो समस्या आर्थिक हो । सरकारले अहिले घोषणा गरेको राहत प्याकेज खासै प्रभावकारी छैन । त्यस प्याकेजबाट जति प्रभाव पर्नुपर्ने हो– फितलो कार्यान्वयनको कारण प्राप्त हुनुपर्ने परिणाम पनि प्राप्त भएको छैन । तर लामो लडकडाउनले केवल आर्थिक समस्या मात्र ल्याउँदैन, थुप्रै मनोवैज्ञानिक समस्या सृजना गर्न थाल्दछ । भविष्यप्रतिको अनिश्चितता, भताभुङ भएका आर्थिक योजना र अनपेक्षित आर्थिक भारले सृजना गर्ने मनोवैज्ञानिक दबाबले आमरुपमा डिप्रेसन बढ्न सक्दछ । मानिस स्वाभावैले सामाजिक प्राणी हो । समाजसंग टुटेको अवस्थामा मान्छेको मनोदशा असन्तुलित हुँदै जान सक्दछ ।

लकडाउनबारे अहिले नै अन्तिम निर्णय गर्ने बेला भएको छैन । तर वैकल्पिक रणनीतिको अध्ययन, छलफल र निर्कियोलतिर लाग्ने समय चाहिँ भयो अब । छिमेकी राष्ट्र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले मन्त्रीहरुलाई लकडाउनपछिको रणनीति तयार बनाउन निर्देशन दिइसकेका छन् । हामीले पनि हाम्रो सन्दर्भमा यसबारे तयारी सुरु गर्नुपर्छ ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय